भर्खरै :

हाइड्रोक्सिक्लोरोक्विन र नेताहरूको ‘विज्ञता’ !

-मञ्जु कर्माचार्य
            विश्व महामारीको यो समयमा सबै देशका राष्ट्रप्रमुखहरूलाई आ–आफ्ना जनताको चिन्ता हुनु स्वाभाविकै हो । निराश जनतालाई उत्साहित बनाउन नेताहरूले अनेक कदम चाल्नुपर्ने पनि हुन्छ । आयरल्यान्डका प्रधानमन्त्री डाक्टर रिओ भारडकर त हस्पिटलमै गएर कोरोना बिरामीको उपचारमा संलग्न भएका छन् । तर राम्रो नियतले भए पनि आफूलाई थाहा नभएको क्षेत्रमा टीकाटिप्पणी गर्दा राष्ट्रप्रमुखहरू मजाकको पात्र बन्नु परिरहेका छन् । हाम्रै देशका प्रधानमन्त्रीले पनि भाइरसबारे टिप्पणी गर्दा बेइज्जति सहनुपर्‍यो । भारतका प्रधानमन्त्री कोरोनामाथि विजय प्राप्त गर्न थाल ठटाउन लगाएको घटनालाई पनि त्यहाँका जनताले ठट्टामा उडाएका थिए । यस्तो घटनाले सम्बन्धित देशका नागरिकलाई समेत नमज्जा लाग्छ । सरकार चलाउने कोही कोही शासकहरू सबै क्षेत्रको विज्ञजस्तो गरी व्यवहार गर्छन् । यस्तै सुझाव दिएर मजाकको पात्र बन्ने अर्को नेता डोनाल्ड ट्रम्प हुन् । यिनी आफै औषधि विज्ञान र चिकित्सा शास्त्रका विज्ञजस्तै गरी डाक्टरलाई सुझाव दिन्छन् ।
            सुझाव दिने क्रममा ट्रम्पको पछिल्लो सुझाव झनै आलोचित भएको छ । ट्रम्पले कोरोना भाइरस सङ्‍क्रमितलाई कीटनाशक औषधिको इन्जेक्सन दिनुपर्ने सुझाव दिएका छन् । त्यसैगरी  ‘अल्ट्राभ्वाइलेट रे’ (यूभी प्रकाश) द्वारा रोगीहरूको शरीरमा विकिरण पठाउन प्रस्ताव गरे, ट्रम्पले । यो उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पको सुझाव खतरनाक र हास्यास्पद रहेको डाक्टरहरूले बताएका छन् ।
            सन् २०२० जनवरीको अन्त्यतिर चीनले मलेरिया र बाथ रोगको  उपचारमा प्रयोग गरिने क्लोरोक्वीनलगायत अरु औषधिहरू कोभिड–१९ केही बिरामीमा प्रयोग गर्दा ती औषधिहरूले भाइरसको असरलाई केही हदसम्म कम गरेको जानकारी प्रकाशमा आयो । यही कुराको पछि लागेर क्लिनिकल टेस्टअगाडि नै ट्रम्पले हतारमा हाइड्रोक्सीक्लोरोक्वीन ‘गेम चेन्जर’ भनेर बबन्डर मच्चाए । ट्रम्पले यो औषधि भारतले अमेरिका नपठाए बदला लिने भन्दै धम्की दिएको घटना विश्वभरि चर्चित भएको थियो । भारत यो औषधिको ठूलो उत्पादनकर्ता हो । अर्कोतिर यहीँ एउटा हाइड्रोक्सिक्लोरोक्विन औषधिको कारण देखाएर मोदीले विश्वलाई नेतृत्व गर्ने भन्दै मोदीका समर्थकहरूले प्रचार गरेका थिए जुन भारतमा मजाक भएको छ । दुर्भाग्यवश ट्रम्पले गेम चेन्जर भन्दै आएको हाइड्रोक्सिक्लोरोक्विन कोरोनाविरुद्धको उपचारमा उपयोगी सिद्ध भएन ।

के हो हाइड्रोक्सिक्लोरोक्विन वास्तविकता ?

            कोरोना भाइरस मानव शरिरको कोषभित्र प्रवेश गरेपछि यो ‘इन्डोजोम’ भित्र कैद भएर बस्छ । यदि इन्डोजोमभित्रको वातावरण अम्लिय छ भने कोरोना भाइरस सजिलैसित विखण्डन हुन्छ र यसको अनुवंशिक तत्व आरएनए बाहिर निस्किन्छ जुन मानव शरिरको कोषको न्युक्लियसभित्र तुरन्तै प्रवेश गरी कोषको अनुवंशिक तत्व डीएनएलाई आक्रमण गरी कोरोना भाइरसका अनुवंशिक तत्व कैयौँ प्रतिलिपिहरू निर्माण हुन जान्छ । यस्तो अवस्थामा आक्रमित कोष नष्ट हुन जान्छ भने अर्कोतिर कैयौँ नयाँ कोरोना भाइरस उत्पन्न हुन जान्छ । हाइड्रोक्सीक्लोरोक्विनले इन्डोजोमभित्रको वातावरणलाई अम्लिय बन्नबाट रोक्छ अथवा यसलाई क्षारिय बनाउन मद्दत गर्छ जसले गर्दा कोरोना भाइरस मानव शरिरभित्र प्रवेश गरे पनि यो फुट्न पाउँदैन र यसले मानव कोषको डीएनए बिगार्न सक्दैन भन्ने वैज्ञानिकहरूको विश्वास थियो तर सोचेजस्तो नभएपछि  हाइड्रोक्सीक्लोरोक्विन कोभिड–१९ को सम्भावित समाधान हुनेमा प्रश्न चिह्न उठेको हो ।

            विश्वभर हाइड्रोक्सीक्लोरोक्वीनको बढ्दो मागको अवस्थामा सबै देशका वैज्ञानिक र स्वास्थ्य विशेषज्ञहरूले अब कोरोना भाइरसविरुद्ध लड्न यस औषधिको भूमिकालाई अस्वीकार गरिसकेका छन् । धेरै वैज्ञानिकहरूले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्विनको व्यापक प्रयोगको विरूद्ध चेतावनी पनि दिएका छन् ।
            स्वीडेनका अस्पतालहरूले पनि कोरोना भाइरस बिरामीहरूमा यो औषधि प्रयोग गर्न बन्द गरेका छन् । यसले बिरामीहरूमा डरलाग्दो टाउको दुख्ने रोग र दृष्टि गुमाउने समस्याहरू निम्त्याउँदै थियो । केही दिन यो औषधि दिएपछि, धेरै बिरामीहरूमा माइग्रेन, बान्ता, आँखा कम देख्नेजस्ता साइड इफेक्टहरू देखिन थाले । १०० मध्ये एकमा, क्लोरोक्विनका कारण मुटुको धड्कनमा पनि उतार चढाव देखियो । मुटुको द्रुत धड्कन हृदयघातको कारण  हुनसक्छ ।
            एक अनुसन्धानमा २६ बिरामीहरूमाथि यो औषधिको प्रयोग सुरु गरियो तर बिरामीलाई परीक्षणको बीचमै छोड्नुपर्‍यो । अध्ययनका अनुसार परीक्षणमा संलग्न तीन बिरामीलाई आईसीयूमा भर्ना गर्नुपर्‍यो, चौथो बिरामीको मृत्यु भयो, जबकि एक बिरामीलाई बान्ता भयो र हाइड्रोक्सीक्लोरोक्विन दिइएन । चीन र फ्रान्समा परीक्षणमा प्रारम्भिक सफलता भए पनि युरोपियन चिकित्सा एजेन्सीले पनि हाइड्रोक्सीक्लोरोक्वीन कोरोना भाइरसको उपचारमा अझै प्रभावकारी सावित भएको छैन भनेका छन् ।
            रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी संस्थाले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्विनको प्रयोगसम्बन्धी मार्र्गिनर्देशन प्रकाशित गर्‍यो, तर अहिले हटाइएको छ । एकल क्लिनिकल परीक्षणमा यो प्रभावकारी र सुरक्षित भएको पुष्टि गरिएको छैन । यहीँ समयमा, बेलायतले क्लिनिकल परीक्षण समाप्त नभएसम्म चिकित्सकहरूलाई यो औषधि प्रयोग गर्न रोकेको छ । बेलायतका चर्चित डाक्टर प्रोफेसर एन्थोनी गार्डेनले डेली मेललाई भनेअनुसार क्लोरोक्विन वा हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण छैन ।
            इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले मानिसहरूलाई चिकित्सा सल्लाहबिना हाइड्रोक्सीक्लोरोक्विन नखान सल्लाह दिएको छ किनभने यसको सही मात्रा मिलेन भने खतरनाक साइड इफेक्ट हुनसक्छ ।  कोभिड १९को सङ्‍क्रमण हुनुअगावै पूर्वसावधानीको रूपमा यस औषधि सेवन गर्दा भारतमै पनि डाक्टर आफैँको मृत्यु भएको थियो भने अन्य देशहरूमा पनि डाक्टरको सल्लाहबिना यो औषधि सेवन गर्दा थुप्रै मानिसहरूले ज्यान गुमाएका छन् । हालैमात्र भारतले नेपाललाई सहयोग स्वरुप दिएको औषधिमा यही हाइड्रोक्सिक्लोरोक्विन पनि रहेको छ । नेपालमा पनि यो रोगको लक्षण देखिएपछि देउराली जनता फर्मास्युटिकल प्रालिले यदि कोरोनाको महामारी फैलिएमा हाइड्रोक्सिक्लोरोक्विन सल्फेट ४ लाख ट्यावलेट निःशुल्क उपलब्ध गराउने भनेको थियो । नेपालमा पनि हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रचारप्रसार धेरै रहेको हुँदा यस औषधिको नकारात्मक असरबारे सर्वसाधारणलाई सुसूचित गर्नुपर्छ ।
            अतः कोरोनाविरुद्धको अचुक उपाय भनेको खोप नै हो । तर, विश्वभरिका राष्ट्रहरूले कोरोना भाइरसविरुद्ध खोप पत्ता लगाउन प्रयास गरिरहे पनि खुसीको समाचार आउन बाँकी नै छ । एक मेडिकल पत्रिका लान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टनले कोभिड १९ को खोप बनाउने प्रयास निराश भएको बताएका छन् । विश्व स्वास्थ्य स·ठनका अनुसार प्रत्येकले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेका छन् तर तिनीहरूमा समन्वय छैन । तर पनि हामी जनता आशावादी हुनैपर्छ, कोभिड–१९ विरुद्धको भ्याक्सिनको सफलतामा । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)
(लेखक रसायनशास्त्रमा विद्यावारिधि हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *