भर्खरै :

देशमा साधारण परिवर्तनमात्रै

फोटो : नयाँ पत्रिका
समाचार टिप्पणी
काठमाडौँ, ३ वैशाख । ७० वर्ष अर्थात् तेस्रो पुस्ता सुरू हुँदै छ – राज्यसत्ताको परिवर्तनको । राणा शासन ढलेसँगै पुँजीपतिका प्रतिनिधिहरूको सत्तामा साझेदारी रह्यो । पञ्चायती व्यवस्था ढल्यो । विदेशी पुँजीका हकदारहरू सत्तामा पुगे । आखिरमा राजतन्त्र गयो तर पुँजीवादी गणतन्त्र आयो अर्थात् पहिलेभन्दा धेरैको सत्तामा पहुँच पुग्यो । यी कुनै पनि घटना क्रान्ति थिएनन्, किन ?
            क्रान्तिको अर्थ हो – सत्तामा आसीन पक्ष वा वर्गसँग नयाँ पक्षको कुनै साझेदारी वा सम्झौता हुँदैन । यो पूरै नौलो व्यवस्था हुन्छ, त्यो नै क्रान्ति हो । क्रामवेलको बेलायती क्रान्ति र फ्रान्सेली क्रान्ति दुवै सामन्त वर्गको विरोधमा पुँजीपति वर्गको हुकुम हो भने रूसको बोल्शेविक क्रान्ति पुँजीपति वर्गको ठाउँमा सर्वहारा वर्गको हुकुम हो अर्थात् सर्वहारा वर्गको शासन व्यवस्था स्थापना भएको थियो ।
            नेपालमा २००७ को परिवर्तन, पञ्चायती व्यवस्थाको स्थापना र पतन, प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रको स्थापना यी सबै घटनाहरू क्रान्ति थिएनन् । आजको कोरोना भाइरस र ‘बन्दाबन्दी’ को बेला तलका घटनाले माथिका परिवर्तन क्रान्ति होइन भन्ने अझ स्पष्ट गर्छन् –
क) लहान नगरपालिकाले एक करोड ३० लाख बजेट विपन्नलाई राहतको निम्ति दियो । तर, त्यो राहतको चामल कुहिएको र गन्हाउने थियो ।
ख) हुम्लाको खबरअनुसार बाजुराको बडिमालिकामा पनि कुहिएर डल्ला परेको चामल बाँडियो ।
           ती चामल सरकारी स्वामित्वको खाद्य संस्थानसँग किनेर वितरण गरिएको थियो । ‘धनगढी’मै प्याकिङ भएर ढुवानी भएको थियो, कसैले बोरा खोलेको होइन ।
            यसरी सरकारी संस्थाले जानेरै कुहेको चामल दिँदै आएको यो पहिलो पटक होइन । यसकारण, ती जिम्मेवार तलदेखि माथिका सबै कर्मचारीहरूलाई पक्राउ गरी कडा कारबाही गर्नु आवश्यक छ । पुरानो ढङ्गले कारबाही गर्ने होइन, ती कर्मचारीहरु कुन राजनीतिक दल र व्यक्तिसँग संलग्न छन्, त्यहाँसम्म पुग्नु आवश्यक छ । ती घटनाले जनताको ज्यानसमेत जाने लापरबाही र भ्रष्टाचार गर्न खोजेको प्रस्ट गर्छ ।
ग)        बारा जिल्लाको कलैया उपमहानगरका मेयरकै पसलबाट कीरा लागेको दाल खरिद गरेर राहत वितरण गरेको खुलेको छ । (नयाँ पत्रिका, ३ वैशाख २०७७)
            यी घटनाले नेपालमा राजनीतिक परिवर्तनमात्र  भएको  तर क्रान्ति नभएको प्रमाणित गर्छ । क्रान्ति हुँदो हो त पहिलो पटकमै नगरपालिकाका मेयरसहित पक्राउ पर्ने थिए । के गरिबहरूले राम्रो चामल पाउँदैनन् ?
            पश्चिमाञ्चलतिर हरेक वर्ष सरकारी कर्मचारीहरूले जनतालाई कुहेको चामल दिन्छन्– पशुले पनि नखाने चामल अर्थात् मलको काममा समेत नआउने । कुहेको चामल दिनुले दुइटा अपराध गरेको ठहरिन्छ । पहिलो, सरकारी चामल कुहिन दिई सरकारी रकम र सम्पत्ति हिनामिना गरेको । दोस्रो, जनतालाई अखाद्य सामान वितरण गरी जनताको स्वास्थ्यमा खेलबाड गरेको ।
            पश्चिमाञ्चलका स्थानीय नेता वा पुराना सामन्तहरू हरेक भ्रष्टाचारमा संलग्न भएका हुन्छन् । यसकारण तिनीहरूलाई काठमाडौँमा हिँडाएरै जेलमा थुन्नु आवश्यक छ ।
            बारामा आन्दोलन भएकै ठाउँमा मेयरले ठगेको हुनाले उसमाथि झन् ठूलो कारबाही हुनुपर्छ । किनभने –
१)        फ्रान्सेली क्रान्तिमा एकजना धनीले बम पठाउनुपर्नेमा कपडाको पोकोमात्र पठाएको हुँदा उसलाई ज्यान सजाय भयो ।
२)        फ्रान्सेली क्रान्तिमा धनीहरूले क्रान्तिकारी सेनालाई जुत्ता दिएनन् । एक क्रान्तिकारी नेताले उर्दी जारी गरे, “भोलि दिउँसो १२ बजेसम्म क्रान्तिकारी सेनाको खुट्टामा जुत्ता देखिएन भने कुनै पनि धनी व्यक्तिले जुत्ता लगाउन पाउने छैनन् ।” तत्काल सेनाले जुत्ता पाए ।
३) रुसको बोल्शेविक क्रान्तिमा पुँजीपति वर्गले खाद्य गोदाम बन्द गर्‍यो । लेनिनको क्रान्तिकारी सरकारले इस्तिहार जाहेर गर्‍यो, “भोलिसम्म जनताले खान पाएनन् भने सरकारले त्यसको जिम्मा लिनेछैन ।” बस, भोलि बिहानै जनताले खानेकुरा पाए ।
४)        बोल्शेविक क्रान्तिकै समयमा बैङ्कले ताला खोलेन र बैङ्कले कर्मचारी र मजदुरलाई दिनुपर्ने तलब दिएन । बोल्शेविक सरकारले इस्तिहार जारी गर्‍यो– “भोलि बिहानसम्म बैङ्क खोलेन भने बैङ्कलाई बारूदले उडाउने छ र बैङ्कका प्रबन्धकलाई ज्यान सजाय दिनेछ ।” प्रबन्धक पक्राउ परेको थियो, तर उनले लेनिनलाई चिनेको थिएन । अखबारमा समाचार देखेपछि उनले बैङ्कको साँचो दिए ।
            यसकारण क्रान्ति र साधारण परिवर्तनमा आकाश–पातालको फरक हुन्छ । कालाबजारी र जनताको ज्यानसँग खेलबाड गर्ने व्यापारीहरूलाई तत्काल कारबाही थालेमा समस्या स्वाभाविकरूपले हल हुने देखिन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *