भर्खरै :

कोरोना र लकडाउनको मार कम गर्न कृषि क्षेत्र नै भरपर्दो सहारा

– आरोही श्रेष्ठ
कोरोना भाइरसको सङ्क्रमण नेपालमा कम देखिए पनि त्यसको त्रासको दुष्प्रभाव विभिन्न क्षेत्रमा देखिन थालेको छ । कोरोनापछि विश्वको अर्थराजनीतिक प्रणालीका बारेमा नीति–निर्माता, अनुसन्धानकर्ताहरूबीच संसारभर नै अहिले व्यापक बहस चलिरहेको छ । कोरोना भाइरस महामारीको कारण नेपालको अर्थतन्त्र पनि कुनै न कुनै रूपमा प्रभावित नहुने कुरै भएन । बहस र विचारको हिसाबले कोरोनाको कारण हाम्रो अर्थतन्त्रमा प्रभावित हुने किटानीका क्षेत्रहरू बाहिर आइरहेका छन् । सबैको निष्कर्ष के छ भने वैदेशिक रोजगारबाट भित्रिरहेको हाम्रो रेमिट्यान्स, पर्यटनका क्षेत्रहरू यसको पहिलो मारमा छन् ।
हाम्रो वैदेशिक लगानी र व्यापारको क्षेत्रलाई पनि कोरोनाले निकै प्रतिकूलतातर्फ धकेल्ने कुरामा नीति–निर्माता र अर्थशास्त्रीहरू सहमत छन् । लकडाउनले आयातलाई घटाएको निश्चय पनि हो । यसले हाम्रो व्यापार घाटालाई सन्तुलनमा ल्याउन योगदान गरे पनि आयातीत वस्तुबाट प्राप्त हुने राजस्व न्यून भएको छ । जसले आगामी आर्थिक वर्षको नीति कार्यक्रमलाई प्रभावित बनाउने छ । हाम्रा घरेलु बहस र छलफलले कृषि र साना मझौला उद्योगका माध्यमबाट हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने निष्कर्ष निकालेका छन् । कोरोना र लकडाउनको मार कम गर्न कृषि क्षेत्रको प्रवद्र्धन नै भरपर्दो सहारा हुनसक्ने देखिएको छ ।
हिजो नेपालको अर्थतन्त्रको ठूलो हिस्सा कृषिमा आधारित थियो । अहिले पनि नेपालको कुल गार्हस्थ उत्पादनमा २७ प्रतिशत कृषिको योगदान छ । नेपालको पाँचौँ पञ्चवर्षीय योजना लागू भएको समय सन् १९७५–८० सम्म कुल जनसङ्ख्याको ९० प्रतिशत जनता कृषि पेशामा संग्लन थिए । त्यो समयमा हाम्रो कुल गार्हस्थ उत्पादनको प्रमुख क्षेत्र पनि कृषि नै थियो । त्यतिबेला हाम्रो व्यापार घाटा आजको जस्तो थिएन ।
तर, अहिले हाम्रो देश कृषि उत्पादनमा धेरै परनिर्भर बनिसकेको छ । हामी वर्षको खर्बौँ रूपैयाँ खाद्यान्न आयातमा खर्च गर्छौं भने दसौँ अर्बको तरकारीमात्र विदेशबाट झिकाउन लगाएर खाने गरेका छौँ । तर नेपाली कृषि क्षेत्र पनि प्रविधिको प्रयोगमा धेरै अगाडि बढिसकेको छ । विदेशमा काम गरेर आएका नेपाली युवाहरूलाई प्रोत्साहन दिने हो भने देशको लागि आवश्यक तरकारी र फलफूलको अधिकांश भाग स्वदेशमै उत्पादन हुनसक्छ । रह्यो कुरा खाद्यान्नको, नेपालको एक टुक्रामात्र पनि खेतीयोग्य भूमि बाँझो नराखी खेतीमा लगायौँ र खेतीमा वैज्ञानिक विधि र उन्नत बीउबिजन प्रयोग ग¥यौँ भने नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न धेरै वर्ष पर्खन नपर्ला । वैदेशिक रोजगारको क्षेत्रमा रोजगार कटौती भएर बेरोजगार बन्न जाने धेरै युवाहरूलाई स्वदेशमै कृषि क्षेत्रले रोजगारी पनि प्रदान गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *