भर्खरै :

कुनै क्रान्तिकारी कदम नउठाइए कोभिड–१९ नै मानव जातिको विनाशको कारण हुने

(नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारीको अवस्थामा दशकौँदेखि अमेरिकी मजदुर सङ्गठनको कार्यकर्ता, मन्थ्ली रिभ्यु प्रेसका निर्देशक एवम् पूर्व सह–सम्पादक माइकल डी यट्स्सँग कामदार जनताको स्थिति र उठाउनुपर्ने आवश्यक कदमबारे फारुक चौधरीले लिनुभएको अन्तर्वार्ता हो । माइकलले श्रम अर्थशास्त्र र श्रम तथा पुँजीबीचको सम्बन्धबारे अध्ययन गर्नुभएको छ । मार्च २०, २०२० को मन्थ्ली रिभ्युमा प्रकाशित यो अन्तर्वार्तालाई सुनिल सुवालले अङ्ग्रेजीबाट नेपालीमा भावानुवाद गर्नुभएको हो । कुराकानी सान्दर्भिक भएकोले यहाँ प्रकाशित छ ।–सं.)
तपाईँ लामो समयदेखि मजदुर सङ्घमा सम्बन्धित भएर एक शिक्षक, संवाहक र मध्यस्थकर्ताको रूपमा काम गर्दै आउनुभएको छ । यहाँले गर्नुभएको वर्ग र श्रमसँग जोडिएका कामहरू उल्लेखनीय छन् । कोरोना भाइरस महामारी सङ्क्रमणलगत्तै थाईल्यान्ड, फिलिपिन्स, भारत र बङ्गलादेशदेखि इटाली, स्पेन, संयुक्त राज्य अमेरिका र अफ्रिकी देशका कामदार जनताले ठूलो मूल्य चुकाउँदै छन् । कामदार जनताले बेरोजगारी र अनिश्चितता सामना गर्दै छन् । मुम्बई, दिल्ली, ढाकादेखि गाउँ–गाउँ फर्कने हजारौँ मानिस टे«नका डिब्बाहरूमा मालसामानजस्तै कोचिएका थिए । ती हजारौँको भीड भोकाएका, तिर्खाएका बालबच्चासहित दिल्लीबाट सयौँ किलोमिटर हिँडे । तिनीहरू महामारीबाट हैन, भोकबाट भागिरहेका थिए । पछि सरकारले उनीहरूलाई भारतको उत्तर प्रदेशसम्म पुग्ने बसको व्यवस्था ग¥यो । संरा अमेरिकाका कामदारवर्गहरूको अवस्थाबारे तपाईँ राम्ररी परिचित हुनुहुन्छ । मार्चको अन्त्यतिर क्यालिफोर्नियाको ल्यान्कास्टरमा कोभिड–१९ सङ्क्रमित एक केटाले ज्यान गुमायो । ऊसँग स्वास्थ्य बीमा थिएन र आपत्कालीन स्वास्थ्य सेवासम्म पाएन । यहाँको स्वास्थ्य प्रणाली बिग्रेको मेसिनजस्तै अचानक बन्द हुन्छ र भताभुङ्ग हुन्छ । पुँजीको पहिलो काम नै कामदारवर्गलाई शोषण गर्नु र मार्नु हो । यस महामारीको स्थितिमा अमेरिकी कामदारवर्गको अवस्थालाई कसरी हेर्नुभएको छ ?
– संयुक्त राज्य अमेरिकाको नेतृत्व राक्षसहरूले गरिरहेका छन् जसले कामदार जनताको कुनै वास्ता गर्दैनन् । डोनाल्ड ट्रम्पजस्ता अपराधी उनका पिछलग्गू पदाधिकारी र लुटेराका लागि कामदारवर्गको मृत्युको कुनै मूल्य हुँदैन । ट्रम्प भन्छन्– अमेरिका काम गर्न सक्नेहरूको निम्ति बनेको हो । अर्को शब्दमा कामदारवर्ग शोषित हुनुपर्छ र रोग तथा मृत्यु भोग्नुपर्छ । ट्रम्पका केही समर्थकहरूले भने, “म जस्तो उमेर ढल्केकाहरू मर्न तयार छौँ तर काम रोकिनु हुँदैन ।” धनी मानिस र पुँजीपतिहरू जसले देश चलाउँछन्, उनीहरू आफ्नो जीवन त्याग गर्देनन् बरु आरामदायी आइसोलेसनमा बस्छन् र गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन् । अहिले कागजपत्र भएका कामदार जनताले १२०० डलर र केही अतिरिक्त बेरोजगारी भत्तामात्र पाउँछन् भने पुँजीपतिहरूले ४० खर्ब डलर क्षतिपूर्ति पाउँदै छन् । कागजपत्र नभएका तीन करोडभन्दा बढी कामदारले केही पाउने छैनन् । स्वास्थ्यकर्मी, किराना पसलका कामदारहरू (जसमध्ये मेरो छोरा पनि एक हो जसले प्रत्येक दिन आफ्नो स्वास्थ्य जोखिममा राखी काम गर्छन्), निर्माणकर्मीहरू र अरू थुप्रैसँग न्यूनतम सुरक्षा कपडा र उपकरण पनि छैनन् । अहिले लाखौँ बेरोजगार भएकाहरू आफूसँग भएको थोरै बचत सकिएकोमा चिन्तित छन् । मजदुर र कामदारहरूले विद्रोह गरे यी मालिकहरूले दमनकारी कानुन लगाउने र अन्य उपाय ल्याउने छन् । घरवारविहीन, बन्दीहरू र समातिएका आप्रवासीहरू ठूलो जोखिममा छन् । यो भाइरसबाट यिनीहरू ठूलो सङ्ख्यामा मर्नेछन् । संसारका धनी देशहरूमा यस्तो मूर्खता भइरहेको छ । म गरिव देशको डरलाग्दा कथाहरूमात्र कल्पना गर्न सक्छु, जहाँ अर्बौँ मान्छेहरू निराशाजनक जीवन बिताउन बाध्य छन् ।
वास्तवमै दुःखद कुरा यो हो कि अमेरिकामा कामदार मजदुरहरूले ट्रम्पलाई समर्थन गर्छन् । ट्रम्प कोभिड–१९ लाई ठट्टा र कुनै गम्भीर विषय नभएको ठान्छन् । उनी विदेशी र अन्य देशलाई दोष दिन्छन् । पुँजीवादी व्यवस्थामा मजदुरलाई शोषण गरी नाफा कुम्ल्याइनु स्वाभाविक ठानिन्छ ।
यो सङ्कटमा लड्न मजदुर सङ्गठन र श्रमजीविवर्गका सङ्घ संस्थाहरूले सकेको जति गरिरहेका छन् तर पर्याप्त छैन । यहाँ मजदुरहरू बस्नै नमिल्ने घरहरूमा बस्छन् । खान नपाएर सडकमै सुत्ने तथा अन्य मगन्तेहरूलाई खाद्यान्न वितरण गरिने सामुदायिक संस्थाको व्यवस्था ठिकै हो तर धेरै वर्षदेखि मजदुर आन्दोलन बन्द छ भने दक्षिणपन्थीहरूकोे प्रचार बलियो छ ।
श्रमिकवर्गको पसिनाबाटै पुँजीपतिवर्गले नाफा कमाउँछ । नाफा कमाइने रूपमात्र फरक छ । कामदारवर्ग बस्ने क्षेत्र प्रदूषित छ । सार्वजनिक स्वास्थ्य उपचार कटौती गरी निजी स्वास्थ्य क्षेत्रलाई बलियो बनाइएको छ । सैनिक उद्देश्यको लागि अनुसन्धान बजेट बढाउने तर स्वास्थ्य उपचार अनुसन्धानको खर्च घटाउने गरिँदै छ । मुठीभरको हातमा पुँजीको अत्याधिक सञ्चयले विज्ञान, चिकित्सा, प्राकृतिक विज्ञानलाई दास बनाएको छ । फलतः कामदारवर्गको जनजीवन अमानवीय कष्टहरूबाट भरिएको छ ।
महान् विचारक एङ्गेल्सले इङ्ग्ल्यान्डका मजदुरहरूबारे पुस्तक प्रकाशित गर्नुभएको धेरै वर्षपछि पनि कामदार मजदुरहरूको स्थितिमा परिवर्तन आएको छैन । यो महामारी सामना गरिरहेका विश्वका कामदार मजदुरहरूको यथार्थ अवस्था कस्तो छ ?
–संयुक्त राज्य अमेरिकाको वर्तमान अवस्था यहाँले व्याख्या गर्नु भएजस्तै छ । धेरै कुराहरू छन् । सन् १९७० यता पुँजीले हाम्रो जीवन र सारा संसारको सुविधा कटौती गर्दै छ । यसको विरोधमा महत्वपूर्ण र प्रभावशाली केही आन्दोलनहरू भए । तर, युरोपका सामाजिक, प्रजातान्त्रिक सरकारहरूले समेत नवउदारवादी कार्यक्रमको सामु आत्मसमर्पण गरे र पुँजीसँग डराए । जस्तो, बेलायतमा कुनै समय एकदमै राम्रो राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली थियो । तर, दसौँ वर्षसम्म घटाउँदै जाँदा आज त्यसको प्रभावकारिता छैन । आज त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा केन्द्रमा लगभग एक लाख पदहरू रिक्त छन् । अमेरिकी स्वास्थ्य प्रणाली झन् खराब छ । मजदुरहरूको स्वास्थ्य बीमा छँदै छैन वा निकै कम छ । लाखौँ मानिस स्वास्थ्य समस्या भोग्दै छन् । यो सच्याउन सकिन्थ्यो र सच्याउनुपर्छ । बहुसङ्ख्यक मजदुर सङ्गठनमा आबद्ध छैनन् र सङ्गठनले गरेको सम्झौताअनुसार उनीहरूले स्वास्थ्य बीमा पाएका छैनन् । धेरै गरिवहरू गम्भीर रोगले ग्रस्त छन् । अस्पतालहरू अन्य व्यापारजस्तै नाफा नोक्सानको हिसाबमा सञ्चालित छ । विश्वविद्यालयद्वारा सञ्चालित अस्पताल पनि त्यस्तै छन् ।
सार्वजनिक अस्पतालहरूमा गरिबहरूको लागि स्थान आरक्षित छन् । त्यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरू सक्षम छन् र बिरामीको राम्रो हेरचाह हुन्छ तर ती अस्पतालहरूमा आवश्यक उपकरणको अभाव छ । निजी अस्पतालहरू आवश्यकताअनुसार मात्र सञ्चालन गरिन्छ । त्यहाँ थप ओछ्यानहरू वा कुनै आकस्मिक उपकरणको बन्दोवस्त छैन । तसर्थ भेन्टिलेटर, ओछ्यान, मास्क आदि अभाव भयो ।
विज्ञानको सवालमा पनि औषधी कम्पनीहरू नयाँ भाइरससँग लड्न सक्ने औषधीको खोजमा नाफा नहुने भएकोले खर्च गर्दैनन् । उनीहरू यस्तो अनुसन्धान नै गर्दैनन् । सार्वजनिक अस्पताल विकल्प हो तर सरकारलाई पुँजीपतिले कब्जा गरेको छ । पुँजीपतिहरू सरकारको कुनै अङ्गमा आफ्नो प्रतिस्पर्धा गर्न चाहँदैनन् । वैज्ञानिकहरू प्रायसः ठूलठूला कम्पनीको दास बन्न रूचाउँछन् । हामीलाई चिकित्साशास्त्रका एक नोवेल पुरस्कार विजेताबारे थाहा छ । जसले भित्री ह्दयबाट अनुसन्धान गरे र नोवेल पुरस्कार जिते । त्यसपछि उनले शङ्कास्पद सामानको प्रवद्र्धनमा लागेर अकुत सम्पत्ति कमाए । अहिले हामी देख्छौँ— व्यापारी र तिनका वैज्ञानिकहरू यो भाइरसबाट पैसा कमाउन तल्लिन छन् । याद छ ? सल्क ९क्बपि० र सविन ९क्बदष्ल० जसले पोलियो खोप विकास गरे र त्यसलाई उनीहरूले जनताको सम्पत्ति बताए । प्रतिलिपिको अधिकार आफूसँग राख्न मानेनन् । यो आज लगभग अविश्वसनीय जस्तै छ ।
महामारी फैलिएका देशमा कलकारखानाहरू बन्द छन् । यो श्रमजीवी कामदारहरू चलायमान नभएको स्थिति हो । मजदुर सङ्गठनहरूले एउटा अकल्पनीय परिस्थितिको सामना गर्दै छन् । पुँजीले श्रमिक समाजको हत्या गरेको, मोलमोलाईको ठाउँ घटाएको, रोग, भोक र मृत्युको छनौटसमेत बन्द गरेको बेला देखिएको यो महामारीको स्थिति कसरी सामना गर्ने ?
– यो वास्तवमै गा¥हो काम हो । मैले गर्नसक्ने काम भनेको बढीभन्दा बढी कामदार जनताले बुझ्ने भाषामा स्थिति बताउनु हो । शासकवर्गको झूट औँल्याउनु हो । के कसरी झूट हो भनी उदाहरण दिनु महत्वपूर्ण हो । उदाहरणको लागि क्युवामा भइरहेको चिकित्सा क्षेत्रको उल्लेखनीय कामहरूबारे जनतालाई सचेत बनाउने हो । किन क्युवामा विकास गरिएका औषधी यहाँ उपलब्ध छैन ? भनेर शासकहरूसँग सोध्ने हो । विश्वभरी क्युवाली डाक्टर र स्वास्थ्यकर्मीबाट बहादुरीपूर्ण सद्भावका काम गरेकोलाई औँल्याउनु हो । कामदारहरूले सामाजिक उद्देश्यबाट अभिप्रेरित भएर समुदायको रेखदेख गर्नु आवश्यक छ । आधारभूत आवश्यकता जस्तै जनस्वास्थ्य सुधारको निम्ति आम हडताललाई उत्साहित गर्ने हो ।
मलाई आशा छ कि, यस महामारीको अनुभवले सम्पूर्ण कामदारवर्गलाई ब्युँझाउने छ, चेतनशील बनाउने छ । उदाहरणको लागि सरकारले मजदुरलाई घरबाट निकाल्न नपाउने, भोकै नहुने गरी भत्ता दिने, भाइरस परीक्षण र उपचार निःशुल्क गर्ने व्यवस्था गरे घरलाई भाडामा लगाउनु, श्रमिकलाई दास बनाउनु, स्वास्थ्य बीमा गर्नु लगायत पुँजीपतिवर्गको ठगी मूर्खतापूर्ण हुनेछ ।
विश्वास गर्नुस् यसो नगरिए यी शासकहरू यो महामारी नियन्त्रणपछि श्रमिकविरुद्ध क्रुर भएर आउनेछन् । उनीहरूले जे गरेपनि हामीले लड्नैपर्छ र जित्नैपर्छ ।
विश्व मानव जातिले यस्तो कहिल्यै सामना गर्नुपरेको थिएन । कामदारवर्गले पार्टी र मजदुर सङ्गठनमार्फत के कस्तो निकास निकाल्ने छ ?
अघिल्लो प्रश्नको उत्तर योसँग मिल्छ । यहाँ पुँजीवाद नै यो महामारीको जड भएको जोड्न चाहन्छु । विश्वव्यापी कृषि व्यापारको विस्तार, कृषि र अन्य पुँजीवादी व्यापार विस्तारको लागि बन जङ्गलको फडानी, उत्तर र दक्षिण जोडिएको विश्वव्यापी जटिल आपूर्ति सञ्जालको विकासले यो महामारी र अन्य खराबी ल्याएको हो ।
पहिले सिमित क्षेत्रमा फैलिएको यस्तै प्रकृतिका महामारी नियन्त्रण भएको थियो । अहिले पुँजीवादको कारण फैलिएको यो महामारी अन्त्य हुन ढिलो वा चाँडो पुँजीवादकै अन्त्य हुनुपर्छ । प्रजातान्त्रिक समाजवादले मात्र यस्तो भाइरसलगायत अन्य महामारीको नियन्त्रण गर्न सक्छ र मानिसको स्वास्थ्य एवम् जीवनमा सुधार ल्याउन सक्छ । (यहाँ प्रजातान्त्रिक समाजवादको अर्थ माक्र्सवादअन्तर्गतको वैज्ञानिक समाजवाद हो ।) यदि क्रान्तिकारी परिवर्तनको नयाँ बाटो दिन नसके मानव जातिकै विनाश हुनेछ । यस्ता कुनै क्रान्तिकारी कदम नउठाइए कोभिड–१९ नै मानाव जातिको विनाशको सङ्केत हुनेछ ।
नेपाली अनुवाद ः सुनिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *