भर्खरै :

मर्यादित महिनावारीको लागि हाम्रो पहल

सन्दर्भ : मर्यादित महिनावारी महिना (मे २८ लाई विशेष दिनको रूपमा मनाइन्छ)
            महिनावारी प्राकृतिक प्रक्रिया हो । नेपालमा महिनावारीलाई रजस्वला, पर सर्नु, छुई हुनु, भगवान हुनु, मिन्स, बाहिर हुनु, कोड रेड पिरियड्स्, महिला फ्लू आदि विभिन्न नामले बुझिन्छ । यो महिलाको प्रजनन क्षमतासँग जोडिएको विषय हो । किशोरावस्था (सामान्यतः १२–१३ वर्षमा) रजस्वला सुरु हुन्छ ।
            तर, महिनावारीकै कारण संसारका करोडौँ महिलाले अनेक पीडा, असहजता, लाज, डर, चिन्ता र छुवाछूतसँग लड्नुपर्ने हुन्छ । चाहे पश्चिम नेपालकी होस् वा काठमाडौँकी महिला होस् महिनावारी हुँदा कतै माटो, खरानी, पराल र पातको प्रयोग होला, कतै कपडा, प्याड, टपन वा कप । अँध्यारो कोठामा गुफा हाल्ने पुरानो प्रचलन अझै कायमै छ ।
            नेपालमा महिनावारी भनेबित्तिकै प्रायः मानिसहरूको सोचाइ र बुझाइमा छाउगोठ नै रहेको पाइन्छ । नेवारी समुदायमा महिनावारी हुनुभन्दा अगाडि नै गुफा राखी यौन शिक्षा दिने प्रचलन छ । यसलाई सकारात्मक मान्दा पनि सूर्य र पुरुषलाई हेर्न नमिल्ने संस्कार उपयुक्त होइन । महिनावारी हुँदा अन्य विभिन्न समुदायमा महिला कोठामै बस्नुपर्ने र पुरुषहरूलाई छुनै नहुने चलन छ, नत्र सुन–पानीले छर्किनुपर्ने भनिन्छ । गुरु· जातिमा आफ्नै काखको छात्रालाई स्तनपान गराउन नहुने विश्वास छ । रित नमानेको खण्डमा भगवान रिसाउने, पाप लाग्ने, नर्क बास हुने र परिवारमा बज्रपात पर्ने मिथक रहेको पाइन्छ । नेवार समाजमा महिनावारीबारे केही खुकुला नियम भएर पनि पूजा आदि क्रियाकलापमा सहभागी हुननहुने धारणा रहेको पाइन्छ ।
            अन्धविश्वास, गलत धारणा र कार्यहरूलाई नरोकेको खण्डमा शारीरिक, मानसिक र सामाजिक विकृति बढ्ने निश्चित छ । महिनावारीको समयमा सफा, स्वच्छ, सुरक्षित वातावरण आवश्यक हुन्छ । पौष्टिक आहार, आराम आवश्यक हुन्छ । नत्र क्यान्सर, पाठेघरको समस्या देखापर्नसक्छ । महिनावारीबारे कुराकानी गर्न महिला अप्ठेरो मान्छन्, यसबाट अनेक स्वास्थ्य समस्या हुने खतरा हुन्छ ।
            महिनावारी र प्रजननसम्बन्धी पाठ्यक्रम कक्षा ५ देखि नै राख्नु जरुरी छ । स्वास्थ्य शिक्षा पढाउने शिक्षकलाई पनि यसको पूर्ण ज्ञान र तालिम दिन आवश्यक छ । प्रौढ शिक्षाको पाठ्क्रममा पनि यसको समावेश गरिनुपर्छ । यसबाट परिवार र समाजमा यसको सकारात्मक किरण दिगो रूपमा फैलिन सक्छ ।
           अहिलेका विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका र रेडियोमा छोटो चलचित्र, वृत्तचित्र, ट्रल आदिका माध्यमबाट जागरुकता फैलाउन सकिन्छ । विभिन्न प्रोजेक्ट, कार्यक्रम, प्रतियोगिताको आयोजना गरेर पनि समाजमा महिनावारीसम्बन्धी खुलस्त कुरा गर्ने वातावरण सृजना गर्न सकिन्छ । यतिमात्र नभएर विज्ञापन एजेन्सीहरूले पनि महिनावारीलाई लाजको विषय हो भनेर नदेखाई, एउटा प्राकृतिक प्रक्रिया हो र यसमा कुनै असहज मान्नुपर्ने छैन भन्ने कुरा दर्साउन नितान्त आवश्यक छ ।
            प्याड, नेपन आदि किन्दा अवैध सामान लुकाएजस्तो पत्रिका र कालो झोलामा पोको पारेर किन्ने र अझ छोप्ने कार्यहरू बन्द गर्नुपर्छ । महिनावारी लज्जास्पद होइन, यी दिनहरू त राम्रा हुन् भन्ने कुरा बुझ्न र बुझाउनुपर्छ । स्कूल, कलेज, कार्यक्षेत्र र सार्वजनिक स्थलमा फोहोर फाल्ने व्यवस्थित संयन्त्र, साबुन र पानी, सफा सुरक्षित शौचालयको व्यवस्था गर्नुपर्दछ ।
            म महिला हुँ र मेरो महिनावारी हुन्छ । अलि दुखाइ र अप्ठ्यारो हुन्छ तर यो प्रकृतिको सुन्दर उपहार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *