भर्खरै :

‘सेता हात्ती’ लाई सिमाना रक्षामा पठाऊ

            सिमानामा सुरक्षाकर्मी परिचालन गर्न अभाव भएको समयमा हजारौँ सुरक्षाकर्मी कथित ‘विशिष्ट व्यक्ति’ को सुरक्षाको लागि कानुनविपरीत थन्काउनु जति निन्दनीय विषय हो, ती विशिष्ट भनिएका व्यक्तिहरूको लागि लज्जाको विषय पनि हो । कोभिड–१९ को विश्वव्यापी सङ्‍क्रमण फैलिएसँगै रोकथाम र नियन्त्रण गर्न सरकारले सबै सीमा बन्द गरेको छ । तर, सिंहदरबारले गरेको यो निर्णय भारतसँगको खुला सिमानाको कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । दैनिक सयौँको सङ्ख्यामा भारत गएका नेपाली र भारतकै नागरिकसमेत नेपाल भित्रिरहेका छन् । नेपाल र भारतबीच खुला सीमा भएकोले औपचारिक नाकाबाहेक लुकीछिपी आउन सकिने सयौं बाटा छन् । ती चोरबाटो भएर आउने मानिसको स्वास्थ्य जाँच हुन सकेको छैन । तिनै मानिस नेपालका गाउँ–गाउँ पस्दा नेपालमा कोभिड–१९ को सामुदायिक सङ्‍क्रमणको जोखिम दिनानुदिन बढ्दो छ ।
            तर, सीमा रक्षाको लागि परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग यसरी लुकीचोरी आउने मानिसलाई रोक्न पुग्दो जनशक्तिको अभाव छ । भएको जनशक्ति ‘विशिष्ट व्यक्ति’ को सुरक्षाको लागि लगाइएको छ । ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७०’ मा पूर्वराष्ट्रपतिबाहेक अरू व्यक्तिको सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन नगरिने बन्दोबस्त भए पनि अहिले नेपाल प्रहरीका मात्र १५ सय जनशक्ति पूर्वप्रधानमन्त्री, मन्त्री र सचिवहरूका घरमा पालो पहरा दिइरहेका छन् । राज्यका स्रोत–साधनको यस्तो अपव्यय वा प्रस्ट भ्रष्टाचार हो । सरकारले तत्कालै कार्यविधिमा बन्दोबस्त भएको बाहेक पूर्वपदाधिकारीले प्रयोग गरिएका सबै सुरक्षाकर्मी फिर्ता गरिनुपर्छ । ती सुरक्षाकर्मीलाई सिमाना निगरानीको लागि परिचालन गरिनुपर्छ । यसमा कुनै व्यक्ति र शक्तिको दबाब र प्रभावसामु सरकार झुक्नु उपयुक्त होइन । सरकारी तलब बुझ्ने सुरक्षाकर्मीलाई आफ्नो व्यक्तिगत हितको लागि दुरुपयोग गर्नु कथित विशिष्टहरूको अनैतिकता हो ।
            नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले ‘विशिष्ट व्यक्तिको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता गर्दा आउने दबाब गृहमन्त्रालयले सामना गर्ने भए ती सुरक्षाकर्मी फिर्ता गर्न तयार रहेको’ बताएका छन् । देशको हितभन्दा माथि कसैको हित हुनसक्दैन । अहिले सिङ्गो देशको सुरक्षामाथि सङ्कट आइपरेको अवस्थामा केही मानिसको सुरक्षा र व्यक्तिगत काममा देशका सुरक्षाकर्मीलाई प्रयोग गर्नु सर्वथा गलत हो । त्यसरी ‘विशिष्ट व्यक्ति’को सुरक्षाको लागि परिचालित सुरक्षाकर्मीको सुरक्षामा मात्र नभई घरायसी काममा समेत प्रयोग हुने गरेको छ । प्रहरी देशका सेवक हुन् । कोही व्यक्तिको सेवाको लागि जनताले तिरेको करबाट तलब खुवाउन तिनलाई जागिर दिइएको होइन ।
            सरकारले कुनै पनि राजनीतिक दबाबसामु नझुकी कथित विशिष्टहरूले गैरकानुनीरूपमा राखेका सबै सुरक्षाकर्मीलाई सिमानामा परिचालन गरिनुपर्छ । उपरान्त कानुनले तोकेको बाहेक पूर्वपदाधिकारीहरूको लागि सुरक्षाकर्मी परिचालन गर्ने सामन्ती चलनको अन्त्य गर्नुपर्छ । जनताको मत पाएर कुनै बेलाका पदाधिकारीहरूले अहिले देशका प्रहरीलाई आफ्नो सुरक्षाको लागि दुरुपयोग गर्नु सामन्तवादको अवशेष हो । त्यस्ता नवसामन्तका सामन्ती देखावा अन्त्य गर्ने मौका यही हो । हजारौँ सङ्ख्यामा रहेका ‘सेता हात्ती’लाई सिमानामा देशको सुरक्षा गर्न तैनाथ गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *