कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भरत ढुङ्गेल
जगतकै सर्वश्रेष्ठ कहलिएको प्राणी मानव आज सारा काम छाडेर आफ्नै घरको पर्खालभित्र कैदीसरह बाँच्न बाध्य भएको छ । यसरी सम्पूर्ण मानव जगतलाई बन्दी बनाउने मानवभन्दा पनि शक्तिशाली सूक्ष्म जीवाणु कोरोना भाइरस हो । केही महिना अगाडिसम्म जनजीवन सामान्य थियो तर जहाँ जहाँ कारोना भाइरसले आफ्नो पाइला राख्यो त्यहाँ त्यहाँ मानव समुदाय त्राही त्राही भयो । यो भाइरसको सङ्क्रमणबाट बच्न अहिले धेरै मुलुकले बन्दाबन्दीको घोषणा गरी आफ्ना नागरिकलाई घरभित्रै बन्दी बनाएका छन् । जीवन गुजारा गर्न केही न केही पेशा व्यवसायमा संलग्न भएका मानिसहरू हरेक दिन दौडधूपमै बिताउने गर्थे । यिनलाई एकछिन पनि आफ्नोबाहेक अरुको बारेमा सोच्ने फुर्सद थिएन । सारा चलायमान कामलाई थाती राखेर बन्दी बन्न पुगेको मानव समुदायले यो कठिन समयलाई स्वअनुशासित भएर बिताउनुको विकल्प छैन । व्यस्त जीवनशैलीबाट एकैपटक फुर्सदिलो हुँदा मानिसलाई आफ्नै दैनिकी व्यवस्थापन गर्न कठिन भइरहेको छ । यही कठिन समयमा हामीले के बुझ्नुपर्छ भने हामीलाई बाँच्नको लागि नभई नहुने प्रकृतिको सुन्दर उपहार हावा बहन बन्द भएको छैन । पानीका स्रोतहरू सुकेका छैनन् । सूर्य उदाउन छोडेको छैन । त्यसैले यो समयलाई उच्च मनोबलका साथ भ्रामक कुराको पछाडि नलागी केही सृजनात्मक कार्य गरेर बिताउन सकिन्छ ।
पहिलो काम भनेको आफू भ्रामक कुराको पछाडि नलागी हरेक घटना र परिघटनालाई विभिन्न कोणबाट विश्लेषण गरेरमात्र आत्मसात गर्ने गर्नुपर्दछ । केही दशक अगाडिसम्म समाचार पाउनै मुस्किल हुन्थ्यो । रेडियो नेपाल, नेपाल टेलिभिजन र थोरै सङ्ख्यामा छापिने दैनिक पत्रपत्रिकामात्र सूचना तथा समाचारका लागि पर्याप्त थिएनन् । मानिसहरू जानकारीको अभावमा रनभुल्ल पर्थे । कुनै कुनै समाचार पत्रले ‘आँखामा छारो हाल्ने’ तरिकाको शीर्षक राख्थे, जस्तो कि ‘कृष्णप्रसाद भट्टराईको हत्या’ । ग्राहकहरू नेपाली काङ्गे्रसका वरिष्ठ नेताको कसले हत्या गर्यो होला भनेर जान्न पत्रिका किन्थे तर अरु कोही सामान्य कृष्णप्रसाद भट्टराई नाम गरेको व्यक्तिको हत्या भएको पढेर जिल्ल पर्थे ।
तर अहिले विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासले आजभोलि इन्टरनेटमार्फत समाचारमात्र होइन फोटो नै नक्कली बनाई जनतालाई भ्रममा पारिन्छ । त्यसैले अहिले ‘आँखामा छारो हाल्ने’ होइन ‘आँखामा फोटो हाल्ने’ भन्दा पनि हुने भयो । अहिले अनलाइन समाचारको कमी छैन । एउटा घटना घट्नुपर्छ समाचारको बाढी नै आउने गर्छ । यिनीहरू पाठकको सङ्ख्या बढाउन भ्रामक एवम् उत्तेजित किसिमको शीर्षक दिएर समाचार तयार गर्छन् । विभिन्न विषयवस्तुलाई लिएर यस्ता समाचारहरू बन्ने गर्छन् । यो महामारीमा पनि अनेकौँ यसैसँग सम्बन्धित समाचारहरू आइरहेका छन् । हालसालै इटालीको विषयमा पनि यस्तै दुईवटा भ्रामक समाचार सामाजिक सञ्जालमा फैलियो । पहिलो कोरोनाको कारणले मानिसहरू भकाभक मरेको समाचार थियो, समाचारलाई पुष्टि गर्न फोटो पनि राखिएको थियो जसमा सहरको मुख्य चोकमा मानिसहरू लडिरहेका देखिन्थे । त्यस्तै अर्को समाचार कोरोनाको उपचार हुन नसकेपछि बाटोमा पैसा फ्याँकिएको विषयमा थियो । उक्त समाचारलाई पनि फोटोले पुष्टि गर्न खोजिएको थियो । माथिका दुवै समाचार जान्ने–बुझ्नेहरूले नै सामाजिक सञ्जालमा फैलाइरहेका थिए । यथार्थमा दुवै समाचार गलत थिए । गलत हुँदाहुँदै पनि सामाजिक सञ्जालमा शेयर भइरहेको थियो । सामान्य अर्थमा पनि बुझ्न सकिन्छ कि कोरोनाले त्यसरी भकाभक लडेर मान्छे मर्दैन । उपचार सम्भव छैन भन्दैमा कसैले पैसा बाटोमा फाल्दै हिँड्दैन बरु सकेसम्म पैसा खर्च गरेर जीवन लम्ब्याउन खोज्छ । यति कुरा पनि बुझ्न नसकेर त्यही समाचारको पछि लागी कतिपय मानिसहरू तनावमा बसेका हुन्छन् । कोरोनाको विषयवस्तु बनाएर धेरै समाचारहरू बन्छन् तर सबै तथ्यमा आधारित हुँदैनन् । त्यसैले विश्वसनीय समाचारमात्रै पढ्नु राम्रो हुन्छ नत्र त्यस्ता किसिमका समाचारले बन्दाबन्दीमा बसेको बेला झनै भय उत्पन्न गराउँदछ ।
यस्तो आतङ्कित समयमा अरुलाई तनाव दिएर रमाउने मान्छे पनि हुन्छन् । जस्तो विश्व स्वास्थ्य स·ठनले भनेको भन्दै ‘मासु नखानेलाई यो रोग सर्दैन’ भनेर प्रचार गरियो । यो रोगको पहिचान उहानको मासु बजारमै भएको हो तर मासु नखानेलाई नलाग्ने भन्ने कुरा पुष्टि भएको कुरा होइन । नेपालको मध्यपश्चिम एवम् सुदूरपश्चिमका केही ठाउँहरूमा बली दिइएको कुरा पनि सार्वजनिक भयो । मासु नखाने समुदायमा बाहेक नेपालमा देवाली पूजामा कुल देवतालाई बलि दिने चलन छ । यो विश्वासको कुरा हो तर कोरोना भगाउन भने बलिले काम गर्नेवाला छैन । यही प्रस·मा एक जना धर्म प्रचारकलाई कास्की प्रहरीले नियन्त्रणमै लिनुपर्यो जो आफ्नो धर्ममा लागे कोरोनाले छुनै नसक्ने भन्दै हिँडेका थिए । रोगले कुनै जात, धर्म, लि· एवम् वर्ग भनेर छुट्याउँदैन, यो सबैले बुझ्न जरुरी छ । हाम्रो छिमेकी देशका प्रधानमन्त्रीले समेत कोरोना भगाउन भन्दै भारतीय जनतालाई कहिले मैनबत्ती बाल्न लगाए त कहिले घण्टी बजाउन लगाए । बत्ती बालेर, घण्टी बजाएर, पशु बलि दिएर अथवा पूजापाठ गरेर कोरोना सङ्क्रमणबाट बच्न सकिँदैन ।
तनाव व्यवस्थापन अहिलेको एउटा गम्भीर विषय हो । यसको लागि सबैभन्दा राम्रो उपाय भनेको आफ्नै पेशासँग सम्बन्धित पुस्तकहरूको अध्ययन नै हो । जस्तै म शिक्षक पेशामा आबद्ध छु । मेरो लागि आफ्नै विषयको पुस्तक अध्ययन गर्दा पनि समय सजिलै बिताउन सकिन्छ । त्यसबाहेक नयाँ पुस्तक पाए भने त्यसको अध्ययनले ज्ञानको दायरा अझै फराकिलो बनाउन सक्छ । पढेर ज्ञान आर्जन पनि हुने समय बितेको पनि चाल नपाइने । यही कुरा सम्पूर्ण उमेर समूहका विद्यार्थीहरूलाई पनि लागू हुन्छ । पहिला परीक्षालाई केन्द्रबिन्दु बनाई अध्ययन गरेका भाइबहिनीहरूले तिनै पुस्तकहरूबाट नयाँ ज्ञान लिनसक्छन् । आफ्नो पेशा व्यवसायका पुस्तकबाहेक विभिन्न साहित्यका लेख रचना पनि पढ्न उपयुक्त हुन्छ । पढाइसँगै लेखनलाई पनि अगाडि लान सकियो भने सुनमा सुगन्ध भनेजस्तै हुन्छ । अहिले प्रविधिले सजिलो बनाइदिएको अवस्थामा गीत सङ्गीतमा चाख हुनेले गीत गाएर त्यसलाई रेकर्ड गरी सामाजिक सञ्जालमा राखेर मन बहलाउन सक्छ । यस्तो कठिन समयमा आफूले विगतमा गरेका गतिविधि, भोगेका भोगाइहरूलाई डायरीमा सङ्ग्रहित गर्न सकियो भने भोलि कुनै समयमा आफैँलाई वा भावी पिँढीलाई ऊर्जा हुनसक्छ । सकारात्मक सोचको विकास गरौँ, तनावलाई मत्थर गरौँ । यो कठिन घडीमा सबैलाई नयाँ वर्षको साथै भक्तपुरको महान पर्व बिस्का जात्राको सबैमा शुभकामना ।
यस्ता महामारीहरू विगतमा पनि नआएका होइनन् कहिले प्लेगको रूपमा, कहिले भाइरसको रूपमा कहिले एड्सको रूपमा त कहिले हैजा, बिफर र औलोको रूपमा । विभिन्न रोगले महामारीको रुप लिई लाखौँ र करोडौँ मानिसहरू मारिएका थिए । अहिले सूचना र सञ्चारले गर्दा बढी हल्ला भएको मात्र हो । नत्रभने विगतको भन्दा अहिलेको समय प्रविधि र औषधिको सहजताले तुलनात्मकरूपमा सजिलो बनाएको छ ।
(लेखक ख्वप कलेज सम्बद्ध हुनुहुन्छ ।)
Leave a Reply