निःसन्देह भारत नेपालको छिमेकी राष्ट्र हो । नेपाल र भारतबीच करिब १७ सय ५१  किलोमिटर लामो सीमा छ । गत वर्षको नोभेम्बरमा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई मिचेर नयाँ नक्सा जारी गरेर सो क्षेत्रमा सडक निर्माण गरेपछि नेपालसँग सीमा विवाद चलिरहेको छ । तर, बुधबार (७ जेठ, २०७७) मा नेपालले यी तीनै क्षेत्र समेटेको नक्सा सार्वजनिक गर्‍यो, जसलाई भारतले अस्वीकार गरेको छ । गत नोभेम्बरमा भारतले जारी गरेको नक्सा नेपालले पनि स्वीकार गरेको छैन । कालापानी क्षेत्रमा भारतले सन् १९६२ देखि नै आफ्ना सैनिक राखेको छ । नेपालले पटक–पटक यसको विरोध गरेको भए पनि भारतले हालसम्म सेना हटाउनुको साटो नेपाली भूमिलाई नै आफ्नो दाबी गरिरहेको छ । भारतसँग नेपालको पूर्व मेचीदेखि महाकालीसम्म विभिन्न ५४ स्थानमा सीमा विवाद छ । तर, सशस्त्र प्रहरी बलले गत वर्ष गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार भारतले नेपालका १५ जिल्लाका ९६१ स्थानमा सीमा मिचेको छ । सो विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९, सुनसरीमा ३९, सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १ सय ५१ स्थानमा सीमा विवाद छ । यस्तै, रौतहटमा ८, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सा जिल्लामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ । कैलालीमा २ स्थान र कञ्चनपुरमा २७ स्थानमा विवाद रहेको सशस्त्रले बुझाएको विवरणमा उल्लेख छ ।

            सो विवरण बुझाउँदा सशस्त्र प्रहरीले दार्चुलाको कालापानी क्षेत्र नेपालको भएको पर्याप्त प्रमाण रहे पनि भारतले अतिक्रमण गरेको र नेपालका लागि विशेष भूमि भएकोले विशेष सुरक्षा गर्नुपर्ने सुझाव दिएको थियो । यस्तै, लिम्पियाधुरामा बीओपी राख्ने र लिपुलेक, कालापानी तथा लिम्पियाधुराको सुरक्षा गर्ने उल्लेख थियो । जुन स्थानमा अहिले भारतसँग सीमा विवाद उत्कर्षमा छ ।

            दक्षिण एसियाको सबैभन्दा पुरानो देश नेपाल र भारतबीचको सीमा विवाद नयाँ होइन । तर, पछिल्लोपटक देखिएको विवादको सुरूवातकर्ता भने नेपाल नभएर भारत नै हो । भारतले अत्याचार नगर्दासम्म नेपालीहरू नेपाल र अङ्ग्रेज शासित भारतबीच भएको सुगौली सन्धिले रोपेको खिल सहेरै बसेका थिए । १६ कार्तिक २०७६ मा सर्वे अफ इन्डियाले नेपाली भूमिसमेत राखेर भारतको राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको व्यापक विरोध हुनथाल्यो । किनभने उनीहरूको आठौँ संस्करणको राजनीतिक नक्सामा भारत आफैँले स्वीकारेको नेपाली नक्साभित्रकै भू–भाग आफ्नोतिर पारेको थियो । सुगौली सन्धिले अन्तर्राष्ट्रिय सीमा निर्धारण गरेको काली (महाकाली) नदी हटाउन तीन हप्ताभित्रै नवौँ संस्करणको नक्सा सार्वजनिक गर्‍यो । जबकि नेपाली नक्साभित्रकै कालापानी, लिपुलेकलगायतका क्षेत्रमा भारतले अतिक्रमण गर्दै आएको छ ।

            परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सीमा समस्या समाधानको लागि वार्ता गर्न आग्रह गरेर दुई पटक पठाएको कूटनीतिक नोटलाई भारतले कुनै वास्तै गरेन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतको रूपमा भारत पठाउन लागेको तर उनका समकक्षी नरेन्द्र मोदीले त्यसलाई अस्वीकार गरेका थिए । हामीले घनिष्ठ छिमेकी मित्र राष्ट्र भन्दै आएको देशका शासकहरूको सोच र व्यवहार भने त्यस अनुकूल छैन । भारतले नेपालको प्राकृतिक स्रोत, साधन र बजारमाथि सधैँ कुदृष्टि राखिरहेको छ । त्यसैले नेपाली जनता प्रश्न उठाउन बाध्य छन् – भारत कस्तो छिमेकी हो ?

मजदुर दैनिक सम्पादकीय image
मजदुर दैनिक सम्पादकीय

One response to “भारत कस्तो छिमेकी हो ?”

  1. sumi says:

    Can anyone translate this article into engish and publish it again. Indian people are asking about facts and they don’t know english. This article will be a reply to their questions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *