भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला  – १

-राजा नेपाल 
            अमेरिकाका धेरै शैक्षिक संस्थाहरूको हाताभित्र घटिरहने अति अप्रिय हृदयविदारक आम नरसंहारका गोली काण्ड, व्यक्तिगत रिसइवीका कारण हुने  हत्या हिंसा, गुण्डागर्दी, बलात्कार, दङ्गाफसादजस्ता आपराधिक क्रियाकलापले प्रत्येक विद्यालय, कलेज र विश्वविद्यालयका अमेरिकी प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा बालबालिकाहरू विगत २० वर्षदेखि त्रसित छन् । विद्यालयको सवारी साधनमाथि गोली प्रहार गरी निर्दोष चञ्‍चल बालबालिकमा गरिने अमानवीय आक्रमण झनै डरलाग्दो छ ।
            सबैलाई थाहै छ– केही प्रश्नावलीसहितको एउटा फाराम भरेपछि आर्थिक हैसियत हुने कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि भनेर चाहनाअनुसार विभिन्न प्रकारको आधुनिक वा अत्याधुनिक हातहतियार खरिद गर्नसक्ने स्वतन्त्र ‘मानव अधिकार’ अमेरिकामा छ । यसले भविष्यमा निम्त्याइरहने विभत्स अकल्पनीय परिणाम र वर्तमानमा यसको भयावह परिणामको दुःखद पीडा बोकी बाँचेका अमेरिकी नागरिकहरूकाबारे र त्यस्ता जघन्य अपराधलाई सदाका लागि समाप्त गरी समाजमा नागरिकलाई शान्तसँग बाँच्‍न सक्‍ने वातावरणको सृजनाको लागि प्रजातान्त्रिक सरकार भनिने कुनै पनि अमेरिकी सरकारले यसको दिगो समाधान हालसम्म संवैधानिकरूपले समाप्ततर्फ सोचेकै छैन । यसबारे केही घटना र वास्तविकताबारे थोरबहुत जानकारी राख्‍नु उचित होला ।
            आजभन्दा करिब १६० वर्षअघि सन् १८६१ मा दासप्रथालाई बढावा दिने उत्तर अमेरिकाको  South Carolina, Mississipi, Florida, Alabama, Georgia, Louisiana, Texas  नाम गरेका सातवटा राज्यले संरा अमेरिकासँग अलग्ग रही आफ्नो छुट्टै संयुक्त गठबन्धन स्थापना गरेका थिए । जसलाई अमेरिकी इतिहासमा Confederates of States of America(CSA) अथवा परिसङ्घीय राज्य अमेरिका भनेर चिनिन्छ । यी सातवटा राज्यहरू मिली बनेको यो संयुक्त गठबन्धन उत्तर अमेरिकामा मान्यता प्राप्त थिएन र बाहिरी मुलुकहरूले पनि यसलाई स्वतन्त्र राज्यहरूको सङ्गठनको हैसियत प्रदान गरेका थिएनन् । स्थापना भएकै साल अर्थात् सन् १८६१ मै  सीएसए र संरा अमेरिकाबीच सुरु भएको चारवर्षे लामो रक्तपातपूर्ण अमेरिकी गृहयुद्ध सन् १८६५ मा समाप्त भयो,  सीएसएले नराम्रो हार व्यहोर्नुपर्‍यो र अब्राहम लिङ्कनद्वारा नेतृत्व गरिएको संरा अमेरिकी सरकारसामु घुँडा टेक्न बाध्य भए । यसलाई अमेरिकी जनता आफ्नो देशको इतिहासमा लिङ्कनको अभूतपूर्व सफलता ठान्छन् ।
            विभाजित ती राज्यहरूलगायत उत्तर अमेरिकाका सम्पूर्ण राज्यलाई एकसूत्रमा बाँध्नु र दासप्रथाजस्तो घोर मानवताविरोधी प्रचलनलाई उन्मूलन गर्नुजस्तो महान् सफल कार्यहरूका लागि अब्राहम लिङ्कनलाई अहिलेसम्मकै सर्वाधिक लोकप्रिय अमेरिकी राष्ट्रपतिको रूपमा कहलिन्छ ।  सन् १८६५ अप्रिल १५ का दिन नाचघरको विशेष अटालीमा(balcony) आफ्नी श्रीमती तथा अन्य दुई पाहुना साथीहरूसँग मञ्चन भइरहेको नाटकको र रस्वादन गरिरहेकै बखत त्यतिबेला कहलिएका नाट्य अभिनेताको रूपमा गनिएका व्यजल ध्ष्पिभक द्यययतज नाम गरेको दासप्रथाका हिमायती गोरा व्यक्तिले नजिकैबाट टाउको पछाडि गोली हानी गरिबीले थलिएको अश्वेत परिवारमा जन्मिए पनि अमर बन्न सफल विराट व्यक्तित्वका धनी संरा अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनको निर्मम हत्या गरे ।
            ९ वर्षको कलिलो उमेरमै मातृशोकको पीडाले अब्राहम लिङ्कनलाई नराम्रोसँग चिमोटियो । आफ्नो अर्धाङ्गिनीको निधन भएको १४ महिनापछि पिता थोमस लिङ्कनले सराह वुश जोहनस्टन नाम गरेकी तीनवटा बच्चाका आमा भएकी एकल महिलासँगको दोस्रो विवाहले अब्राहम लिङ्कन उनका प्यारी बहिनीको जीवनले फेरि मातृवात्सल्यको न्यानो काख प्राप्त गर्ने शौभाग्य पाए । सराह वुश जोहनस्टनको सौम्य, भद्र, शालिन, मायालु, व्यवहारिक, स्वाभिमानी र मिलनसार स्वभावले अब्राहम लिङ्कनलाई उनी कहिल्यै सौतिनी आमा जस्तो महुससै भएन । कहीँकतै जीवनमा अनर्थ नहोस् भन्ने हेतुले एकताका असङ्ख्य हन्डर, असफलता, निराशाको पर्यायसमेत बनिसकेका अब्राहम लिङ्कनलाई भान्छामा प्रयोग हुने सानातिना घरेलु हातहतियारबाट समेत टाढा राखे । जीवनको उत्तराद्र्धतिर निराश भएका नेपाली वाङ्‍मयका लोकप्रिय तथा मानक कवि भूपिले विनाशीर्षक लेखेका अप्रकाशित कविताहरूमध्येबाट एक पङ्क्ति सायद लिङ्कनको त्यो बखतको दिनचर्यासँग मित्तेरी लाउनसक्छ :
हो म एक्लै छु, तर मेरो साथ दिने
मसँग सिङ्गै अँध्यारो रात छ
झ्यालसम्म नाङ्गिएको रुख हेर्छु
त्यहाँ पनि एक्लो पात छ
            तर पनि उनकै दोस्रो माताश्री सराह वुश जोहनस्टनको प्रेरणादायी घच्घच्याइले चट्टान बनी अघि बढ्न अब्राहम लिङ्कनले राप र ताप दुवैलाई मुठीमा कसी अघि लम्के । धेरै उतारचढाव भए पनि उनलाई झोपडीबाट ह्वाइट हाउससम्म पुर्‍याउन आदर्श नारीका प्रतीक सराह वुशको असाधारण योगदान रहेका कुरा अब्राहम लिङ्कन स्वयम्ले गर्वका साथ सार्वजनिक गरेका थिए । यसैकारण, उनको कोखबाट नजन्मिए पनि अब्राहमका लागि सराह वुश प्रातःस्मणीय रहे । पाँचवटा छोराछोरीहरूलाई सही ढ·ले हुर्काउने र पालनपोषणको गहुङ्गो भारी नथाकी बोक्नु नै उनको कालकटनी भइदियो । त्यतिबेलाको अमेरिकी समाजमा पनि सौतेनी आमाप्रति घोर नकारात्मक धारणा राख्ने परम्परावादी समाजको ढुसी परेको विचारलाई सराह वुशको मीठो व्यवहार, लप्पनछप्पनबिनाको काम कारबाही र निक्खर आचरणले सफासँग धोइपखालिए । यसरी जन्म र कर्म दिने दुई बेग्लै असल माताहरूका कारण अमेरिकी इतिहासमा मात्र सीमित नभई विश्व इतिहासमै अब्राहम लिङ्कन कालजयी रहे ।
२०७७।०१।१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *