‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
विश्वमा कोभिड–१९ भाइरसको कहरले लकडाउन थपाथप भइरहेको छ । जनताको साहित्य नयाँ अङ्क प्रकाशित भएको सामाजिक सञ्जालमार्फत जानकारी भयो । केही दिनमै जनताको साहित्य अङ्क १२ को पीडीएफ पनि डाउनलोड गरेर हेर्ने अवसर मिल्यो ।
जनताको साहित्य अङ्क १२ को सम्पादकीय लेख्छ, “नेपालको शासनमा बस्ने केही राजनीतिक दलमा व्यापक दृष्टिकोण नभएको हुँदा वा साम्राज्यवादी शक्तिका दलालको पक्षमा लाग्ने हुँदा थाहा पाएर वा थाहा नपाई नेपाली जनता अन्तर्राष्ट्रिय ऐन–कानुनले आफैँलाई बाँधिन स्वीकारेको अनुमान गर्न सकिन्छ । उदाहरण हो – इन्टरनेटमा राखिएका केही साहित्य वा सामग्री कागजमा ‘डाउन लोड’ गर्दा वा छाप्दा कुनै दिन कसैलाई मुद्दा चलाउनुपर्यो भने नेपाल सरकारका कर्मचारीहरूलाई विदेशी एजेन्टहरूले हातमा लिई मुद्दा चलाउने, माफी मगाउने, तर्साउने र दण्ड–जरिवाना गराउन सक्नेछन् । यसकारण नेपाली साहित्यले नेपाली जनता र साहित्यको स्वतन्त्रतालाई जोगाउन वा विदेशी साहित्यलाई नेपाली दृष्टिकोणले आलोचना, विरोध र निन्दा गर्न पाउने अधिकारलाई सुरक्षित राख्न नेपाली लेखक, कवि, कलाकार र चिन्तकहरू गम्भीर हुन र यसबारे सचेत हुन आवश्यक देखिन्छ ।”
सम्पादकीयमा उल्लेख भएअनुसार नेपालका शासक र तिनका भरौटेहरूको गलत प्रवृत्तिको आलोचना गर्दा कैयन् नेपाली अनेक प्रकारको कोपभाजनमा परेका यथेष्ट उदाहरण छन् । अझ ‘सरकारको विरोध गर्नेलाई भाटा हान्नु’ भन्ने निर्लज्ज आदेश दिन्छन् शासकहरू !
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साहित्य, कला तथा समसामयिक विषयमा ‘शमी’ साहित्यिक मासिकमा प्रकाशित संवाद सामान्य सम्पादनका साथ यस अङ्कमा प्रकाशित गरिएको छ । संवादको क्रममा ‘एक निष्ठावान नेताको रूपमा स्थापित यहाँले साहित्य र राजनीतिको सम्बन्धलाई कसरी लिनुभएको छ ?’ भन्ने प्रश्नकोको जवाफमा अध्यक्ष रोहितले “जुन देशको भाषा र साहित्यले गति लिएको हुन्छ तत्तत् देशमा राजनीतिक आन्दोलन, सङ्घर्ष र क्रान्तिलाई सहयोग पुर्याएको देखिन्छ । सशक्त अभिव्यक्तिले राजनैतिक सिद्धान्तलाई चमक दिएको हुन्छ । बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सेली राज्य क्रान्ति, जर्मनी र रुसी समाजवादी क्रान्ति आदिको विश्लेषण गर्दा ती देशका साहित्यको राजनीतिमा मनग्य प्रभावको अनुभव गर्छु ।” भन्ने विचार व्यक्त गर्नुभएको छ । निश्चय पनि साहित्य र कलाले कुनै पनि देशको सभ्यतालाई मुखरित गरिएको हुन्छ । राजनीतिमा पनि त्यसको प्रत्यक्ष परोक्षरूपमा प्रभाव परेको हुन्छ । संवादको क्रममा त्यस्ता मनग्य उदाहरण अध्यक्ष बिजुक्छेँबाट प्रस्तुत भएको देखिन्छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को संस्मरणका केही पृष्ठ पनि जनताको साहित्य नयाँ अङ्कमा प्रकाशित भएको छ । सन् १९५९–६० मा श्रद्धेय अध्यक्ष चीनको पेइचिङबाट २० किलोमिटर उत्तरतिरको पातस्थित एसियाली अफ्रिकी युवा तथा विद्यार्थीहरूको स्वास्थ्य निवासमा हुनुहुन्थ्यो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईसँगको संस्मरणमा अध्यक्ष रोहितले चिनियाँ दोभाषेमार्फत आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री चाउ एन लाईले चिकित्सकहरूसँग सोधपुछ गर्दा जानकारी पाएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री चाउ एन लाईले अध्यक्ष रोहितको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै घरबाट चिट्ठीपत्र आउने नआउने विषय र माता–पिताबारे पनि सोधपुछ गर्नुभएको उल्लेख छ । संस्मरण अध्ययन गर्दा तत्कालीन चिनियाँ नेतृत्व असल एवम् दूरदर्शी भएको अनुमान गर्न सकिन्छ ।
साहित्य र क्रान्तिबारे नेपाल साप्ताहिकबाट साभार गरिएको गुरुङ सुशान्तको प्रस्तुतिमा वरिष्ठ राजनीतिज्ञ एवं जन साहित्यकार नारायणमान बिजुक्छेँ भन्नुहुन्छ, “नेपालमा पनि एउटै समुदायका मानिसमात्रै राज्यको कार्यकारी भूमिकामा किन हुन्छ ? उत्तर उही आउँछ । बहुमतको बलमा अल्पसङ्ख्यकलाई पेलेर जाँदा भयावह नतिजा आइलाग्छ भन्ने बलियो पाठ इन्डिया विन्स फ्रिडमबाट लिन सकिन्छ ।” बिजुक्छेँ भन्नुहुन्छ, “मानव समाजको विकासको चर्चा गर्दा मजदुर, सर्वहारा, पुँजीपति वर्ग र समाजवादी विचार समेटिएका छन् । तत्कालीन युरोपका लागि ती विचार स्वाभाविक थिए होलान् तर नेपालमा त्यस्ता वर्गको विकासै भएको थिएन ।”
उहाँ भन्नुहुन्छ, “अहिले बुझ्छु– कम्युनिस्ट घोषणापत्रका हरेक पङ्क्तिमा एउटा–एउटा पुस्तक छ । त्यहाँ भनिएको छ, ‘अमेरिका र भारत पत्ता लागेपछि पुँजीवादको विकास भयो ।’ यहीँ कुरा बुझ्न कोलम्बसले अमेरिका पत्ता लगाउँदाको यात्रा–कथा पढ्नुपर्छ । हिन्दुस्तान खोज्न हिँडे पनि अमेरिका पुगेका कोलम्बसबारे मैले कम्तीमा दुई पुस्तक पढेँ । कम्युनिस्ट मेनिफेस्टोको पहिलो संस्करणमा ‘मानव समाजको इतिहास वर्ग–सङ्घर्षको इतिहास’ भनी लेखिएको थियो । तर, अनुसन्धानबाट खुल्यो– कोलम्बस हाइटी पुग्दा राज्य नै थिएन । वर्गविहीन समाजमा वर्ग–सङ्घर्ष हुने कुरै भएन । त्यसैले लिखित इतिहासपूर्वको आदिम साम्यवादी समाजवादी समाजमा वर्ग–सङ्घर्ष थिएन भनेर परिमार्जन गरियो । यसमा अर्थशास्त्र, दर्शनशास्त्रलगायत विषय प्रस्तुत गर्दै सुदूर भविष्यलाई समेत मार्गदर्शन गरिएको छ । साहित्यिक स्वादको यो पुस्तकमा भनिएको छ, ‘मजदुरहरूको पार्टी र हकहितविरुद्ध कुनै पार्टी खोलिने छैन ।’ तर, नेपालका कम्युनिस्ट पार्टीहरू परिवर्तन र क्रान्तिभन्दा सत्ताको ध्याउन्नमा हुन्छन् ।” नेपालका कम्युनिस्ट भनाउँदा शासकहरू कुनै हालतमा मजदुर अर्थात् कामदार वर्गको हकहितमा स्थापना भएको पार्टी होइन । महामारीसँगै कामधन्दा बन्द भएर अलपत्र परेका मजदुरहरू डेरा बहाल तिर्न नसकेको र खानेकुरा अभाव भएको विषम परिस्थितिबाट उन्मुक्त पाउला कि भनी आफ्नो गाउँ घर फर्केको अवस्थामा नेकपा भनिएका शासकहरूले राहत दिनुको सट्टा घर न घाटको बनाएर अलपत्र पारे । तिनीहरू कहिले टन्टलापुर घाम, कहिले असिना पानी र हुरीमा बाल बच्चा बोकेर भोकभोकै खाली खुट्टा ४–५ सय किलोमिटर हिँडन बाध्य भए । यस्ता मजदुर वर्गको हक हितविपरीतको पार्टी र सरकारलाई कम्युनिस्ट भन्न सकिन्न ।
‘एक चिहान’ र ‘स्वास्नीमान्छे’ उपन्यास, ‘भानुभक्तः एक समीक्षा’, ‘केही नेपाली कविता र उसका प्रतिनिधि कवि’, र ‘केही नेपाली नाटकले हृदयचन्द्रसिंह प्रधानको समालोचक व्यक्तित्वको उजागर गर्छ’ भनी लेखिएको समीक्षामा लेखक सीतुले ‘छेउ लागेर’ ले चिनाएका हृदयचन्द्रसिं शीर्षकमा लेख्नुभएको छ । हृदयचन्द्रको ‘छेउ लागेर’ सरल तथा सङ्क्षिप्त प्रकृतिका बार्ह वटा नाटकहरूको सङ्ग्रह भएको र ती सबै नाटक वि.सं. २००२ देखि २००६ सालभित्र लेखिएको उल्लेख गरिएको छ ।
समीक्षक एसआरले ‘एउटा साहित्यिक आधारशिलाः हस्तलिखित ‘क्रान्ति’’ को समीक्षा गर्दै भक्तपुरका परिवर्तनप्रेमी जुझारु युवाहरूले वि.सं. २०११ मा जन अध्ययन मण्डल गठन गरेको र तिनै नवजवानहरूले २०१४ साल वैशाख १५ गते शनिबारका दिन हस्तलिखित साहित्यिक मासिक ‘क्रान्ति’ प्रकाशन प्रारम्भ गरेको जानकारी दिइएको छ ।
सुन्दर वासीले वरिष्ठ जन साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित हजुरबुबाका चिट्ठी पत्रसाहित्य सिद्धान्तको आधारमा अध्ययन गर्नु वाञ्छनीय भएको चर्चा गरिएको देखिन्छ ।
लेखक नीरज लवजूले ‘एउटा सार्थक भेट’ शीर्षकमा वरिष्ठ समालोचक गोविन्दप्रसाद लोहनीसँग गत असार ३ गते श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँको भेट हुँदा बखतको वृत्तान्त र त्यसको सार्थकताबारे प्रस्तुत गर्नुभएको पाएँ ।
इतिहासको पृष्ठअन्तर्गत नोभेम्बर १९, १९६० मा झोङनानहाइको छिङचेन हलमा माओ त्सेतुङ र चे ग्वे भाराबीचको कुराकानी प्रकाशित गरिएको छ । कुराकानीको क्रममा क्युवाली प्रतिनिधिमण्डलमा सहभागी ल्याटिन अमेरिकीहरू अन्तर्राष्ट्रवादीहरू हुन् भनी अर्नेष्टो चेग्वेभाराले भन्नुभएको उल्लेख गरिएको छ । हो, कम्युनिस्टहरू देशभक्त हुन्छन् र अन्तर्राष्ट्रवादी पनि ।
चिनारी पृष्ठमा जर्मनियाली पहिलो काल्पनिक साम्यवादी विचारक विल्हेम वेट्लि· र फ्रान्सेली काल्पनिक समाजवादी पत्रकार इटिन काबेटको सङ्क्षिप्त जीवनी प्रकाशित गरिएको छ । काल्पनिक समाजवादबारे केही अवधारणा र तत्कालीन अवस्थाको जानकारी यिनको जीवनीमा पाइन्छ ।
रेकर्डको पानामा एमसीसीविरुद्ध संरा अमेरिकी सरकारलाई नेमकिपाको विरोधपत्र र अध्यक्ष रोहितद्वारा चिकपालाई ऐक्यबद्धता सन्देश प्रकाशित छन् ।
लेखक निर्जलाद्वारा लिखित प्रगतिशील साहित्यको आवश्यकता चर्चा सान्दर्भिक छ । यो उपन्यासमा भाइरस प्रयोगशालामा तयार गर्ने र मानवमा प्रयोग गर्ने घटना प्रस्तुत गरिएको छ । हाल विश्वमा फैलिएको महामारीलाई पुँजीवादीहरूले गरेका प्रचारयुद्धको विरोधमा सङ्घर्ष आवश्यक भएको उल्लेख गरिएको छ ।
यस अङ्कमा विजय सागरको कथा, एसआर र सुरेन्द्रराजको गीत, क्रिश्चिनाको अनुवाद, सरस्वती श्रेष्ठ (सरु) को लघुकथा, बुँद राना, बासुदेव अधिकारी, कृष्णकुमार वैद्य, आकाश मानन्धरका गजल र दामोदर सुवाल, हरिहर तिमल्सिना, एसजी, निर्जला, क्रिश्चिना, सुरेश परियार, रुद्र ज्ञवाली, नसला र सुस्मिता न्यौपानेको कविता प्रकाशित छन् । ६८ पृष्ठ रङ्गिन कभरसहितको द्वैमासिक साहित्यिक पत्रिकाको मूल्य रु. ५० पाठकहरूले सःशुल्क राहत महशुश गर्ने आशा छ ।
Leave a Reply