भर्खरै :

लेनिन कथा – १३ प्रवासको प्रसव

            (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् । अघिल्लो अङ्कमा हामीले १९०५ को असफल रुसी क्रान्तिका घटनाक्रम, लेनिनको प्रथम प्रवासकाल र क्रान्तिमा लेनिनको सक्रिय सहभागिताबारे अध्ययन गर्‍यौँ ।)
लोजुमो गाउँमा
            सन् १९११ । तिनताक फ्रान्स हजारौँ रूसी क्रान्तिकारी प्रवासीहरूको शरणस्थल थियो । लेनिन पनि पेरिसमा बस्थे । वसन्तको अन्त्यमा उनी र क्रुप्सकाया पेरिसबाट करिब पन्ध्र किलोमिटरको दूरीस्थित लोजुमो गाउँमा आए । गर्मी याम यहीँ बिताउने उनीहरूको चाहना थियो ।
            गाउँनजिकै एउटा सडक थियो । रातमा त्यस सडकमा किसानका गाडीहरू गुडेको आवाज आइरहन्थ्यो । बेच्ने उद्देश्यले किसानहरू आफ्ना उब्जनी पेरिस लगिरहन्थे ।
            लोजुमो गाउँका लगभग सबै घर ढु·ाले बनेका । र, ध्वाँसोले गर्दा नराम्ररी काला भएका थिए । गाउँनजिकैको मझौलो छाला कारखानाको चिम्नीले रातदिन धुवाँ ओकलिरहन्थ्यो । त्यसैले घाँस र रुखहरू पनि काला देखिन थालेका थिए । तैपनि खेतहरूमा हरियाली देखिन्थ्यो । लेनिन र क्रुप्सकाया यहाँ आराम गर्न नभई काम गर्न आएका थिए ।
            लेनिन एकाबिहानै उठे । गर्मी यामको सुनौलो बिहानी भए पनि कोठा अँध्यारो र चिसो थियो । त्यतिञ्जेल क्रुप्सकायाले नास्ता तयार गरिदिएकी थिइन् ।
            “श्रीमान्, आज अबेरसम्म सुत्नुभो ! यसको लागि हजुरलाई एक अङ्क,” अपर्झट बिस्ताराबाट उठ्दै लेनिन आफैँसँग बोले । र, हातमुख धोएर क्रुप्सकायालाई मद्दत गर्न गए ।
            अचानक लेनिनको हातबाट नुनको भाँडो चिप्लियो । तर, जमिन छुनभन्दा पहिले नै उनले त्यसलाई झ्याप्पै समाते ।
            “अब भन, म विजेता हैन त ?”
            “हो नि, पाँचमा तीन अङ्क दिन सकिन्छ,” क्रुप्सकायाले जवाफ फर्काइन् ।
            त्यस वर्ष फ्रान्समा उखर्माउलो गर्मी चढेको थियो । सूर्यले बिहानदेखि नै आगो ओकलिरहेको थियो । झालेमाले कुकुर गल्लीमा भित्ताको छायाँमुनि सुतिरहेको थियो । निद्रामै पनि ऊ जिब्रो निकालेर हाँप्दै थियो ।
            “तिमीलाई पनि गर्मी भयो ?” लेनिनले कुकुरलाई मुसार्दै छाला कारखानाको मजदुरलाई अभिवादन गरे ।
            आइतबारको दिन थियो । बाक्लै नसा देखिने आफ्ना हात घुँडामा अड्याएर एक मजदुर भित्ताको छायाँमा बसिरहेका थिए । उनको अनुहार लाम्चो, दुब्लो र असाध्यै थकित देखिन्थ्यो ।
            अगाडि सडकमा एउटा चम्किलो गाडी गयो । त्यसमा जालीदार छतमुनि एक महिला र बच्चा बसेका थिए । हडबडाएर उठ्दै मजदुरले गाडीतिर फर्केर सलाम गरे । महिलाले पनि हल्का शिर झुकाइन् ।
            “हाम्री मालिक्नी हुनुहुन्छ,” मजदुरले आदरपूर्वक भने ।
            “जीवनभर मोजमस्ती त यिनैले गर्ने न हुन्,” लेनिनले व्य·य गरे ।
            मजदुर अलिबेर चुप लागे । अनि विनम्रतासाथ बोले, “भगवानले नै धनी र गरिब बनाउनुभयो, यस्तै हुनलाई त होला ।”
            सडकपारि गिर्जाघरको घन्टी बज्न थाल्यो । आइतबारे प्रार्थनाको समय भएको थियो । मजदुरले आफ्नो छातीमा क्रस चिन्ह बनाए । त्यसपछि “सबै भगवानले सृष्टि गरेका हुन्, यसमा हाम्रो केही सिप लाग्दैन” भन्दै गिर्जाघरतर्फ लम्के ।
            ‘सर,’ नजिकै उभिएको केटाले लेनिनसँग सोध्यो । “स्कूल जान लाग्नुभएको ? छुट्टीको दिन पनि पढाउनुहुन्छ र ?”
            लेनिनको स्कूल बेग्लै थियो । लोजुमोको सडकपारि । झट्ट हेर्दा पनि स्कूलजस्तो देखिन्नथ्यो । पहिला यहाँ विश्रामघर थियो । पेरिस जाने गाडीहरू यहाँ रोकिने गर्थे । ड्राइभर र यात्रुहरू आराम गर्थे । घोडाहरूलाई दानापानी दिन्थे । तर, यो कुरा धेरै पहिलेको थियो ।
            १९११ को वसन्तमा लेनिनले स्कूल खोल्न भूतपूर्व विश्रामघरलाई भाडामा लिए । विद्यार्थीहरूले सरसफाई गरे । फलेक ठोकेर टेबल बनाइयो । छिमेकीहरूसँग मागेर केही पुराना पिर्का र कुर्सीहरू पनि जम्मा गरियो । यसरी लेनिनको स्कूल सञ्चालनमा आयो ।
            विद्यार्थीहरू अरू कोही नभई रूसी मजदुरहरू थिए । जारशाही पुलिसका आँखा छल्दै उनीहरू रूसका विभिन्न नगरहरूबाट यहाँ आएका थिए । तिनका शिक्षक थिए – लेनिन, क्रुप्सकाया र अन्य साथीहरू ।
            लेनिन स्कूल पुग्दा सबै विद्यार्थीहरू आ–आफ्नो स्थानमा बसिसकेका थिए । शिक्षक कोठामा पस्नेबित्तिकै सबैजना उभिए । हाँसउठ्दो कुरा यो थियो, सबैजना खाली खुट्टा थिए । लोजुमोमा जुत्ता पनि लगाउन नसकिने भतभती पोल्ने गर्मी थियो ।
            मजदुरहरू नौजवान थिए । जिज्ञासु र योग्य थिए । लेनिनको व्याख्यान औधी मन पराउँथे ।
            “भगवानले नै धनी र गरिब बनाउनु भयो, यस्तै हुनलाई त होला,” लेनिनले अप्रत्यासित ढङ्गबाट पाठ सुरु गरे ।
            उनको ओठमा व्य·यात्मक मुस्कान थियो र आँखा पनि प्रफुल्लित थिए । विद्यार्थीहरू आश्चर्यमा वाल्ल परी बसेका थिए ।
            “आज एउटा फ्रान्सेली छाला मजदुरले मसँग यस्तै भने,” केही बेर रोकिएर उनले स्पष्टीकरण दिए । यसले गर्दा विद्यार्थीहरूमा उत्तेजना फैलियो ।
            “ए, त्यसो पो ! पक्कै पनि कोही भक्त होला । मास्टर साब, तपाईँको त्यो फ्रान्सेली मूर्खलाई यहाँ ल्याउनुस् । उसको दिमाग हामीले ठीक ठाउँमा ल्याउनेछौँ ।”
            “म पनि छाला मजदुर हँु । तर, मेरो विचारमा भगवानको कानुन हामीलाई काम लाग्दैन । धनीहरूमाथि अंकुश लगाउने र नयाँ समाजको निर्माण गर्ने कानुनको खाँचो छ ।”
            “ठीक भन्यौ,” आसपासका सबैजना चिच्याए । विद्यार्थीहरूको प्रतिक्रिया लेनिनलाई खूब मन पर्‍यो ।
            “उसो भए, धनी र गरिबको विभेद हुनुहुँदैन,” उनले विद्यार्थीहरूको कुरा दोहोर्‍याए । त्यसपछि सजिलै उनी राजनीतिक अर्थशास्त्रको विषयमा आए । राजनीतिक अर्थशास्त्र सामाजिक उत्पादनका नियमहरूको अध्ययन गर्ने विज्ञान हो ।
            लेनिनले मजदुरहरूलाई माक्र्सवादी शिक्षा दिइरहेका थिए । मजदुरहरू पनि जानकार, समझदार र शिक्षित हुनुपर्छ । उनीहरूमा पनि राजनीतिको राम्रो ज्ञान वा पकड हुनुपर्छ । उनको कथन थियो ।
            ईश्वरको जपना गरिरहने त्यो फ्रान्सेली छाला मजदुरजस्तो व्यक्ति क्रान्तिको निम्ति लड्न सक्ला ? हाम्रो रूसमा पनि यस्ता अज्ञानी मजदुरहरूको कमी छैन । पछौटेपनले क्रान्तिकारी सङ्घर्षमा कुनै मद्दत दिन सक्दैन ।
            “मजदुरहरूलाई शिक्षाको खाँचो छ,” लेनिनले जोड दिँदै भनिरहेका थिए ।
            त्यसैले उनले लोजुमोमा पार्टी स्कूल खोलेका थिए । मजदुरहरूले त्यसमा चार महिना पढे । अनि रूसी सर्वहारा वर्गलाई क्रान्तिको निष्ठा र ज्ञानको सन्देश सुनाउन स्वदेश फर्किए ।
            त्यति बेलाको साधारण र नगन्य गाउँ लोजुमोलाई आज सारा संसारले चिन्छ । किनभने, लेनिनले फ्रान्सको त्यो गाउँमा पहिलो पार्टी स्कूल खोलेका थिए ।
युद्धको विरोध
            “मेरी आम्मै ! विपत्ति टर्‍यो भन्नेमा विश्वासै लागेको छैन ।”
            क्रुप्सकायाले लेनिनलाई हेरिरहिन् । उनी यहीँ थिए । जेलमा होइन, आफूसँगै थिए । त्यो पनि सकुशल । आपत टरेको थियो ।
            “दुःस्वप्न थियो । अब भुलिदेऊ,” लेनिनले जवाफ दिए । “बाहिर हेर त, शरद ऋतुमा बर्न कति सुन्दर देखिन्छ है ।”
            उनीहरू अब स्वीजरलैन्डको राजधानी बर्न सहरमा थिए । एकदम स्वतन्त्र । केही समयअघिसम्म लेनिन जेलमा थिए । त्यो पोलैन्डस्थित पोरोनिन सहरको घटना थियो ।
            अगस्त १९१४ मा पहिलो विश्वयुद्ध सुरु भयो । पोरोनिन त्यसबेला अस्ट्रियाको अधिनमा थियो ।
            हजारौँ रूसी, जर्मनेली, फ्रान्सेली, बेलायती, अष्ट्रियाली महिलाहरूले कुम थप्थपाउँदै सायद अन्तिमचोटि आफ्ना श्रीमान र छोराहरूलाई अङ्कमाल गरेका थिए । रूसका गाउँ–ठाउँदेखि गाडीहरू भर्दै जवान र हतियारहरू मोर्चामा पठाइएको थियो ।
            लडाइँको पहिलो दिन नै पोरोनिनमा अस्ट्रियाली पुलिसले लेनिनलाई गिरफ्तार गर्‍यो । उनी रूसी हुनाले । पुलिसले हरेक दिन केही न केही लेख्दै रूस पठाई रहन्थे । अर्थात् उनीहरू जासुस थिए । प्रमाण के त ? प्रमाण नै चाहिँदैन ! पुलिसले नै पठाएपछि पक्कै त्यसो हुनुपर्छ ।
            लेनिनको सजाय मृत्युदण्ड हुन सक्थ्यो । क्रुप्सकाया ठूलो मानसिक तनाव र हताशाबाट गुज्रिनु परेको थियो । दुई हप्ता लेनिन मृत्युको मुखमा थिए । तर, पनि केही साथीहरू भेटिएका थिए । उनीहरूको दौडधुप र अविरल प्रयत्नको फलस्वरूप लेनिनलाई जेलमुक्त गर्न सकियो ।
            पोरोनिनदेखि स्वीजरलैन्डको राजधानी बर्नमा उनीहरू हिजो मात्र आइपुगेका थिए । स्वीजरलैन्ड तटस्थ देश थियो । स्वीजरलैन्डले युद्धमा भाग लिएको थिएन । यहाँ जनजीवन सामान्य रूपमा चलिरहेको थियो । पति वा पुत्र वियोगमा रुँदै छाती पिटिरहेका आमाहरू यहाँ थिएनन् ।
            उनीहरूले कपाकप खाजा खाए, भाँडा माझे र घरबाट निस्किए । गिर्जाघरहरूमा प्रार्थना चलिरहेकै थियो । बर्नको आकाश घन्टाघरका सुमधुर ध्वनीहरूले गुञ्जिरहेको थियो ।
            सधैँजस्तो आज पनि लेनिन र क्रुप्सकाया बर्नको सबैभन्दा सुनसान, छोटो र साँघुरो सडकमा उभिएका थिए । त्यसको नाम डिस्टेलवेग अथवा जडीबुटी सडक थियो । यो कुनै सम्पन्न इलाका थिएन ।
            करिब दस किलोमिटरसम्म लेनिन र क्रुप्सकाया डिस्टेलवेग सडकमा हिँडेका थिए । सहरको पछिल्लो घर पनि काटियो । अगाडि जङ्गल थियो । सेप्टेम्बरको महिना । सुनजस्तै जगमगाइरहेको र·ीबिर·ी जङ्गल । सहर सकिनेबित्तिकै जङ्गल सुरु हुन्थ्यो । जङ्गलले पहाड र डाँडाकाँडा सबै ढाक्थ्यो ।
            एकाएक लेनिन अडिए ।
            “नाद्युशा ठाउँ त यहीँ हो नि ?” त्यस ठाउँमा गोेरेटो छोड्नुपर्ने चिनारी पहिल्याउँदै उनले सोधे । अर्थात्, यहाँदेखि गोरेटो छोडी सुरु· पार गर्नु पथ्र्यो । सुरु· पार गरी उनीहरू करिब बीस पाइला अगाडि बढे । र, हातले झाडी पन्छ्याएर हेरे । अगाडि खाली मैदान देखियो । त्यसमा कोट र बर्सादी बिछ्याएर केही मानिसहरू बसेका थिए ।
            “नमस्ते साथीहरू ।” लेनिनले भने ।
            पछिल्तिर झाडीको एउटा हाँगा भाँचियो । देवदारको हाँगा हल्लियो र झाडीको पछिल्तिरबाट टोकरी हातमा लिएको एउटा मानिस निस्कियो । बर्नका मानिसहरू वनभोज जाँदा यस्तो टोकरीमा खाना लैजाने गर्थे ।
            हिजो बर्न आएपछि लेनिनले एक परिचित रूसी बोल्शेभिकलाई खबर गरेका थिए । उसले दोस्रोलाई बतायो । दोस्रोले तेस्रोलाई । यसरी आउँदो बिहान जङ्गलमा बैठक छ भनी सबैमा खबर पुग्यो ।
            बोल्शेभिकहरू भनेकै समयमा उपस्थित भए । सबैजना लेनिनका कुरा सुन्न उत्सुक थिए ।
            “रूसी जनता र अन्य देशका जनतामाथि लडाइँको बज्र खसेको छ,” लेनिनले बोल्न सुरु गरे । “तर यो लडाइँ कसलाई चाहिन्छ ? पुँजीपतिहरूलाई ! उनीहरू लडाइँले मालामाल भइरहेका छन् । नयाँ–नयाँ सहर कब्जा गर्न लालायित छन् । सबैभन्दा धेरै मुनाफा हत्याउने होडबाजी छ । सिपाही र मजदुरहरूलाई मातृभूमिको रक्षाको नाममा धोका दिइँदै छ । यो वास्तवमा मातृभूमिको रक्षा होइन । केवल पुँजीपतिहरूको मुनाफाको रक्षा हो । हामीले सबै देशका सिपाही, मजदुर, किसानहरूलाई सम्झाउनु छ – सिपाही र कामदार साथीहरू, तपाईँहरूको हातमा हतियार आएको छ । ती हतियार आ–आफ्ना शासक र पुँजीपतिहरूतिर सोझ्याउनुस् ! क्रान्ति गर्नुस् ! यो अन्यायपूर्ण समाजको अन्त्य गर्नुस् । लडाइँविरुद्ध लड्नुस् !”
            लेनिनले यी कुरा जङ्गलमा मात्र भनेनन् । यसबारे लेख पनि लेखे । ती लेख रूसका बोल्शेभिकहरूबीच पठाए । र, बोल्शेभिकहरूले मोर्चाहरूमा गुप्त रूपले सिपाहीहरू र मजदुरहरूबीच प्रचार गरे ।
            सिपाहीहरू लेनिनका लेख पढ्थे र सोच्थे : “साँच्चै यसो गर्दा जाती नहोला र ? बन्दुकका नालजति आफ्ना फ्याक्ट्री मालिक र जमिनदारहरूतिर सोझ्याएर, जारको सत्ता पल्टाएर नयाँ ढङ्गले किन नबाँच्ने ?”
अनुवाद : माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *