भर्खरै :

भरतपुरमा कोभिडको नाममा भ्रष्टाचार

            एउटा भनाइ छ– ‘मानिस मरेपछि उसलाई खल्ती काम लाग्दैन ।’ तर, लोभीपापी मानिस मरेर पनि खल्तीभरि पैसा बोकेर लगौँला जस्तै गरी अनेक कृत्य गरी धनार्जन गर्न खोज्छन् । कोभिड–१९ महामारीले सम्पूर्ण मानव समाज अनिश्चित भविष्यबाट त्रसित बनिरहेको समयमा नेपालका केही लोभीपापी र भ्रष्टाचारीहरूको निम्ति भने यो समय मालामाल बन्ने मौका बनेको छ ।
            भरतपुर महानगरपालिकाले कोभिड–१९ महामारी प्रतिरोध गर्न स्थापना गरेको कोभिड अस्पतालका कर्मचारीहरू राति अस्पताल आएर भण्डार शाखाबाट सामान चोरी गरेको समाचार प्रकाशमा आएको छ । सुरुदेखि नै भ्रष्टाचार र कमिसनको कारण चर्चामा रहेको अस्पतालका कर्मचारीहरू नै राति अस्पतालमा आएर सामान चोरेर लगेका थिए । उनीहरूले सामान चोर्दै गरेको सीसीटीभी क्यामरामा अभिलेखिकृत दृश्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अस्पतालभित्रका कर्तुत बाहिरिएको हो । चोरिएका केही सामान कर्मचारीहरूले घरमा लगेको र बाँकी स्थानीय एक मेडिकल पसललाई बेचिएको कुरा पनि सार्वजनिक भएको छ । कोभिड–१९ महामारी अझ उकालो चढिरहेको बेलामा कोभिडकै उपचारको लागि स्थापना गरिएको अस्पतालका कर्मचारीहरूबाटै सामान चोरी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार नै अस्पताल र भरतपुर नगरपालिकामा छापा मारेको छ ।
            चोरीको घटना नचिताएसरि छताछुल्ल भएपछि विभिन्न राजनीतिक दलहरू आ–आफ्ना मानिसको संरक्षणमा लागेका छन् । विशेषतः सत्तारुढ दल नेकपाले चोरीमा संलग्न कर्मचारीहरूलाई जोगाउन अनेक चलखेल गर्न थालेको छ । बाग्मती प्रदेश सरकारको दुई करोड रुपैयाँ सहयोगमा स्थापना भएको सो अस्पतालको लागि आवश्यक सामान बिनाटेन्डर प्रक्रिया खरिद गरिएको भनी यसअघि नै विवादास्पद बनेको छ । अहिले सत्तासँग नजिक कर्मचारीले नै त्यहाँका सामान चोरेर बेच्नुबाट सरकारी सम्पत्तिको लुटपाट गर्न सत्तारुढ दलकै मानिस लागिपरेको देखापर्छ । सत्तासीन दलका मानिसहरूले सरकारका पैसा यसरी लुटेको उदाहरण योमात्र पक्कै होइन । यसअघि स्वास्थ्य मन्त्रालयले खरिद गर्न खोजेको अत्यावश्यकीय चिकित्सक सामग्री खरिदमा सरकार नजिक मानिसहरूको ओम्नी कम्पनीले गर्न खोजेको भ्रष्टाचारको समाचारमा खत बसिसकेको छैन । सञ्चार माध्यम र जनताको व्यापक विरोधपछि ओम्नीबाट भ्रष्टाचार हुन पाएन ।
            विपद्को बेला सत्ता नजिकका मानिसहरूले अहिले पनि विभिन्न आवरणमा भ्रष्टाचार गरिरहेका छन् । भोकालाई भोजनदेखि राहत वितरणसम्म, अस्पताल निर्माणदेखि चिकित्सकीय सामग्री खरिदसम्ममा सत्तारुढ दल वरपरका मान्छेले आर्थिक हिनामिना गरिरहेका छन् । सुन्दा गरिब र दुःखीको सेवा र सहयोग गरिरहेको जस्तो लागे पनि वास्तवमा उनीहरू कमाउधन्धामा लागेका छन् । भोकालाई खुवाउने नाममा व्यापारीहरू आफ्नो गोदाममा रहेका कमसल र कुहिएको चामल सरकारलाई बेचिरहेका छन् । स्थानीय तहले राहतका नाममा आफ्ना कार्यकर्ता र समर्थकलाई मोटाउन दिइरहेका छन् । कति स्थानीय तहमा स्वास्थ्य उपकरण र अत्यावश्यक सामान खरिदको नाममा कमिसन र घोटालाका घटना भइरहेका छन् । भरतपुरको घटना सीसीटीभीको श्रव्यदृश्य अभिलेखीकृत भएको कारण बाहिरियो । आशा गरौँ, चोरी गर्ने दोषी कर्मचारीलाई कारबाही हुनेछ । सत्ताको आडमा दोषीलाई उन्मुक्ति दिने गल्ती कसैबाट नहोस् । कति निकायमा यस्ता भ्रष्टाचार र घोटाला भागबन्डा र सहमतिमा भइरहेका छन् । समाजको जरा–जरासम्म पुगेको भ्रष्टाचारको जरा उखेल्न नसकुञ्जेल देशमा परिवर्तनको कुरा एकादेशको कथामा मात्र सीमित हुनेछ ।
            विडम्बना, यस्तो महामारीको समयमा मानिसको रक्षाको लागि बनाइएको अस्पतालको सामान समेत चोर्ने मानिसहरू मर्दा तिनीहरूसँग कति खल्ती होला कुन्नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *