भर्खरै :

के हुन्थ्यो यदि

मजदुर सम्पादकीय     
       के हुन्थ्यो होला यदि संसारका शक्ति राष्ट्रहरूले सैनिक पूर्वाधारमा भन्दा स्वास्थ्य पूर्वाधारमा लगानी बढाएको भए ? संसारकै अब्बल सैनिक प्रविधि र शक्ति भएका देशका जनताले आज भ्यान्टिलेटरको अभावमा ज्यान गुमाउनुपर्थेन । के हुन्थ्यो होला यदि आर्थिक रुपमा टाट पल्टिन लागेका भनी ठूलठूला व्यापारिक निगमलाई सरकारी पैसा दिनुको सट्टा त्यो पैसाले जनजीवनमा अत्यावश्यक वस्तुको उत्पादन सरकार स्वयम्‍ले गरेको भए ? अहिलेको आपत्‍कालमा पनि ती वस्तुको बजारमा मूल्यवृद्धि वा कृत्रिम अभाव हुने थिएन । के हुन्थ्यो यदि नाफाको लागि वैज्ञानिक अनुसन्धान गर्नुको सट्टा मानिस र प्रकृतिको दिगोपनाको लागि वैज्ञानिक अनुसन्धानहरू भएको भए ? महिनौँदेखि मानिसमाथि हमला गरिरहेको भाइरसलाई तह लगाउन मानिस अझै निःशस्त्र भएर बस्नुपर्ने थिएन । के हुन्थ्यो यदि संसारमा आफ्नो प्रभुत्व कायम राख्न चाहने देशका शासकहरू संसारलाई आफ्नो करेसाबारी ठान्ने चिन्तनबाट मुक्त भए ? मानिसमाथि कोभिड–१९ भाइरसको आक्रमण भइरहेको समयमा ती शासकहरू संसारका सबै साना–ठूला, धनी–गरिब, उत्तर–दक्षिण, पूर्व–पश्चिम देशलाई एक ठाउँमा आउन र एकजुट भएर कोभिड–१९ महामारीविरुद्ध लड्न अग्रसरता देखाउने थिए । आजजस्तै विभाजनको विष फैलाएर वैमनस्यताको आगो झोसिने थिएन ।
            के हुन्थ्यो यदि संसारका औद्योगिक देशहरूले आफ्नो उत्पादनबाट जलवायु परिवर्तन, विश्वको तापमान वृद्धिमा पारिरहेको असरबारे सोचेर न्यूनीकरणको प्रयास गरेको भए ? जलवायु परिवर्तनको कारण संसारले एकपछि अर्को गरी सामना गर्नुपरेको विपत्ति आज सामना गर्नुपर्थेन । नयाँ नयाँ रोगको कारण हरेक वर्ष लाखौँ मानिसले अकाल जीवन गुमाउनुपर्थेन । के हुन्थ्यो यदि आफ्नो समृद्धि र विकासको लागि गरिब र विपन्न देशका प्राकृतिक र मानवीय स्रोतको दोहन रोकिन्थ्यो भने । संसारको मुहार आजको जस्तो विभाजित र असन्तुलित हुने थिएन । मानिसहरू जीवनयापनको आशामा युरोप र अमेरिकामा लर्को लाग्ने थिएनन् । आफ्नै देशको माटो खनेर जीवनको सुन्दर फुलाउने थिए । के हुन्थ्यो यदि तेलको खानी धेरै भएका देशमाथि कब्जा गर्ने चिन्तन साम्राज्यवादी शक्तिहरूले त्यागे । सभ्यताका अनुपम इतिहास बोकेका भूमि आज युद्धको अन्त्यहीन दलदलमा फस्ने थिएनन् । मानिसहरू आफ्नै देशमा पराया हुने थिएनन् । ज्यान जोगाउन आफ्नै देशबाट मानिस भाग्न विवश हुने थिएनन् ।
            के हुन्थ्यो यदि चीनमा नयाँ खालको कोरोना भाइरसको सङ्‍क्रमण भएको थाहा हुनेबित्तिकै संसारका सबै देश त्यसको प्रतिरोधको निम्ति एकजुट भएर आपसमा सहयोग र ऐक्यबद्धता जनाएका भए ? कोभिड–१९ को महामारीले आजसम्म मरेका दसौँ हजार मानिसमध्ये धेरैको ज्यान जोगिन सम्भव थियो । आर्थिकरूपमा आजको विश्वले भोगिरहेको विपद्‍बाट संसार जोगिन सम्भव थियो ।
            संसार अहिलेभन्दा निकै सुन्दर र सन्तुलित हुने थियो, यदि संसारमा नाफाको लागि जे पनि गर्ने अनैतिक शासक र राजनीतिक व्यवस्था नहुने हो भने । मानिसका आधारभूत आवश्यकतालाई भन्दा बढी नाफालाई जोड दिने, सामूहिक स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई जोड दिने प्रवृत्ति अन्त्य हुने भए आजको विपद्को समयमा पनि केही मूर्ख शासकहरू जनताको जीवनभन्दा नाफाका केही प्रतिशतमा र्‍याल चुहाउने थिएनन् ।
            के हुन्थ्यो यदि यस्तो लोभीपापी व्यवस्थाप्रति संसारका बहुमत जनताको घृणाको रेखा उक्लिंदै गए ? त्यत्तिबेला संसारमा नयाँ व्यवस्थाको भानुदय भइसकेको हुनेछ जसलाई मानिसहरूले वैज्ञानिक समाजवाद भनी चिन्नेछन् ।
२०७७-१-५

Leave a Reply

Your email address will not be published. Required fields are marked *