भर्खरै :

पापिनी आमाको गीत

  • बैशाख ३१, २०७७
  • इन्द्रकुमार श्रेष्ठ
  • साहित्य

          जोगीको घरनजिकै लटरम्म र पहेँलपुर सुन्तलाघारी बगैँचा देखेपछि एकजना गर्भवती महिलालाई त्यो सुन्तला अति नै खान मन लागेछ । मन थाम्नै नसकेपछि जोगीसँग सुन्तला माग्दा उसले, “तिम्रो यो गर्भको बच्चा पछि मलाई दिने भएमात्रै सुन्तला खान दिन्छु” भनेछ । खाने लोभमा ती गर्भवतीले “हुन्छ” भनेर अघाउँजी सुन्तला खाइछिन् । कबोलअनुसार पछि उनले पाएको छोरो त्यही जोगीलाई जिम्मा लाउनुपर्ने बाध्यता आइलागेछ ।
            यो एउटा लोककथा हो । यो लोककथालाई पहिला–पहिला विशेषगरी गाउँले समाजमा सङ्गिनी लोकगीतको रूपमा गाइन्थ्यो र कुनै बेला रेडियो नेपालबाट पनि बजाइन्थ्यो । अहिले त लोकगीतमा पनि ‘अत्याधुनिकता’ आएको हुँदा त्यस्ता गीत सङ्गिनीमा पनि गाइँदैन र रेडियोमा पनि सुनिंदैन । जे होस्, जोगी, गर्भवती महिला र छोराको रूपमा तीनजना कलाकार भएर गाइएको उक्त गीतमा छोराले गाएको, “…गर्भैमा मलाई बेचेर खाइथिन् पापिनी आमाले …” भन्ने विरहलाग्दो टुक्राले जोसुकैको पनि मन छुन्छ ।
            छिमेकी भारतले उहिलेदेखि नै जङ्गे पिलर सार्ने, जमिन हडप्ने र सिमाना मिच्ने गर्दागर्दै गत मंसिरको पहिलो हप्ता, नेपाली भूमि (कालापानी, लिपुलेक, लिम्पियाधुरा) राखेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थाहा पाएपछि अनायास सोही लोकगीतको सम्झना भयो । अहिले फेरि भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर तिब्बतको मानसरोवर पुग्ने सडक बनाएको समाचार आउँदा त्यसबारे हाम्रो सरकारले सुरुमा बेखबर रहेको कुरा बताएपछि हामी स्वाभिमानी सर्वसाधारण नेपालीलाई दुःख लाग्नु र आक्रोश जाग्नु स्वाभाविकै हो । तर, भारतले पहिलेदेखि नै हामीप्रति गरेको मिचाहा व्यवहार र हाम्रो कमजोरी पनि सम्झँदा झन् दुःख र  आक्रोश जाग्छ ः
            क) अङ्ग्रेजहरू बेलायत फर्कनुअघि उनीहरूले लडाइँमा कब्जा गरेको नेपाली भूमि नेपाललाई नै फर्काउन चाहँदा तत्कालीन राणा सरकारले कुनै चासै नगर्नु,
            ख) ५९ वर्षअघि चीन र भारतबीच भएको युद्ध समाप्त भएपछि सामरिक महत्ववको लिपुलेकमा भारतीय फौजले अस्थायी मुकाम खडा गर्दा त्यतिखेरको नेपाल सरकार मौन रहनु,
            ग) अहिलेसम्म हामीले हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक गर्नै बिर्सी क्षेत्रफल १,४७,१८१ वर्ग किमि भन्नेमात्र सम्झिरहनु,
            घ) विगतमा भएका हरेक राजनीतिक क्रान्ति÷आन्दोलन सफल पार्न भारतीय भूमिकै उपयोग गर्नु तथा भारतीय मध्यस्थता नै स्वीकार गर्नु,
            ङ) भारतको बाटो भएर भुटानीहरू नेपाल आएका तर त्यही बाटो भएर उनीहरू भुटान फर्कन नपाएको अवस्थामा भारतसँग दर्जनौँपटक भएका वार्ताहरू असफल हुनु । परिणामस्वरूप, आफ्नै घरको आर्थिक समस्यामा अल्झेको नेपालले लामो समयसम्म लाखौँको सङ्ख्यामा अर्को देशको शरणार्थी समस्या पनि स्याहार्न बाध्य हुनु,
            च) विभिन्न सन्धि, सम्झौता, परियोजनाका नाममा हामीलाई थोरै लाभ धेरै नोक्सानी तथा भारतलाई लाभैलाभ हुने गरी नदीनालाहरू जिम्मा लगाउनु,
            छ) माओवादी सशस्त्र विद्रोहताका आफू भारतमै बसेर “भारतविरुद्ध सुरुङ्युद्ध गर्नुपर्छ” भनेर नेपालमा जारी गरिएको कथित क्रान्तिकारी नेताकोे ‘आकाशवाणी’ लाई ‘देववाणी’ ठानेर पत्याउनु,
            ज) पटक–पटक भारतीय नाकाबन्दीको महासास्ती व्यहोर्दा पनि हामीले आत्मनिर्भरताको सानो पाठ पनि सिक्न नसक्नु,
            झ) लिपुलेकजस्तो दुर्गम ठाउँको रक्षा गर्नका लागि चासो गर्नु त परको कुरा, अहिलेसम्म भारतसँग सिमाना जोडिएका तराईका कतिपय जिल्लाका नेपालीको जमिन÷सम्पत्तिसमेत संरक्षण गर्न नसक्ने ‘सरकारी क्षमता’ पाइनु,
            ञ) भारतीय प्रधानमन्त्रीले केही महिनाअघि ‘सागरदेखि सगरमाथा जोड्ने’ कुरा गर्दा कुरै नबुझी मख्ख पर्नु र अझैसम्म रेल तथा पानीजहाजको कुरामा भारतले सहयोग गर्छ भन्ने सम्झिनु,
            ट) प्रमुख राजनीतिक दलहरूमा, सत्ताबाहिर हुँदा भारतको विरोध गर्ने तर सत्तामा जान र टिक्नका लागि भारतकै भरपर्ने प्रवृत्ति देखिनु,
            ठ) भारतमा ‘नोटबन्दी नीति’ ल्याइएपछि, भुटानमा रहेका भारु भारतले लिनु तर नेपालमा रहेका भारु कतिपटक ‘उच्चस्तरीय अनुरोध’ गर्दा पनि नलिनु,
            पोहोर चलेको ‘नक्सा विवाद’ को हकमा हाम्रा सरकार प्रमुख, उच्च नेताहरू, कूटनीतिज्ञ, बुद्धिजीवी, सीमाविद् सबैको एउटै मत रह्यो, “हाम्रो भूमि कसैलाई एक इन्च पनि नदिने ।” तर, भारतले हाम्रो सयौँ किमि भूमि कब्जा गरिराखेको छ । त्यस विषयलाई लिएर कलाकार÷साहित्यकारहरूले थुप्रै गीत–कविता गाएका÷लेखेका छन् । फिल्म बनाइएको छ । अभियन्ताहरूले ‘ग्रेटर नेपाल’ को अवधारणा ल्याएका छन् । तर, सरकारी निरीहता र मौनताका अगाडि यस्ता गतिविधिहरूको कुनै अर्थ नहुने रहेछ !
            अब अहिले सार्वजनिक भएको ‘लिपुलेक सडक’ को विषयमा पनि नेपालका शासकहरूको चालामाला हेर्दा भारत पछि हटेर नेपालका पक्षमा न्याय होलाजस्तो छैन । उता चीन पनि आफ्नै प्रसिद्ध तीर्थस्थलमा विदेशी पर्यटक आउने छोटो बाटो बन्यो भनेर खुसी हुनेछ । त्यसैले, यो समस्या सिर्जिएको अवस्थालाई सरकारले अवसरको रूपमा लिई, अन्तर्राष्ट्रिय अदालत तथा संयुक्त राष्ट्र सङ्घको मध्यस्थता गुहारेर भए पनि उच्चस्तरीय कूटनीतिक पहलबाट हाम्रो देशको नक्सालाई नेपाल अङ्ग्रेज युद्धअघिको रूपमा फर्काउने र भारतले अतिक्रमण गरिआएको भूमिलाई पनि आफ्नो कब्जामा पार्न सक्नुपर्छ । सँगसँगै ब्रिटिस सरकारविरुद्ध गान्धीले भारतमा चर्खा प्रचारलगायतका अभियान चलाएजस्तै हामीले पनि जनस्तरबाटै सकेसम्म भारतीय वस्तु बहिष्कार गर्ने ‘आत्मनिर्भर अभियान’ चलाउनुपर्छ अन्यथा हामीलाई सधैँभरि भारतले हेपिरहनेछ र हामीले ‘पापिनी आमाको गीत’ सम्झिरहनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *