भर्खरै :

घिनलाग्दो पुँजीवादको टिठलाग्दो राजनीति

 
          विश्व पुँजीवादको केन्द्र संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधिले हिजो–आज पुँजीवादविरोधीलाई मात्र होइन, पुँजीवादका पक्षपातीहरूलाई समेत रूनु न हाँस्नु बनाइदिएको छ । मानव जातिमाथि नै ठूलो चुनौती बनेको कोभिड–१९ को कारण दैनिक हजारौँ नागरिकको निधन भइरहँदा पनि संरा अमेरिकी शासकहरू अझै सावधानीको उपाय कार्यान्वयनमा उदासीन छन् । बरू वैज्ञानिकहरूसमेत आजित हुने गरी ट्रम्प आफैँ संसारलाई गलत उपचार विधिको सल्लाह दिइरहेका छन् । कोभिड–१९ प्रतिरोधमा आफ्नो असफलता छोप्न ट्रम्प हरेक दिन कुनै न कुनै झूठ बोलिरहेका हुन्छन्, कोही न कोहीमाथि दोषारोपण गरेर आफू चोखो बच्न खोजिरहेका हुन्छन् । अमेरिकी शासकहरूको व्यवहारले ‘पुँजीपति वर्ग नाफाको लागि आफू स्वयम् फाँसीमा झुण्डिन तयार हुने’ कथनलाई पुष्टि गरेको छ । पुँजीवादका केही हिमायतीहरूले यो अवस्थाको निम्ति ट्रम्पलाई दोषी करार गरेर सिङ्गो पुँजीवादलाई भने दोषमुक्त बनाउन खोजेका छन् । सत्य के हो भने ट्रम्प र उनको मण्डली पुँजीवादकै उत्पादन हुन् । पुँजीवादको नाफाकेन्द्रित चिन्तनशैलीले ट्रम्पजस्ता हरेक कुरालाई नाफा–नोक्सानको तुलोमा तौलिने र त्यसभन्दा माथि पनि केही कुरा हुने वास्तविकता लत्याउने मानिसहरू नै जन्माउने गर्छ ।
          ट्रम्प स्वयम् भन्दै छन्– महामारीको कारण विशेषतः अमेरिकाका अफ्रिकी–अमेरिकीहरू प्रभावित बनेका छन् । अमेरिकाका अधिकांश अफ्रिकी–अमेरिकीहरू आर्थिकरूपमा विपन्न र सामाजिक तथा राजनीतिकरूपमा विभेदमा छन् अर्थात् अमेरिकी समाजका सबभन्दा सीमान्त मानिस नै कोभिड–१९ को महामारीबाट प्रभावित बनेका छन् । ती मानिस रोगी हुनु र तिनको ज्यान जानुले अमेरिकी पुँजीपति वर्गलाई कुनै असर नपर्ने भएकोले आज अमेरिकी सरकार भाइरस नियन्त्रणको निम्ति लकडाउन गर्न तयार छैन । यसले सङ्‍क्रमण अझ फराकिलो बनेको छ । बजार बन्द गर्दा पुँजीपति वर्गको नाफामा क्षति हुने भएकोले पुँजीपति वर्गको सञ्‍चालक समिति अमेरिकी सरकार त्यसो गर्न मानिरहेको छैन । बरू शासक गुट अमेरिकामा भाइरस सङ्‍क्रमणबारे विपक्षी राजनीतिक दल अतिरञ्जनापूर्ण हल्ला गरिरहेको बताइरहेको छ । वास्तवमा अमेरिकी शासक वर्ग आफ्नो असफलतालाई अनेकन अरू हल्लाले छोप्न उद्यत्त छ । आफूसमेत सवार डुङ्गा प्वाल परेर पानी भरिएर डुब्ने अवस्थामा पनि माछा मार्न नछोड्ने पुँजीपति वर्गको यो कुरूप जालसाजी हो ।
          संसारको जुनसुकै देशका काग पनि कालै हुन्छ भनेजस्तै संसारको जुनसुकै देशका पुँजीपति वर्गको चरित्र उस्तै हुन्छ । अमेरिकी शासक वर्गको यो चरित्र आज नेपालको शासक वर्ग र दलले पनि देखाइरहेका छन् । कोभिड–१९ को प्रतिरोधमा आफ्ना कमी–कमजोरी छोप्न आज नेपालको शासक दल पनि अनेकन राजनीतिक दाउपेचमा लागेको छ । उनीहरू पनि केपी ओलीलाई असफल भएको देखाएर सिङ्गो व्यवस्था सफल भएको देखाउन उद्यत्त छन् । तर, खासमा अहिले देखिएका राजनीतिक दाउपेच र जालसाजी यो संरचना र व्यवस्थाकै कमजोरी हुन् । पात्रहरू बदलिरहन्छन्, तर प्रवृत्ति भने उही रहन्छ । परिमाणमा तुलो तलमाथि हुनसक्ला, तर चरित्र एउटै हो । इतिहासमा घटनालाई नापेर प्रतिपादन गरिएका विचार समयक्रममा फेरि फेरि पुष्टि हुने गर्दछ ।
          पुँजीपति वर्गका आवरणहरू थरी थरी छन् । ती अनेक थरी आवरणभित्र पुँजीपति वर्गले जनतामाथि दमनको तरबार चलाइरहेका हुन्छन् । एउटाको आवरण उदाङ्गिन्छ, अर्को शासन सम्हाल्न आइपुग्छ । उसको पनि आवरण च्यातिए अर्को आवरणसहित शासक सत्तामा उक्लिन्छ । यो क्रम तबसम्म चालू रहन्छ जबसम्म जनताले शासकका सबै आवरण च्यात्ने दिन आउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *