भक्तपुर, ७ जेठ । भक्तपुरका ६३ वटा इँटाभट्टामा कार्यरत २ हजार ९४७ जना भारतीय मजदुरहरू कोरोना भाइरसको महामारीको कारण जारी लकडाउनको कारण स्वदेश फर्किन पाएका छैनन् । अधिकांशतः भारतको बिहार राज्यका मजदुरहरूले सकेसम्म चाँडो घर फर्काउन माग गरेका छन् । तर, नेपाल सरकार र भारतीय पक्षबाट कुनै पहल नभएपछि उनीहरूको घर फर्किने व्यवस्था हुन सकेको छैन ।
नेपालस्थित भारतीय दूतावासले इँटा व्यवसायीहरूको राष्ट्रिय समितिले सातादिन अघि मजदुरहरूको तथ्याङ्क मागेको थियो । सोहीअनुसार भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घले भारतीय मजदुरहरूको नाम, ठेगाना, फोन नं सहितको तथ्याङ्क बुझाइसकेको सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले बताउनुभयो ।
“तर, आजसम्म भारतीय मजदुरहरूलाई घर लाने कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो ।
झन्डै तीन साताअघि नै इँटाभट्टाको काम सकिएकोले ती मजदुरहरू त्यत्तिकै बसेका छन् । उनीहरूलाई हाल खान बस्न सम्बन्धित इँटाभट्टाले नै दिँदै आएको छ । “मे दिवसको अवसर पारेर इँटा व्यवसायीहरूले मजदुरहरूलाई अवस्था सामान्य नहुञ्जेल खान बस्न हप्ताको छ सय रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले खान बस्न व्यवस्था भइरहेको छ”, ह्योम्बाले भन्नुभयो ।
घरमा खेतीपातीको मौसम सुरु भएसँगै भारतीय मजदुरहरू घर फर्किन हतारिएको उहाँले बताउनुभयो ।
बिनाकाम बस्नुपर्दा भारतीय मजदुरहरू रक्सी खाने, झैझगडा गर्ने, यताउति जाने गरेका छन् । भारतीय नागरिक देख्दा एकातिर स्थानीय जनता कोरोना सङ्क्रमणबाट सशङ्कित बन्ने गरेका छन् । अर्कोतिर काम नभएपछि मजदुरहरूबाट विकृतिको सम्भावना बढेको स्थानीयको भनाइ छ ।
भारतीय मजदुरहरू विगत पाँच–छ महिनादेखि नेपालमै भएकोले हालसम्म कुनै कोरोनासम्बन्धी स्वास्थ्य समस्या नदेखिएको व्यवसायी सङ्घका अध्यक्ष ह्योम्बाले बताउनुभयो ।
नेपाल सरकारको सम्बन्धित निकायले पहल गरे भारतीय मजदुरलाई भारतीय सिमानासम्म पु¥याउनुपर्ने उहाँको भनाइ छ । .

Leave a Reply

Your email address will not be published. Required fields are marked *