भर्खरै :

कोरोना भाइरसको महामारीबीच भेनेजुयलामाथि अमेरिकी आक्रमण

कोरोना भाइरसको विश्वव्यापी महामारीबीच मे ३ आइतबारका दिन भेनेजुयलाको राष्ट्रिय सेना–राष्ट्रिय बोलिभारियाली सशस्त्र बल र राष्ट्रिय बोलिभारियाली प्रहरी बलले भेनेजुयलामाथि आक्रमण गर्न आएका भाडाका लडाकूहरूको एक समूहलाई गतिलो जवाफ फर्काए । भाडाका लडाकूहरूको एक समूहले अत्याधुनिक हतियारका साथ ला गुयेरा राज्यको समुद्र तटमा प्रवेश गर्ने कोसिस गरेको थियो । तिनीहरू चढेर आएको यन्त्रचालित डुङ्गाको जीपीएस प्रणालीका अनुसार तिनीहरू कोलम्बियाबाट उच्च गतिमा त्यहाँ आएका थिए ।
तिनीहरूलाई पक्राउ गर्न पुगेका भेनेजुयाली सेना र प्रहरीसितको भिडन्तमा आठ जना भाडाका लडाकू मारिए भने दुईजना पक्राउ परे । ती दुईजनामध्ये एकले आफू संरा अमेरिकाको लागूपदार्थसम्बन्धी निकाय–डीईएको एजेन्ट भएको स्वीकार ग¥यो । भेनेजुयाली सुरक्षा बलहरूले राइफल, विष्फोटक पदार्थ, स्याटलाइट फोनहरू, पोशाक र संरा अमेरिकी झन्डा भएका हेल्मेटहरूसहित ठूलो परिणाममा हतियार बरामद गरेका छन् । भिडन्तमा भेनेजुयाली सुरक्षाकर्मीतर्फ के कति हताहती र घाइते भए त्यो सार्वजनिक भएको छैन तर देशभित्र घुसेका हतियारधारी समूहलाई समयमै खतम गर्नसक्नु भेनेजुयाली सुरक्षाबलको सफलताको रूपमा सर्वत्र चर्चा भइरहेको छ ।
भेनेजुयला सरकारका निकायहरूले देशको सार्वभौमिकता र शान्ति बिथोल्ने पछिल्लो प्रयासको कडा निन्दा गरेका छन् । संरा अमेरिकी र कोलम्बियाली सरकारको स्पष्ट संयोजनमा लागूपदार्थका तस्करहरूको आर्थिक प्रायोजन र सहयोगमा उक्त आक्रमण भएको बताइएको छ । भेनेजुयलाका आन्तरिक सम्बन्ध तथा न्यायमन्त्री नेस्टर लुइस रेभेरोल टोरेसले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै आक्रमणको प्रयास र त्यसलाई विफल पारेको घटनाबारे राष्ट्रलाई जानकारी दिनुभयो ।
उहाँले त्यस आतङ्ककारी समूहले केही निश्चित व्यक्तित्वहरूको हत्या गर्ने, अन्धाधुन्ध हिंसा गर्ने र भेनेजुयाली जनतामाझ अराजकता फैलाउने लक्ष्य राखेको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय संविधानसभाका अध्यक्ष डायस्डाडो क्याबेलोले उक्त आक्रमणको घटनाबारे छलफल गर्न दिउँसो प्रेस सम्मेलन आयोजना गर्नुभयो । राष्ट्रिय संविधानसभाका अध्यक्ष क्याबेलोले मे ३ को आक्रमणको घटनाको निन्दा तथा संरा अमेरिकासित साझेदारी गरिरहेका विपक्षी राजनीतिक दलहरूको कडा आलोचना गर्दै आक्रमणमा ती दलहरू जिम्मेवार भएको बताउनुभयो । संरा अमेरिका र भेनेजुयलाका केही अति दक्षिणपन्थी समूहहरूले राष्ट्रपति निकोलस माडुरो नेतृत्वको समाजवादी सरकारलाई अपदस्थ गर्न निरन्तररूपमा षड्यन्त्र गर्दै आएका छन् ।
संविधानसभाका अध्यक्ष क्याबेलोले भन्नुभएको छ – “हामीले तिनीहरूलाई सडकमा, निर्वाचनमा र सैनिकरूपले समेत पराजित गरेका छौंँ… त्यसैले तिनीहरूको आशा अहिले उच्च तहको सैनिक कारबाहीमा मात्र रहेको छ । त्यसमा पनि भेनेजुयाली जनताले तिनीहरूलाई माथ गर्नेछन् । तर, बोलिभारियालीवादसितको शत्रुताको कारण तिनहिरूले भेनेजुयलामाथि हमला गर्ने र अस्थिरता फैलाउने क्रियाकलाप निरन्तर गरि नै रहनेछन् ।
त्यसैगरी भेनेजुयलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले प्रेस सम्मेलनका क्रममा राष्ट्रिय बोलिभारियाली सशस्त्र बलले आफ्नो हृदय र आत्मादेखि साम्राज्यवादी आक्रमणको प्रतिकार गरेको स्पष्ट पार्नुभयो । राष्ट्रिय बोलिभारियाली सशस्त्र बल अहिले पूर्णतः प्रतिकार र साम्राज्यवादी आक्रमणविरुद्ध स्थायी अलर्टमा रहेको जानकारी दिनुभयो ।
त्यसो त ल्याटिन अमेरिका र विश्वभरका सामाजिक आन्दोलन एवम् सङ्गठनहरूले पनि भेनेजुयलामाथिको आतङ्ककारी आक्रमण तथा संरा अमेरिकाको सम्भावित आक्रमणको विरोध र निन्दा गरेका छन् ।
भेनेजुयाली अधिकारीहरूले दाबी गरेझैँ भेनेजुयलामाथिको आक्रमण संरा अमेरिकी योजनामा र दक्षिणपन्थी राष्ट्रपति तन ड्युकको कोलम्बियाली सरकारको पूर्ण समर्थनमा भएकोमा कुनै विवाद छैन । संरा अमेरिकाको ट्रम्प प्रशासन सुरुदेखि नै भेनेजुयलामा जसरी भए पनि शासन परिवर्तनको निम्ति लागिराखेकै हो । भेनेजुयलामा राजनीतिक दलहरूको निर्वाचन गठबन्धन, हिंसात्मक सडक आन्दोलन, सैनिक विद्रोह आदि उपाय असफल भइसकेपछि अमेरिकी साम्राज्यवादीहरू र त्यस महादेशका दक्षिणपन्थी शासकवर्ग भेनेजुयलाको प्रगतिशील सरकारलाई जसरी भएपनि हटाउने षड्यन्त्रमा लागिपरेका छन् । भेनेजुयलामाथिको उक्त आक्रमणपछाडि निरन्तररूपमा आफ्नै देशमाथि अमेरिकी सेनाको आक्रमणको निम्ति आग्रह गर्ने भेनेजुयलाका स्वघोषित ‘अन्तरिम राष्ट्रपति’ ह्वान ग्वाइडो रहेको बताइएको छ । अमेरिकी सरकारद्वारा पालितपोषित ग्वाइडो अमेरिकी शासकवर्गका खुल्ला गोटी हुन् ।
यसैबीच उक्त असफल आक्रमणबारे शनिबार थप जानकारी दिनुहुँदै भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोले आतङ्ककारी समूहको लक्ष्य त्यस दक्षिण अमेरिकी राष्ट्रमा सत्ता विप्लव र अराजकता निम्त्याउनु रहेको बताउनुभयो ।
राष्ट्रपति माडुरोले भेनेजुयाली सांसद ह्वान ग्वाइडोले नै उक्त आतङ्ककारी समूहलाई भेनेजुयाली राष्ट्रपतिलगायत उच्च अधिकारहिरूको हत्या गर्ने आदेश दिएको पाइएको खुलासा गर्नुभयो । राष्ट्रपति माडुरोको दाबी अनुमानमा आधारित मात्र थिएन । पक्राउ परेका भाडाका लडाकूसित बरामद गरिएको एक दस्तावेजमा उक्त भाडाको लडाकू समूह र ग्वाइडो समूहबीच भएको करार उल्लेखित थियो ।
करारमा ह्वान ग्वाइडो, जोर्डन गोउड्रेउ, जेजे रेन्डन र सर्जियो ग्वेभाराको हस्ताक्षर रहेको छ ।
उच्च प्रविधिका ठूलो परिमाणको अस्त्रशस्त्रसहितको यन्त्रचालित डुङ्गा कोलम्बियाली सरकारको समर्थन र साथविना भेनेजुयाली समुद्र तटसम्म आउनै सक्दैन । त्यसो त कोलम्बियाली राष्ट्रपति डयुकले पटक – पटक अमेरिकी राष्ट्रपति ट्रम्पसित भेनेजुयलामाथि सैनिक आक्रमण गर्न आग्रह गरिरहेकै हुन् । त्यसैले भेनेजुयाली सरकारले कोलम्बियाली सरकारमाथि संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोप लगाउनु र कोलम्बियाली सरकारको निन्दा गर्नु अन्यथा होइन एवम् अन्तर्राष्ट्रिय समुदायसित कोलम्बियामाथि सजाय गर्न माग गर्नु न्यायोचित नै देखिन्छ ।
किन भेनेजुयला अमेरिकी आक्रमणको तारो बनिरहेको छ ?
कोरोना भाइरसको विश्वव्यापी महामारीबीच पनि संरा अमेरिकी शासकवर्गले किन दक्षिण अमेरिकी महादेशको शान्तिप्रिय राष्ट्र भेनेजुयलालाई आक्रमणको तारो बनाउँदै छ ? भेनेजुयलामाथि लागूपदार्थ कारोबार गरेको र राज्य आतङ्कवादको आरोप लगाइएको छ तथा त्यसैको आधारमा सैनिक आक्रमण गर्ने तयारी गरिइँदै छ । भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस माडुरोलगायत देशका १३ जना उच्च अधिकारीहरूमाथि आधारहीन आरोप लगाइएको र उहाँहरूको टाउकोको मोल तोकिएको छ । अर्कोतिर लागूपदार्थ तस्करीविरुद्ध युद्धका नाममा भेनेजुयलामाथि हमला गर्न अमेरिकी जलसेना र वायुसेनालाई क्यारिबियाली सागरको भेनेजुयाली समुद्र नजिकसम्म तैनाथ गरिसकेको छ । कुनै पनि बेला अमेरिकी सेना र भेनेजुयाली सेनाबीच आमनेसामने हुने अवस्था निम्त्याइएको छ ।
भेनेजुयलाविरुद्धको संरा अमेरिकाको साम्राज्यवादी अभियानका अनेकौँ उद्देश्य छन् । तर तीनवटा मुख्य उद्देश्यका रूपमा तिनलाई विश्लेषण गर्न सकिन्छ ।
१) भेनेजुयलाको भू–रणनीतिक शक्ति वा महत्व
दक्षिण अमेरिकी देश भेनेजुयलासित अमेरिकी भोक शान्त पार्ने महत्वपूर्ण प्राकृतिक स्रोत–पेट्रोलको भण्डार रहेको छ । भनेजुयाली राज्य पेट्रोलियम कम्पनी–पीडीभीएसएका अनुसार बोलिभारियाली गणतन्त्र भेनेजुयलासित २,९९,९५४ करोड ब्यारेल कच्चा तेल भण्डार सुरक्षित रहेको छ र त्यो विश्वमा बाँकी रहेको कच्चा तेलको २० प्रतिशत हो ।
संरा अमेरिकी शासकवर्ग भेनेजुयलाको उक्त तेल भण्डार कौडीको मोलमा आफ्नो हात पार्न चाहन्छ, जुन चाहना भेनेजुयलामा समाजवादी वा वामपन्थी सरकार रहेसम्म पूरा हुन सक्दैन । त्यतिमात्र होइन, सुन, बक्साइट, निकेल, फलाम, तामालगायत मूल्यवान् धातुका खानी पनि भेनेजुयलामा रहेका छन्, जसमाथि अमेरिकी व्यापारी समुदायको आँखा परिरहेको छ ।
एन्डिज पर्वत शृङ्खला, क्यारिबियाली सागर र अमेजन बेसीको बीचमा अवस्थित भेनेजुयला विश्वका दस ठूला पिउनयोग्य प्राकृतिक जलभण्डार भएका देशमध्ये एक हो । उक्त जलभण्डारमाथि नियन्त्रण पनि अमेरिकी शासकवर्गको पहिलो प्राथमिकता हो । राष्ट्रपति ह्युगो चाभेजले थालनी गरेको र आजको एकीकृत भेनेजुयाली समाजवादी पार्टीले अगाडि बढाइरहेको बोलिभारियाली राजनीतिक प्रक्रियाले बहुमत जनताको हित, स्वाधीनता, सार्वभौमिकता, तथा ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूको एकतामा जोड दिन्छ । विगत २२ वर्षदेखि भेनेजुयलामा रहेको वामपन्थी सरकारहरूले आफ्नो देशमा अमेरिकी सरकारको पुँजीको भूमिका निषेध गर्दै रुस र चीनसित राजनीतिक, आर्थिक तथा व्यापारिक सम्बन्ध अगाडि बढाइरहेका छन् । ल्याटिन अमेरिका क्यारिबियाली क्षेत्रलाई आफ्नो करेसाबारी मान्ने मुनरो सिद्धान्तका अनुयायी अमेरिकी शासकहरू तथा अमेरिकी एकाधिकार पुँजीका मालिकहरूका निम्ति यो सह्य भइरहेको छैन । भेनेजुयलामाथि सैनिक आक्रमण र त्यसको आडमा त्यहाँ सत्ता परिवर्तन एवम् आफ्ना कठपुतलीहरूको शासन अहिले अमेरिकी शासकहरूको अपरिहार्य आवश्यकता बनेको छ ।
२) अमेरिकी आर्थिक सङ्कटबाट निक्लने बाटो
संरा अमेरिकामाथि सन् २००८ देखि नै आर्थिक मन्दीको असर परिरहेको छ । अफगानिस्तान, इराक, लिबियामाथिको युद्धको खर्चले संरा अमेरिकी अर्थतन्त्रको ठूलो भाग अनुत्पादक क्षेत्रमा खर्च भएको थियो । अफगानिस्तानको युरेनियम र लिथियम भण्डार उत्खनन् एवम् इराक तथा लिबियाको तेल भण्डार कब्जामार्फत ती घाटा पूर्ति गर्न खोजिए पनि त्यो सम्भव भइरहेको छैन । चीनजस्तो सस्तो श्रमशक्तिले वस्तु उत्पादन गर्ने आर्थिक महाशक्तिको उदयले अमेरिकी उत्पादनको एकछत्र राज अन्त्य भएको छ । चीनसित अमेरिकाको व्यापार घाटा बढ्दै गएको छ ।
यसैबीच संरा अमेरिका सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएको देश बनेको छ । हाल करिब १४ लाख अमेरिकी नागरिक कोभिड–१९ बाट सङ्क्रमित बनेका छन् भने ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो आँकडा अझै बढ्दै जाने अनुमान छ । आर्थिक मन्दी निम्तिने भयले समयमै कोरोना रोकथामको निम्ति घरमै बस्ने आदेश वा लकडाउन गर्न ढिलो गर्दा त्यहाँ कोरोनाको महामारी फैलिन पुगेको अमेरिकी महामारी रोगविज्ञहरूको दाबी छ । अन्ततः महामारीले अमेरिकी उद्योग तथा व्यापारिक फर्महरूलाई थला त पारिसकेकै छ, विश्व महाशक्तिको रूपमा प्रचारित संरा अमेरिकाको स्वास्थ्य उपचार प्रणालीको कमजोरी र असफलता उदाङ्गो भएको छ । कोभिड–१९ को महामारी नियन्त्रणमा अमेरिकी राजनीतिक प्रणाली र सरकारको अक्षमता एवम् अव्यवस्थापन छताछुल्ल भएको छ । अभूतपूर्वरूपमा संरा अमेरिका आफ्नो ५० वटै राज्यमा एकैपटक सङ्घीय विपत्ति घोषणा गर्न बाध्य भएको छ । आर्थिक सङ्कट चुलिएको छ र चुलिएको आर्थिक सङ्कट समाधान गर्ने उपायका रूपमा फेरि युद्धलाई अगाडि सार्न खोजिएको छ । संरा अमेरिकाले युद्ध अर्थतन्त्रको रूपमा रहेको आफ्नो अर्थतन्त्रलाई तङ्ग्राउन र आर्थिक तथा भूराजनीतिक फाइदाका लागि अहिले भेनेजुयलामाथि आक्रमण गर्ने बहाना खोजिरहेको छ । युद्ध संरा अमेरिकाका शक्तिशाली सैनिक–अस्त्र उद्योगहरूको माग हो भने भेनेजुयला सबैभन्दा बढी फाइदा दिनसक्ने देशको रूपमा देखापरेको छ ।
भेनेजुयलामाथिको आक्रमणले कोभिड–१९ को महामारीमा अमेरिकी सरकारको अक्षमताबारे छलफलमा केन्द्रित अमेरिकी जनमतको ध्यान सैनिक द्वन्द्वतर्फ मोड्न सकिने विश्वास पनि ट्रम्प प्रशासनको रहेको छ ।
३) निर्वाचन जित्ने दाउ
संरा अमेरिकामा अर्को चार वर्ष शासन गर्ने राष्ट्रपति छान्नका लागि यसैवर्ष निर्वाचन हुँदै छ । संरा अमेरिकाको राष्ट्रपतिमा सधैँ नै युद्धमा विजयी हुने सैनिक कमान्डर जिताउने अघोषित परम्परा रहँदै आएको छ । अमेरिकी राष्ट्रपति अमेरिकी सेनाको परमाधिपति पनि हो । युद्धको समयावधिमा अमेरिकी राष्ट्रपतिलाई देशका सञ्चारमाध्यमलाई एकपक्षीय तवरले प्रयोग गर्ने, देशभक्ति र राष्ट्रवादलाई सशक्तरूपमा बढावा दिने छुट प्राप्त हुन्छ र त्यही नै अमेरिकी राष्ट्रपतिका लागि अर्को कार्यकालका लागि मतादेश प्राप्त गर्नका लागि प्रचार अभियान हुन जान्छ ।
डोनाल्ड ट्रम्पलाई फ्लोरिडालगायत रिपब्लिकन गभर्नर भएका धेरै राज्यहरूमा कोभिड – १९ को स्वास्थ्य सङकट व्यवस्थापनमा असफलता मिलेको थाहा छ । फ्लोरिडा राज्यमा मात्र राष्ट्रपति निर्वाचनका लागि २९ इलेक्टोरल मत छ । फ्लोरिडाको जनमत ल्याटिन अमेरिका र क्यारिबियाली देशका दक्षिणपन्थी कुलीनवर्ग बहुल छ । त्यसैले ती प्रतिक्रियावादी वर्गको मत प्राप्त गर्नका लागि पनि ट्रम्प प्रशासनलाई उनीहरूका मागबमोजिम भेनेजुयला र ल्याटिन अमेरिकाका प्रगतिशील सरकारविरुद्ध युद्ध अपरिहार्य बनेको छ ।
त्यसबाहेक कोभिड–१९ को महामारी टुङ्गिएपछि र तेलको मूल्यको सङ्कट समाधान भएपछि कच्चा तेलको मागमा हुने वृद्धिले टेक्सास हाइड्रोकार्बन उद्योग सङ्कटमा पर्नसक्छ । टेक्सास हाइड्रोकार्बन उद्योग सङ्कटमा परेमा अमेरिकी राज्य टेक्सासबाट प्रतिनिधित्व गर्ने ३८ इलेक्टोरल मत आफ्नो पक्षमा नहुन सक्छ । टेक्सास हाइड्रोकार्बन उद्योगको सम्भावित सङ्कटको समाधान भेनेजुयाली कच्चा तेलले बाहेक गर्न सक्दैन । त्यसैले पनि ट्रम्प प्रशासन भेनेजुयलामाथि आक्रमण र कब्जाको खतरनाक खेलमा अगाडि बढेको छ । भेनेजुयलामाथिको युद्धले अमेरिकी शासकवर्गको सङ्कट समाधान गर्ने हो वा उनीहरूमाथि समाधानै गर्न नसकिने अर्को सङ्कट निम्तिने हो त्यो अहिले नै भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *