भर्खरै :

कोभिड–१९ को महामारीबाट राजनीतिक मतभिन्नताबीच सहयोग आवश्यक रहेको प्रमाणित

क्युवाली विदेश मामिला मन्त्रालयको वक्तव्य
कोभिड–१९ को असर अहिले नै मापन गर्नु चाँडो हुनेछ र त्यस्तै सङ्क्रमित मानिसहरूको बढ्दो सङ्ख्याले भविष्यको सङ्ख्या सहजै अनुमान गर्न सकिन्छ । अस्वीकार्य (ठूलो) सङ्ख्यामा मानिसहरूको मृत्यु, विश्व अर्थतन्त्र, उत्पादन, व्यापार, रोजगारी र करोडौँ मानिसको व्यक्तिगत आम्दानीमा अपूरणीय क्षति भएको छ । स्वास्थ्य क्षेत्रको हिसाबले यो ठूलो सङ्कट हो ।
अधिकांश देशभित्र र देशहरूमाझ ठूलो आर्थिक तथा सामाजिक असमानता रहेको परिप्रेक्ष्यमा कोभिड–१९ को महामारी देखाप¥यो र फैलियो । अभूतपूर्व आप्रवासन र शरणार्थीहरूको लहर सँगसँगै नश्लवाद र जातीय भेदभाव पुनः जागृत भएको देखियो । विज्ञान र प्रविधिको उल्लेखनीय प्रगति, विशेष गरी स्वास्थ्य क्षेत्रकोले बहुसङ्ख्यक जनताको हित तथा स्वस्थ जीवनभन्दा पनि चिकित्सा सामग्री व्यापार र स्वास्थ्य उपचारको व्यापारीकरणलाई बढावा दियो ।
विशेषगरी अतिउच्च औद्योगीकरण भएका देशहरू तथा विकासशील देशका शासकहरूमाझ उत्पादन र उपभोगको असमानताबीच कोभिड–१९ को सङ्क्रमण विश्वमा देखाप¥यो । ती असमानता दिगो छैनन् र यस ग्रहका जीवनहरूको आधार रहेको प्राकृतिक स्रोतहरूको विशेषतासित मेल खाँदैनन् ।
कोभिड–१९ को पहिलो बिरामीको पहिचान हुनुभन्दा अघि विश्वव्यापीरूपमा ८२ करोड मानिस भोकमरीले पीडित थिए, २ अर्ब २० करोड मानिसको लागि सुरक्षित र व्यवस्थित सफाइ सेवा थिएन र ३ अर्ब मानिसको लागि हात धुने आधारभूत वस्तु तथा पूर्वाधार थिएन ।
जब विश्वव्यापीरूपमा ६ अर्ब ७० करोड डलर विज्ञापनका लागि मात्र खर्च गरिन्छ, विश्वको सैन्य बजेट वार्षिक १.८ शङ्ख डलर खर्च गरिन्छ । जुन खर्च १० औँ हजार मानिसको ज्यान लिइसकेको सङ्कटविरुद्ध लड्नका निम्ति बेकामे छन् ।
भाइरसले भेदभाव गर्दैन । त्यसले धनी र गरिब भनी छुट्याउँदैन । तरैपनि जहाँ गरिब मानिस बस्छन्, त्यहाँ भाइरसको विध्वंसकारी असर गुणात्मकरूपमा वृद्धि हुन्छ र गरिबहरूमाझ र विकासशील देशहरूमा तथा ठूला औद्योगिक सहरका गरिबहरूका बस्तीहरूमा सबैभन्दा ठूलो जोखिम हुन्छ । यसको असर विशेष गरी सरकाले नवउदारवादी नीति लिएका देशहरूमा र सामाजिक खर्चमा कटौती गरी राज्यको लोककल्याणकारी कार्यको क्षमता सीमित गरिएका देशहरूमा अनुभव गरिन्छ । जहाँ सरकारले सार्वजनिक स्वास्थ्य उपचारको बजेट कटौती गरेका छन्, त्यहाँ कोभिड–१९ ले बढी ज्यान लिएको देखिन्छ ।
जहाँ राज्यले निकै थोरैमात्र राष्ट्र ऋण उठाउन सक्छ वा सक्दैन त्यहाँ बढी आर्थिक क्षति पु¥याउने देखिन्छ । त्यहाँका जनताले आफ्नो रोजगारी गुमाएका छन्, व्यापार–व्यवसाय बन्द भएका छन् र तिनीहरूको व्यक्तिगत एवम् पारिवारिक आयस्रोत गुमेको छ वा नाटकीयरूपमा कम भएको छ । अधिकांश विकसित देशहरूमा मृत्युको दर गरिव, आप्रवासीहरूमाझ उच्च छ । संरा अमेरिकाको हकमा त्यस्तो अवस्था अफ्रिकी–अमेरिकीहरू (काला वर्णका) र ल्याटिनोहरूमाझ छ ।
यी सबैभन्दा महत्वपूर्ण त अन्तर्राष्ट्रिय समुदायले विश्वव्यापी धम्कीको सामना गर्नुपरेको छ । विश्वकै सबैभन्दा ठूलो सैनिक, आर्थिक, प्राविधिक र सञ्चार शक्ति (संरा अमेरिका) ले द्वन्द्व, विभाजन, ठूलो राष्ट्र अहङ्कारवाद, जातीय सर्वोच्चतावाद र जातीय विभाजन जन्माउने तथा बढावा दिने विदेश नीति लागू गरिरहेको छ ।
कोभिड–१९ को महामारीविरुद्धको विश्वव्यापी लडाइँमा सहयोग बढाउनुपर्ने र अन्तर्राष्ट्रिय सङ्गठन (संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठन) को भूमिका वृद्धि गर्नुपर्ने समयमा वर्तमान संरा अमेरिकी प्रशासनले बहुध्रुवीयतावादमाथि हमला गरेको छ र विश्व स्वास्थ्य सङ्गठनको वर्तमान नेतृत्वलाई अयोग्य साबित गर्न खोजेको छ । संरा अमेरिकाले अहिलेको परिस्थितिको फाइदा उठाउँदै आफूसित सहमत नहुने सरकार रहेका देशहरूमा प्रभूत्व र आक्रमण थोप्ने छुद्र रणनीतिमा जोड दिइरहेको छ ।
केही उदाहरणहरूले यसलाई थप स्पष्ट पार्छ । हालै बोलिभारियाली गणतन्त्र भेनेजुयलाविरुद्ध गम्भीर सैनिक धम्की दियो । अमेरिकी एकता दिवस र एकता सप्ताह (अप्रिल १४–१८) को दुईदिन अघि संरा अमेरिकी राष्ट्रपतिले गरेको घोषणा भेनेजुयला, निकारागुवा र क्युवाविरुद्ध मुनरो सिद्धान्तले अभिप्रेरित नवउपनिवेशवादी वक्तव्य थियो ।
मुनरो सिद्धान्तलाई १३० वर्षअघि नै अमेरिकी एकता सम्मेलनमा स्वाधीनता सङ्ग्रामका नेता जोसे मार्टिले निन्दा गरेका थिए । त्यसै दिनको वरपर सन् १९६१ मा संरा अमेरिकाले पिग्सको खाडीमा क्युवामाथि हमला गरेको थियो ।
अर्को उदाहरण कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग माग गरेका मित्र देशहरूलाई क्युवाको निःस्वार्थ चिकित्सकीय र प्राविधिक सहयोगमाथि संरा अमेरिकाले गरिरहेको अनैतिक र निरन्तर हमला हो । कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग र सामूहिक प्रतिरोधलाई बढावा दिनुको साटो संरा अमेरिकी राज्य विभागका उच्च अधिकारी (विदेशमन्त्री माइक पोम्पेओ) आफ्नो समय महामारीको सामनाका लागि क्युवाको सहयोग लिएर देशका सरकारहरूलाई धम्की दिनमा खर्च गरिरहेका छन् ।
संरा अमेरिकाले जानाजानी नै अपराध गरिरहेको छ । महामारीको बीचमा क्युवाको अन्तर्राष्ट्रवादी सहयोगमाथि हमला गरेर स्वास्थ्य उपचार सेवाजस्तो नैसर्गिक मानव अधिकारबाट करोडौँ मानिसलाई वञ्चित गराउन खोज्दै छ ।
वर्तमान सङ्कटको घनत्वले नै हामीलाई सबै राजनीतिक मतभिन्नता भुलेर सरसहयोग गर्न र ऐक्यबद्धताको अभ्यास गर्न बाध्य बनाएको छ । भाइरसलाई कुनै देशको सिमाना र कुनै राजनीतिक विचारधारा थाहा छैन । त्यसले सबैको जीवनलाई खतरामा पु¥याउँछ तसर्थ हामी सबै एकताबद्ध भएर त्यसको विरुद्ध लड्नुपर्छ । कुनै पनि देशले यतिखेर आफू ठूलो, आफू धनी वा शक्तिशाली भनेर एक्लैले त्यसको सामना गर्न, आफूलाई एक्ल्याउन र अरूको प्रयास एवम् आवश्यकतालाई बेवास्ता गर्न मिल्दैन । मूल्यवान् र विश्वसनीय सूचना साझा बनाउन तथा उपलब्ध गराउन जरुरी छ ।
चिकित्सा सामग्रीहरूको उत्पादन र वितरणमा समन्वयका लागि कदम चालिनु आवश्यक छ, पर्सनल प्रोटेक्सन इक्विपमेन्ट –पीपीई र औषधीहरू न्यायोचितरूपमा वितरण हुनुपर्छ । महामारीलाई परास्त गर्ने तयारीका क्रममा बढी स्रोतसाधन भएका देशहरूले सबभन्दा प्रभावित तर साधन नभएका देशहरूलाई सहयोग गर्नुपर्छ ।
यो नै क्युवाको दृष्टिकोण हो । सीमित प्राकृतिक स्रोत भएको र लामो अवधिदेखि संरा अमेरिकाको क्रुर नाकाबन्दी सामना गरिआएकोे सानो देश क्युवाको विनम्र योगदान हो । स्वास्थ्यको क्षेत्रमा अन्तर्राष्ट्रिय सरसहयोगको दशकौँसम्म हामीले अनुभवहरू जम्मा गरेका छौँ । यो तथ्यबारे विश्व स्वास्थ्य सङ्गठन र हाम्रा समकक्षीहरू अवगत नै छन् ।
विगत केही हप्तामा हामीले सहयोगका लागि गरिएका अनुरोधलाई बिना कुनै हिच्किचाहट, बिना कुनै राजनीतिक संयोग वा आर्थिक फाइदा सकारात्मक सम्बोधन ग¥यौँ । आजसम्ममा हामीले स्वास्थ्य उपचार ब्रिगेडका २१ ओटा टोलीलाई उत्तिकै सङ्ख्याको देशमा खटाइसकेका छौँ र ती टोलीहरूले तत्–तत् देशको राष्ट्रिय र स्थानीय प्रयासमा सहयोग गरिरहेका छन् । कोभिड–१९ विरुद्धको लडाइँमा आवश्यकता परेमा त्यस्ता स्वास्थ्य टोली ६० वटा देशमा पठाइनेछ, टोली पुगिसकेका देशमा तिनीहरूले स्वास्थ्यउपचार सेवा दिइरहेका छन् ।
हामीले क्युवामा उत्पादन भएका केही औषधीहरू पनि बाँडेका छौँ, ती औषधी हाम्रो अभ्यासमा भाइरसजन्य रोगको उपचारमा प्रभावकारी सिद्ध भएका छन् । त्यसबाहेक हाम्रा स्वास्थ्य सेवाका विज्ञहरूले भिडियो टेलिकन्फेरेन्सको माध्यमले कयौँ देशका बिरामीहरूको जटिल रोगहरूको विशेष उपचारमा सल्लाह दिने र छलफल गर्ने सहयोग पनि गरिरहेका छन् ।
यी सबै कदमहरू क्युवाली जनताको सुरक्षा गर्नुपर्ने उत्तरदायित्वबाट कतिपनि विचलित नभइकन गरिएका छन् । संरा अमेरिकाले लगाइराखेको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीका कारण उत्पन्न ठूलो सीमितता हुँदाहुँदै पनि हामीले यो गौरवपूर्ण कर्तव्य निर्वाह गरिरहेका छौँ ।
रुचि भएकाहरूले यी भनाइसित सम्बन्धित तथ्याङ्क सजिलै सार्वजनिकरूपमा प्राप्त गर्न सक्छन् । क्युवाका यी सबै क्रियाकलापबारे जानकार जो कसैले पनि क्युवामाथिको नाकाबन्दीले आवश्यक स्रोत, साधन र सामग्री आपूर्तिको सुनिश्चितताका लागि क्युवामाथि परेको दबाब अनुभव गर्न सक्छन् र विशेषगरी यस्तो महामारकिो अवस्थामा सार्वजनिक स्वास्थ्य सेवा प्रणालीको आवश्यकता बोध गर्न सक्छन् ।
यसको एउटा सानो उदाहरण हालै चीनले पठाएको एउटा औषधीजन्य सहयोगको कार्गो (खेप) क्युवासम्म जहाजले पु¥याउन सकेन कारण उक्त जहाजले दाबी ग¥यो कि संरा अमेरिकी नाकाबन्दीले त्यसमाथि ढुवानीमा प्रतिबन्ध लगाएको छ । त्यस्तो अवस्थामा संरा अमेरिकी राज्य विभागका उच्च अधिकारीले संरा अमेरिकाले क्युवालाई औषधी र चिकित्सा सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएका छैनौँ भनिदिन सकेनन् । निश्चितरूपमा संरा अधिकारीहरूले क्युवा–संरा अमेरिकाबीचको एउटै पनि कारोबारलाई समर्थन गर्न सकेका छैनन् ।
यो सामान्य ज्ञान हो र व्यापकरूपमा स्विकारिएको तथ्य पनि हो कि क्युवाको विकास, समृद्धि र क्युवाली जनताको खुसीमा मुख्य तगारो संरा अमेरिकी नाकाबन्दी नै हो । कठोर सत्य यो पनि हो कि क्युवाले सहिराखेको असहज परिस्थिति र संरा अमेरिकाको आक्रामक व्यवहारले पनि हामीलाई कसैप्रति सहयोग गर्न र ऐक्यबद्धता जनाउन रोक्न सकेको छैन । कसैले हाम्रो सहयोग पाउनका लागि अनुरोध गर्छ भने हामी कहिल्यै सक्दैनौँ भन्दैनौँ, आवश्यक भएको खण्डमा क्युवामाथि असीमित क्षति पु¥याएको देशलाई पनि सहायता दिन हामी तयार छौँ ।
यो समयमा सहयोग र ऐक्यबद्धता जरूरी भएकोमा क्युवा विश्वस्त छ । वर्तमान महामारीलाई पराजित गर्नका लागि वैज्ञानिक अनुसन्धानमा परिणाम प्राप्त गर्न र विकास गर्न कयौँ देशहरूको अनुभव समेटेर राजनीतिक भेदभावविनाको अन्तर्राष्ट्रिय योगदानमा क्युवा जोड दिन्छ । यसले मात्र सबैभन्दा जोखिममा रहेकाहरूको उद्धार तथा माहमारीको अवधि छोटयाउन तथा मानव जीवनको क्षति कम गर्नमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ । क्युवा यस्तो स्थितिमा संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनको प्रभावकारी भूमिका र नेतृत्व हुनुपर्नेमा विश्वस्त छ ।
यदि हामीले मिलेर काम ग¥यौँ भने शीघ्र र सबैभन्दा कम खर्चिलो तरिकाले भाइरसको थप प्रसार रोक्न सक्नेछौँ । त्यसपछि कामीले यस महामारीका कारण सिर्जित आर्थिक र सामाजिक सङ्कटको समाधान गर्न सक्नेछौँ । ती क्षतिको आकार कत्रो हुनेछ अहिलेसम्म कसैले अनुमान गर्न सकेको छैन ।
तथापि, हामी मिलेर समाधान गर्ने भन्दै महामारीले विशाल समस्याको चाङ ल्याउने दिन पर्खेर बस्न सक्दैनौँ । महामारीले पहिले ज्यान लिनुभन्दा अघि नै हाम्रो माझमा रहेका समस्या समाधान गर्न अघि सर्नुपर्छ ।
यदि विकासशील देशहरूसित अहिले उच्च औद्योगिक देशहरूमा उपलब्ध भएका विशेष गरी स्वास्थ्य क्षेत्रका प्रविधिहरूमा पहुँचको सुनिश्चितता नभएमा उपलब्ध गराइनुपर्दछ । यदि यतिखेर उच्च औद्योगिक देशहरूले आफ्ना वैज्ञानिक विकासहरू निःस्वार्थ ढङ्गले विश्वका जनताको उपचार सेवामा बाँड्न सकेनन् भन्ने विश्व जनसङ्ख्याको बहुमत भाग भाइरस सङ्क्रमित हुन जानेछ वा अझ त्योभन्दा बढी सङ्क्रमित भएर भयावह अवस्था निम्तिन सक्नेछ ।
यदि विकासशील देशहरूविरुद्ध लगाइएका राजनीतिकरूपले अभिप्रेरित क्रुर आर्थिक नाकबन्दीहरू हटाइएन भने र यदि तिनीहरूले व्यहोर्नै नसक्ने र तिर्नै नसकिने विदेशी ऋण र अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनहरूको सर्तरूबाट मुक्त गरिएन भने विश्वमा आर्थिक र सामाजिक असमानता अझ बढ्नेछ । त्यसले ल्याउने परिणमबारे अहिले नै हामी केही भन्न सक्दैनौँ । त्यसपछिका दिनहरूमा रोगको महामारी नभए पनि आर्थिक र सामाजिक असमानताका कारण बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूसहित वर्षमा लाखौँ मानिस मारिनेछन् ।
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिको धम्की वास्तविक हो र केही देशहरूमाथिको निरन्तर आक्रमणले त्यसलाई झन् खराब बनाइरहेको छ । यदि हामी अन्तर्राष्ट्रिय समुदाय, प्रत्येक देशको प्रतिनिधित्व गर्ने सरकारहरूले अगाडि बढ्नका लागि सहमत भएनौँ र अहिले अस्पष्ट रहेको भ्रुणलाई मलजल गर्दैनौँ भने महामारीले अझ बढी न्यायोचित, सुरक्षित र सुध्रिएको विश्वतिर डो¥याउनेछ भन्ने आशा मुश्किलले मात्र वास्तविकता हुन सक्नेछ ।
त्यस्तै प्रश्नहरू उठिरहेका छन् – मानव जातिलाई अर्को महामारीको सामना गर्न कसरी राम्ररी तयार गर्न सकिएला ?
काम गर्ने र जिम्मेवारहरूले इच्छाशक्ति प्रदर्शन गरी परिचालन गर्ने समय अझै बाँकी नै छ । यदि हामीले यसलाई अर्को पुस्ताका लागि छोड्यौँ भने त्यो निकै ढिलो हुन सक्छ ।
हवाना, अप्रिल १६, २०२०
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *