भर्खरै :

लकडाउनमा अनलाइन कक्षा र जूम


सुनील सुवाल
            विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारण अधिकांश देश लकडाउनमा छ । यतिबेला यो महामारीको कारण आ–आफ्ना टाढाको दाजुभाइ, साथीभाइ र छिमेकीसँग सम्पर्क गर्ने एउटा भरपर्दो माध्यम अनलाइन मिडिया हो । अहिले संसारमा अधिकांश मानिस घरभित्र बसेको बेला फेसबुक, स्काइप, भाइवर अत्याधिक प्रयोग भएको देखिन्छ ।
            विकसित देशहरूमा अनलाइन सफ्टवेयरमार्फत घरैबाट काम गर्ने सुविधा छ । विश्वविद्यालय र विद्यालयहरूको कक्षा पनि अनलाइनमार्फत सञ्चालन हुने व्यवस्था छ । चीन, इटाली र अमेरिकामा पनि यो महामारीको सङ्कटमा अनलाइन कक्षा सञ्चालन भएको समाचार छ । ‘वर्क फ्रम होम’ को प्रयोग विश्वभरी डाक्टरदेखि सेयर बजारसम्मले गर्दै छन् ।
            सन् २०१७-१८ मा करिब २५ प्रतिशत कामदारहरूले घरैबाट काम गरेको अमेरिकी तथ्याङ्क छ । घरैबाट काम गर्न विभिन्न सफ्टवेयरको प्रयोग हुन्छ । कामका साथीहरूबीच बैठक गर्न अनलाइन एप्स प्रयोग गरिन्छ । जूम (Zoom), स्काइप, वेभएक्स, गोटु मिटिङ्ग आदि बैठकहरू सञ्चालन गर्ने एप्स हुन् । यो महामारीमा घर बस्नेहरू बढेसँगै सफ्टवेयर जूम को प्रयोग ह्वात्तै बढेको देखिन्छ । जुम एप्सलाई एक सजिलो र भरपर्दो मिटिङ्ग एप्सको रुपमा लिइएको छ । एक हप्तामा ६ लाख भन्दा बढी डाउनलोड भएको यो एप्सको कम्पनी सन् २०११ मा अमेरिकामा स्थापना भएको हो ।
            जूमको परिकल्पना चिनियाँमूलका अमेरिकी सफ्टवेयर इन्जिनियर एरिक एस. युआन (Eric S. Yuan) ले गरेका हुन् । चीनको शानतोङ्ग विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट गणित र कम्प्युटर विज्ञानमा स्नातक गरी सन् १९९० मा अमेरिका पुगेका एरिकका बुबा खानी इन्जिनियर हुन् । एरिकले वेभएक्समा लामो समय काम गरेर सन् २०११ मा आफ्नै कम्पनी जूमको स्थापना गरेका हुन् ।
            मार्च २६ मा G-20 समूहको बैठक पहिलोचोटी अनलाइनमा कोभिड–१९ महामारीको विषय छलफल गर्न बसेको उक्त अनलाइन बैठक ९० मिनेटसम्म चल्यो । कोभिड–१९ को सङ्‍क्रमण रोक्न अन्तर्राष्ट्रिय सहकार्य गर्ने प्रतिबद्धतामा टुङ्गिएको सो बैठकमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सि चिनफिङ् सहभागी थिए ।
            अप्रिल ११ मा प्रधानमन्त्री केपी ओलीले सातवटै प्रान्तका मुख्यमन्त्रीहरूसँग कोभिड–१९ को बारे छलफल गर्न अनलाइन भिडियो बैठक गरेका थिए ।
            मार्च १५ का दिन सार्क राष्ट्रका सदस्यहरूको भिडियो बैठक भयो । कोभिड–१९ सङ्‍क्रमणलाई रोकथाम गर्ने विषयमा केन्द्रित उक्त बैठकमा नेपालका प्र.म. सहभागी भएका थिए ।
            यो महामारीको बेला घरभित्र बस्नुपर्ने घोषणासँगै नेपालमा पनि अनलाइन कक्षा सञ्चालनको अभ्यास बढेको देखिन्छ । त्रि.वि.को स्नातकोत्तर र एमफिलका कक्षाहरू अनलाइन सञ्चालन भइरहेका छन् । काठमाडौँ विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरका कक्षाहरू पनि सञ्चालन भइरहेको छ । भक्तपुरमै ख्वप कलेजका शिक्षकहरू अनौपचारिकरुपमा अनलाइन कक्षामा बसिरहनुभएको छ । ख्वप इन्जिनियरिङ कलेजको ट्रेनिङ जूमकै माध्यमबाट भइरहेको सामाजिक सञ्जालमा देखिन्छ ।
            सजिलै प्रयोग गर्न सकिने जूम एप्स कम्पनीले दावी गरेजस्तो यो वेभसाइट भरपर्दो छैन । जूम ह्याक (बाहिरी हस्तक्षेप) भएको समाचार गतहप्ता निकै आएको थियो । जूम एप्समा बाहिरी हस्तक्षेप भएका केही उदाहरण यस प्रकार छ :– मार्चको अन्तिममा म्यासाचुसेट्स राज्यको एक विद्यालयको अनलाइन कक्षामा एक अपरिचित प्रयोगकर्ताले हस्तक्षेप गरेका थिए । उनले अपशब्दसमेत बोलेका थिए । त्यस्तै सिङ्गापुरको एक अनलाइन कक्षामा पनि ह्याकरले अपशब्द बोले र उच्छृङ्खल फोटो सेयर गरे । अप्रिलको पहिलो हप्ता अमेरिकाको एक धार्मिक सभामा पनि ह्याकरले अन्य धर्म मान्नेहरूविरुद्ध बोले र अनलाइन सभामा बाधा पुर्‍याए । यसरी भिडियो बैठकहरूमा आमन्त्रण नगरेका प्रयोगकर्तासमेतले हस्तक्षेप गर्ने जूम एप्समाजस्तै अन्य एप्सहरू, स्काइप र वेभएक्समा पनि पटक पटक नभएको होइन ।
जूमबम्विङ्ग (Zoombombing) के हो ?
            जूमलगायत अन्य भिडियो बैठकहरूमा आमन्त्रण नगरिएका प्रयोगकर्ताहरूबाट हस्तक्षेप हुनुलाई जूमबम्विङ्ग भनिन्छ । जूमबम्बिङ अनलाइन एप्सको साझा शब्दावली बन्दैछ । यस्तो हस्तक्षेप सामूहिक वा व्यक्तिगत हुन सक्छ । विशेषतः आमन्त्रण नगरिएकोले बैठकमा उच्छृङ्खल र अपशब्द बोल्ने कार्यलाई जूमबम्बिङ भनिन्छ । अहिले जूमको ख्यातीसँगै जूमबम्बिङको पनि त्यति नै ख्याती (Troll) छ ।
जूमको समस्या के हो ?
            जूम एक भरपर्दो र सजिलो एप्स भनिएकोले यसको बजार बढेको हो । पछिल्लो समयमा एकै पटक प्रयोगकर्ताको चाप बढेकोलाई यसले धान्न नसकेको देखिन्छ । फलस्वरुप संसारभरि यसको ह्याक गर्ने बढेको देखिन्छ । जूमका मालिक एरिक युआनकाअनुसार यही चापलाई धान्न चिनियाँ सर्भर प्रयोग गरिएको र यही क्रममा प्रयोगकर्ताको डाटा दुरुपयोग भई उनले गल्ती भएको स्वीकारे ।
            जूम बैठकको सुरक्षा गर्न TSL (Transport Layer Security)  इन्क्रिप्सन प्रयोग गरिन्छ । यो HTTP वेभसाइटहरू सुरक्षित बनाउन पनि प्रयोग हुन्छ । यसको अर्थ कम्प्युटर र मोबाइलमा चलाउने जूम एप्स र कुनै वेभसाइट वा ब्राउजरमा जडान गरिएको एन्क्रिप्सन एउटै हो । यसलाई ट्रान्सपोर्ट इन्क्रिप्सन भनिन्छ । इन्क्रिप्सन भन्नाले सम्पूर्ण अनलाइन गतिविधिहरूलाई सुरक्षित बनाई सञ्चार गर्ने तरिका हो । यसमा प्रयोगकर्ताको डाटाहरूमाथि स्वयम् प्रयोगकर्ताको मात्र अधिकार हुन्छ । जुन जूमले उल्लेख गरेजस्तो एण्ड टु एण्ड (End to End E2E) इन्क्रिप्सन छैन । यसरी E2E इन्क्रिप्सन नगरिए जूममा रेकर्ड गरिएका फाइल, सेयर गरिएका फोटोहरू र अन्य सामग्रीमा जूमले पहुँच राख्न सक्दछ । वाइफाइको सहयोगबाट अनलाइनहरूको जासुसीसमेत गर्ने गरिन्छ । वास्तवमा जूम इन्क्रिप्सन नै नभएपनि रेकर्ड गरिएका भिडियो, फोटो र फाइलको स्वामित्व प्रयोगकर्ताको मात्र हुनुपर्ने हो । जूमले कुनै पनि किसिमबाट हस्तक्षेप गर्न नमिल्नुपर्ने हो ।
            जूम भिडियो बैठकहरूमा TCP (Transport Control Protocol) / UDP (User Datagram Protocol) को मिलाएर प्रयोग गरिन्छ । TCP जडानहरू TSL प्रयोग गरेर बनाइन्छ र UDP  जडानहरूको इन्क्रिप्सनमा AES (Advanced Encryption Standard) प्रयोग गरिन्छ र AES इन्क्रिप्सन नै TSL जडानहरूमा पनि प्रयोग गरिन्छ ।
            जूमका प्रवक्ताले यो एप्स सुरुदेखि अन्त्यसम्म गोप्य भण्डारण (End to End E2E) हुन्छ वा हुँदैन भन्ने प्रश्नमा हाललाई जूम भिडियो बैठकमा E2E इन्क्रिप्सन नहुने बताए । जूमले मार्चमा प्रयोगकर्ताको डाटा फेसबुकलाई दिएको स्वीकारेको थियो र त्यसपछि नदिइएको बतायो । डाटा चुहावटविरुद्ध यसको कानुनी प्रक्रिया सुरु भएको छ र अमेरिकी संघीय अनुसन्धान विभाग (FBI) ले जाँचबुझ गर्दैछ । जूमका मालिक एरिक युआनकाअनुसार जूमले नयाँ काम सबै रोकेर सुरक्षाको सम्पूर्ण उपाय केन्द्रित हुने प्रतिवद्धता आफ्नो ब्लग पोष्टमार्फत गरेका छन् ।
जूमबम्बिङबाट बच्ने केही उपायहरू
            इन्टरनेटमा धेरैजसो समस्या प्रयोगकर्ताको सावधानी नपुगेर हुन्छ । फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा ह्याकिङ वा प्रयोगकर्ताको डाटा दुरुपयोग त्यस्तै लापर्वाहीबाट हुन्छ । अनलाइन कम्पनी एप्सको प्रयोगकर्तालाई सहज हुने गरी डाटाको सुरक्षा पद्धतिबारे जानकारी दिनुपर्ने हो । फेसबुक, गुगल र भिडियो एप्सहरू यस्तो जिम्मेवारीबाट पन्छिएको देखिन्छ । त्यसैले इन्टरनेट वा सामाजिक सञ्जालमा फोटो भिडियो राख्दा निकै सजकता अपनाउनुपर्ने हुन्छ । भिडियो एप्सहरूमा पाइने सुविधा वा प्रयोगको विधि फरक–फरक हुन्छ । सावधानीका निम्ति केही उपायहरू प्रचलनमा छन् । यसको प्रयोगले जूमबम्बिङबाट बच्न केही सहयोग पुग्न सक्छ :–
            १. दर्ता (साइन इन) भएका प्रयोगकर्ताहरूलाई मात्र सामेल हुन अनुमति दिने : प्रयोगकर्ताहरूको सूची बनाएर एप्समा दर्ता भएका प्रयोगकर्तालाई मात्र आफ्नो बैठकमा समावेश गर्नुपर्छ । यसरी दर्ता हुँदा को को आउँदै छन् भन्ने थाहा हुन्छ र सोहीअनुसार तयारी गर्न सकिन्छ ।
            २. बैठक लक गर्नु : जूमले हालै बैठकलाई बन्द (लक) गर्ने बनाएको छ । जसरी तपार्इँ घर बस्दा पनि घरको कोठा बन्द गर्नु हुन्छ त्यसरी नै बैठकको ढोका बन्द गर्दा सुरक्षा अझ थप हुन्छ । यसरी बन्द गर्दा जूम वा भिडियो मिटिङ्गको आईडी पासवर्ड भए पनि बैठकमा समावेश हुन पाउँदैन ।
३. तपाईको आफ्नै दुई आधिकारिकता बनाउनु : दर्ता गरेका सहभागीहरूलाई बैठक लिङ्क दिने र आवश्यकताअनुसारमात्र लिङ्क सामाजिक सञ्जालमा राख्ने गर्नुपर्छ । सामाजिक सञ्जालमा लिङ्क राख्दा पासवर्डबिना राख्ने गर्नुपर्छ । बैठकको पासवर्ड सहभागीहरूलाई छुट्टै पठाउने व्यवस्था गर्नुपर्छ ।
            ४. सहभागीहरू म्यूट गर्नु : आयोजकले सहभागीहरू सबैलाई म्यूट-अनम्यूट गर्न सक्दछन् । सबै सहभागीहरूलाई बैठक अवधि म्यूटमा राखेर आवश्यकताअनुसार मात्र अम्यूट गर्नुपर्छ । यसले कसले बोलेको भन्ने थाहा हुने वा सहभागीहरूको अनुपयुक्त आवाज रोक्ने पनि गर्छ ।
५. प्रतिक्षालयको प्रयोग गर्नु (Waiting Room) : यो अनलाइन बैठकको चेकपोष्टजस्तै हो । बैठकमा को को सहभागी हुन आएका छन् भन्ने जानकारी लिने राम्रो माध्यम प्रतिक्षालय हुनसक्छ । आफ्नो सहभागी दर्ता सूचीमा नभएकाहरूलाई यहीँ रोक्न सकिन्छ । अपरिचित सहभागीलाई यो प्रतिक्षालयमा रोक्न मिल्छ ।
६. स्क्रिन सेयरिङ्ग : भिडियो बैठक एप्सको एउटा राम्रो पक्ष स्क्रिन सेयरिङ्ग हो । यसमा प्रस्तुतकर्ताले आफ्नो खोजपत्र, लेखहरू सबै सहभागीहरूलाई  एकैचोटी देखाउन सक्छ । त्यसरी देखाउनुअघि सतर्क हुनुपर्छ र आफूले चाहेको मात्र छानेर सेयर गर्नुपर्छ । बैठकको आयोजना गर्दा आयोजक वा प्रस्तुतकर्ताले मात्र स्क्रिन सेयर गर्न मिल्ने गरी गरिनुपर्छ ।
            कोरोना भाइरसको सङ्‍क्रमणलाई रोक्न विश्वका लाखौँ व्यक्तिहरू घरबाट काम गर्दै छन् । यसरी जूमलगायत अन्य भिडियो एप्सहरू पनि फस्टाउँदै छ । गोपनीयता र सुरक्षित हुने विभिन्न उपायहरू प्रयोगकर्ताहरूमाझ दिइँदै छ, थाहा दिइरहेका छन् । यस्ता कम्पनीहरूलाई अझ बढी जवाफदेही बनाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *