भर्खरै :

मिखाइल लुकासको सम्झना

            बिहीबार २५ वैशाख २०७७ बिहान साथीहरूबाट मैले सोभियत जनतासँग मित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्को पत्रिका ‘नर्थस्टार कम्पास’ को लामो समयदेखिका सम्पादक कामरेड मिखाइल लुकासको देहावसानको दुःखद समाचार पाएँ । साथै, दुई पृष्ठको एक सूचना पनि पाएँ । उहाँका सहकर्मी जर्ज ग्रुन्थलले पहिलो सन्देशमा लेख्नुभएको थियो –सोमबार ४ मई २०२०, ४ बजेर ५१ मिनेटमा लुकास बित्नुभयो । कामरेड मिखाइल लुकासले त्यस पत्रिकाको धेरैजसो विषयमात्र लेख्नुहुन्नथ्यो, उहाँले त्यसको सजावट र खाममा राखेर हुलाकमा समेत पठाउने काम गर्नुहुन्थ्यो । उहाँले यो काम ९० को दशकसम्म आफ्नी पत्नी हेलेन एवम् टोरोन्टो र संसारभरिका अन्य कामरेडहरूको सहयोगमा गर्नुभयो 
            मिखाइल लुकास समाजवादप्रति निरन्तर प्रतिबद्ध सबभन्दा लडाकूहरूमध्ये एक हुनुहुन्थ्यो । उहाँ लामो समयसम्मको कार्पाथोरुसी क्यानेडियालीहरूको समाजको नेता वा अगुवा हुनुहुन्थ्यो  । सन् १९९१ मा सोभियत सङ्घको अस्थायी पतनपछि क्यानडामा रहेका धेरैजसो स्लाभिक स·ठनहरू विघटन भए वा समाजवादलाई त्याग गरी जातिवादमा लागे । तर, मिखाइल लुकास र कार्पाथोरुसी सङ्गगठनले समाजवादको रातो झन्डालाई माथि उचाले र नर्थस्टार कम्पासको प्रकाशनमा लागे । उहाँले सोभियत सङ्घ र अरू पूर्व समाजवादी देशमा सङ्घर्षरत शक्तिलाई सम्पर्क राख्नुभयो नर्थस्टार कम्पासलाई सारा संसारका क्रान्तिकारी र प्रगतिशील जनताले पढ्ने अवसर पाए । मिखाइल लुकासको समाजवादप्रतिको सङ्घर्षशील भावना धेरैधेरै कालसम्म सम्झिइने छ ।
            उहाँ बित्नुभयो, हामी सार्‍है दुःखी छौँ 
            जर्ज ग्रुन्थल सोभियत जनतासँग मित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्को सदस्य, नर्थस्टार कम्पासको वेभसाइटमा कार्यरत हुनुहुन्छ ।
            दिवङ्गत मिखाइल लुकासका सुपुत्र मिखाइल लुकास जुनियरले पठाउनुभएको अर्को सन्देशमा लेखिएको छ :
            सन् २०२० मई ४ को बिहान सबेरै बुबा मिखाइल लुकासको देहावसानको सार्‍है दुःखका साथ समाचार घोषणा गर्दै छु । मेरा बुबा शान्तिपूर्वक बित्नुभयो । यस स्थितिबारे बढी जिज्ञासा राख्नुहुन्छ भने कृपया बताउनुहोला हामी थप जानकारीको सूचना पठाउने छौँ 
            धेरैधेरै धन्यवाद !”
            मिखाइल लुकासको छोरो           
            मिखाइल लुकास जुनियर
            सभापतिप्रबन्ध निर्देशक
            अलेक्जेन्डर डुस्नोभिच
कार्पाथोरसियाली क्यानेडियालीहरूको समाज
            २८० क्वीन स्ट्रीट पश्चिम
            टोरोन्टो, अन्टारिओ
 
            यी दुःखद समाचारले मलाई, मेरो परिवार तथा नेमकिपाका सबै तहका पार्टी सदस्य, वर्गीय स·ठनका सदस्यहरू, नेमकिपाका हाम्रा समर्थक र सहानुभूति राख्ने सबै साथीहरूलाई दुःखी बनायो ।
            नेमकिपाको तर्फबाट कामरेड मिखाइल लुकासको निधनमा म उहाँकी पत्नी हेलेन लुकास र मिखाइल लुकासका सुपुत्र लुकासप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।
            हामी आशा गर्छौँ – कामरेड मिखाइल लुकासको दुःखद निधनमा समवेदना प्रकट गर्दै उहाँले पूरा गर्न बाँकी कार्यहरू पूरा गर्न ‘कार्पाथो–रुसी क्यानेडियाली समाज’ र ‘सोभियत जनतासँग मित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद् तथा त्यसको पत्रिका ‘नर्थस्टार कम्पास’ मा कार्यरत इन्टरनेट (वेभ) कामरेडहरू सफल हुनुहुनेछ ।
            ‘नर्थस्टार कम्पास’ को सुरुको अङ्क २६ वर्ष पहिले अर्थात् सन् १९९१ मा प्रकाशित भएको हो । त्यसको ७ वर्षपछि अर्थात् सन् १९९८ र १९९९ देखि नेमकिपाले ‘नर्थस्टार कम्पास’ प्राप्त गर्दै रह्यो । ‘श्रमिक’, ‘मजदुर’ र अन्य हाम्रा प्रकाशनहरूले त्यसको भावना र भाषालाई नेपालीमा रुपान्तरण गर्दै गए ।
            ‘नर्थस्टार कम्पास’ को अन्तिम अङ्क सन् २०१७ अक्टोबर–नोभेम्बर अङ्क थियो । आर्थिक सङ्कटको कारण ‘नर्थस्टार कम्पास’ को छापाको ठाउँमा इन्टरनेटबाट प्रसारण गरियो । तर, नेपालमा हामीले त्यसलाई प्राप्त गर्न सजिलो भने थिएन । प्राविधिक कारणले त्यसका जानकारी र लेखहरू प्राप्त गर्न नसकेको साथीहरू बताउनुहुन्छ ।
            छापाको नर्थस्टार कम्पासको अन्तिम अङ्कमा ‘सोभियत सङ्घका उपलब्धिहरू’,  ‘पुँजीवादको अन्त्य कसरी होला ?’ र ‘पर्यावरणीय समाजवादको भविष्य’ जस्ता समीक्षा, संस्मरण तथा पुर्वानुमानजस्ता लेखहरू त्यसमा समावेश छन् । म हाम्रा पत्रकार समाजका साथीहरूलाई त्यस अङ्कका लेखहरू नेपाली भाषामा प्रकाशित गर्न सल्लाह दिन चाहन्छु । ती लेखहरूमार्फत बेलायती चर्चित दार्शनिक, गणितज्ञ र राजनीतिक चिन्तक एवम् चर्चित व्यक्तित्व बर्टान्ड रसेल र अन्य व्यक्तित्वहरूको ‘पुँजीवादको कसरी अन्त्य होला’ र ‘समाजवादको भविष्य के होला ?’ भन्ने विचारहरू पनि अध्ययन मनन गर्ने अवसर मिल्नेछ ।
ध्रुवताराबारे       
            नेमकिपाको भूमिगत र प्रवासकालमा हामीले ‘आधार’, ‘समाचार संसद’ र ‘ध्रुवतारा’ भन्ने पत्रिकाहरू परीक्षणको रूपमा हिन्दी भाषामा पनि केही भारतीय लेखक, कवि र कलाकारहरूको सहयोगमा प्रकाशित गर्‍यौँ । त्यसको मुख्य उद्देश्य नेपाल र नेपाली तथा भारत र भारतेली जनतामा समेत माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा तथा समाजवादको प्रचार गर्ने उद्देश्य राखेका थियौँ । तर, भारतीय गुप्तचर विभागले छापाखाना, लेखक, कवि, कलाकारहरूलाई समेत बाधा दिएको हुनाले ती पत्रिकाहरूलाई निरन्तरता दिन सकेनौँ । संयोगको कुरा हो–‘ ध्रुवतारा’ लाई पश्चिम वा क्यानाडामा ‘नर्थस्टार’ भन्ने गर्छन् । ‘ध्रुवतारा’ ले दिशा पत्ता लगाउने काम पनि गर्छ । यसकारण, ‘नर्थस्टार कम्पास’ नाउँ राखिएको हुनुपर्छ । विचारको पनि समानता भएको हुनाले २०६८ साल भदौ–असोज (सेप्टेम्बर–अक्टोबर २०११) मा ‘ध्रुवतारा’ (The North Star) नेपाली भाषामा प्रकाशित गर्‍यौँ । त्यसबेलादेखि ‘नर्थस्टार कम्पास’ सँग हाम्रो सम्बन्ध झन् मित्रवत् र आत्मीय रह्यो । पछि ‘नर्थस्टार’ मा नेमकिपालाई पनि एक समितिको सदस्यको रूपमा उल्लेख गरियो ।
            साथीहरूलाई थाहै होला, मिखाइल लुकास चेकोस्लाभाकियाली कार्पाथो प्रदेशका रुसी हुनुहुन्छ । उहाँको जन्म एक मजदुर परिवारमा भएको हो । मिखाइलका बुबा सन् १९२७ मा क्यानाडा बसाइ सर्नुभएको थियो । बुबा मिखाइल एक सङ्घर्षशील खानी मजदुर, बाजागाजा, नाचगानका शिक्षक पनि हुनुहुन्थ्यो । क्यानाडामा उहाँले आफ्ना प्रवासीहरूमाझ माक्र्सवाद र लेनिनवादको प्रचार गर्नुहुन्थ्यो ।
            दोस्रो विश्वयुद्ध हुँदा मिखाइल लुकास १९–२० वर्षका विद्यार्थी र बुबाको सैद्धान्तिक विचार र बाजागाजा तथा नाचगानजस्ता सांस्कृतिक गुणबाट प्रभावित हुनुहुन्थ्यो । विद्यार्थी गतिविधि, सोभियत सङ्घको पक्षमा प्रचार आदिले उहाँलाई कलेजले ‘कालोसूची’ मा पार्‍यो र उहाँले प्रमाणपत्र पाउनुभएन । तर, उहाँको आफ्नो राजनैतिक विचार, सांस्कृतिक गतिविधि र चित्रकारितालाई प्रमाणपत्रले छेक्न सकेन ।
            उमेरसँगै मिखाइल लुकासले ‘रुसबाट हात झिक’ भन्ने आन्दोलनदेखि ‘क्यानाडियाली र सोभियत जनताको मैत्री सङ्घ’ समेत स्थापना गर्दै सोभियत सङ्घको समर्थनमा फोटो प्रदर्शन, सांस्कृतिक कार्यक्रम, प्रवचन र रुसी प्रतिनिधिमण्डलको स्वागत एवम् क्यानाडियाली प्रतिनिधिमण्डल सोभियत सङ्घ र पूर्व युरोपेली देशहरूको भ्रमणको नेतृत्व पनि गर्नुभयो ।
            सन् १९९१ मा गोर्भाचोभले सोभियत सङ्घ र समाजवादको विघटन गरेपछि पहिलो पटक उहाँले ‘सोभियत सङ्घको पुनःस्थापना’, ‘समाजवादको पक्ष’ मा र संशोधनवादी तथा विश्वासघातीहरूको विरोधमा आवाज उठाउनुभयो र ‘सोभियत जनतासँगको मित्रता एवम् ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्’ स्थापना गर्दै ‘नर्थस्टार कम्पास’ सुरु गर्नुभयो । उहाँकै अगुवाइ र अथक परिश्रमले सन् २००१, २००८ र २०११ मा अन्तर्राष्ट्रिय महाअधिवेशनहरूको सफल आयोजना भयो ।
            ती बैठकहरूमा ११ देखि १४ देशका प्रतिनिधिहरू सामेल थिए । त्यसबेलासम्म उहाँ ८५ वर्षका युवा नै हुनुहुन्थ्यो । सन् २०११ मा टोरोन्टोमै भएको अन्तर्राष्ट्रिय परिषद्को तेस्रो विश्व महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि अध्ययन–मनन गर्नुपर्ने राम्रो दस्तावेज हो । सो प्रतिवेदन ‘ध्रुवतारा’ वर्ष–१ पूर्णाङ्क–२ कार्तिक–मंसिर, २०६८ (Nov-Dec, 2011) मा प्रकाशित छ ।
            यसरी हामीले उहाँका राम्रा कार्यहरूको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्‍जली अर्पण गरौँ । धन्यवाद !
            (शुक्रबार पत्रकार समाज नेपालको आयोजनामा भएको मिखाइल लुकासको अनलाइन शोकसभामा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *