भर्खरै :

भारतीय प्रचारमाध्यमको स्याल हुुइयाँ

भारतको वर्तमान ‘भारतीय जनता पार्टी’ को शासन पहिलेको हिन्दू अतिवादी र दक्षिणपन्थी दल ‘जनसङ्घ’ को सिलसिला हो । भारतीय रक्षामन्त्रीबाट उद्घाटन भएको ‘पिथौरागढ – लिपुलेक सडकको विषयलाई लिएर नेपाल र नेपाली जनताले गरेको विरोध र आपत्तिप्रति लक्षित गर्दै भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले भने – “नेपाल अरू कसैको इसारामा विरोध गर्दै छ ।” (कान्तिपुर– ३ जेठ २०७७)
त्यसबारे ‘हिन्दुस्तान टाइम्स्’ ले सम्पादकीयमा लेख्यो, “चिनियाँ समर्थन प्राप्त ओली सत्तासँग नयाँ दिल्ली सतर्क हुनुपर्छ” । (नयाँ पत्रिका, ८ जेठ २०७७)
जीन्यूज, आजतक, एवीपी न्यूज, इन्डिया टिभी, टाइम्स नाउ, रिपब्लिक टिभी, आदि ‘भाजपा’ समर्थक प्रचारमाध्यमहरू सरकारको इसारा पाउनासाथ नेपाल र नेपाली जनताको विरोधमा खनिन्छन् । भारतलाई सबभन्दा ठूलो प्रजातान्त्रिक व्यवस्था सम्झेका नेपाली प्रचारमाध्यम आश्चर्यमा छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराज श्रीवास्तवले बुधबार विज्ञप्ति जारी गर्दै भने, “नेपालको नयाँ नक्सा भारतलाई स्वीकार छैन ।” (नयाँ पत्रिका, ८ जेठ बिहीबार २०७७)
नेपाल एक स्वतन्त्र एवम् बेलायती साम्राज्यवाद र उपनिवेशवादसँग लडेको देश हो भनी भारत सरकारको कर्मचारीतन्त्र र दक्षिणपन्थी प्रचारमाध्यम किन चिन्तन गर्दै गर्दैनन् ? बेलायती साम्राज्यवादलाई एसियाबाट धपाउन दक्षिण र पूर्वबाट भारत र चीनले प्रत्याक्रमण गर्ने अनि नेपालले बेलायती सेनालाई गुरिल्ला युद्धमा फसाउनेबारे भारतका राजा तथा चिनियाँ सम्राट र राजाहरूलाई पत्र लेखेको थियो, नेपालले । तर, भारतको ग्वालियरका राजाले नेपालका प्रधानमन्त्री भीमसेन थापाको पत्रलाई बेलायतीको हातमा सुम्पेका थिए । त्यस विश्वासघातको कारण बेलायतले नेपालको राजदरबारमा षड्यन्त्र गराई भीमसेन थापाको हत्या गरायो र उनको टाउको बेलायत लग्यो । बेलायतीहरूले एसियाली देशहरूबीच ‘फूट गर र राज गर’ को सिद्धान्त लागू गरेका थिए ।
ब्रिटिस–इन्डियाले राणा शासक र गोर्खाली सिपाहीहरूमार्फत भारतीय स्वतन्त्रता आन्दोलन दबाउन खोज्दा नेपाली जनताले त्यसको विरोध गरेका थिए । नेपाली युवाहरू पनि भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक भए । भारतीय स्वतन्त्रता सङ्ग्रामका नेताहरू पनि गुप्तरूपले नेपालमा आएर काम गर्थे भने अङ्ग्रेजहरू नेपालको प्रजातान्त्रिक आन्दोलन दबाउन राणा शासनलाई मद्दत गर्थे ।
नेपाली जनतालाई थाहा छ बेलायती उपनिवेशवादीहरूले ‘स्वतन्त्रता’ त दिए तर हिन्दू र मुसलमानबीच विभाजन ल्याएर एक–दुई वर्षमा लाखौँलाख भारतीय जनताको हत्या गराए । त्यो विभाजनको झगडा आज पनि बाँकी छ । बेलायती उपनिवेशवादीहरूले भारत र चीनको विरोधमा सीमा झगडाको बिउ रोपेर गए ।
त्यो त जगजाहेर छ – साम्राज्यवादी र उपनिवेशवादीहरू आफ्नो उपनिवेश पुनः स्थापना गर्ने उद्देश्यले झगडाको बिउसहित आफ्ना दलालहरू छोडेर जान्छन् । ठूला उद्योगपति, कालाबजारिया, प्रतिक्रियावादी र अपराधीहरूमार्फत उपनिवेशहरूमा अशान्ति, हत्या–हिंसा, मनमुटाव र साम्प्रदायिक भिडन्तहरू गराइरहन्छन् । त्यसैले भन्ने गरिन्छ – ‘सर्प मर्छ तर उसको पुच्छर हल्लिरहन्छ’, ‘माछा मर्छ तर त्यसको आँखा खुलै रहन्छ’ । बेलायती उपनिवेशवादले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा ६० को दशकमा हर ३ महिनामा एउटा न एउटा फौजी विद्रोह गराएको भारतीय प्रचारमाध्यमका गम्भीर चिन्तकहरूलाई जरुरै अवगत होला !
भारतको दक्षिणपन्थी प्रचारमाध्यममध्ये केहीले भारत नेपालभन्दा २२ गुणा ठूलो छ, सैनिक, आर्थिक र जनसङ्ख्याको हिसाबले पनि धेरै शक्तिशाली छ भनी प्रचार गरे । भारतीय मित्रहरूलाई थाहै होला बेलायती साम्राज्यवादले २ सय वर्ष भारतमा राज ग¥यो । तर, बेलायत भारतभन्दा क्षेत्रफल र जनसङ्ख्यामा सानै थियो । गोआ, डामन, र पाण्डिचेरी कब्जा गर्ने यूरोपेलीहरू भारतभन्दा ठूला थिएनन् ।
इतिहासको नियम आफ्नै छ – अमेरिकी साम्राज्यवादलाई भियतनामी जनताले झुकाई छाडे, त्यस्तै अफगानी जनताले सोभियत सङ्घलाई । यसकारण, न्यायपूर्ण लडाइँ र अन्यायपूर्ण लडाइँबीचको चरित्र फरक हुनु स्वाभाविक छ ।
आज ट्रम्प र मोदीको मित्रता हिजोको मुसोलिनी र हिटलरको मित्रता जस्तै छ भन्नेबारे हाम्रा भारतीय सचेत प्रचारमाध्यमका मित्रहरू जरुरै सचेत हुनुहुन्छ । भारतीय प्रचारमाध्यम वा पत्रकारिता अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादबाट जोगिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *