भर्खरै :

भूमि अतिक्रमणबारे प्रमलाई थाहा छैन भन्नु ख्यालठट्टा वा झूट

काठमाडौँ, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको नजिकको मित्र देश भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेर सडक निर्माण गर्ने नेपाली जनताले कल्पना पनि नगरेको बताउनुभएको छ ।
बुधबार भादगाउँ टेलिभिजनका प्रतिनिधिसँगको कुराकानीमा उहाँले दक्षिण एसियामा भारतले ‘ठूल्दाजु’को व्यवहार देखाएर आफू विस्तारवादी भएको पुष्टि गरेको बताउनुभयो ।
“भारतले नेपालमा धेरै अघिदेखि नै थिचोमिचो गर्दै आएको छ । नेमकिपाले पहिलेदेखि नै भारतीय हस्तक्षेपको विरोध गर्दै आएको छ । अहिलेको अतिक्रमणको पनि विरोध गर्छौं”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
“भारतले नेपाली सिमानामाथि गरेको थिचोमिचोबारे थाहा छैन भन्नु ख्यालठट्टा गरेको नभए प्रधानमन्त्रीले झूट बोलिरहेका छन्”, उहाँले भन्नुभयो ।
नेपालको संविधानअनुसार सम्पूर्ण कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत भएकोले उनले आफूलाई थाहा नभएको भन्न नमिल्ने अध्यक्ष बिजुक्छेँको भनाइ थियो ।
“प्रधानमन्त्रीलाई थिचोमिचोबारे थाहा छैन भन्नुको अर्थ आफू प्रधानमन्त्री नभएको लाग्नसक्छ”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले ‘चील आयो चील आयो भनेर स्यालले कुखुरा चोरे’ जस्तै भारतको थिचोमिचो छोप्न शासक दलले अनेकथरी प्रचार गर्नसक्ने बताउनुभयो ।
कोरोना भाइरसले भारत र नेपालका जनतालाई दुःख दिइरहेको बेला भारतीय शासक वर्गले नेपालको भूमिमाथि थिचोमिचो गरेको भन्दै उहाँले मित्र देशले कहिल्यै पनि समस्याको बेलामा छिमेकीलाई थप दुःख नदिने धारणा राख्नुभयो ।
“दुःखमा सहयोग गर्ने र सुखमा मिलिजुली काम गर्ने मानव सभ्यताकै काम गर्ने शैली हो”, बिजुक्छेँले भन्नुभयो ।
भारतमा अहिले सत्तासीन भारतीय जनता पार्टी दक्षिणपन्थी पार्टी भएको विश्लेषण गर्दै उहाँले इटालीका मुसोलिनी र जर्मनीका हिटलरकै बाटोमा भारतीय शासक वर्ग रहेको बताउनुभयो ।
“भारतका मोदी र संरा अमेरिकाका ट्रम्पबीचको एकता फासीवादीहरूबीचको एकता हो । त्यसको विरोध हामीले गर्नुपर्छ”, उहाँले प्रस्ट पार्नुभयो ।
विस्तारवादी शक्तिबाट दक्षिण एसियाली देशहरू सजग हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भारतीय एकाधिकार पुँजी अहिले भारतीय विस्तारवादको रूपमा अघि बढिरहेको छ भन्नुभयो । ।
भारतले नेपाली भूमिमा अतिक्रमण गरेको घटनालाई ढाकछोप गर्न चीनले सगरमाथामा दाबी गरेको भन्ने झूठो कुरा ल्याएको भन्दै अध्यक्ष बिजुक्छेँले नेपाल र चीनबीच झगडा लगाउन साम्राज्यवादीहरू सक्रिय रहेको बताउनुभयो ।
संरा अमेरिकाले नेपाललाई आधार बनाएर चीनमाथि प्रहार गर्न खोजिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले यो काममा संरा अमेरिकाले भारतलाई प्रयोग गर्ने भएकोले यो विषयमा दक्षिणपूर्वी जनता सजग बन्नुपर्छ भन्नुभयो ।
अमेरिकी सहस्राब्दी परियोजना (एमसीसी) को पक्षमा नेपाली काङ्ग्रेस र नेकपा सरकारका प्रतिनिधिहरूले हस्ताक्षरको नेमकिपाले सुरूदेखि नै विरोध गर्दै आएको भन्दै उहाँले भन्नुभयो, “यदि एमसीसीको विरोध नेपाली जनताले विरोध नगर्ने हो भने नेपाली जनताले कहिल्यै नपाएको दुःख पाउनेछन् ।”
पहिलो र दोस्रो विश्वयुद्ध युरोपले झेलिसकेकोले अबको विश्वयुद्ध एसियामा एसियाली–एसियालीबीच लडाएर गर्ने सिद्धान्तअनुसार साम्राज्यवादी शक्तिहरूले काम गरिरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *