भर्खरै :

सक्‍वाको म राजदास – २८  भ्लादिमीर लेनिनबारे भ्लादिमीर मायाकोभ्स्की

-ई. राजदास श्रेष्ठ
            मेरो लागि खर्च जुटाउन, लुगाफाटो किन्न र काठमाडौँदेखि मस्कोसम्म जान टिकट किन्न मेरो बुबाले घरमा भएको धान बेचेका थिए । तीनचार वर्षदेखि मेरी आमा पारालाइसिस भएर बिरामी थिइन् । औषधि उपचार गर्दागर्दै बुबासँग भएको सबै पैसा स्वाहा भइसकेको थियो । त्यसकारण आफ्नो घरमा भएको अन्न बेचेर पनि नपुगेर यताउता सापट लिँदै मेरो लागि बुबाले पैसा मिलाएका थिए । यति गर्दा पनि मलाई विदेशी मुद्रा सटही गर्न बुबाले पुग्ने पैसा जोहो गर्नसकेनन् । त्यसकारण मेरा अभिभावक पद्मोदय हाइस्कूलका प्राध्यापक स्व. मोहनप्रसाद मास्केले ५० डलर राष्ट्र बैङ्कमा साटेर लान ५०० रुपैयाँ दिए । त्यसबेला नेपालमा डलरको रेट १० रुपैयाँ थियो । त्यो ५०० रुपैयाँ मैले आफ्ना अभिभावक मास्केलाई सन् १९७६ मा सोभियत सङ्‍घबाट फर्किएपछि फिर्ता गरेको थिएँ । ससुराली जाँदा भालेन्टिना मलाई सोभियत रुसी कवि सेर्गेई एसेनीनको बारेमा धेरै कुरा सुनाउँथिन् ।
            एसेनीन सोभियत रुसमा एक प्रतिष्ठित र विवादित रोमाञ्चकारी कवि थिए । एसेनीनको जन्म भालेन्टिना जन्मेको पेन्जा जिल्लामा भएको थियो । त्यसकारण पनि भालेन्टिना उनीप्रति बढी श्रद्धा राख्दथिन् । एसेनीनपछि भालेन्टिनलाई धेरै मनपर्ने र मलाई धेरै माया गर्ने अर्को सोभियत रुसी कवि थिए भ्यादिमीर मायाकोभ्स्की । मायाकोभ्स्की विश्वविख्यात कवि भएर पनि सोभियत सङ्‍घमा उनी विवादित रहन पुगे । यतिमात्र नभई मायाकोभ्स्की मस्कोको बाटोमा हिँड्दा मानिसहरू खिस्सि गर्थे भन्ने कुरा सुनाउँदा भालेन्टिना आफ्ना दाहिने हातका औँलाले रसाएका आफ्ना आँखाका आँसु पुछ्दै भनिन्, “मायाकोभ्स्कीको जिउडाल ठूलो र धेरै अग्ला थिए । उनको शारीरिक उचाइ छ फीट २ इन्चभन्दा नि अलि बढी थियो । उनका पैताला यति ठूला थिए कि बजारमा उनलाई ठीक्क हुने जुत्ता पाइँदैनथ्यो । उनी आफूलाई चाहिने जुत्ता स्पेशल अर्डर गरेर बनाउन दिन्थे ।” हाम्रो रेल यात्रामा अन्ना पेट्रोभ्नाले सोभियत सङ्‍घका उत्कृष्ट कवि भ्यादिमीर मायाकोभ्स्कीको बारेमा सुनाइन् ।
            महान अक्टोबर क्रान्तिको लागि तयारी हुँदै गर्दा भ्लादिमीर मायाकोभ्स्कीले धेरै मेहनतपूर्वक काम गरेका थिए । अक्टोबर क्रान्तिका नेता भ्लादिमीर लेनिनलाई उनी एक सच्चा क्रान्तिकारीका रूपमा मान्थे । त्यसकारण भ्लादिमीर मायाकोभ्स्की रुसी महान अक्टोबर क्रान्तिमा दिलोज्यान दिएका थिए ।
            मायाकोभ्स्की एक कविमात्र नभई एक पत्रकार, एक नाटककार र एक सिने कलाकार पनि थिए । त्यसकारण आफूसँग भएको सबै ऊर्जा उनले महान ‘अक्टोबर क्रान्ति’ सफल पार्न खर्च गरे । मायाकोभ्स्कीले सोभियत समाजवादको सपनाबारे गाउँ–गाउँमा सर्वसाधारण जनतामाझ गएर वकालत गरे । त्यतिमात्र होइन सोभियत सङ्‍घमा त्यसबेला उदीयमान रोमाञ्चित कवि एसेनीनलाई उनी भन्ने गर्थे रे, “ऐ एसेनीन कति प्रकृति, सुन्दरी र प्रेमको बारेमा मात्र लेख्छौ ? लेख न क्रान्तिको बारेमा पनि केही । तिमी एकदम सक्षम कवि हौ । देश र जनताको बारेमा केही लेख ।” मायाकोभ्स्की एसेनीनभन्दा दुई वर्षले जेठो थियो । यसैकारण मायाकोभ्स्कीले एसेनीनलाई आफ्नो भाइजस्तो सम्झेर भन्ने गर्थे । क्रान्तिको बारे पनि लेख्न स्नेहपूर्वक सम्झाउँथे । मायाकोभ्स्कीजस्तै सेर्गेई एसेनीन पनि महान अक्टोबर क्रान्तिको पक्षमा थिए । तर, दुवै कविहरूको केमेस्ट्री राम्ररी जम्न सकेन । सोभियत सङ्‍घको गतिविधिसँगै महान अक्टोबर क्रान्तिको सफलतापछि तत्कालीन सोभियत साहित्यकारहरूको जमातमा दुवै कविहरू विवादित रहे । रुसी महान कविहरूले आफ्नो सुन्दर जीवन आत्महत्या गरी समाप्त पारे । यद्यपि उनीहरूले आत्महत्या नै गरे भन्ने विषयमा यत्रतत्र शङ्का उपशड्ढाहरू सुनिन्छ ।
            सोभियत साहित्य सङ्‍घमा भ्लादिमीर मायाकोभ्स्की विवादित र यदाकदा आलोचित भए पनि सर्वोच्च सोभियत नेता जोसेफ स्तालिनले भनेका थिए, “भ्लादिमीर मायाकोभ्स्की सोभियत सङ्‍घका अति उत्कृष्ट कवि हुन् ।”
            अन्ना पेट्रोभ्नासँग तात्तातो पेराश्कीसँगै चिया पिउँदै गर्दा आफ्ना भिजेका आँखाहरू पुछ्दै आफ्नो झोलाबाट एउटा सानो रुमाल र ऐना निकालिन् । उक्त ऐनामा हेर्दै आँसुले भिजेका आँखाहरू पुछ्न थालिन् । उक्त ऐना ब्यागभित्र हालेलगत्तै एउटा स्काफ निकालिन् त्यही ब्यागबाट । त्यो स्काफ त मैले बिहान उनलाई दिएको उपहार थियो । पेरिसको ‘आइफेल’ टावर इङ्गित भएको सिल्कको त्यो उपहार मैले लन्डन बजारमा किनेको थिएँ । अन्ना पेट्रोभ्नाले ओठभरि आफ्नो मुस्कान छरेर गालामा पुछिन् । उनले उक्त स्काफ मतिर हेर्दै मायालु आँखाले सुस्तरी भनिन्, “राज, म तिमीलाई माया गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *