भर्खरै :

ट्रम्पद्वारा विश्व स्वास्थ्य सङ्गठनको बजेट सहायता कटौतीको घोषणा

काठमाडौँ, ३ वैशाख । नेपालीभाषामा एउटा उखान छ, विनाशकाल विपरीत बुद्धि । आपत्‍को बेला उल्टो बुद्धि लगाउने मानिसलाई यो उखान लागू हुन्छ । कोभिड–१९ को महामारीले संसार भयभित बनेको आजको परिस्थितिमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली देख्दा जोकोहीले यहीँ उखान सम्झिन थालेका छन् । संसारभर रोग महामारी फैलिरहेको समयमा सबै देशबीच आपसमा  ऐक्यबद्धता र सहयोग आजको आवश्यकता हो । संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारी नियन्त्रणमा सुरुदेखि नै काम गर्दै आएको छ । महामारी प्रभावित देशलाई आवश्यक सहयोग र जोखिमका देशलाई खतरामुक्त बनाउन विश्व स्वास्थ्य सङ्गठनले सल्लाहकार र समन्वयकर्ताको भूमिका खेलिरहेको छ । संसारभर एकैबाजी यति ठूलो महामारी फैलिरहेको समयमा विश्व स्वास्थ्य सङ्गठनको भूमिकालाई प्रभावकारी बनाउनु सबै देशको दायित्व हो । तर, यस्तो संवदेशनशील समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् । चीनमा कोरोना भाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिएका हुन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “विश्व स्वास्थ्य सङ्गठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौँ ।”
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा ठोस योजना बनाउनुअघि नै विश्व स्वास्थ्य सङ्गठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गरेका थिए । तर, ट्रम्पको सो आरोपमा कुनै सत्यता नभएको घटनाक्रमले पुष्टि गरेको छ ।
ट्रम्पले चीनमा कोभिड–१९ भाइरसको महामारी फैलिएपछि आफूले चिनियाँहरूको लागि अमेरिकाको सिमाना बन्द गर्ने आफ्नो निर्णय सही भएको दाबी गर्दै आएका छन् । विश्व स्वास्थ्य सङ्गठनले त्यत्तिबेला अन्तर्राष्ट्रिय सिमाना बन्द गर्नु उपयुक्त नहुने भनी दिएको अभिव्यक्तिप्रति ट्रम्प सुरुदेखि नै आक्रोशित थिए ।
तथापि ट्रम्पले फेब्रुअरीको अन्तिम हप्तासम्म पनि कोभिड–१९ भाइरसले अमेरिकी जनतालाई केही प्रभाव पार्न नसक्ने प्रचार गर्दै आएका थिए । उनले यो सामान्य रुघाखोकी भएको, गर्मी महिना सुरु भएसँगै जादुमयी तरिकामा हराउने आदि बोल्दै आएका थिए । अहिले भने युरोपपछि संरा अमेरिका यो महामारीको केन्द्र बनेको छ ।
दैनिक हजारौँ मानिसको निधन भए पनि ट्रम्पले अहिलेसम्म सबभन्दा प्रभावित राज्य र अन्य कुनै पनि अमेरिकी प्रान्तमा लकडाउन लागू गरेको छैन । महामारीको केन्द्र बनेको न्युयोर्क सहरका गभर्नरले समेत पटक – पटक लकडाउनको माग गर्दा ट्रम्प अनकनाइरहेका छन् । त्यसको परिणाम आज त्यहाँ सङ्‍क्रमितको सङ्ख्या बढिरहेको छ । तर, ट्रम्प भने यो दोष विश्व स्वास्थ्य सङ्गठनको काँधमा पन्छाएर आफू साखुल्ले बन्न खोजिरहेका छन् ।
ट्रम्प यतिबेला आफूले हत्या गरेर मारिने व्यक्तिको रगत अर्को निर्दोष व्यक्तिको हातमा पुछ्ने जाली शासक जस्तै बनेका छन् । तर, विश्व स्वास्थ्य सङ्गठनको निष्प्रभाविताले अन्ततः संसारका धेरै देशका जनता जस्तै संरा अमेरिकी जनता पनि प्रभावित हुनेछन् । मूर्ख शासकलाई ह्वाइट हाउसमा पुर्‍याउँदा अमेरिकी जनताले अझ कस्ता कस्ता दुःख र विपद् झेल्नुपर्ने होला ¤
गुटरेजको भनाइ
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले विश्व स्वास्थ्य सङ्गठनलाई सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई संरा अमेरिकाले दिंदै आएको पैसा दिन बन्द गर्ने घोषणा गरेलगत्तै महासचिव गुटरेजले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
“विश्व स्वास्थ्य सङ्गठनलाई सबैले सहयोग गर्नुपर्छ भन्नेमा मेरो विश्वास छ । कोभिड–१९ को महामारीविरुद्धको लडाइँ जित्न अत्यावश्यक हो”, महासचिव गुटरेजले आफ्ना प्रवक्तामार्फत जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *