भर्खरै :

पुँजीवादी समाजमा ‘बन्दाबन्दी’ को परिणाम, समाजवादी देशले सामान खेर जान दिँदैन

निर्जला
कोरोना भाइरस (कोभिड–१९) ले गर्दा संसारभरिका मानिस ठूलो दु ःख, पीडा, त्रास र मृत्यु व्यहोर्न बाध्य छन् । कुनै देशले समयमै कोभिड – १९ सँग लड्न गर्नुपर्ने तयारी नगरेकोमा वा बेवास्ता गरेकोमा त्यहाँका व्यवस्था वा सत्तासीन नेतृत्व जिम्मेवार मानियो । उदाहरण संरा अमेरिका छ । राष्ट्रपति ट्रम्पले यसबारे कुनै गम्भीरता नदेखाएको र मित्र देशहरूप्रति सहानुभूति नदेखाएको, अमेरिकाजस्तो विज्ञान र प्रविधिमा अगाडि बढेको देशले त्यस रोगको रोकथामको निम्ति पटक्कै चासो नदेखाएको हुँदा आज अमेरिकाका बुद्धिजीवी समुदाय र सर्वसाधारण नागरिकले ट्रम्पलाई नै दोषी मान्दै छन् ।
आज संरा अमेरिका कोभिड–१९ को केन्द्र बनेको छ । पत्रिकामा प्रकाशित समाचारअनुसार आइतबारसम्ममा संरा अमेरिकामा ५ लाख ३४ हजार ४३४ जना सङ्क्रमित, ३० हजार ५४८ उपचाररत र २० हजार ६२७ को मृत्यु भइसकेको तथाङ्क छ । (मजदुर दैनिक, १ वैशाख २०७७), न्युयोर्कमा गाड्नलाई ठाउँको बन्दोबस्त गर्न नसक्दा सामूहिक चिहानमा लाश गाडिँदै छ । यस्तो सङ्कटको बेला ‘ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी खारेजीमा’ परे ।
प्रजग कोरिया अर्थात् उत्तर कोरियालाई कोभिड–१९ मुक्त देश घोषणा गरियो । समाजवादी देश क्युवाले युरोप, क्यारेबियाली देशहरू, ल्याटिन अमेरिकी देशहरू र अफ्रिकी देशहरूमा पनि उपचार सेवा गर्न क्युवाली डाक्टरहरू पठाएको छ । तर, अमेरिकाले त्यस कार्यलाई ‘सेतो लुगाको कूटनीति’ को नाम दियो । वास्तवमा त्यो कूटनीतिभन्दा ‘निःस्वार्थरूपले सेवा’ गर्ने उद्देश्य हो जसरी २०७२ को भूकम्पमा ४४ जनाको स्वास्थ्यकर्मीहरूको एउटा टोलीले नेपालमा आएर सेवा गरे । क्युवाली स्वास्थ्य टोलीहरू इबोला भाइरसको विरोधमा सङ्घर्ष गर्न अफ्रिकी देशहरूमा पनि पुगेका थिए । कोभिड–१९ मा सहयोग गर्न क्युवाली स्वास्थ्य टोली चीनमा पनि पुगेको थियो र आपसमा आफ्ना अनुभव एवम् जानकारीहरू साटासाट गरी चिनियाँ स्वास्थ्य टोली र क्युवाली स्वास्थ्य टोली युरोपका विभिन्न देशमा पुगे । चीनले स्वास्थ्य सामग्रीमार्फत समेत युरोपेली देशहरूलाई सहयोग ग¥यो । यसैलाई भनिन्छ– अन्तर्राष्ट्रिय भावना !
यही सेरोफेरोमा समाजवादी देशहरूमा नागरिकले रोजगारी गुमाए र बेरोजगारी बढ्यो भन्ने एक शब्द पनि सुनिन्न । तर, पुँजीवादी देशहरूमा बेरोजगारीको समस्या चुलिएको छ । “अमेरिकामा अहिलेसम्म १ करोड ६८ लाख बरोजगार छन् । भारतमा अनौपचारिक क्षेत्रमा ४० करोडभन्दा बढी भारतीय कामदारहरू प्रभावित छन् । जर्मनीमा २१ लाखभन्दा बढी मानिसहरू कामविहीन हुने अवस्थामा छन् । क्यानाडामा मार्च महिनामा १४ लाखले जागीर गुमाए ।” (नयाँ पत्रिका–२९ चैत, २०७६)
पुँजीवादी देश र समाजवादी व्यवस्थामा अर्काे महत्वपूर्ण भिन्नता भनेको उत्पादनको सदुपयोग हो । पुँजीवादी देशमा नाफाको स्वार्थमा काम लाग्ने सामान समेत खेर फाल्छन् । उदाहरण आफ्नै देशको छ, गएको भूकम्पमा चीन र बङ्गलादेशले नेपाली जनताको निम्ति खाद्यवस्तु सहयोग पठाएका थिए । भारतले बङ्गलादेशको सामानलाई नेपाल पठाउन दिएन र सबै खेर गयो, यसबारे मोदी सरकार आजसम्म एक शब्द बोल्दैन । नेपालको ओली सरकार मोदीको विरोधमा एक शब्द पनि बोल्न सक्दैनन् । चीनले उत्तरी नाकाबाट पठाएको खाद्य वस्तु नेपाल सरकारले देश भित्रिन दिएन र खाद्यान्न खेर गयो । यसका दुई कारण हुनसक्छ – चीनको सहयोगको प्रचार होला भनी भारतले विरोध ग¥यो, नभए सरकार वा कर्मचारी ‘देशविरोधी र जनविरोधी’ छन् ।
त्यस्तै दुर्गम जिल्लाको निम्ति अन्न जनतासम्म नपु¥याई कुहाइन्छ । यसमा पनि कर्मचारी र सम्बन्धित मन्त्रालय वा विभागका हाकिमहरू दोषी छन् । जनता भोकै मर्ने तर सरकारी खाद्य सामग्री कुहाउने के यो अपराध होइन ? समाजवादी देशमा भए यो सह्य हुँदैन । यस्ता कुकृत्यका जिम्मेवार कर्मचारीहरूबाट भएको क्षतिको असुल उपर तिनीहरूको घर घरानाबाट गरी कडा कारबाही गर्नु आवश्यक छ ।
चितवन, वीरगञ्ज, जाजरकोट, पाल्पा, धनगढी, प्युठान, हेटौँडा, झापा, कञ्चनपुर, कैलाली, विराटनगर, म्याग्दी आदि ठाउँमा कृषि उत्पादन बन्दाबन्दी (लकडाउन) का कारण खेर गइरहेको छ । यसबारे कृषि मन्त्रालय र विभागले पहिले नै सोच्नुपर्ने थियो । ‘केरा नबिकेर नदीमा बगाइयो, खाल्टो खनेर कुखुरा पुरियो, तरकारीबारीमा ट्याक्टर चलाइयो ।’ (नयाँ पत्रिका–अर्थ पत्रिका, २७ चैत, २०७६) समाजवादी देशमा यस्ता सबै खाद्यान्न सरकार वा सम्बन्धित संस्थाले आवश्यक ठाउँमा पु¥याइदिने गर्छन्, सामान खेर फाल्दैनन् । नाफा नभए पनि जनतालाई चाहिने सामान सरकारले पु¥याउँछ । पुँजीवाद र समाजवादको एक दुई वटा भिन्नता यी हुन् । अरू पनि धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *