बुधबार लकडाउनको ५० औँ दिन पुग्यो । सरकारले लकडाउन गरेर कोभिड–१९ सङ्क्रमण रोक्न सफल भएको दाबी गरिरहेको छ तर मङ्गलबार र बुधबार कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भयो । मङ्गलबार भक्तपुरमा दुई, काठमाडौँ एक जनासहित थप ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्पष्ट छ, तराईका जिल्लामा कोभिड–१९ सङ्क्रमित देखापर्नुको कारण भारतका विभिन्न सहरमा फैलिसकेको सङ्क्रमण नै हो । भारतबाट सङ्क्रमित भई नेपाल आएकाहरूबाटै परिवारका सदस्य र सम्पर्कमा आएका अरूलाई जानी नजानीकनै सङ्क्रमण गराएका हुन् ।
काठमाडौं उपत्यकालगायत हिमाली र पहाडी जिल्लाहरूमा ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेका छैनन् । त्यसमा निश्चय पनि लकडाउनको महत्वपूर्ण भूमिका रहेको छ । लकडाउन सुरु हुनुअघि र लकडाउन भइसकेपछि काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गरिरहेकाहरू धेरै नै आ–आफ्नो मूल थातथलो फर्के । त्यसलाई विपत् र लकडाउनको अवधिमा घरपरिवार सँगसँगै हुँदा सकारात्मक नै हुने ठानेर प्रायः सबैले सहयोग गरे । लकडाउनको अवधिमा धेरै मानिसहरू भारतबाट लुकीछली गरेर नेपाल प्रवेश गरे । त्यस्ता गैरजिम्मेवार क्रियाकलापले नेपालको तराईका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको पुष्टि भएको छ । अहिले आएर तराईका जिल्लाहरूबाट अनेक तवरले मानिसहरू काठमाडौं उपत्यका र पहाडका जिल्लाहरूमा उक्लिरहेका समाचार आइरहेका छन् । फेसबुकलगायत सामाजिक सञ्जालहरूमा एम्बुलेन्स र सरकारी गाडीहरूबाटै यात्रु ओसार्ने काम भइरहेको भिजुअल देखिएको छ । त्यसरी बिनाकुनै स्वास्थ्य परीक्षण वा कोभिड–१९ को पीसीआर जाँचबिना नै आएकाहरूले कोभिड–१९ भाइरस सङ्क्रमण बोकेर नआएको होला भन्न सकिन्न । त्यसरी मनपरी आवतजावत हुने र भइरहने हो भने लकडाउन ठट्टामात्र बन्न जानेछ, निकट भविष्यमै कोभिड–१९ सङ्क्रमण देशव्यापी बन्ने छ । त्यसैले लकडाउनलाई ठट्टा नबनाऔंँ, जहाँ छौँ त्यहीँ सुरक्षा अपनाएर बसौँ । 

प्रकाश image
प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *