भर्खरै :

गाउँ जानेहरूको पिर

अहिले विचार गर्दा यस्तो लाग्छः गत चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने यात्रीहरू सबैलाई क्वारेन्टिनमा राख्नुपर्थ्यो । त्यतिखेर तिनीहरूको स्वास्थ्य परीक्षणमा खासै ध्यान दिइएन । नेपाल–भारत सिमानामा बेलैदेखि कडाइ गरिनुपथ्र्यो । परम्परागतरूपमै खुला सिमाना भएको हुँदा तत्काल कडाइ गरेर साध्य भएन । सहर आउने वा गाउँ जान चाहनेका लागि समय केही दिन लम्ब्याउनु पर्थ्यो । अनि बन्दाबन्दीको घोषणा गर्ने योजनासँगै भन्नुपर्नेरहेछ, “यसको समय केही लामै हुनसक्ने सम्भावना भएकोले परिस्थितिको गम्भीरतालाई मनन गरी बेलैमाथि आफ्नो सुरक्षा आफैँ गर्नुहोला ।” त्यो बुद्धि पनि आएन । हुन पनि, अन्य देशमा धेरै हानि गरिसकेको यो विश्वव्यापी कोरोनाले यति छिट्टै यो रूप लिन्छ र चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी यसरी लम्बिएला भन्ने पनि कसैलाई लागेकै थिएन ।
त्यही भएर, रोग साम्य होला र काम गर्न पाइएला भन्ने आसमा दैनिक ज्यालादारीमा काम गर्ने धेरै मानिसहरू सहरमा बसिरहे । पछि स्थिति खराब हुँदै गएपछि बाध्य भएर सयौँ किमि टाढा रहेको आफ्नो घर जान हप्तौँ लामो पैदल यात्राको सहारा लिन पनि बाध्य भए । उनीहरूले खेप्नुपरेको कष्टकर अवस्थाले सर्वाेच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत ध्यानाकर्षित गराएपछि सरकारले पनि अलि ठाडा काम लगायो । त्यसपछिका दिनहरूमा पीडितजनका समस्या समाधान गर्नेतर्फ केही सुधार पनि भयो । तर, त्यतिले पनि पैदलै गाउँ जानेहरूलाई रोक्न सकिएन ।
पछिल्लो समयमा स्थानीय सरकारसमेतको पहलमा सङ्कटमा परेर गाउँ आउन-जान चाहनेलाई उपत्यकाबाट गाडीको व्यवस्था मिलाई ल्याउन-पठाउन थालिएको छ । यो पनि नराम्रो कुरो त होइन । तर, यसैबीच देश कोरोना सङ्क्रमणको तेस्रो चरणमा प्रवेश गर्दै गर्दा, गाउँ पठाइने यात्रीहरूलाई बसभित्र सामाजिक दुरी कायम गरिएको देखिएन । विदेशबाट उडेर आई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने ‘विशेष मान्छेहरू’ को स्वास्थ्य परीक्षणमा त ध्यान पु¥याउन सकिएन भने थोत्रा बसमा गाउँ जाने ‘सामान्य’ मानिसको स्वास्थ्य परीक्षण गरेर साध्य पनि थिएन । तर, जे भए पनि यत्तिका दिन कडाइका साथ बन्दाबन्दी पालना गरे-गराएपछि ,बाह्र हात नापेर बित्तामा हार्ने भनेजस्तो त्यस्तो जोखिमपूर्ण यात्रा गराउनुहुँदैनथ्यो । त्यस्तो भीडभाड यात्राबाट आफ्नो परिवारका सदस्य घर आउँदा पनि गाउँलेहरूले खुसी मान्न सक्ने अवस्था छैन । न त जानेहरू नै ढुक्क मनस्थितिमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *