भर्खरै :

ऐँसेलुहरू फुलिरहून्…

            “हामी कुनै पनि पार्टी सार्टीमा थिएनौँ ! थियौँ त नवीन ब्रो ? तैपनि आन्दोलनमा ढुङा हानियो । नारा जुलुस गरियो । देशको लागि के के गरिएन भाइ ? थाहा छ, त्यसबेला सात दोबाटोको दादा नि हामी ! हैन त केशव ?” एकै सासमा कमलले भन्यो । यो कुरा उसले यसरी भनिरहेको थियो मानौँ ऊ सिकन्दर हो र अहिले ऊ गागमेलाको लडाइँबारे कहानी हालिरहेको छ ।
            संसार दुःखको दलदलमा छ । यो दलदलबाट उम्किन केही देशहरू न्वारनदेखिको बल लगाइरहेका छन् । धेरैभन्दा धेरै मान्छे जोगाउन कसरत गरिरहेका छन् । कोही विदेश पुगेर मान्छे बचाइरहेका छन् । त्यस्तै केही देश सङ्कटको यही घडीमा आफ्ना तानाबाना बुनिरहेका छन् । स्वार्थ र नाफाको जोडघटाउ गरिरहेका छन् । सिन्को नभाँची हल्ला मच्चाइरहेका छन् । कोही मौका यही हो भन्दै छिमेकी देशमाथि हमला गर्दै छन् । कोही धनीलाई काखी च्याप्दै गरिबलाई डुब्दै गरेको टाइटानिकमा अलपत्र छोडिरहेका छन् । प्यारो साथी असान्ज मृत्युको मुखमा छ । म भने यहाँ केही ‘ब्रो’ हरूसामु अन्यमनस्क उभिएको छु । केही मिनेट अघिसम्म म एकदम उन्मुक्त थिएँ । खुला आकाशमा रमाइरहेका पक्षीजस्तो ।
            पेशाले म क्यामेराकर्मी हुँ । समय र स्थान कैद गर्ने । त्यसबाहेक जिन्दगीको कुनै ठूलो उपक्रम छैन ।… केही दिन लगातार पानी परेपछि काठमाडौँ फेरि हराभरा देखिएको छ । यहाँ खोला किनारमा भने उपत्यकाको निलो आकाशमा कालो मोसो पोत्दै एउटा क्रेसरको चिम्नी पुत्ताइरहेको छ । यसैबाट तानिएर म राजकुलोको बाटो हुँदै यहाँसम्म आएको थिएँ । यस डाँडाबाट क्रेसरसहितको काठमाडौँको फोटो गजबको आउँछ भनेर नै मैले यो लोकेसन रोजेको थिएँ । तर, यहाँ आएपछि थाहा भयो, यहाँ जता फक्र्यो त्यतै ताजा तस्वीरहरू छन् । सुन्दरमा सुन्दर । कुरूपमा कुरूप । क्षितिजमा सेताम्य हिमाल देखिएका छन् । त्यहाँ तल खेतका ठूल्ठूला पाटामा स्थानीय किसानहरू कुटोकोदालो गरिरहेका छन् । कोही तोरी स्याहारिरहेका छन् । कोही मकै खनिरहेका छन् । कोही भटमासका टुसा चराले खाला भनी रुँगिरहेका छन् । खेतहरू डाँडाका काखमा पसारिएजस्ता देखिन्छन् । दुई डाँडाको बीचमा एउटा खोल्सो बगिरहेको छ । खोल्सो क्रेसर नजिक पुगेर खोलामा मिसिन्छ । क्रेसरभन्दा ठीक पल्टिर खोलाको किनारमा युवाहरू फूटबल खेलिरहेका छन् । मान्छेहरू डाँडाको फेँदैफेँद बग्ने राजकुलोसँगैको बाटोमा छापामारजस्तै छापिएका छन् । कसैले मास्कले मुख छोपेका छन् त कोही मास्कहीन छन् । जेहोस्, प्रकृतिको संसर्गमा आएर सबै रमाइरहेका छन् । बाटोतिर प्रहरीहरू भेटिए पनि यतातिर प्रहरीको नामनिशान छैन । त्यसैले सामाजिक दुरीले यहाँ मान्यता गुमाएको छ । बिहान र दिउँसो पनि यस्तै हुन्छ कि हुँदैन थाहा छैन । तर, साँझ यस्तै हुँदोरहेछ ।
            मैले धेरै फोटोहरू लिएँ । फोटो फिचरका लागि क्रेसरको फोटो पनि लिएँ । अब म डाँडामाथि बसेर आराम गरिरहेको थिएँ । म बसेको डाँडाभन्दा तल र गोरेटोभन्दा माथि लस्करै ऐँसेलुका झ्याङ छन् । बीचबीचमा थरीथरीका बोट र बुट्यानहरू छन् । कताकति गुलाबका फूलसमेत फक्रिरहेका छन् । बाटो हिँड्नेहरू सपरिवार यी झ्याङमा फैलिन्छन् र ऐँसेलुको मीठो र अमिलो रसमा केहीबेर भुल्छन् । हुनेखानेहरू आफ्ना लालाबालालाई “यसलाई ऐँसेलु भन्छन् बाबा !” भनी बताउँछन् । नहुनेहरू ऐँसेलु खाएर चुपचाप निस्किन्छन् । केही गरिब ठिटाहरू गुलेली लिएर चरा मार्न हिँडेका छन् । मभन्दा केही दूरीमा आएर आफ्नो छोरोसँगै बसेको युवकले गुलेली निकाल्दै उल्टो दिशाबाट आएको आफ्नो साथीलाई भन्छ, “खल्तीमा दाम छैन, अब यही वनका ऐँसेलु टिपेर र चरा मारेर खाने त होला !” टफी दिँदै म फुच्चेको नाम सोध्छु । “सरोज,” उसले जङ्गी अदबमा आफ्नो नाम भन्छ । चिसो बतास चलिरहेको छ र घुँडानिर सरोजको पाइन्ट च्यातिएको छ । बुबालाई भने आज दुईचार चराको जोहो गर्नु छ । यतातिर एकचोटि मात्र राहत बाँडिएको छ रे । ती युवक गएपछि तल गोरेटोमा मजदुरजस्ता देखिने केही मान्छे रुकस्याक बोकेर फटाफट गाउँतिर लाग्छन् । ऐँसेलु टिपिरहेको परिवार अब तल खोलातिर लाग्छ । सरकारको भ्रमण वर्ष २०२० तुहिए पनि, यहाँ ऐँसेलु पर्यटन फस्टाएको रहेछ । एकपछि अर्को गर्दै आउने मान्छेका झुन्ड ऐँसेलु टिप्न व्यस्त छन् । मैले लुकिछिपी तिनका केही तस्वीर लिइसकेको थिएँ । खासमा म कामबाट निवृत्त भइसकेको थिएँ । यस्तैमा पछाडिबाट ती ‘ब्रो’ हरू आए ।
            मेरा नजर वरिपरि देखिने मान्छेहरूमा भुलिरहेका थिए । ऐँसेलु घारीमा चहारिरहेका थिए । अचानक मेरो नाकले काम पायो । पिठ्यूँपछाडिबाट केही सल्केको गन्ध आयो । पछि फर्केर हेरेँ । नवीनले चुरोट तानिरहेको थियो । सुनिल मेरो नजिकै आएर म फर्केतिर फर्केर बस्यो र चुरोटमा गाँजा भर्नथाल्यो । मसँग कुरा सुरु गर्ने भने नवीन थियो ।
            “भाइ लिने ?” नवीनले मलाई गाँजा भरेको चुरोट अफर गर्‍यो ।
            “अहँ !”
            “खाजा खायौ त ? हामीले खाएपछि, तिमीले पनि खायौ कि खाएनौ भनेर सोध्नुपर्‍यो नि ! हैन त केशव ब्रो ?” सेतो झुसे दार्‍ही पालेको र मुडुलो टाउकोमा बाबुराम टोपी लगाएको युवकले मुसुक्क हाँस्दै होकारमा मुन्टो हल्लायो ।
            मैले उनीहरूको चित्त बुझाउन खाजा खाइसकेको बताएँ । ङिच्च दाँत देखाउँदै नवीनले मबाट आँखा नहटाई आफ्नो कुरा चालू राख्यो :
           “त्यहीँ त भाइ, हामी नेपालीहरू ठूलठूलो कुरा गर्छौँ क्या । ‘देश बिग्रियो, नेताले देशै लुटे, यो पार्टी, त्यो पार्टी’ भन्छौँ । तर, ‘तिमीले खाना खायौ ? कहाँ बस्या छौ ? बिरामी त छैनौ ? राहत पायौ कि पाएनौँ ?’ भन्दैनौँ । हैन त सुनिल ब्रो ?”
            आफ्नो प्रतिक्रिया दिनुभन्दा पहिले एकछिन निधार खुम्च्याएर घोत्लिएजस्तो गर्ने सुनिलले गम्भीर स्वरमा भन्यो :
            “एकदम सही भन्यौ यार । यसमा त म हन्डे«ड पर्सेन्ट सहमत छु । हाम्रो देशमा सरकारले शिक्षा र स्वास्थ्यमात्र फ्री गरिदियो भने काम त जे गरेर पनि खान सकिन्छ क्या ! नेपाली जनतालाई यत्ति चाहिएको हो ।” उसले यसरी कुरा टुङ्ग्यायो मानौँ सर्वोच्चको न्यायाशीधले अन्तिम फैसला सुनाइरहेको छ । तर, कुरा भर्खर सुरु हुँदै थियो । ऐँसेलुको झ्याङमुनि कमल देखियो । नवीनले उसलाई बोलायो । कमल झ्याङहरू छिचोलेर डाँडामाथि उक्लियो ।
            कमल रहेछ मापाको । आधा दार्‍ही फुलिसकेको । तैपनि, उसको मन, वचन र कर्म हिजो यो टीमसँगै खेतैखेत मृगझैँ उफ्रिँदै खोलामा पौडिन गएको ठिटोको जस्तो छ । माथि आएर उसले लगातार गाँजाको कस लियो । नशाले हो वा वरिपरिको दृश्यले हो नवीन अलि नोस्टाल्जिक भयो । उसले मतिर हेर्दै भन्यो :
            “थाहा छ भाइ, हामी चारजना सँगै हुर्केका साथी हौँ । हामी यो राजकुलोमा राति पानी लिन आउँथ्यौँ । ऊ पर त्यहाँ साँचो छ । राति त्यहाँ आएर पानी लिएर खेतसम्म जान्थ्यौँ । त्यहाँ नखिपोटसम्म । तिमी त भाग्यमानी छौ । यस्तो राम्रो काठमाडाँै देख्‍न पायौ । तिम्रो हातमा अहिले इन्टरनेट छ । क्यामेरा छ । राम्रा कुरा पढ्छौ । हामी त गाउँमा हुर्केका हौँ । ऊ त्यहाँबाट रिङरोड देखिन्थ्यो । यो सबै गाउँ नै थियो, हैन त कमल ब्रो ?”
            कमल बोल्न थालेपछि अरूलाई पालो नदिने खालको रहेछ । उसले सांसद अपहरणदेखि वामदेव प्रहसनसम्मका जल्दाबल्दा राजनीतिक खबर सुनायो । त्यो पनि निःशुल्क र अतिरिक्त भावभंगिमासहित । उसको शरीर कहिले यता मर्किन्थ्यो त कहिले उता । हात हिटलरी भाकामा चलिरहन्थ्यो । उसलाई देखेर मलाई आफ्नो हाँसो दबाउन मुश्किल पर्‍यो । उसका समाचारले तान्यो पनि । किनभने, एकाध दुर्घटनापछि म सामाजिक सञ्जालमा छैन । प्रत्येक सूचना मकहाँ ढिलो आइपुग्छन् ।… जेहोस्, एक प्रकारको नेतागिरी उसको हाउभाउमा झल्किन्थ्यो । “सबै जान्या छु” भन्ने मानसिकता । सिकन्दरको उपमा उसको यही चालढाल देखेर आएको थियो मेरो अन्तरमा । रेडियोले झैँ सबै खबर सुनाएपछि ऊ ‘वर्तमान परिप्रेक्ष्य’ मा आयो । उसले नवीनका कुरामा थप्दै भन्यो :
            “हेर भाइ, यो राजकुलोमा हामी पहिले पौडी खेल्थ्यौँ । पत्याउँछौ ? अहिले हेर त कति सानो छ । आजभोलि मान्छेले खेतीपाती गर्न छोडिसके । जमिन प्लटिङ गर्दै बेच्न थालेको पनि धेरै भयो । अब कुलोलाई पुर्छन्, यो झाडीसाडी फाल्छन् । यहाँ कम्प्लेक्सहरू बन्छन् र कुलोमाथि पक्की बाटो बन्छ ।” ‘झाडी’ भन्ने बेला उसले ऐँसेलुतिर देखाएको थियो । ‘पक्की’ भन्दा उसको मुखबाट गाँजाको मुस्लो छुट्यो । म अलि पछि सरेर यत्ति भनेँ :
“कसरी ?”
            अरूलाई नुघाउन पाउँदा उसको मनले बुर्कुसी मार्दोरहेछ । उसले होच्याउँदै बाँचिरह्यो :
            “भाइ कहाँको हो ? घर कुन हो ? विद्यार्थी हो कि पत्रकार हो ? कुन पार्टीको हो ? जय नेपाल हो ?… यो बाटो पास हुन्छ हुन्छ । हेर्दै गर ! ठोकेर भन्छु ! यहाँ जग्गा दलालहरूले आसपासका जग्गा जति किनिसके यार । यो हामी उभिएको डाँडो त चर्खे साहुले किनिसक्यो । आनाको पन्ध्र थियो, पच्चीस लाख पुगिसक्यो ! कुरा गर्छौ ?” उसले यसरी जङ्गिएर भन्यो मानौँ, मैले उसको स्वाभिमानलाई चुनौती दिएको छु । मेरा एकदुई शब्दबाट नै मलाई उसले आफ्नो शत्रु ठहर्‍याइसकेको थियो । आफैँले यति धेरै प्रश्न सोध्दा उसले मेरो एउटा जवाफ सुन्ने धैर्य गरेन । ऊ आफैँ बोलिरह्यो – आफ्नो यो टीम कसरी राजावादी भयो । राजावादी छोडेर ‘कम्युनिस्ट’ भयो । अहिले ‘कमाउनिस्ट’ हो भनेर कसरी थाहा भयो । ठूलो पार्टी भएकोले यो पार्टी छोडेर अन्त नगए पनि राम्रो मान्छेको सपोर्ट गर्ने यो टीमले कसरी कसम खायो । ज्ञानेन्द्र शाही र रवि लामिछानेको क्रेजबाट कसरी यो टीम प्रभावित भयो । यस्ता अनेक नालीबेली कमलले अतिरिक्त मनोरञ्‍जनसहित सुनायो । अन्तमा उसले टीमको दुईसूत्रे नारा दोहोर्‍यायो :
            “हेर भाइ, भाइको नाम के रे ? यो देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ । काम त जाबो हात बजारेर खाइन्छ । यी हेर, माटोको दाग हातमा अझै छ । केटाहरूले बोलाएको भएर खेतबाट सीधै आउँदै छु ।” यसपालि पनि उसले मलाई उत्तर दिन समय दिएन । आफू खेती गर्ने कमल त्यहीँ खेतमा सिँचाइ गर्ने राजकुलो पुर्ने कुरा गर्दा सानदार स्वरमा बोलिरहेको थियो । यस उल्झनले मलाई हैरान बनायो । तर, उसले प्रश्न सोध्ने मौका नै दिएन । उसले सत्तासीन पार्टीमा आफ्नो रवाफ र हैसियतबारे कुराको अर्को पोको सुरु गर्‍यो । ‘पार्टीमै रहे पनि’ आफ्ना नितान्त निजी आदर्शहरू सुनायो । अनेक ‘वाद’ बारे मनचिन्ते परिभाषा फलाकिरह्यो । उसको ‘विचार’ मा साम्यवाद, समाजवाद, पुँजीवाद र संशोधनवादमा कुनै पनि भिन्नता रहेनछ । ‘यो देशका सप्बै पार्टी एउटै हुन्’ भन्ने दिव्य उपदेश पनि उसले दियो । एनरोइड मोबाइल झिकेर उसले आफूले देशको पक्षमा लेखेका स्टाटसहरू स्क्रोल गर्‍यो । आफू निरन्तर अपडेट रहेको फूर्ति झार्‍यो । अन्तमा लामो सास फेरेर, यति धेरै ज्ञान उसले स्वअध्ययनबाट ‘आर्जन’ गरेको हो भनी नाक फुलाउन बिर्सने गल्ती गरेन । मलाई कताकता टलकजङ्ग टुल्केको झल्को आयो । टुल्केलाई केही पनि थाहा हुन्न तर आफूलाई गाउँको बाबुसाहेब ठान्छ, सबैथोक थाहा भएको हर्कत देखाउँछ । अरूले जे भनून्, ऊ आफ्नो नजरमा क्रान्तिकारी हुन्छ । आफूलाई सम्मान नगरेमा बुख्याँचालाई समेत छोड्दैन । मलाई यी गाँजासेवक टुल्केहरूको टीम देखेर दया लाग्यो । मैले अनुनय गरेँ :
            “दाइ मेरो एउटा कुरा सुन्नुस् न है !” धन्न ! कमलले ‘हुन्छ’ भन्ने कृपा गर्‍यो । अरू पनि मतिर फर्किए ।
            “संविधान बन्ने बेला नेपाल मजदुर किसान पार्टीले शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छ भनेर लेख्नुपर्ने प्रस्ताव राखेको थियो । त्यसबेला यो देशको कुन पार्टीले ‘हुन्छ’ भनेर हात उठायो ? के त्यसबेला तपाईँको दलका सांसदहरूको हातमा हतकडी लागेको थियो ? अर्को, तपाईँलाई धेरै कुरा थाहा रहेछ । यो प्रस्तावको विषयमा थाहा थियो कि थिएन ?” नवीन आठौँ आश्चर्य देखेजस्तो वाल्ल पर्‍यो र राता आँखा ठूला पार्दै भन्यो :
            “ए हो… । ल, हामीलाई त थाहै भएन नि ब्रो ! भाइको कुरामा दम छ है ! हैन त सुनिल ब्रो ?” सुनिलले मतिर हेरेर सालिन थम्ब्स अप दियो ।
            कमलले मलाई धाराप्रवाह मुखभरिको जवाफ दिन चाहिरहेको थियो । मुखले नभने पनि उसको अनुहारका हरेक मांसपेशीले यस्तै भनिरहेका थिए । तर, मुटुमाथि ढु·ा राखेर ऊ अवाक उभिरह्यो । उसलाई मेरो कुनै पनि प्रश्नको जवाफ थाहा थिएन ।
            राजनीतिबारे हावादारी बुझाइ राख्ने यस्तो ‘टलकजङ्ग पुस्ता’ काठमाडाँैको नयाँ पुस्तामध्येको एउटा उल्लेख्य तप्का हो । कति दुःखको कुरा छ, गंगालाललाई मनमस्तिष्कमा सजाउनुपर्ने काठमाडाँैले आफ्ना सन्तानलाई गाँजाको धुवाँमा भुलाइरहेको छ । नपढेकाहरूका कुरा के गर्ने ? काठमाडाँैबाहिर जस्तै यहाँ पनि तीमध्ये कति युवा ‘चुनावी टुल्के’ हुन् । पढेलेखेकाहरू युरोप, अमेरिका र अष्ट्रेलिया जान्छन् । कतिले यस देशलाई देशै ठान्दैनन्, मात्र भर्‍याङ मान्छन् । यस देशलाई बस्नलायक बनाउने दायित्वमध्ये ठूलो भार देशकै सबैभन्दा अघि बढेको यस उपत्यकाका युवाले बोक्नुपर्ने हो भनी जिम्मेवारीबोध गर्दैनन् । बरु ‘चप्पल लगाएर काठमाडाँै पसेका घरज्वाइँ’ (यसो भन्नुमा काठमाडौ अभिमान गर्छ) नेतामाथि सम्पूर्ण दोष थोपरेर आफू चोखिन्छन् । काठमाडाँैमा जथाभावी बाटो बनाएर कुरूप तुल्याए भनेर तिनीहरूतिरै धारे हात लगाउँछन् । तर, रूपको बनाउने साहस गर्दैनन् ।
            …केही वर्षमा यस डाँडाका सबै ऐँसेलुका झ्याङ फँडानीमा पर्नेछन् । काठमाडाँैको यस कुनाका नयाँ केटाकेटीहरूले देखे पनि ऐँसेलु वा कँपासीलाई खालि किताबका पाना र युट्यूबमा देख्नेछन् । उफ ! ‘ब्रो’ हरूसँगको बसाइभरि मलाई यसकै पिरले सताइरह्यो । यहाँ युगयुगान्तरसम्म प्रत्येक वसन्तमा ऐँसेलुहरू फुलिरहने भए… है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *