‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच ‘लेनिन’ को समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् । अघिल्ला अङ्कमा हामीले लेनिनले पत्रिकाको छपाइ र पार्टी स्थापनाको सम्बन्धमा गर्नभएको प्रारम्भिक कामहरूबारे सविस्तार पढ्यौँ ।)
“हामीले खाँदैनौँ !”
हलभरि भयानक सुनसान छायो । भान्सेले डराउदै अफिसरलाई बोलायो । उसले आउनासाथ गाली गर्न थाल्यो । तर, नाविकहरूका सेता, कठोर मुहारमा नजर परेपछि ऊ एकाएक चुप लाग्यो र कमान्डरलाई भन्न गयो । छिट्टै बिगुलको आवाज सुनियो । यो लाइन लगाउने सङ्केत थियो । नाविकहरू हडबडाउदै माथिल्लो डेकतिर दौडिए र लाइन लगाएर उभिए । चारैतिर निलो समुद्र थियो । माथि खुला र सफा आकाश । समुद्रमा स–साना छाल उठिरहेका थिए । त्यसमा डल्फिनहरू खेलिरहेका थिए ।
“विद्रोह गर्ने !” कमान्डर चिच्यायो । “सैन्यपोतमा पनि केको विद्रोह ? उक्साउने को हो ? तिमीहरूलाई जान्या’छु ।”
नाविकहरू मूर्तिझैँ उभिरहे । सामुन्ने बन्दुक सोझ्याएका सन्तरीहरूको लाइन थियो ।
“त्रिपाल ल्याओ !” कमान्डरले आदेश दियो ।
यसको अर्थ ? यसको अर्थ, कमान्डरले विद्रोह गर्न उक्साउनेलाई प्राणदण्ड दिने निश्चय गरेको थियो । उसले कसैलाई औँल्याउँदै “तैँले उक्साएको थिइस्” भन्ने थियो र खेल खत्तम ।
त्रिपाल ल्याएरडेकमा खोलियो । त्यसले नाविकलाई ढाकिन्थ्यो । त्रिपालले ढाकिनुको अर्थ थियो – प्राणदण्ड । बिना कुनै सुनुवाइको प्राणदण्ड ।
सबै जोशिए । अब मृत्यु आयो, आयो । बचाउको कुनै बाटो थिएन । चारैतिर निलो समुद्र । टन्टलापुर घाम ओकलिरहेको आकाश । निर्बाध हावा । एकाएक लाइनबाट एक नाविक फुत्त बाहिर आए ।
“साथी हो, कहिलेसम्म सहने ? हतियार उठाउनुस् साथीहरू !” र, सबैभन्दा पहिले हतियारधारीहरूलाई झम्टिए । उनी थिए – अफानासी मात्यूशेन्को । साथीहरूले उनलाई यसै पनि अति अशान्त स्वभावको भनिरहन्थे ।
“जल्लाद कमान्डर मुर्दावाद !” मात्यूशेन्को चिच्याए । “जार मुर्दावाद ! स्वतन्त्रता जिन्दावाद, साथीहरू !”
लाइन छितरियो । नाविकहरूले बन्दुक उठाए । वरिष्ठ अफिसरले आफू सुरक्षित स्थानमा लुकेर गोली चलायो । गोली नाविकहरूका नेतालाई लाग्यो । वाकुलिन्चुक अडिग र साहसी बोल्शेभिक थिए । गोली लागेपछि उनी डेकमा पछारिए ।
“एएए, कुरा यस्तो पो ! तैँले पनि खा !” पागलझैँ चिच्याउँदै मात्यूशेन्कोले अफिसरलाई मास छर्न पठाइदिए ।
सबै नाविकहरू रिसले बौलाएका थिए । उनीहरूले अन्य केही अफिसरलाई पनि गोलीले उडाइदिए । केहीलाई समुद्रमा फालिदिए । खासगरी आफूहरूले बढी घृणा गर्नेलाई । ज्यान बचाउने कोसिसमा राक्षस कमान्डर लुक्यो । तैपनि नाविकहरूले उसलाई खोजेर समुद्रमा हुत्याइदिए ।
युद्धपोत ‘पोतेम्किन’ स्वतन्त्र भयो । अब के होला ? जहाजको कमान्डर को बन्ला ? जहाज कहाँ जाला ?
अफानासी मात्यूशेन्कोको नेतृत्वमा एक आयोग गठन गरियो । ओदेस्सातर्पm जाने फैसला गरियो । मस्तुलमा जारशाही झण्डाको ठाउँमा आफ्नै क्रान्तिकारी झण्डा फहराइरहेको थियो । यो १४ जुन, १९०५ को घटना थियो ।
रातो झण्डा फहराउँदै युद्धपोत ‘पोतेम्किन’ वेगिँदै ओदेस्सातर्फ गइरहेको थियो । रातो झण्डा हावामा फहराइरहेको थियो । प्रकाशस्तम्भजस्तै चम्किरहेको थियो । स्वाधीनता सङ्घर्ष गर्न नाविकहरूलाई आह्वान र मार्गदर्शन गर्दै थियो ।
जहाजले ओदेस्सामा ल·र हाल्दा रात परिसकेको थियो । त्यसको सर्चलाइट अन्धकारमा यताउति गर्यो । आश्चर्यजनक प्रकाशले कालो सागर र नगरका नीरव सडकहरूको चक्कर लगायो । तोप ओदेस्सातर्फ सोझिएको थियो । त्यहाँ मजदुरहरूको हडताल जारी थियो । यस्तो स्थितिमा ‘पोतेम्किन’ ले मजदुरहरूलाई सहायता गर्न तुरुन्तै गोलाबारी सुरु गर्दो हो त ! पुँजीपति र जारशाही अधिकारीहरूका भव्य महलहरू माटोमा मिलाइदिँदो हो त ! तर, नाविकहरूका नेता र बोल्शेभिक कार्यकर्ता वाकुलिन्चुक अफिसरको गोलीले दिवङ्गत भएका थिए । र बाँकी सबै जवानहरू अनुभवहीन थिए ।
यसबीच पिटर्सबर्गबाट जारले सेभास्तोपोलमा आदेश पठाएको थियो, “तुरुन्त विद्रोह दबाओ !” सेभास्तोपोलका सबै जहाज युद्धपोत ‘पोतेम्किन’ को विद्रोहलाई दबाउन ओदेस्सातर्फ लागे ।
चौथो दिन बिहान, ‘पोतेम्किन’ का सैनिकहरूले क्षितिजमा झण्डा र चिम्नीहरू देखे । ती ‘पोतेम्किन’ लाई घेरा हाल्न आइरहेका १३ वटा जहाज थिए ।
एउटासँग लड्न १३ जहाज !
‘पोतेम्किन’ मा सङ्केत घन्टी (अलार्म) बज्यो । नाविकहरू आ–आफ्नो ठाउँमा लडाइँका निम्ति तम्तयार भए ।
युद्धपोत चुपचाप अगाडि बढ्न थाल्यो । मात्यूशेन्कोको आदेशमा सन्देशबाहकले सूचना पठायो – “‘पोतेम्किन’ को कमान्डर सम्पूर्ण जहाजहरूसँग गोली नचलाउन अनुरोध गर्दछ !”
अचानक ‘पोतेम्किन’ लाई घेर्न पठाइएका १३ वटै जहाजका नाविकहरू “लौ जितियो !” भन्दै चिच्याए । त्यस उद्घोषले समुद्र गुन्जियो । एउटा जहाजले सन्देश पठायो – “हामी तपाईंको साथमा छौँ !” र त्यो खुला पंक्षीजस्तै ‘पोतेम्किन’ तर्फ अघि बढ्न थाल्यो ।
समुद्र एकचोटि फेरि ‘जितियो !’ को आवाजले गुन्जियो । टुकडीको कमान्डर नाविकहरू विद्रोहमा नउत्रिऊन् भनेर तर्सियो । उसले तत्काल टुकडीलाई सेभास्तोपोल फर्किने आदेश दियो । रातो झण्डा फहराउँदै गरेका दुइटा विद्रोही जहाज अशान्त ओदेस्साको तटवर्ती समुद्रमा थिए । तर, तिनले ओदेस्सालाई कब्जा गरेनन् । उनीहरूले केही चीज पर्खिरहेका थिए । उनीहरूले के गर्ने, केही तय गर्न सकिरहेका थिएनन् ।
त्यति बेलासम्म ‘पोतेम्किन’ मा इन्धन र खाने पानीको भण्डार सकिन थालेको थियो । छिट्टै नै इन्जिन रोकिने थियो । नाविकहरू उत्तेजित थिए । केही न केही गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा थियो । तर, कसरी गर्ने ?
दोस्रो जहाजको हौसला अल्पकालीन सिद्ध भयो । त्यसमा फहराइरहेको रातो झण्डा बिस्तारै तल झर्यो ।
‘पोतेम्किन’ ले ल·र उठायो र खुला समुद्रमा निस्कियो ।
यसबीच जेनेभादेखि लेनिनका दूत बनेर एक व्यक्ति ‘पोतेम्किन’ का नाविकहरूको सहयोग गर्न रूसतर्फ लागिसकेका थिए । लेनिनले नाविकहरूलाई दृढतापूर्वक र तीव्र रूपमा काम गर्न र नगरलाई आफ्नो कब्जामा लिन सल्लाह दिएका थिए ।
लेनिनको दूत ओदेस्सा पुगे । उनले कतै रातो झण्डा देख्न सकेनन् । रातो झण्डा टाढा समुद्रभित्र गएको थियो ।
युद्धपोतमा खानेपानी निकै कम बचेको थियो । तुरुन्त कुनै उपाय लगाउन जरुरी थियो । ‘पोतेम्किन’ ले फेआदोसियामा पानी भर्ने कोसिस गर्यो । तर, स्थानीय अधिकारीहरूले मानेनन् । “हामी विद्रोहीलाई पानी दिन्नौँ ।”
अजेय र बेघर रातो झण्डा फेरि समुद्रमा पस्यो । नाविक चिन्तित थिए । उनीहरूको आत्मविश्वास निख्रिरहेको थियो । के गर्ने होला ?
एघारौँ दिन युद्धपोत ‘पोतेम्किन’ ले एक रोमानियाली बन्दरगाहमा ल·र हाल्यो । यहाँ सबथोक पराई थिए – किनार, घर, बत्तीहरू, सबथोक…
‘पोतेम्किन’ का नाविकहरूमा थप तागत बाँकी थिएन । उनीहरूसँग न पानी थियो, न कोइला, न त रोटी नै थियो ।
रोमानिया सरकारले भन्यो – “युद्धपोत हामीहरूलाई देऊ । तिमीहरूलाई शरण दिन्छौँ । तिमीहरूलाई जार सरकारको हातमा नसुम्पने बाचा पनि गर्छौँ।”
‘पोतेम्किन’ मा नाविकहरूको यो अन्तिम रात थियो । बिदा ‘पोतेम्किन’ ! एघार दिनसम्म तिमीले गर्दा जनरल र अफिसर, जार र साहुमहाजन सबै थर्कमान भएका थिए । तिमीले क्रान्तिको झण्डालाई उँचो राख्यौ । तिम्रो कीर्ति अमर रहोस् !
गुप्त भेटघाट
मस्को–पिटर्सबर्ग एक्सप्रेस रेल छुट्न चार मिनेट बाँकी थियो । धेरैजसो यात्रुहरू आ–आफ्ना सीटमा बसिसकेका थिए । प्लेट फर्ममा बिदा गर्ने मानिसहरू खचाखच थिए । अन्तिम डिब्बाको नजिकै दुई सुराकी उभिएका थिए । “नाइँ, अब आउँदैन ।…” गहिरो सास लिँदै एकजनाले भन्यो । “हेर्दै जाऊ, अन्तसम्म पक्का आउनेछ,” दोसोले जवाफ फर्कायो ।
उनीहरूले आँखासम्म झुकेको टोपीको किनारबाट ध्यान दिएर हेर्न थाले । प्लेट फर्ममा गोलो र निलो फ्रेमवाल चस्मा लगाएको यात्रु देखियो । ऊ होचो थियो तर उसको शरीर गठिलो थियो । हातमा सुटकेश र पहेँलो बाक्सा थियो । तिनताक फिनलेन्डमा यस्ता बाक्साको फेसन थियो । ऊसँग आएको अर्को व्यक्तिले चार खाने बुट्टा भएको ओभरकोट भिरेको थियो ।
निलो चस्मावाल यात्रुले उसलाई कही भनिरहेको थियो । सुराकीहरूले त्यो कुरा सुन्न सकेनन् । आफूले पर्खिरहेको मान्छे अझैसम्म नआएकोमा सुराकीहरू चिन्तित देखिन्थे । यो निलो चस्मावाल को होला ? ऊजस्तो त देखिन्न, तैपनि के थाहा …? सुराकीहरू निलो चस्मावाल व्यक्तिको पछिपछि दगुरे ।
रेल गुडिसकेको थियो । निलो चस्मावाल उफ्रेर रेल चढ्यो । अर्को व्यक्ति त्यही रह्यो । सायद आनो साथीलाई छोड्न आएको थियो ।
“समात्नै सकिएन,” एकदम दुःखी स्वरमा एउटा सुराकीले भन्यो । ऊ आज पिटर्सबर्ग जाँदै छ भन्ने रिपोर्ट त आएको थियो । तर, यहाँ उसको छायाँसम्म पनि देखिएन । उसको फोटो त यही हो । प्लेटफर्म मात यस्तो कुनै मानिस देखिएन । उसले गोजीबाट फोटो निकाल्यो । गालाको हड्डी केही उठेको, चौडा निधार, थोरै चाउरीपना र हँसिलो व्यक्ति । त्यो फोटोले उसलाई गिज्याइरहेझैँ भान भयो ।
“यो लेनिन उल्यानोभ हो । जेनेभादेखि रूस आइरहेको छ रे मजदुर विद्रोहमा भाग लिन । जसरी भए पनि समात्नू भन्ने आदेश छ । भोलि फेरि आउला,” सुराकीले फोटो गोजीमा राख्दै भन्यो ।
यता एक्सप्रेस गाडी तारामय रातमा रुखहरूमाथि धुवाँको मुस्लो फ्याँक्दै सुइँकिरहेको थियो । बाटोको दुवैतर्पm हिउँले ढाकेको नीरव र शान्त जङ्गल फैलिएको थियो । बिहान पिटर्सबर्ग पुगेपछि निलो चस्मावालले घोडा गाडी लियो र केही बेरपछि राजधानीको केन्द्र भागमा अवस्थित आफ्नो घर पुग्यो । घरको नाममा त्यहाँ एउटा सानो कोठामात्र थियो । त्यहाँ पातला कम्मल बिछ्याइएको खाट, झ्यालनिर सानो टेबल र एउटा कुर्सी थियो । त्यो घर धेरै समयदेखि खाली थियो । उसले चस्मा खोलेर सुटकेसमा राख्यो । त्यसपछि पहेँलो बाक्साबाट कागज झिक्यो र टेबलनिर बसेर कागजमा कलम दौडाउन थाल्यो ।
करिब घन्टा भरपछि ढोकामा हलचल सुनियो । तालामा चाबी घुम्यो र क्रुप्सकाया भित्र पसिन् ।
भ्लादीमिर इल्यीच जुरुक्क उभिए ।
“नाद्युशा, मेरी प्यारी !”
“मस्कोमा उनीहरूले तिमीलाई पछ्याए त ?” चिन्तित स्वरमा क्रुप्सकायाले सोधिन् । “कुरै नगर !” लेनिन व्यङ्ग्यपूर्वक मुस्कुराए ।
आफ्नो चिन्ता लुकाउँदै क्रुप्सकायाले सुटकेसबाट सामान झिक्न थालिन् । निलो चस्मा ? किन लिएको ? ‘भेष बदल्न,’ भ्लादीमिर इल्यीचले जवाफ दिए ।
“नाद्युशा, थाहा छ ? यही निलो चस्माले मैले पुलिसको आँखामा छारो हालेँ नि !” भ्लादीमिर इल्यीच र नादेज्दाको न्स्तान्तिनोभ्ना गैरकानुनीरूपले स्वदेश फिरेका थिए । पिटर्सबर्गमा उनीहरूले अर्कैको नामको पासपोर्ट प्रयोग गर्थे । उनीहरू गुप्तरूपमा भेट्नुपर्थ्यो । यी भेटघाट एकदम छोटा र हडबडीमा हुन्थे ।
यसबेला लेनिन मस्कोका घटनाहरूबारे बताउन उत्सुक थिए । उनी यसै विषयमा साथीहरूसँग विचार–विमर्श गर्न मस्को गएका थिए ।
अक्टोबरमा मस्को रेल्वे जक्सनका मजदुरहरू हड्तालमा उत्रेका थिए । त्यसपछि एक–एक गर्दै सहरका कलकारखाना, यातायात, बिजुली र पानी वितरण विभागका मजदुरहरूले पनि हड्तालको घोषणा गरेका थिए । सम्पूर्ण कामदार जनता मस्को हड्तालमा थिए । पछि यो हड्ताल अन्य सहरहरूमा पनि फैलियो । गाउँमा पनि यस्तै घटना देखा परे । रूसभरि राजनीतिक हड्ताल सुरु भएको थियो ।
विद्रोहको यो आगो निभाउन जारले एक घोषणापत्र जारी गर्यो । त्यस घोषणापत्रमा मजदुरहरूलाई स्वतन्त्रता दिइने वचन दिइएको थियो । तर, यो एउटा जालसाजी थियो । जारमाथि विश्वास गर्नु मूर्खता हो भन्ने मजदुरहरूले बुझेका थिए । उनीहरूले जनवरी महिनामा शीतल दरबार अगाडि भएको आइतबारे हत्याकाण्ड बिर्सेका थिएनन ।
७ डिसेम्बर, १९०५ । दिउँसोको १२ बजे । मस्कोमा फेरि हड्ताल भयो । सरकारले विद्रोही मजदुरहरूलाई दबाउन फौज पठायो । मजदुरहरूले इँटको जवाफ पत्थरले दिए । आफ्नो सशस्त्र फौज बनाए । मस्कोभरि सडक र चौराहमा, कारखानाहरूका सामुन्ने तगारा ठड्याइयो । विद्रोही मजदुरहरूको मुख्य केन्द्र प्रेस्न्याको मजदुर इलाका थियो । त्यहाँ प्रशस्तै कलकारखाना थिए । मजदुरहरूले आफ्ना प्रतिनिधिहरूको सोभियत गठन गरे । मजदुर सत्ताको स्थापना भएको घोषणा गरे । जार सरकारले यसको जवाफमा पैदल र घोडचढी सेना पठायो । तोपहरू पठायो । कज्जाक फौज पठायो । प्रेस्न्यामा गोलाबारुद बर्सिन थाले । लडाइँ दस दिनसम्म चल्यो । मजदुर र बोल्शेभिकहरू वीरतापूर्वक लडे । तर, जारशाही तोपले तिनको विद्रोहलाई निर्ममतापूर्वक कुल्चिदियो ।
के मजदुरहरूले हतियार उठाउन हुन्थ्यो ? “हुँदैनथ्यो,” मेन्शेभिकहरूले भने । “आवश्यकै थिएन,” प्लेखानोभले पनि उनको समर्थन गरे । उनी पहिले रूसी माक्र्सवादी थिए । तर, रूसमा क्रान्तिको आगो फैलिएपछि उनी दिनप्रतिदिन बोल्शेभिकहरूबाट टाढिँदै गए ।
“विद्रोह आवश्यक थियो,” लेनिनले दृढतापूर्वक भने । “मजदुरहरूले हतियार उठाउनुपर्थ्यो । यसबाट उनीहरूले सङ्घर्षको अनुभव पाएका छन् ।”
यतिबेला पिटर्सबर्गको त्यस साँघुरो कोठामा लेनिनले क्रुप्सकायालाई यी सबै कुरा बताइरहेका थिए । किनकि, उनी पार्टीकी केन्द्रीय सचिव थिइन् । पार्टीका गुप्त बैठकहरू डाक्ने र विभिन्न समितिहरूबीच सम्पर्क स्थापित गर्ने काम उनको जिम्मामा थियो । फेरि लेनिनकी सबभन्दा विश्वस्त सहायक पनि थिइन् ।
लेनिनलाई आफ्नो सबैभन्दा प्रिय साथी निकोलाइ भाउमनको सम्झना आयो । यो सम्झना अत्यन्त कष्टदायी थियो । “इस्क्रा” को तयारीमा भाउमनले लेनिनसँगै सक्रियरूपमा भाग लिएका थिए । उनैले पत्रिका विदेशबाट रूस भित्याउने चाँजोपाँजो मिलाउँथे । एक दिन पुलिसले उनलाई पक्रियो र जेलमा थुन्यो । उनी त्यहाँबाट भागे र पार्टीको काममा जुटे । तर, पुलिसको चङ्गुलबाट धेरै दिन बच्न सकेनन् र फेरि जेल परे ।
अक्टोबर १९०५ मा भाउमनलाई रिहा गरियो । तर, केही दिनपछि मजदुर एक जुलुसको सिलसिलामा एक भाडाको हत्याराले उनको हत्या गर्यो । निकोलाइ भाउमन एक साहसी, उदात्त एवं निष्ठावान क्रान्तिकारी थिए । उनीजस्तो बोल्शेभिक वीरको शव–यात्रामा हजारौँ मजदुरहरूले भाग लिए ।
“हाम्रो पार्टीको तागत यस्तै मान्छेहरूमा निहित छ,” लेनिनले भने । अनि झ्यालनिर आएर उभिए । क्रुप्सकाया पनि उनी छेउ आएर उभिइन ् ।
“भोलोद्या हेर त !” झ्यालको सीधा अगाडि, सडकको पारिपट्टि एउटा व्यक्ति उभिएको थियो । शिरमा फरको टोपी । घाँटीमा रङ्गीचङ्गी गलबन्दी । हेर्दा एकदम सामान्य । तर, अनौठो पाराले एकै ठाउँमा उभिएको थियो । नजिकै अर्को व्यक्ति फुटपाथमा लामा पाइला चाल्दै टहलिरहेको थियो । “हामीले ठाउँ फेर्नुपर्छ,” लेनिनले भने ।
उनले केही बेरअघि लेखेको लेख क्रुप्सकायालाई दिए । उनले चुपचाप त्यस लेखलाई आफ्नो ज्याकेटभित्र लुकाइन् । लेनिनले पहेँलो बाक्सा खाटमुनि धकेले ।
“आहा ! जसरी हुनेछ यहाँबाट निस्कनुपर्छ,” क्रुप्सकायाले सुस्तरी भनिन् । उनी लेनिनको सुरक्षाबारे असाध्यै चिन्तित थिइन् ।
हरेक दिन, हरेक क्षण खतरा थियो । पक्राउ परेमा जेल जानुपर्थ्यो र सधैँभरिलाई कालापानीको सजाय भोग्नुपर्थ्यो ।
उनले आफ्नो चिन्ता लुकाइन् । एक अज्ञात साथीले निश्चित स्थानमा लेनिनको प्रतीक्षा गरिरहेका छन् भन्नमात्र भ्याइन् । उनी यही कुरा बताउन आएकी थिइन् । यहाँबाट जति सक्दो चाँडो निस्कनुपर्छ । नत्र पुलिस नाउँका गुण्डाहरू कसरी पछि पर्छन् देखेनौ… ? उनीहरू हातमा हात राखी घरबाट बाहिरिए र बायाँ नलागी अर्कैतिर लागे । वास्तवमा उनीहरूलाई बायाँतिर नै जानु थियो । लेनिनले विनम्रता प्रकट गर्दै कन्सर्टको कुरा निकाले । आज कन्सर्ट सुन्न जान पाए कति मजा हुन्थ्यो होला ! क्रुप्सकायाले सहमतिमा शिर हल्लाइरहेकी थिइन् । साथै छड्के नजरले सुराकी सशङ्कित त भएनन् भनी चियो गरिरहेकी थिइन् । सुराकीहरूलाई शङ्का लागेन । रङ्गीबिरङ्गी गलबन्दी लगाएको सुराकी उस्तै गरी नचलिकन उभिएको थियो । दोस्रो भने आफ्नो अधैर्यपूर्ण स्वभावले गर्दा यताउता दौडिइरहेको थियो । “गाडी !” त्यसैबेला लेनिनले आवाज दिए ।
उनको छेवैबाट गुडेको घोडागाडी सुराकीहरूभन्दा केही पाइलाको दूरीमा रोकियो । लेनिनले पहिले साथीलाई बसाले र आफू पनि बसे ।
“सादोभाया सडक !” उनले दायाँबायाँ नसोची चालकलाई भने । क्रुप्सकायासँग दबेको स्वरमा जर्मन भाषामा बोले, “भर्खरै चिसो बढे र सिरेटो चले कति गजब हुन्थ्यो होला । यी मूर्खहरू यहीँ जम्ने थिए ।”
उनीहरू सादोभाया सडक आउनुअघि नै ओर्लिए र लेनिनले बेसरी चिनेको पुरानो गल्ली हुँदै भसिले भ्स्कीद्वीपतिर लागे । फेरि पनि उनीहरूलाई कसैले पछ्याइरहेको हुनसक्थ्यो । उसको आँखामा छारो हाल्न अबेरसम्म उनीहरू बिनसित्ति यताउता घुमिरहे । जनवरीको महिना थियो पिटर्सबर्गमा त्यसबेला एकदम घाम लागेको थियो । हुन त सामान्यतया यस्तो दृश्य देख्न पाइँदैन । चारैतिर सेतो बरफ टल्किरहेको थियो र चिसोले गाला ठिइर्याइरहेको थियो ।
“आहा ! मैले यति सेताम्य बरफ कहिल्यै देखेको थिइन !” लेनिनले मुग्ध स्वरमा भने । “हाम्रो रूसी शरद पो हो त !” क्रुप्सकायाले जवाफ दिइन् । अनपेक्षितरूपमा एक अर्काको साथ पाउँदा दुवैजना असाध्यै खुसी थिए ।
साँझ । निश्चित समयमा । कसैले नपछ्याएकोमा ढुक्क भएपछि लेनिन क्रुप्सकायाले बताएको ठाउँतर्फ लागे । उता पिटर्सबर्गका बोल्शेभिक र अगुवा मजदुरहरू जम्मा भइसकेका थिए । प्रतीक्षामात्र थियो त लेनिनको आगमनको ।
अनुवाद : माधव अधिकारी
Leave a Reply