भर्खरै :

त्रिवि र विद्यार्थी सङ्गठनहरूबीच अनलाइन बैठक

            काठमाडौँ, १५ वैशाख । त्रिभुवन विश्वविद्यालयको उपकुलपति र विभिन्‍न विद्यार्थी सङ्गठनहरूबीच सोमबार भिडियो बैठक सम्पन्‍न भयो । अनलाइन पठनपाठन विषयमा केन्द्रित बैठकको अध्यक्षता उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले गर्नुभएको थियो ।
            बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले अनलाइन कक्षा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीमाझ पुग्नुपर्ने बताउँदै डाटा प्याकेजलाई निःशुल्क बनाउनुपर्ने माग गर्नुभयो । उहाँले अनलाइन शिक्षण व्यवस्थापनमा हुने खर्चलाई आर्थिक पारदर्शी बनाउनुपर्ने बताउँदै स्रोत–साधनमा कमजोर क्याम्पसहरूलाई सहयोग गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
            “विद्यार्थीहरूलाई अनुसन्धानात्मक गतिविधिमा सक्रिय बनाउनुपर्दछ, समाजमा आउने समस्या सम्बोधन गर्नसक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय चुक्नु हुन्‍न”, उहाँले भन्नुभयो ।
            अध्यक्ष ख्याजूले कोरोना भाइरस रोग फैलिन नदिन सचेतना अभियानमा त्रिविअन्तर्गतको स्रोतसाधनलाई परिचालन गर्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई उचित राहतको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
            बैठकमा विभिन्‍न विद्यार्थी सङ्गठनका अध्यक्ष र प्रतिनिधिहरूले अनलाइन कक्षालाई व्यवस्थित गर्न विश्वविद्यालयलाई अनुरोध गरेका थिए । विश्वविद्यालयका पदाधिकारीहरूले अनलाइन पठनपाठनको तयारी र प्रगतिबारे जानकारी गराएका थिए । विश्वविद्यालयले लकडाउन अवधिमा सैद्धान्तिक कक्षालाई जोड दिने र विद्यार्थीहरूको सहभागिता बढाउन सक्रिय रहेको जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *