भर्खरै :

जब जनताको चेतना बल्छ तब लुटिएको भूमि फिर्ता हुन्छ

सामन्तको थिचोमिचो सहेर हुर्केको एकजना किसानलाई बुढेसकालमा त्यो सामन्तको हरेक दुव्र्यवहार पनि सहज भइसकेको हुन्छ । सामन्तको हरेक अपमानित व्यवहार सहन किसान मानसिकरूपमै तयार भइसक्छ । किसानलाई सामन्तको हेपाइप्रति अलिकति पनि गुनासो हुँदैन । किसान ठान्छ, “मेरो यो दुःख पूर्वजन्मको फल हो, सामन्तको कुनै दोष छैन ।” ठूलोले सानोलाई थिचोमिचो गर्नु प्राकृतिक नियमजस्तै ठान्छ, किसान । त्यसैले सामन्तको अगाडि किसान ‘गरुडसामुको सर्प’ जस्तै हुन्छ, बोल्न सक्दैन । तर, त्यो किसानका छोराछोरी ठूलो हुँदै जान्छ, जान्नेबुझ्ने हुन्छन् । सामन्तीको हेपाहा प्रवृत्ति सहन सक्दैन अनि सामन्तको विरोध गर्न आफ्नो अभिभावकलाई सम्झाउँछ । तर, सामन्तीको अपमान सहने बानी भइसकेकोले अभिभावकलाई छोराछोरीको कुरा मन पराउँदैन ।
हो, सामन्त र किसानको सम्बन्धबारे यो प्रसङ्ग र अहिले भारत र नेपालको सम्बन्ध मेल खान्छ । भारतको नेपालप्रतिको हेपाहा प्रवृत्तिको विरोधमा सर्वसाधारण जनता सडकमा उत्रेका छन् । भारतले हडपेका भूमि फिर्ता लिन जनता सरकारसँग माग गरिरहेका छन् । हडपेको जमिन फिर्ता गर्न अन्तर्राष्ट्रिय अदालत गुहार्न नेपाली जनता माग गरिरहेका छन् । तर, बुढो किसानजस्तै सरकारमा बस्ने नेताहरूले साहस गर्न सकेका छैनन् । स्वाभाविक हो, सामन्तजस्तो भारतले हुर्काएको किसानजस्तो सरकारमा बस्ने नेताहरूले भारतसँग आँखा जुधाएर बोल्नसक्ने कुरै भएन । हेप्ने छिमेकी र तिनका सामु लुत्रुक्क पर्ने आफ्ना अभिभावक भएपछि छोराछोरीको मन साह्रै अमिलो हुँदोरहेछ । अब जनताले नै त्यस्ता नेताहरूलाई तह लगाउन सडकबाट आन्दोलन गर्नुपर्छ । स्थापनाकादेखि भारतीय हस्तक्षेपको विरोधमा नेपाल मजदुर किसान पार्टीले गर्दै आएको सङ्घर्षको सिलसिलाको रूपमा आइतबार गरेको भारतीय हस्तक्षेपविरुद्धको सडक आन्दोलनलाई हेर्न सकिन्छ ।
त्यो आन्दोलनलाई जनताको चेतनामा एउटा आशाको दियोको रूपमा हेर्नुपर्छ । जब जनताको चेतना बल्छ, तबमात्र हामी हाम्रा लुटिएका, लुछिएका भूमि फिर्ता लिनसक्छौँ । आफ्नो माटोको मायाले उठेका सङ्घर्षशील जनताका सबै आवाजप्रति नमन छ । देश लुछिँदा पनि किन निदाएको छस् भनेर सरकारलाई घच्घच्याउने पवित्र देशभक्ति मनहरूलाई हृदयदेखि सलाम छ ।
कोरोना महामारीको यो विषम परिस्थितिमा कोरोनाले भयले भरिएको सम्पूर्ण जनताको दिमागलाई एकाएक लिपुलेकले प्रतिस्थापन गरेको छ । देशभक्तिले ओतप्रोत भएका जनता कोरोनाको पनि बेवास्ता गर्दै एकाएक सडकमा उत्रिएका छन् । ‘आफ्नो राष्ट्र आफ्नो प्राणभन्दा प्यारो’ भनेको सायद यहीँ हुनुपर्छ । जब भारतबाट लिपुलेक भएर तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीहरूको धार्मिक स्थल मानसरोवर जाने ८० किलोमिटरको सडक उद्घाटन भएको घोषणा भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे नेपाली समाज पूरै तरङ्गित भयो । भारतीय रक्षा मन्त्रालयको द्ययचमभच च्यबमक इचनबलष्शबतष्यल ९द्यच्इ० ले यो सडक सन् २००३ मा सुरू गरेको थियो । त्यहीँ निर्माण सम्पन्न सडकमा गाडी र यात्री हिँडाउने दिनमा भारतीय रक्षामन्त्रीले औपचारिक उद्घाटनमात्र गरेका हुन् । संसारको कुनै पनि कुनामा एक घन्टासम्म मात्र पनि कुनै घटना घटे विश्वलाई थाहा हुने यो युगमा आफ्नै भूमिमा विदेशी आएर ८० किलोमिटर सडक बनाएको कुरा नेपाल सरकारलाई मिडियाले थाहा दिनुपर्ने कुरा प्रधानमन्त्रीको भाषामा षड्यन्त्र हो त ? लिपुलेकमा बाटो बनेर उद्घाटन हुँदासम्म परराष्ट्र मन्त्रीलाई थाहै छैन रे ¤ वर्षौँसम्म बाटो खन्दा चाहिँ चुट्किला सुनाएर बसेका थिए ओली सरकार र अहिले बाटो पूरा भएर उद्घाटन गर्ने बेलामा बल्ल विज्ञप्ति निकाल्ने ¤ सधैँ जनतालाई कति मूर्ख ठान्ने ¤?
छिमेकी देश र आफ्नै देशका अल्पसङ्ख्यक जनतालाई अन्ध राष्ट्रवादको नाममा हेप्ने अनि निर्मम मानसिक, आर्थिक, सामाजिक र राजनैतिक दमन गर्ने वर्तमान भारतीय सरकारको धुर्तता निन्दनीय छ । सन् १९६२ को चीन–भारतबीचको युद्धपश्चात् भारतीय सेना अहिलेको विवादित स्थानमा बस्दादेखि नै नेपाल सरकार उदासीन बन्दै आएको छ । यस्तो संवेदनशील विषयलाई आ–आफ्नो निहित राजनीतिक स्वार्थको पृष्ठपोषणको लागि प्रयोग गर्ने निन्दनीय परिपाटी बनेको हो । महाकालीको ‘कन्यादान’ गर्नेहरू नै अहिले सत्तामा बसेकाले पनि नेपाली भूमि हडप्न भारतले यस्तो साहस गरेको हो । यस घटनालाई थामथुम पारियो भने अर्को घटना तराई भूभागमा हुनेछ ।
लिपुलेकमा भारतीय सेना राख्न दिने राजा महेन्द्र नै थिए । त्यसपछिका राष्ट्रवादी वीरेन्द्र, कीर्र्तििनधि, मरिचमान र ओली सबैले त्यहाँ भारतीय फौजको उपस्थितिप्रति आपत्तिसम्म जनाउन सकेनन् । उनीहरूको ‘राष्ट्रवाद’ यो मुलुकमा सोझा जनतालाई बेबकूफ बनाउने अस्त्रमात्र भएको छ । भारतले बङ्गलादेश र पाकिस्तानको सिमानामा हस्तक्षेप गर्नसक्दैन, किन ? किनकि सीमामा उनीहरूको सेना छ र आफ्नो देश रक्षाको लागि लड्छन् । नेपालको सिमानामा के छ ? को लड्छन् ? नेपाली सेनासम्म सिमानामा खटाउन नसक्ने सरकारबाट के अपेक्षा गर्ने ? नेपाली सेनाको काम भनेको ठेक्कापट्टा गर्ने, मालसामान खरिद गर्ने र शान्ति मिसनमा खटिने, नेपालमा उठेको समानता र न्यायको आन्दोलन दबाउनेबाहेक नेपालको सिमाना रक्षार्थ प्रयोग भएन । मोटो डलरको लोभमा शान्ति सेनामा पठाएर नेपाली सेनालाई भाडाका सिपाहीँजस्तो बनाउनु भएन । नेपालको सीमामा खटाउनुप¥यो । सुकुमवासीलाई काठमाडाँैमा ६ आना जग्गा दिइने भन्ने समाचार सत्य हो भने ती सुकुमवासीलाई नेपालको सीमा अतिक्रमित भूमिमा बसाउनु सीमाको पनि रक्षा हुन्छ र जनता पनि थातथलो पाएर खुसी हुन्छन् ।
नेपाल सरकारले कूटनीति तरिकाले समस्या समाधान गर्ने भने पनि भारतले नटेरेको र मिचाहा व्यवहार देखाइरहेको छ । कूटनीतिक शब्द समय कटाउने मेलो भएको छ । संसदले एक मतले सङ्कल्प प्रस्ताव पारित गरोस् । अब अन्तर्राष्ट्रिय अदालतमा जाने जे फैसला आउँछ स्वीकार्ने । विज्ञहरूका अनुसार लिपुलेक नेपाल हो भन्ने स्पष्ट प्रमाण रहेको छ । त्यसकारण निर्णय हाम्रै पक्षमा हुनेछ । कालापानी लिपुलेक भूभागलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर नेपालको बाँकी भूभागको रक्षा गर्ने खालको नेतृत्वलाई मात्रै अब देशभक्त नेता मानिने छ ।
भारतीय दूतावासबाट तलब थाप्ने केही नेपालीहरू तर्क गर्छन्, “जति बडेमानको गफ चुटे पनि भारतसँग मिलेर जानुको विकल्प नेपाललाई हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेछैन, भलै तथाकथित कम्युनिस्ट नेता र तिनका हनुमानी विद्यार्थी सङ्गठनहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद’ भनेर जतिसुकै नाराबाजी गरून् ।” मिलेर जानु भन्नुको अर्थ भारतले गर्ने थिचोमिचोलाई सहेर बस्नु कदापि होइन । अर्कोतिर सबै पार्टीका सबै नेताका कार्यकर्ताहरू एकले अर्काको कार्यकाल देखाउँदै अमुक नेताको पालामा नै सडक बनाउने काम भएको रहेछ भन्दै आ–आफ्ना नेताहरूको बचाउमा लाग्ने गरिरहेका छन् ।
“विदेशीले हस्तक्षेप गरे सीधै सुरुङ युद्ध गर्छु” भन्दै हिजोका दिनमा उदण्ड भाषण छाँटेर जनतालाई युद्धमा होम्ने कमरेडहरू कुन दुलोभित्र छन् ? भारतले यो हर्कत देखाउँदा पनि प्रतिक्रियाविहीन हुने नेताहरू कुन दुलोमा छन् ? सरकारले आपत्तिको विज्ञप्ति होइन, सीमामा सेना पठाउनुपर्छ । तर, विडम्बना ¤ उल्टै ‘कट्टर राष्ट्रवादी’ प्रमले भारतको यो कदमविरुद्ध आवाज उठाउने जनतालाई जेल हालेका छन् ।
राजादेखि लोकतान्त्रिक गणतन्त्रसम्मका कुनै पनि सरकारले लिपुलेकको बारेमा भारतसँग कुरा गरेनन् । भारतको अपमानलाई सहजरूपमा लिने कृष्णप्रसाद, गिरिजाबाबु, शेरबहादुर, लोकेन्द्रबहादुर, सूर्यबहादुर, प्रचण्ड, माधव, बाबुराम, झलनाथ, सुशील, खड्कप्रसादसम्म सबैका शासन हेरिसकेका छौँ । अर्को वास्तविकता, पार्टीको अधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिन पनि आशीर्वाद पाउन भारतीय नेताहरूलाई भेट्न जाने परम्परा बसाल्ने राजनीति अपराधीहरूले गर्दा अहिलेको भारतीय अपराधको जग बसेको हो । आशीर्वाद थाप्ने राजनीतिको परिणाम हो अहिलेको भारतको हेपाहा प्रवृत्ति ।
राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रताबारे आजसम्मका सबै सरकारले सत्तामा जाने भ¥याङबाहेक केही बनाएनन् । जनता आफैँ जाग्ने दिन आयो । जनताले सरकारलाई बाध्य बनाउन सकेमात्र यो मुद्दा उठ्छ । जागौँ, जगाऔँ, आवाज बुलन्द गरौँ ‘लिपुलेक नेपालको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *