सुनिता गाईसी

समय परिवर्तनशील छ । सबै मानिस समयसँगै दौडिरहेका हुन्छन् । हाल भइरहेको लकडाउनले गर्दा हामी सबैको जीवनशैलीमा हेरफेर आएको छ भागदौडको जीवनमा केही स्थिरता आएको छ । लकडाउनबाट बालबालिकाहरू पनि प्रभावित छन् । बालबालिका स्वाभाविकरूपमा चञ्चल हुन्छन् । उनीहरू चुप लागेर एकै ठाउँमा बस्न चाहँदैनन्, उनीहरू जिज्ञासु, उत्सुक, हरेक काम आफै गर्ने, सिक्ने इच्छुक हुन्छन् । सबै बालबालिकामा कुनै न कुनै विशेष गुण हुन्छ । त्यसैले सबै बालबालिकालाई माया, ममता र सद्भाव साथै हेरविचार गर्नुपर्दछ ।

            ग्रामीण भेग र सहरी समाजमा रहेका बालबालिकाको अवस्था निकै फरक रहेको देखिन्छ । पहिला सहरी समाजका बालबालिको दिनचर्याको बारेमा केही छलफल गरौं । सहरी क्षेत्रका बालबालिका आधुनिक जीवनशैलीमा रमाएका हुन्छन् । बिहान उज्यालो भएदेखि बेलुका नसुतेसम्म मोबाइल, ट्याव, कम्प्युटर, टीभीमा बढीजसो समय बिताउने गरेका हुन्छन् । सहरी समाजमा निकै छिटोछिटो हेरफेर आइरहेको हुन्छ । सहरी बालबालिकाको स्वास्थ्यको अवस्था विचार गर्ने हो भने उनीहरूको जीवनशैलीअनुसारका विभिन्न रोगबाट पीडित हुन्छन् । शारीरिक परिश्रमको कमी हुनाले सानै उमेरदेखि विभिन्न रोगका शिकार पनि बन्ने गरेका छन् । प्रायःजसो बालबालिका धेरैजसो समय आधुनिक ग्याजेटमा बिताएका हुन्छन् । एकै ठाउँमा एकै आसनमा बस्ने हुनाले यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा ठूलो असर पर्दछ । राति अबेरसम्म नसुत्ने हुनाले निद्रा पुग्दैन र उनीहरू तनावग्रस्त देखिन्छन् । मोबाइल तथा टीभीले गर्दा बालबालिकाको आँखा, कानका साथै मानसिक स्वास्थ्यमा समेत असर गर्ने हुनाले ती सामग्रीको प्रयोग कति समयको लागि दिने भनेर अभिभावकले विचार गर्नुपर्दछ ।

            हाल विशेषगरी गृहिणी महिलाहरूले घरायसी काममा बालबालिकाले बाधा नपुर्‍याउन् भनी उनीहरूलाई व्यस्त राख्न मोबाइल दिने गर्छन् । जसको कारणले बालबालिकाले पनि चाहिँदो नचाहिँदो खेल खेल्ने गरेको पाइन्छ । यो राम्रो होइन भन्दाभन्दै पनि बालबालिका त्यस्तैमा भुल्ने गरेका छन् । यसले बालबालिका दिनानुदिन जिद्दी भइरहेका छन् । कतिपय बालबालिकालाई त खाना खुवाउनसम्म पनि मोबाइल खेलाउनुपर्ने बानी लागिसकेको छ । यदि मोबाइल हेर्न नपाए उनीहरू खाना नै खान मान्दैनन् । त्यसैले सबै अभिभावकले यस्ता कुराहरूमा विशेष ध्यान दिनुपर्दछ । एकछिन अल्मलाउने धुनमा बालबालिकालाई कतै गलत कुरा त सिकाइरहेका छैनौं ?

            लकडाउनको समयमा स्कुल कलेज बन्द हुनु र पूरै दिन घरमा नै रहने हुनाले बढी समय मोबाइलको खेल खेल्ने गरेको देखिन्छ । यस्तो समस्याबाट बचाउन अभिभावकहरूले लकडाउनको समयमा आफना बालबालिकाहरूलाई विभिन्न घरायसी कामहरू सिकाउने जस्तैः घरको सफाइ गर्न, कपडाहरू मिलाउन, किचेनको कामहरू सिकाउने, फूलहरू रोप्न लगाउने, तरकारीका विरुवाहरू रोप्न सिकाउने, विभिन्न पुस्तकहरू पढनु प्रेरणा दिने गर्नुपर्दछ । उनीहरूलाई अध्ययनशील बनाउन अभिभावक स्वयम्ले पनि उनीहरूको अगाडि बसेर पढ्ने गर्नुपर्दछ । उनीहरूको अगाडि अभिभावक आफैले काम गरेर देखाउनुपर्दछ ।  बालबालिका हरेक कुराहरूलाई सकारात्मकरूपमा लिन्छन् । उनीहरू जिज्ञासु हुन्छन् । कहिलेकाहीं उनीहरूले काम बिगार्न सक्छन् । त्यस्तो बेलामा कुटपिट नगरी उनीहरूलाई सम्झाउनुपर्दछ । सकारात्मक सोचले मात्र समाज परिवर्तन हुन सक्दछ ।

            अहिलेका बालबालिकाहरू प्रशोधित खाने कुराहरू बढी खान मन पराउँछन् । जसलाई जङ्क अथवा पत्रु खाना पनि भनिन्छ । चाउचाउ, बिस्कुट, मिठाई, विभिन्न प्रकारका पेयपदार्थहरूतर्फ बढी आकर्षण बढेको देखिन्छ । यस्ता खानेकुराले उनीहरूको विकासमा नकारात्मक असर पार्ने गर्दछ । त्यसले यो समयमा बालबालिकाहरूलाई घरमै विभिन्न परिकारहरू बनाई खुवाउने र बनाउन पनि सिकाउनुपर्दछ । यो समयमा उनीहरूलाई व्यवहारिक ज्ञान दिनु जरुरी छ । यसै समयमा कतिपय अभिभावकले आफना बालबालिकालाई विभिन्न रचनात्मक कामहरू सिकाइरहेको कुरा आफनो फेसबुकवालमा सेयर गरिरहेका छन् । यो पनि एक राम्रो कदमको रूपमा लिनुपर्दछ । आधुनिक ग्याजेटहरू बालबालिकालाई चलाउनै दिनुहुन्न भन्ने होइन तर हरेक कुरा सीमितरूपमा दिनुपर्दछ कारण धेरै खायो भने चिनी पनि तीतो हुन्छ ।  

            नेपाल गाउँले भरिएको मुलुक हो । लकडाउनको समयमा ग्रामीण क्षेत्रका बालबालिकाहरू बढी जसो खेतीपातीको काममा आफना अभिभावकहरूलाई सघाउन व्यस्त हुनुपर्छ । बाली  भिœयाउने र नयाँ बाली लगाउने समय हुनाले ग्रामीण भेगमा लकडाउनको खासै असर परेको देखिँदैन । फेरि स्थानीय सरकारले पनि खेतीपातीको काम गर्न सकिने कुरा गरेपछि ग्रामीण भेगतिर आजकल मानिसहरू व्यस्त देखिन्छन् ।  त्यहाँका बालबालिकासँग आधुनिक ग्याजेटहरूको पहुँच पनि नहुनाले उनीहरू स्वतन्त्ररूपमा प्रकृतिमा उपलब्ध हुने कुराहरू प्रयोग गरेर विभिन्न खेलहरू खेल्दछन् । ग्रामीण भेगतिर प्रायशः मानिसहरू रेडियो र एफएममार्फत समाचार सुन्छन् । यहाँका बालबालिका फुर्सदको समयमा रेडियोमा बज्ने बाल कार्यक्रम सुन्ने,  विभिन्न गीत सङ्गित सुन्ने, माछा मार्ने, गाईवस्तु चराउने साथै लेखपढ पनि गर्छन् । लकडाउनपछि कतिपय सहरबासीहरू पनि आफनो थातथलो सम्झी गाउँ पुगेका छन् जसले गर्दा खेतीपातीमा काम गर्ने मानिसको अभाव कम भएको छ । यसले कृषि उत्पादनमा पनि वृद्धि हुनेछ । उनीहरूसँगै गाउँ पुगेका बालबालिकाले पनि ग्रामीण परिवेश बुझ्ने मौका पाएका छन् । धेरै कुराहरू सिक्ने भएका छन् । वास्तवमा ग्रामीण जनजीवन सामान्य जस्तो देखिए पनि यहाँ नै वास्तविक जीवनको अर्थ लुकेको हुन्छ । पहिला आफूलाई गाउँले भन्न लजाउनेहरू अहिले कोरोनाको प्रकोपबाट बच्न गाउँ नै पुगेका छन् । अझ कतिपय मानिसहरू त रातारात सयौँ किलोमिटरको यात्रा हिँडेरै घर पुगेका छन् ।

            मानिस आफना बालबालिकालाई पनि सही संस्कार दिन चाहन्छ । त्यसैले लकडाउमा चाहे सहरमा बसौँ या ग्रामीण भेगमा, आफ्ना बालबालिकाको विशेष ख्याल राखौं । उनीहरूको भावनालाई बुझेर सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन पछि नपरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *