भर्खरै :

एकद्वार प्रणालीविपरीत पक्षपाती काम गर्नेमाथि कारबाही माग

भक्तपुर, वैशाख १४ गते । नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभाका सदस्य प्रेम सुवाल, बाग्मती प्रदेश सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी उपरीक्षक सविन प्रधानबीच कोरोना भाइरस सङ्क्रमणको कारण भइरहेको लकडाउनबाट जनजीवनमा परेको प्रभावबारे आइतबार छलफल भयो ।
भक्तपुर नगरपालिकामा भएको छलफलमा सांसद सुवालले सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रबाहिरको आवतजावतमा प्रभावकारी निगरानी राख्नुपर्नेमा जोड दिँँदै देशको विभिन्न ठाउँमा दैनिक ज्यालादारी मजदुरलाई वितरण गरिएको खाद्यान्नमा पक्षपात भएको समाचारबाट सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय तहमार्फत खाद्यान्न वितरण गर्ने सङ्घीय सरकारको एकद्वार प्रणालीविपरीत सत्तापक्षकै सांसदहरू चामलको बोरा र दालको पोका बोकेर स्थानीय तहका प्रतिनिधिजस्तै चामल बाँड्ने, खाना पकाएर खुवाउने काममा लागेको तर्फ स्थानीय प्रशासन सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले गैरसरकारी संस्था वा व्यक्तिले खाद्यान्न वा नगद सहयोग गर्न चाहे सङ्घमा प्रम राहत कोष र स्थानीय तहमा स्थानीय राहत कोषको व्यवस्था औचित्यहीन बनाउन नहुने औँल्याउनुभयो ।
सांसद सुवालले भूकम्पको बेला सरकारलाई डोजर टिपर सहयोग गर्ने कतिपय कम्पनीहरू पछि राजस्व छलीको कालोसूचीमा परेको तर्फ सबैको ध्यान जानुपर्ने औल्याउँदै एकद्वार प्रणालीविपरीत खाद्यान्न वितरण गर्ने जुनसुकै पद वा संस्था वा कम्पनीका भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
दैलेखका पूर्वसांसद र वर्तमान सांसदसमेतले काठमाडौँ उपत्यकामा खाद्यान्न वितरण गरेको समाचार प्रकाशित भएको उल्लेख गर्दै उहाँले मन्त्री र सांसदले आफ्नो मान्छेलाई मात्र खाद्यान्न वितरण गर्ने र यातायातको चाँजो मिलाइदिने पक्षपातपूर्ण कामको स्थानीय प्रशासन मूकदर्शक भए अराजकता उत्पन्न हुने बताउनुभयो ।
किसानहरूलाई खेतीपातीको काम गर्न–गराउन उपयुक्त वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले भारतबाट आउने खाद्यान्न र तरकारीसँगै भाइरस सङ्क्रमण पनि फैलिनेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कोरोना भाइरस परीक्षण गर्न आरडीटी भरपर्दो नभएको समाचारतर्फ सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले अमेरिका समयमै सचेत नहुँदा सङ्क्रमणको केन्द्र बनेको उल्लेख गर्दै चीन समयमै सचेत भएर भाइरस सङ्क्रमण नियन्त्रण गर्न सफल भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् तत्कालीन प्रतिनिधिसभा सदस्य नारायणमान बिजुक्छेँ (रोहित) र समाजसेवी हरिप्रसाद पौडेल, डा. अञ्जनीकुमार शाह र डा. विवेकबहादुर प्रधानको अगुवाइमा भक्तपुर क्यान्सर अस्पताल स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै सांसद सुवालले यो सङ्क्रमणको बेला अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूलाई तलबसमेत नदिइएको समाचारले बिरामीहरूको मृत्युसमेत हुनेतर्फ प्रशासनको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले रोपाइँ सुरु हुने भएकोले इँटा उद्योगले बहालमा लिएका किसानहरूको जग्गा सम्याउने काम छिट्टै सम्पन्न गर्न लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले लकडाउनको समयमा बिस्केट पर्व व्यवस्थापन, बजार व्यवस्थापनलगायत भक्तपुरमा भएको कामको सबैतिरबाट प्रशंसा भएको उल्लेख गर्दै कृषि र विकास निर्माणको काम आवश्यक सतर्कताका साथ गर्न दिने बताउनुभयो । उहाँले जिल्लामा अझै २९४० भारतीय कामदार र बाहिर जिल्लाका १३२३ कामदार रहेको जानकारी गराउनुभयो । उहाँले जिल्लामा आजसम्म कुनै सङ्क्रमित फेला नपरेको र सङ्क्रमण परीक्षण जारी रहेको बताउनुभयो । उहाँले भारतबाट दैनिक ७०० ट्रक खाद्यान्न, तरकारी र अन्य सामान आयात भइरहेको र त्यसमा प्रत्येक गाडीको ३ जनाको दरले २१०० मानिसहरू काठमाडौँ पस्ने बताउनुभयो ।
प्रहरी उपरिक्षक सविन प्रधानले सङ्क्रमण नियन्त्रण गर्न प्रहरी प्रशासनबाट भएका कामहरूको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *