कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
कोभिड महाव्याधिको अवधिलाई अवसरको रूपमा लिऔँ– ३
-योगेन्द्रमान बिजुक्क्षे
उत्तीर्णदेखि ‘ए प्लस’सम्म
विस्काः, गुन्हिपुन्हीजस्ता हाम्रा सांस्कृतिक र पारम्पारिक जात्राबाहेक कुनै बेला एउटा शैक्षिक जात्रा पनि हुन्थ्यो, एसएलसी परीक्षाको जात्रा । परीक्षाको केही दिन अगाडिदेखि बजारमा चहलपहल देखिन्थ्यो । समूह–समूहमा खासगरी युवाहरू टोलटोलमा भेला भई गफिन्थे । गफको विषय त्यहीँ परीक्षाको हुन्थ्यो । कहिलेकाहीँ त्यस्ता समूह एक टोलबाट अर्को टोलमा कसैको लखेटाइमा परेजस्तो दगुरिरहेका हुन्थे । किन कताको जिज्ञासा राख्नेले जवाफ पाउँथे, ‘प्रश्नपत्र आउट भयो रे फलानासँग छ रे !’ परीक्षाको दिन परीक्षा सुरु भएको १०-१५ मिनेटमा प्रश्नपत्र बाहिर आइपुग्थ्यो र अनुभवी तथा कलेज पढेका सिनियरहरूले त्यसको उत्तर लेख्थे, यसको कार्बनकपी सानो चिटको रूपमा सयौँ वटा तयार हुन्थ्यो । परीक्षार्थीका आफन्त (बाबु, दाजु, भाइ, ससुरो, काका, मामा) त्यो चिट परीक्षार्थीसम्म पुर्याउन भएभरका उपाय लगाएर ३ घण्टा व्यस्त हुन्थे । एसएलसीको शैक्षिक जात्रा यसरी ८-९ दिनसम्म चल्थ्यो । सायद यो ३२-३३ सालको कुरा होला । त्यतिबेला एसएलसी उत्तीर्ण हुनुलाई पनि ठूलो उपलब्धि मानिन्थ्यो । यसपश्चात् जब सरकारले निजी विद्यालय खोल्न अनुमति दियो, एसएलसी परीक्षाको नतिजा सरकारी र निजी विद्यालयको तुलना हुनथाल्यो ।
समाजमा अब एसएलसी परीक्षाको नतिजाको आधारमा विद्यालयहरूको मूल्याङ्कन हुन थाल्यो । अङ्ग्रेजी माध्यमको साथसाथै निजी विद्यालयहरूको प्राथमिकता भनेको एसएलसी परीक्षामा आफ्ना विद्यार्थीहरूको नतिजा अब्बल ल्याउनु हुन्थ्यो । जति धेरै परीक्षार्थीलाई पहिलो श्रेणीमा (फस्ट डिभिजन, कुल प्राप्ताङ्कमा ६० प्रतिशत वा सोभन्दा माथि) उत्तीर्ण गराउन सकिन्थ्यो, त्यही विद्यालय अब्बल मानिथ्यो । राष्ट्रियस्तरमा भने बोर्डमा ल्याउन सफल विद्यालयलाई अब्बल मानिन थाल्यो । यो प्रतिस्पर्धा अझै अगाडि बढ्दै हिजो अब्बल मानिने प्रथम श्रेणीप्रतिको आकर्षण समाप्त भई डिस्टिङ्सनलाई (कूल प्राप्ताङ्कमा ८० प्रतिशत वा सोभन्दा माथि) अब्बल मानिन थाल्यो । यो प्रतिस्पर्धामा यतिकै पूर्णविराम भने लागेन । डिस्टिङ्सन पनि कम भएर अब अब्बल हुनलाई ए प्लस (कुल प्राप्ताङ्कमा ९० प्रतिशत वा सोभन्दा माथि) को श्रेणीमा पुर्याउनुपर्ने अवस्था आज छ । परीक्षामा अब्बल नतिजा ल्याउन भएको यस्तो प्रतिस्पर्धालाई अवश्य सकारात्मक मान्ने ठाउँ पनि छन् । तर, यसले अरु धेरै विकृति पनि जन्माएको तीतो यथार्थलाई पनि उपेक्षा गर्नुहुँदैन । यी विकृतिको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षहरूको बारेमा अर्को छुट्टै आलेखमा चर्चा गर्न सकिएला । तर, यहाँ छलफल गर्न खोजिएको विषय शैक्षिक पक्षको हो । एसएलसी (प्रवेशिका र आज एसईई) परीक्षाको नतिजालाई अब्बल बनाउन कक्षा कोठाको नियमित पठनपाठन होस् या कमजोर विद्यार्थीको लागि भनी चलाउने थप सहयोगी कक्षा (रिमेडियल क्लास) होस् वा होस्टेलमा राखी पढाइने विशेष कक्षा होस्, सबै परीक्षामुखी छन् । यस वर्ष दश कक्षामा पढ्ने विद्यार्थीहरूलाई अर्को वर्ष कक्षा ११ को लागि पाठ्यक्रमले के कस्तो ज्ञान र सीपको अपेक्षा गरेको छ भन्नेसँग केही सरोकार नै राखिँदैन । बरु कति नम्बरको प्रश्न कुन पाठबाट र कस्ता–कस्ता प्रश्न पहिला सोधिएका छन् । त्यसको अभ्यासमात्र गराउने गर्दा हरेक कक्षा परीक्षामुखी भएका छन् । विद्यार्थीहरूको लागि भनी प्रकाशित गर्ने अर्को सहयोगी पठनसामग्रीहरू पनि यस्तै सेरोफेरोका हुन्छन् । यो अर्बुदरोगझैँ अब स्नात्तकोत्तर तहसम्म पनि फैलिसकेको छ । यसरी विगत करिब ३ दशकदेखिको यो परीक्षामुखी पठनपाठनको संस्कृतिले आज सुविस्तृत पठनको (extensive reading) संस्कृतिलाई करिब करिब निमिट्यान्न पारिसकेको छ । परीक्षामा नसोधिने सामग्रीप्रति आज विद्यार्थीहरू कुनै चासो नै राख्दैनन् । वनमारा झारजस्तो फैलिएको यो गलत संस्कृतिबारे म अब सबै सरोकारवालाहरूले पुनर्विचार गर्न ढिलो गर्नुहुँदैन । यस्ता गलत र खतरनाक शैक्षिक अभ्यासका बारेमा एक अमेरिकी नागरिक जोन उडले (तत्कालीन समयमा माक्रोसफ्ट कम्पनीका एसिया प्रशान्त प्रमुख ) वि.सं. २०५०-५१ सालतिर लमजुङ्गमा आफ्नो पदयात्राको क्रममा उनले भोगेका अनुभवले छर्लङ्ग पारेका छन् । (नेपालका विद्यालयमा पुस्तकालयको अवस्था, हाम्रो पठन संस्कृतिको बारेमा र पठन संस्कृतिलाई प्रवद्र्धन गर्न समर्पित जीवनको जानकारी राख्न पढ्नैपर्ने पुस्तक– Leaving Microsoft to Change The Worldको नेपाली अनुवाद – माइक्रोसफ्टदेखि बाहुडाँडासम्म)
विद्यार्थीहरूको सोचाइको दायरा फराकिलो बनाउन र उनीहरूलाई यान्त्रिक हुनबाट जोगाउन सुविस्तृत पठनको संस्कृतिलाई अब योजनाबद्धरूपमा प्रवद्र्धन गर्नुपर्दछ । यसको लागि उपयुक्त समय भनेको लामो बिदा वा फुर्सदिलो समय र यस्तै विद्यालयको पठनपाठन नहुने बेला पनि अति उपयुक्त हुनसक्छ ।
के हो सुविस्तृत र सघन पठन ?
विद्यालय र कलेजमा निर्धारित पाठ्यक्रम र पाठ्यपुस्तकको चौघेराभित्र रहेर शिक्षक र विद्यार्थीहरूबीच कक्षा कोठामा गरिने विभिन्न शैक्षिक क्रियाकलापहरूलाई सघन पठनको कोटीमा राखिन्छ । कुनै शब्द, वाक्य वा अनुच्छेद नबुझ्दा शिक्षकसँग जिज्ञासा राख्ने शब्दकोश पल्टाउने, आपसमा सिक्ने (peer learning), छलफल र प्रस्तुति दिने र सुन्ने, शिक्षकले त्यस सम्बन्धमा थप व्याख्या गर्ने अन्तमा त्यस कुराको बोध भयो कि भएन भनेर परीक्षाको माध्यमले मूल्याङ्कन गर्ने आदि प्रक्रिया सघन पठनभित्र राखिन्छ । प्रायः स्कूल कलेजमा हुने सामान्य पठनपाठनको यस तरिकासँग हामी अनभिज्ञ छैनौँ । यस्तो क्रियाकलापमा विद्यार्थीहरूको सिकाइको समय पूरा शिक्षकको निगरानीमा गरिन्छ । यसलाई नै सघन पठन (intensive reading) भनिन्छ । जबकि विद्यार्थीले आफ्नै खुसी र छनोटमा कुनै विषय र विधाका पुस्तक स्वतन्त्ररूपले पढ्ने क्रियालाई सुविस्तृत पठन भनिन्छ । यसमा शिक्षक वा अभिभावकको कुनै निगरानी, कुनै औपचारिक परीक्षा आवश्यकता हुँदैन । पुस्तक पढ्ने क्रममा कुनै नबुझिने शब्द आएमा शब्दकोश हेरिँदैन । बरु पाठकले त्यस शब्दको अर्थको अनुमान गर्छ । पढ्दै गर्दा कुनै नौलो शब्द आउँदा कथा वा घटनाको सन्दर्भको अध्ययन गरी पाठकलाई त्यस शब्दको अर्थ अड्कल गर्ने अभ्यासको लागि पनि यसो गरिन्छ ।
तर, एक पेजमा कति वटा नौला वा नबुझिने शब्दसम्मलाई राम्रो र कतिलाई गार्हो भन्ने सम्बन्धमा यसको आफ्नो पाँचऔँले नियमलाई मानक मानिन्छ । (कृपया दिइएको बक्समा हेर्नुस् )
यस सुविस्तृत पठनको सिद्धान्तअनुसार यो पठन कुनै परीक्षा उत्तीर्ण गर्नु वा आफ्नो गृहकार्यसँग सम्बन्धितभन्दा पनि आफ्नो रुचिको विषयमा नयाँ सूचना वा मनोरञ्जन वा आनन्दित हुनको लागि हो । हुन त यो सुविस्तृत पठनको सिद्धान्त र नियम अङ्ग्रेजी भाषा दोस्रो भाषा भएकाहरूलाई सिकाउन प्रतिपादन गरिएको भए पनि अन्य भाषा सिकाइको लागि उत्तिकै उपयुक्त देखिन्छ । शब्दको अर्थ र व्याकरणका नियमहरूको आधारमा भाषा सिकाउनेभन्दा पनि एउटै खालका वाक्यहरूले बनेका अनुच्छेद र एउटै शब्दहरू धेरैपल्ट र धेरै सन्दर्भमा प्रयोग गरिएका धेरै पुस्तक पढाएर भाषा सिकाउने विधि हो । यस सुविस्तृत पठनले भाषा सिकाइबाहेक नयाँ सूचनाहरूले ज्ञानको दायरा फराकिलो बनाउने, बोधको सीपमा अभिवृद्धि गर्ने, आत्मविश्वास बढाउने, अझ नयाँ कुराहरू पढ्न अभिप्रेरित गर्ने तथा लेखाइमा समेत उत्साहित गर्ने यस क्षेत्रका एक अनुसन्धानकर्ता टिमोथी बेलको निष्कर्ष रहेको छ ।
आज एसईईदेखि स्नातक तहसम्मको परीक्षाको लागि तयारीमा लागेका विद्यार्थीहरू सघन पठनबाट थाकेका होलान् । सुविस्तृत पठनमा पनि ध्यानदिऊँ । साइड इफेक्ट(हानी नोक्सानी) बिनाको यो कर्मले सबैको भलो नै गर्ने छ । भारतीय विख्यात कवि एवं लेखक गुलजारले कुनै बेला भनेका थिए, “एउटा पुस्तकले मेरो जीवनको मोड बदलिदियो ।”
१ वैशाख २०७७
Leave a Reply