भर्खरै :

कोभिड–१९ पछिको शिक्षा व्यवस्था

 कोभिड १९ पछिको शिक्षा व्यवस्था कस्तो होला ? के शिक्षा व्यवस्थामै कुनै उथलपुथल आउला ? यो सम्भावनालाई नकार्न सकिन्न । जसरी प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धले विश्वको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्यायो त्यसरी नै कोभिड–१९ ले विश्वको नयाँ चित्र बन्नसक्छ भन्ने परिकल्पना पनि गर्न थालिएको छ । कोभिड–१९ लाई तेस्रो विश्वयुद्धको संज्ञा दिन थालिएको छ । विश्वव्यवस्था नै परिवर्तनको सङ्घारमा पुगेको छ । लुट र शोषणमा आधारित समाज बन्दोबस्तमै परिवर्तन आउने सङ्केतहरू देखिन थालेका छन् । किनभने, राजनीतिक उथलपुथल सबै परिवर्तनको अग्रमोर्चामा हुने गर्छ । राजनीतिक परिवर्तनले नै आर्थिक एवम् सामाजिक परिवर्तन हुन्छ । यस मानेमा कोभिड–१९ शिक्षा क्षेत्रको निम्ति पनि एउटा विशाल कोशेढुङ्गा हुने देखिन्छ ।
चौथो औद्योगिक क्रान्तिसम्म
आजको युगलाई सूचना–प्रविधिको युग पनि भनिन्छ । विज्ञान र प्रविधिको विकाससँगै संसारले फड्को मारेको छ । विश्लेषकहरूले यसलाई चौथो औद्योगिक क्रान्तिको नामकरण गरेका छन् । १८ औँ शताब्दीको अन्ततिर भएको वाष्प इन्जिनको आविष्कारसँगै बेलायतमा १९ औँ शताब्दीको सुरुआतमा प्रथम औद्योगिक क्रान्ति भयो, पुँजीवादको विकास भयो, उपनिवेशको सुरुआत भयो, लुटतन्त्र सुरु भयो, करिब एक शताब्दीमा बेलायतको अर्थतन्त्र पाँच गुणा बढ्यो । करिब एक शताब्दीपछाडि, १९ औँ शताब्दीको अन्ततिर बिजुली, ग्यास र पेट्रोलबाट उत्पादन हुने ऊर्जाको प्रयोगबाट चल्ने नयाँ प्रविधिको विकास भएपछि औद्योगिक उत्पादनमा आमूल परिवर्तन आयो । डिजेल तथा पेट्रोल इन्जिनको विकासले दोस्रो औद्योगिक क्रान्ति ल्यायो, खासगरी संरा अमेरिकामा । बीसौँ शताब्दीको सुरुआतसम्ममा अटोमोबाइल र हवाइजहाजसम्मको आविष्कार भयो । जस्तो, अमेरिकाली फोर्ड कम्पनी । बजार कब्जा गर्ने सिलसिलामा विभिन्न देशमाथि साम्राज्यवादी आक्रमण सुरु भयो । यसरी पुँजीवाद क्रमशः साम्राज्यवादमा रूपान्तरित भयो । संरा अमेरिकाको कुल गार्हस्थ उत्पादन पनि पाँच गुणा बढ्यो । यसरी प्रथम र द्वितीय औद्योगिक क्रान्तिले बेलायत र अमेरिकालाई सबभन्दा बढी फाइदा भयो तर ती देशले अन्य देशलाई प्रविधि हस्तान्तरण गरेनन् । सन् १९५० तिर तेस्रो औद्योगिक क्रान्तिले इलेक्ट्रोनिक्स, दूरसञ्चार एवम् कम्प्युटरको विकास ग¥यो । नयाँ प्रविधिले अन्तरिक्ष अभियान, अनुसन्धान र जैविक प्रविधिको ढोका खोल्यो । उद्योगको संसारमा रोबोटले उच्च तहको यान्त्रिकीरण ल्यायो । सञ्चार–प्रविधिको विकासले प्रविधि स्वयम्लाई पनि विश्वव्यापीकरण गरिदियो । प्रविधि पश्चिमा देशमा मात्र सीमित भएन, पूर्वीय देशहरूमा पनि पुग्यो । सँगै साम्राज्यवादी लुटतन्त्रको विरोधमा विभिन्न देशमा स्वतन्त्रता आन्दोलन हुन थाले । तेस्रो सहस्राब्दीको सुरुआतमा इन्टरनेटको आविष्कार भएपछि चौथो औद्योगिक क्रान्ति भएको मानिन्छ । अब शिक्षामा सूचना तथा सञ्चार प्रविधि (आइसीटी) को प्रयोग व्यापक हुँदै छ । अहिले मानिसले जस्तै सोच्ने र काम गर्ने मेसिनको विकास भएको छ । मानिसको अनुहार तथा बोली चिन्ने, गणितीय समस्या समाधान गर्ने, सिक्ने र योजना बनाउने काम यन्त्रले गर्न थालेको छ । आर्टिफिसल इन्टेलिजेन्स (एई) अर्थात् कृत्रिम बौद्धिकताको प्रविधिले संसारलाई कहाँसम्म पु¥याउने हो, अहिले यसै भन्न सकिन्न । विश्वको अर्थतन्त्र आइसीटीमै आधारित हुन थालेको छ भन्दा फरक परेन । तर, यसबाट मानिस–मानिसबीचको आर्थिक, सामाजिक एवम् बौद्धिक क्षमतामा आजसम्म नदेखिएको विशाल खाडल सृजना हुन्छ भन्ने विश्लेषण सान्दर्भिक छ ।
महामारीपछिको शिक्षा
शिक्षा, चेतना, राजनीतिक व्यवस्था र समाजको रूपान्तरण एकअर्कासँग सापेक्ष विषय हुन् । शिक्षा र विज्ञान–प्रविधिले उत्पादन र उत्पादन सम्बन्धमा व्यापक परिवर्तन ल्यायो, समाजको संरचनामा परिवर्तन आयो । कस्तो खालको परिवर्तन भन्दा उत्पादनका साधन कसको हातमा छ भन्ने आधारमा समाजमा आधारभूत परिवर्तन हुनेगर्छ । राज्य संरचनाको विशेषताले त्यहाँको सामाजिक संरचना निर्माण हुन्छ । जस्तो देश उस्तै भेष भन्याजस्तो । शिक्षा बन्दोवस्तलाई राजनीतिक व्यवस्थाको एक अङ्गको रूपमा लिन सकिन्छ । अथवा कुनै पनि राजनीतिक व्यवस्थाले आफूलाई चाहिने जनशक्ति तयार पार्न शिक्षा संरचना निर्माण गरेको हुन्छ । कस्तो खालको समाज निर्माण गर्ने भन्ने सिद्धान्त समाजको आर्थिक–सामाजिक बन्दोबस्तले नै निर्धारण गरेको हुन्छ  ।
कोरोना भाइरसको महामारीले विश्वलाई कतातिर डो¥याउला भन्ने बहस पनि प्रारम्भ भएको छ । कोभिड–१९ को महामारीले विश्वका १५० देशका ७२ प्रतिशत विद्यार्थी घरमै बन्द प्राय छन्, नेपालका ७० लाख केटाकेटी विद्यालय जानबाट वञ्चित छन् । नेपालमा अनलाइन एवम् भर्चुअल कक्षा, गुगल सिकाइको आवश्यकताबारे बहस भर्खर थालिएको छ । विद्यालयमा आइसीटी प्रयोगबारे छलफलले सघनता पाएकोे छ । अब पुस्तक पढ भन्दा विद्यार्थी मान्दैनन्, चाहिएको अनलाइन सामग्री पढ्छन् भन्ने चर्चा पनि हुन थालेको छ । सामान्यतः अनलाइन पढाइ सस्तो र सजिलो हुन्छ । यद्यपि, साधनस्रोतमा पहुँचजस्ता सापेक्षताको कुरा आइहाल्छन् । आइसीटी ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ जस्तै भइरहको यथार्थ भने लुकाउन सकिन्न । प्रविधिमा पहुँच मुख्य प्रश्न हुन्छ, संसारमै । नेपालको सन्दर्भमा इन्टरनेट कसको पहुँचमा छ ? बिजुली पनि नपुगेका गाउँ छन् नेपालमा । इन्टरनेट सुलभ छैन । आइफोन, कम्प्युटर वा ल्यापटप सामान्यजनले किन्न सक्दैन । यस्तो अवस्थामा नेपाली समाजको एक खण्ड अझ धेरै पछाडि पर्ने सम्भावना छ । असमानताको खाडल झन् गहिरिने सम्भावना छ । हतियार जतिसुकै प्रभावकारी भए पनि यदि कामदारवर्गको पक्षमा प्रयोग हुँदैन वा कामदारवर्गकै हितविपरीत कुनै हतियार प्रयोग हुन्छ भने आउने परिस्थिति के कस्तो होला भनेर गम्भीर छलफल गर्नुपर्ने आवश्यकता छ ।
युनिसेफले कोभिड–१९ पछि गरिब विद्यार्थीहरू विद्यालय फर्किन नसक्ने आँकलन गरेको छ । आगामी दिनमा नेपालमा पनि बेरोजगारी बढ्ने सम्भावना धेरै छ । महँगी झन् बढ्ने छ । शोषण बढ्ने सम्भावना छ । त्यस अवस्थामा सर्वसाधारणको निम्ति विद्यालय जाने काम अनुत्पादक पनि हुने सम्भावना छ । केटाकेटी फेरि एकपटक बाल मजदुरमा परिणत हुने सम्भावना छ । यसरी गरिब झन् गरिब हुने सम्भावना छ । अन्धविश्वास र कुसंस्कारमा थप जटिलता आउने सम्भावना छ । तर, जसरी इबोलाको महामारीपछि अफ्रिकामा शिक्षा बजेट बढाइयो, त्यसरी शिक्षामा ध्यान केन्द्रित गर्ने हो भने स्थिति फरक हुन्छ । बीसौँ शताब्दीको सुरुतिर भएको स्पेनिस फ्लुपछि युरोपले ठूलो परिवर्तन ल्यायो, शिक्षाको जगमा टेकेर । अब शिक्षामा लगानीमा व्यापक वृद्धि गर्नु जरुरी हुनेछ ।
अब समाजवादी शिक्षा
कोभिड–१९ को नियन्त्रणमा नवउदारवादी अर्थतन्त्र आत्मसात् गर्ने पुँजीवादी देशहरू पछाडि परेका र समाजवादी देशहरूले आफ्ना सारा अप्ठेराहरू हुँदाहुँदै अन्तर्राष्ट्रिय मानवीय सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले विश्वव्यवस्थाबारे नयाँ शिराबाट बहस थालनी भएको छ । अन्तर्राष्ट्रवादले फेरि एकपटक चर्चाको चुली छोइरहेको छ । आजका विश्लेषकहरू त्यो मानवीय भावनाको जरातिर पुग्न खोज्दै छन् । मलाई लाग्छ – समाजवादी शिक्षाले नै सुन्दर समाज निर्माणको पृष्ठभूमि तयार पार्न सक्छ ।
चेतनाको कुरा गर्दा मुख्यतः उत्पादनका साधन र उत्पादन सम्बन्धको कुरा आउँछ । हिजोजस्तै उत्पादनका साधन पुँजीपतिवर्गकै हातमा रहेको खण्डमा उही नाफा, व्यक्तिगत स्वार्थ, पैसा आदिमै समाज रूमलिन्छ । शिक्षा र स्वास्थ्य पनि नाफाका माध्यम बनिरहने छन् । अमेरिका, ब्राजिल, भारत, युरोपका विभिन्न देशमा कोभिड–१९ को महामारी नियन्त्रण काबुबाहिर छ । ती देशहरूमा स्वास्थ्य उपचारमा राज्यको भूमिका कमजोर छ, स्वास्थ्य क्षेत्रमा निजीकरण लागू छ । नाफा जहाँ हुन्छ, त्यतै लगानी गर्ने पुँजीवादी नवउदारवादको आधारभूत सिद्धान्त हो । मास्क उत्पादनमा नाफा नभएकोले उत्पादन र भण्डारणमा ध्यान दिइएन, मास्कको हाहाकार भयो । यो सामान्य उदाहरण हो । कतिपय विषयमा जनतामा के चिजको माग छ भन्ने भन्दा जनतालाई के चाहिन्छ भन्नेमा ध्यान दिनुपर्ने हो । उपभोक्तावाद पुँजीवादकै उपज हो । आफ्नो स्वार्थको निम्ति मनलाग्दी प्रकृतिको दोहन गर्दा प्रकृतिको व्यापक विनाश भयो, परिणामतः रोगव्याधी बढ्यो । यसमानेमा कोभिड–१९ पुँजीवादकै उपज हो भन्दा फरक पर्दैन । विगत दुईसय वर्षमा जति प्रकृतिको विनाश भयो, जति प्रदूषण बढ्यो, त्यस अघिको १० हजार वर्षमा पनि भएको थिएन । मानिसमा सामूहिक भावनाभन्दा व्यक्तिवादी संस्कृतिको विकास पुँजीवादले नै गरेको हो । कविशिरोमणि लेखनाथले पुँजीवादकै विशेषता भनेको हुनुपर्छ, ‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ म बाचूँ मै नाचूँ अरू सब मरुन् दुर्वलहरू’ ।
कोभिड–१९ को महामारीले विश्वलाई गाँजेको अवस्थामा त्यसले सामूहिक भावना, विश्वग्राम र भ्रातृत्व, सहयोगको आदानप्रदानलाई शिक्षाको आधारभूत मान्यताको रूपमा स्थापित गर्न जोडबल गरेको छ । कुनै एक देश वा सहरमा फैलिएको रोगले अन्य देशलाई पनि प्रभावित पार्नसक्छ । त्यसैले कुनै देशमा फैलिएको रोगप्रति कोही तमासे बन्न सक्दैन । होइन भने भविष्यमा त्यही शैली प्रत्युत्पादक हुन्छ भन्ने प्रमाणित गरेको छ, कोभिड–१९ ले । अर्कालाई खाने बाघले आफूलाई पनि खानसक्छ भन्ने सोच नराख्दा र खालि नाफाको हिसाबकिताबमै केन्द्रित रहँदा अमेरिकाजस्तो सबभन्दा ठूलो पुँजीवादलाई कोभिड–१९ ले हायलकायल बनाएको छ । सामाजिक भावना, मानवीय संस्कार, मानव सेवा, मानव प्रथम, मानवीय मूल्यमान्यता, ‘एकको निम्ति सबै, सबैको निम्ति एक’ जस्ता समाजवादी संस्कृतिका आयामहरू एकपटक फेरि धरातलमा देखिए । समाजवादी चीन र क्युवाले शिक्षा र स्वास्थ्यलाई अगाडिदेखि नै राज्यको सबभन्दा मुख्य जिम्मेवारीको रूपमा स्वीकार्दा त्यहाँको अवस्था बनेको हो भनेर आत्मसात् गर्न के को लाज !
अन्त्यमा यति त भन्नैपर्ने समय आएको छ – अबको समाज समाजवादी हुनेछ । समाजवादी संस्कृति निर्माणको निम्ति समाजवादी आर्थिक–सामाजिक बन्दोवस्त नै चाहिन्छ । समाजवादी शिक्षाले समाजवादी समाजको निर्माण गर्न मद्दत गर्छ । व्यक्तित्व विकासमा समान अवसरले समाजमा शान्ति ल्याउँछ, उत्पादन–श्रमसँग जोडिएको शिक्षाले विकास र समृद्धि ल्याउँछ । त्यसैले कोभिड–१९ पछि हाम्रो समाजले एक ऐतिहासिक फड्को मार्नेछ, समाजवादी शिक्षा व्यवस्था तर्फको लामो फड्को । यही अपेक्षा गरौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *