भर्खरै :

हो चि मिन्हको सम्झना

काठमाडौँ, ६ जेठ । भियतनामी क्रान्तिकारी नेता हो चि मिन्हको १३० औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भियतनामी जनताका नेता हो चि मिन्हबाट सादा जीवन, क्रान्तिकारी विचार र लगातार अध्ययन गर्ने बानीबाट सिक्न जरुरी भएको बताउनुभयो ।
“हो चि मिन्ह कहिल्यै पद, पैसा र सत्तासुखको पछि लाग्नुभएन । भियतनामको मुक्तिको लागि उहाँले संसारका विभिन्न उपनिवेश देशका जनताबाट सिक्नुभयो र त्यही अनुभव आफ्नो देशमा प्रयोग गर्नुभयो”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले आफ्नो देशको मुक्तिको लागि हो चि मिन्हले आफूसँग भएका सबै क्षमता र प्रतिभाको उपयोग गर्नुभएको चर्चा गर्दै विद्यार्थीहरूले कसैसामु रवाफ देखाउनभन्दा विषयमा विज्ञताको लागि अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
फ्रान्सेली मजदुर आन्दोलनबाट सिक्ने क्रममा हो चि मिन्हले आफ्नो देशको मुक्तिको निम्ति लेनिनवादी विचारधारा उपयुक्त भएको निष्कर्ष निकालेर उहाँ लेनिनवादी बन्नुभएको उहाँले चर्चा गर्नुभयो ।
उहाँले पत्रकारिताको उद्देश्य भनेको स्वतन्त्रताको निम्ति जनतालाई उठाउनु हुनुपर्नेमा नेपालका पत्रकारहरू कालाबजारी र गुण्डाको पैसा लिएर लेख्ने गरेको औँल्याउनुभयो ।
कार्यकताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई एकातिर राखेर देशको हितलाई पहिलो प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्राध्यापक समाज नेपालका सहसचिव सुजन माकले भियतनाम क्रान्तिको इतिहास र हो चि मिन्हको योगदानबारे चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष सविन ख्याजूको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य हृदय दाहाल र जानकी सिजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *