भर्खरै :

नयाँ वर्षको शुभकामना !

            एउटा अप्ठ्यारो परिस्थितिमा यो वर्ष हामी नयाँ वर्षको स्वागत गर्दै छौँ । विगतमा जस्तै हामी मेलापात भर्दै, नाचगान र घुमफिर गर्दै यसपालिको नयाँ वर्षलाई स्वागत गर्दैनौँ । विगतमा खचाखच मानिसले भरिने मैदानहरू यसपालिका रित्ता हुनेछन् । बाजागाजाले रन्किने बस्तीहरू हिजोजस्तै यसपालि रन्किनेछैन । मानिसहरू आ–आफ्ना घरमा परिवारसँगै बसेर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नेछन् ।
            तीन महिनाअघि संसारले ईस्वी संवत्को नयाँ वर्षलाई स्वागत गर्दै गर्दा एकथरी सन्त्रासको सुरुवात भएको थियो । जनवरीको पहिलो दिनसम्ममा चीनको हुपै प्रान्तमा एउटा नयाँ भाइरसले जनजीवनमा प्रभाव पार्न सुरु गरिसकेको थियो । कालान्तरमा कोभिड–१९ भाइरस नाम पाएको नयाँ कोरोना भाइरसले संसारलाई विश्वग्राममा भाइरस सोचेभन्दा निकै तीव्र र शीघ्र सङ्‍क्रमण फैलियो । आजसम्म भाइरसले एक लाख मानिसको निधन भएको छ र लाखौं लाख मानिस यो रोगबाट सङ्‍क्रमित बनेका छन् । यो शिलशिला अझै कति लम्बिने हो, अहिले भन्न सकिने अवस्था छैन ।
            महाव्याधिका कारण आज हामी विक्रम संवत्को नयाँ वर्ष पनि घरभित्रै बसेर स्वागत गरिरहेका छौँ । नयाँ वर्षको स्वागतमा चारैतिर फैलिने उत्सव र उल्लास आजको विषमतालाई साक्षी राखेर भविष्यलाई साँचेका छौँ । भोलि फेरि उत्साहको दिन फर्किने विश्वासका साथ हामी नयाँ वर्ष भित्याउँदै छौँ । महाव्याधिको कारण संसारमा सन्त्रास र अनिश्चयको बादल मडारिरहेको बेला मानिसलाई भविष्यप्रति आशाको खाँचो छ । नयाँ वर्षलाई त्यही उत्साह सम्प्रेषणको दिनको रूपमा मनाउनु आज विवेकसम्मत हुनेछ । आज मानिसले भावनामा होइन, विवेक र विज्ञानको आधारमा अघि बढ्ने समय हो ।
            पृथ्वीको उत्पत्तिदेखि आजसम्मको निकै लामो कालखण्डलाई फर्केर हेर्ने हो भने हामीले देख्नसक्छौँ–विपत्तिको लामो शिलशिला । वास्तवमा पृथ्वी र मानवको उत्पत्ति स्वयम् पनि पृथ्वीमा उठेका ठूलाठूला विपत्तिको परिणाम हो । मानव समाजको विकासक्रममा मानिसले यस्ता धेरै थरी विपत्तिको सामना गर्‍यो । कति विपत्तिले मानिसलाई शिथिल बनाएको छ, असङ्ख्य मानिसले जीवन छिनेका महामारी पनि मानिसले सामना गर्‍यो । तर, मानिस कहिल्यै पराजित भएन । मानिसले अन्ततः कुनै न कुनै बाटो खनेर पनि नयाँ विश्व बनाउने शिलशिला जोडिरह्यो । विपत्तिबाट सिक्दै र इतिहासको पानामा छोड्दै मानिस लगातार अघि बढिरह्यो ।
            आज संसारले भोगिरहेको विपत्ति पनि समयको एउटा बिन्दुबाट विगत हुनेछ । मानिस यो विपत्तिको जञ्जालबाट मुक्त हुनेछ र उनीहरुले अझ अघिको यात्रा बढाउनेछन् । कोभिड–१९ सिङ्गो मानव जातिमाथिको चुनौती हो । यसलाई संसारभरका मानिसले थरी थरी कोणबाट अनुभव गर्नेछन् । कोभिड–१९ पछिको संसार निःसन्देह कुनै न कुनै मात्रामा हिजोको समाजभन्दा बेग्लै समाज हुनेछ । कोभिड–१९ ले समाजमा सुषुप्त अवस्थामा रहेका धेरै विषमता र प्रश्नलाई सतहमा ल्याएको छ । भोलिको समाजले यी प्रश्नको उत्तर पक्कै खोज्नेछ । ती उत्तरले समाजमा रहेका धेरै विषमताको जग भत्काउने प्रस्थानबिन्दु हुनेछ । हरेक कालो बादल वरपर चाँदीको घेरा हुन्छ । महाव्याधिले जतिसुकै भयावह र निर्मम भए पनि यसले मानिसलाई पक्कै केही गहन पाठ सिकाउनेछ । ती पाठले भविष्यको समाजलाई अझ सुन्दर बनाउन मद्दत गर्नेछ । नाफाको लागि आफूलाई समेत झुण्ड्याउन तयार ‘अमानव’हरूलाई मानिसको परिधि बुझाउन यो महामारी सहयोगी सिद्ध भएको छ ।
            असहजताबीच आएको नयाँ वर्षलाई भविष्यप्रतिको आशा र उत्साहका साथ स्वागत गरौं । भोलि आजभन्दा अझ धेरै सुन्दर हुनेछ । नयाँ वर्षको हार्दिक शुभकामना !
२०७७-१-१

Leave a Reply

Your email address will not be published. Required fields are marked *