भर्खरै :

रोमको २७७३ औँ स्थापना दिवसमा कुनै उत्सव मनाइएन

रोम, २१ अप्रिल (प्रेन्सा ल्याटिना) । इटालीको विश्वविख्यात सहर रोम स्थापनाको २७७३ वर्ष गुगेको छ । तर, यसवर्ष नोवेल कोरोना भाइरस महामारीको कारण स्थापनाको कुनै पूर्ववत् उत्सवका कार्यक्रम मनाइएन ।
रोमको स्थापना दिवस औपचारिकतामा सीमित गरिएको थियो । रोमका मेयरद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार रोमको स्थापना दिवसका अवसरमा हास्य कलाकार म्याक्स गियुस्टीले रोमको क्यापिटल सङ्ग्रहालयको पृष्ठभूमिमा आफ्नो एकल प्रस्तुति प्रस्तुत गरेका थिए ।
देशको दुखद् अवस्थाका बाबजुद हामीले आशा र साहसको सन्देश दिन चाह्यौँ ः मिलेर अगाडि बढेमा हामी सफल हुनेछौँ । रोम र इटालीले कैयौँ कठिनाइहरू सामना गरिसकेको छ र हामी पनि यस कठिन क्षणमाथि विजय प्राप्त गर्नेछौँ – मेयर भर्जिनिया राग्गीले भनिन् ।
मेयर राग्गीले कलाकार गियुस्टीलाई पनि उनको सहृदयता र उपलब्धताको लागि धन्यवाद दिँदै रोम र इटालीयालीहरूप्रति श्रद्धाको कार्यक्रम सफल पार्न योगदान गर्ने  सबैप्रति आभार प्रकट गरिन् । इतिहास र किम्बदन्ती अनुसार ईशापूर्व ७५३ को अप्रिल २१ का दिन आफ्नै दाजू रेमोको हत्यापछि गद्दिनसीन भएका सम्राट रोमुलोले रोम सहरको स्थापना गराएर वस्ती बसाल्न लगाएका थिए । मध्य युगमा नगर राज्य हुँदै साम्राज्यको रुपमा विस्तार भएको रोम सहर आधुनिक इटालीको राजधानीको रूपमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *