विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
-केरी ब्राउन
नोवेल कोरोना भाइरस
(कोभिड–१९) अहिले वास्तवमै एउटा विश्वव्यापी सङ्कट बनेको छ । जनस्वास्थ्यदेखि अर्थतन्त्र र प्रशासनसम्म पनि यसले प्रभाव पारेको छ । अप्रिल १५ सम्मको तथ्याङ्कअनुसार संसारभर २१ लाख ६६७ भन्दा बढी मानिस यो रोगबाट सङ्क्रमित भएका छन् भने १ लाख ३६ हजार ४८ जनाको निधन भइसकेको छ । युरोप र संरा अमेरिकामा सङ्क्रमणको प्रभाव निकै घातक रह्यो । युरोपका इटाली, स्पेन र जर्मनीमा सङ्क्रमितको सङ्ख्या अत्यधिक देखियो ।
जर्मनी, फ्रान्स र बेलायतका केही भागमा यसअघि कहिल्यै पनि कार्यान्वयनमा नआएका निषेधआज्ञाहरू लगाइए । संरा अमेरिकाले पनि आफ्नै हिसाबले भाइरसको प्रतिरोध गरिरहेको छ । अधिकांश देशले सिमाना बन्द गरेको छ । चमेनागृह, पब र क्याफेहरू सबै बन्द गरिएका छन् । विश्वविद्यालयहरूले अनलाइन कक्षा चलाउन थालेका छन् । ल्याटिन अमेरिका र अफ्रिकामा पनि कोभिड–१९ को सङ्क्रमण देखापरेका छन् ।
विश्वव्यापी पहल
जनस्वास्थ्य चुनौतीले संसारभरका स्वास्थ्यविज्ञहरूबीच सहकार्यको लागि प्रोत्साहन गरेको छ ।
चीनका चिकित्सकहरू मद्दतका लागि युरोप पुगेका छन् । चिनियाँ स्वास्थ्यकर्मीहरूले विभिन्न देशका आफ्ना समकक्षीहरूलाई आफूसँग अनुभव बाँडिरहेका छन् । विभिन्न देशले गरेका अनुकरणीय प्रयासको अनुभव एकआपसमा सिकाउने र सिक्ने काम पनि भइरहेको छ । यी सबै सम्पर्क र सम्बन्धको मूल ध्येय भनेको भाइरस सङ्क्रमण रोक्नु हो । कोभिड–१९ भाइरसको औषधि पत्ता लगाउने संसारभर एक प्रकारको प्रतिस्पर्धा भएको छ । यी सबै गतिविधिले मानिसको स्वास्थ्य समस्याबारे विश्वव्यापी सहकार्यको नयाँ युग नै सुरु हुने अनुमान गर्न सकिन्छ ।
संसारको अर्थतन्त्रमा कोभिड–१९ ले बृहत् प्रभाव पारेको छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) २० प्रतिशतको हाराहारीबाट एक अङ्कमा झर्ने पूर्वानुमान गरिएको छ । प्रश्न त्यस्तो मन्दी कति गहिराइसम्म जानेछ र त्यसको कतिसम्म प्रतिरोध गर्न सकिन्छ भन्ने हो । व्याजदर घटेको छ । सहायता प्याकेजहरू घोषणा भएका छन् । संरा अमेरिकामा यो महामारीको कारण झन्डै २० करोड अमेरिकी डलर आर्थिक क्षति हुने पूर्वानुमान गरिएको छ ।
बेलायतमा सरकारले पहिलो पटक काममा जान नसकेकाहरूको ज्याला दिने घोषणा गरेको छ । त्यहाँ सामाजिक दुरीको नियम कडाइका साथ लागू गरिएको छ भने कम्पनीहरू बन्द गरिएका छन् ।
अहिलेसम्म शेयर बजारको मूल्य निकै ओरालो लागेको छ । अविश्वास, ढुक्क हुन नसकिने अवस्था र अनिश्चयको कारण बजारमा आत्मविश्वासको कमी भएको छ ।
तर, यतिबेला दोस्रो विश्वयुद्धको समाप्तिपछि देश देशबीचको सिमानाको सबभन्दा धेरै महत्व बढेको छ । हवाई कम्पनीहरू सब ठप्प छन् । धेरैले सरकारबाट राहतको माग गरिरहेका छन् । कुनै बेला मानिसको भीड हुने विमानस्थल र रेल स्टेसनहरू आजभोलि सुनसान छन् । मानिसहरू भाइरसको सङ्क्रमण रोक्न लगातार घर बसिरहेका छन् ।
यस्तो लाग्दै छ, मानौँ हामीले बुझ्दै र भन्दै आएको विश्वव्यापीकरणको अवसान भइरहेको छ । आज हामी देशहरूका सीमा अझ अग्लो बन्दै गरेको युगमा बाँचिरहेका छौँ । स्थानीयता र राष्ट्रियता अझ जब्बर बन्दै गएको समाजतिर हामी उन्मुख छौँ । भविष्यमा आर्थिक वृद्धि पुनःस्थापना गर्न अत्यन्त महत्वपूर्ण हुने व्यापार र सेवा प्रवाह कसरी पूर्वआधुनिक ढाँचामा फर्किनेछ भनी अनुमान गर्न हामीलाई कठिन छ । भूमण्डलीकरणको ढाँचा परिवर्तन हुँदै छ । ठूलै उथलपुथल हुँदै छ । तर, यदि हामीले बितेका आधा शताब्दीमा मानव विकासको संसारले देखेको जीवनस्तर र प्रगतिलाई कायम राख्नु छ भने विश्वव्यापीकरणको प्रक्रियालाई कुनै न कुनै रूपमा कायम राख्नुपर्ने हुन्छ ।
एउटा सङ्गठित लडाइँ
आजको सङ्कटपूर्ण समयमा विज्ञ र विद्वान्हरूबीचको अन्तरक्रिया अत्यन्त महत्वपूर्ण हुन्छ । कोभिड–१९ को समय केही समय आपसमा तगारो राखेर समाधान गर्न सकिने जस्तो देखिए पनि खासमा यसको निम्ति ठीक उल्टो प्रक्रिया आवश्यक हुन्छ । एक देशबाट अर्को देशमा स्पष्ट र स्वतन्त्र सूचना र ज्ञानको प्रवाह हुनुपर्छ । वास्तवमा विश्व सबै एकजुट हुने प्रतिक्रियाको खाँचो छ । भाइरसले भूगोलको कुनै सीमा मान्दैन । न त हाम्रो युगका सबभन्दा ठूलो चुनौती–जलवायु परिवर्तन र सामाजिक अन्यायलाई नै यो भाइरसले आदर गर्छ । अहिलेको चुनौतीले हामीलाई विश्वव्यापी संवाद र सूचना अमूल्य मात्र नभई अत्यावश्यक पनि भएको देखाएको छ ।
यस्तो संवादले मात्र हामीलाई जनस्वास्थ्य सङ्कटबाट नभई त्यसले पार्ने आर्थिक प्रभावबाट मुक्त गर्नसक्नेछ । त्यस्ता संवादको राजनीतिक प्रभाव पनि हुनेछ । तर, आज संसारमा आरोप प्रत्यारोप र दोषारोपणको हल्ला सुनिंदै छ । राजनीतिक बदलाको कुरा सुनिंदै छ । संसारमा अहिले जे भइरहेको छ, त्यही मौकामा केही झार्ने सोच हावी बनिरहेको छ । कोही कोही जातीय लडाइँ र निर्मम शब्द युद्ध गरेर निकै नमीठो अवस्था बनाइरहेका छन् ।
मानिसहरू आत्तिएका छन् । यतिबेला भावनाले बढी काम भइरहेको छ । तर, तर्कसङ्गत र भद्र व्यवहार भने कायम राख्न जरुरी छ । आक्रोशको शब्दले कोभिड–१९ को प्रतिरक्षा प्रणालीको विकास गर्नसक्दैन । न त कोभिड–१९ ले अपमानपूर्ण शब्दले नै यसलाई रोक्न सक्छ । पूर्वाग्रही राजनीतिक स्वार्थको लागि वर्तमान वियोगपूर्ण अवस्थामा अतिरञ्जना फैलाउने कुनै पनि प्रयत्नविरुद्ध सबैजना उठ्न जरुरी छ । सबैले आफू मानव समाजको हिस्सा भएको कुरा बोध गर्नुपर्छ । आपसमा झैझगडा गरेर होइन, बरु एक ठाउँ उभिएर नै हामीले आजको चुनौतीलाई पराजित गर्नसक्छौँ । आजको सङ्कटबाट हासिल हुनसक्ने सबभन्दा महत्वपूर्ण उपलब्धि भनेको आधारभूतरूपमा हामी मानिस भएको पहिचान बोध हुनसक्छ ।
अहिलेको लडाइँ भाइरसविरुद्धको लडाइँ हो । कुनै राजनीतिक उपलब्धि वा आरोपको लडाइँको होइन । ऐक्यबद्धता र सहकार्यले मात्र हामी यो सङ्कटबाट पार पाउन सक्छौँ । कोभिड–१९ विरुद्धको लडाइँ सरकार र स्वास्थ्यकर्मीहरूको मात्र होइन । यसमा सबै मानिसले महत्वपूर्ण भूमिका निभाउन सक्नुपर्छ । राम्ररी हात धुने, आपसमा दुरी कायम गर्ने र खोक्दा मुख छोप्ने गरेर पनि सबैले यो भाइरस फैलिनबाट रोक्न सक्छन् । यो भाइरस त एक दिन जानेछ । तर, यस्तो बेला परेको मनको चोट भने सदैव चहराइरहनेछ । जापानले उहानका जनतालाई पठाएको मास्कका बट्टाहरूको बाहिर एउटा भनाइ चिनियाँमा लेखिएको थियो–हामी कोशौं कोश टाढा भए पनि हामीले ओढ्ने आकाश एउटै छ, हामीले देख्ने चन्द्रमा एउटै छ ।
यो समय हामीले अरूलाई कस्तो व्यवहार गर्छौं र पृथ्वीका अन्य प्रजातिसँग हामी कसरी मिलेर बस्छौँ भन्ने कुराको परीक्षा हो ।
यो समय सङ्कटको समयमात्र होइन । यो समय अवसर पनि हो–घर बस्ने, पढ्ने, पकाउने, परिवारसँग खाना खाने र कुराकानी गर्ने । हामी सबैले साझा मानवताको बोध गर्ने र एकआपसलाई अझ नजिकबाट बुझ्ने यो फलदायी समय हुनसक्छ । जीवनका सबभन्दा महत्वपूर्ण पक्षबारे बुझ्ने, अरूप्रति सहृदयी बन्ने र यो सङ्कटपछि अझ सुन्दर र सङ्गठित विश्व बनाउने मौका पनि हो । अहिलेको जस्तो विभाजित, बेताल र शत्रुतापूर्ण समाजलाई बिदा गर्ने समय हो यो ।
लेखक लन्डनको किङ्स कलेजको लाउ चाइना प्रतिष्ठानका निर्देशक हुनुहुन्छ ।
स्रोत : पेइचिङ रिभ्यु
नेपाली अनुवाद : सुमन
Leave a Reply