मिनियापोलिस, १७ जेठ (एपी) । संयुक्तराज्य अमेरिकाका दर्जनौँ सहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ ।
अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ ।
प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशङ्कामा पक्राउ परेका थिए ।

A protester confronts San Jose police as they advance on Friday, May 29, 2020, in San Jose, Calif., as people demonstrate nationwide in response to George Floyd dying while in police custody on Memorial Day, in Minneapolis. (AP Photo/Ben Margot)

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ ।
अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ ।
प्रहरीको उक्त क्रुरतासँगै सुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रूप लिएको छ । बिहीबार प्रदर्शनकारीहरूले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।
हिंसाले उग्र रूप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी सहरभर कफ्र्यु लगाएको घोषणा गर्नुभएको थियो । तर सहरको दक्षिणी भागमा हजारौँं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । सुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरूले कारहरूमा आगो लगाइदिनुका साथै पसलहरू तोडफोड गरियो । अन्ततः भीडले सहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो ।
यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुनेक्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलसलगायतका ठूला अमेरिकी सहरहरूमा परिस्थिति विस्फोटक बनेको छ ।

मिनियापोलिसको मिन्नासोटामा आयोजित प्रदर्शनमा प्रहरीको अश्रुग्यासबाट जोगिन भागदौड गर्दै प्रदर्शनकारी (एएफपी)

प्रदर्शनमा सहभागी मिनियापोलिसका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिनुभयो । फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उहाँ भन्नुहुन्छ, “म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।”
प्रहरी चौकी घेर्न पुगेका कतिपय “प्रहरीलाई कारबाही गर” भन्दै नारा लगाउँदै थिए ।
उत्तरी क्यारोलिनाको फोर्ट ब्राग र न्यू योर्कको फोर्ट ड्रमका ब्यारेकका सैनिकलाई तम्तयार रहन आदेश दिइएको छ । सेना परिचालनको आदेश जारी भएको खण्डमा चार घण्टाभित्र कार्यस्थलमा तैनाथ भइसक्ने गरी तयार रहन रक्षा मन्त्रालयले निर्देश गरेको छ ।
कोलोराडोको फोर्ट कार्सन तथा कन्सासको फोर्ट राइलेका सेनालाई पनि २४ घण्टाभित्र तयार भइसक्न आदेश दिइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिस सहरका केही भागमा लुटपाट र आगजनीका घटना उग्र बन्दै गएपछि प्रदर्शनलाई नियन्त्रणमा ल्याउन रक्षामन्त्री मार्क एस्परलाई सैनिक विकल्पमाथि विचार गर्न मौखिक आदेश दिनुभएको थियो ।
ट्रम्पले बिहीबार राति ओभल अफिसबाट रक्षामन्त्री एस्पर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र अन्य उच्च पदाधिकारीलाई फोन गर्नुभएको थियो । त्यसक्रममा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई मिनियापोलिसको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गर्नुभएको रक्षास्रोतले जनाएको छ ।
रक्षा मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुनेछ । यसअघि यो ऐन सन् १९९२ मा रड्नी किङको सुनुवाइका क्रममा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो ।
मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका करिब ५०० राष्ट्रिय गार्ड सैनिकलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाउनुभएको छ ।
तर पेन्टागनका एक प्रवक्ताले वाल्जले सैनिक परिचालनका लागि आदेश नदिएको दाबी गरेका छन् ।
ह्वाइट हाउसकी सञ्चार निर्देशक एलिसा फराहले सेना परिचालनको सम्भावनाबारे ह्वाइट हाउसले कुनै निर्णय नगरेको स्पष्ट गर्नुभयो ।

प्रदर्शनकारीले एटलान्टास्थित सिएनएनको मुख्यालयका झ्यालका सिसा फुटाइदिएका छन् । प्रहरीको कारमा आगो लगाउनुका साथै बोटलले प्रहरीले हिर्काएका छन् । उता न्यूयोर्क, ह्यूस्टन, वासिङ्टन डिसी र अरू दर्जनौँ सहरमा विरोध प्रदर्शन भइरहेका छन् । तुलनात्मकरूपमा शान्तिपूर्ण भएका यी प्रदर्शनमा सहभागीहरूले सडक अबरुद्ध गर्नुका साथै कतिपय ठाउँमा प्रहरीसँग झडप भएको छ ।
शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेको बताउनुभयो । उहाँले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताउनुभयो ।
फ्लोयडको मृत्युका बारेमा राज्य र सङ्घीय निकायहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

जेम्स ल्यापोर्टा image
जेम्स ल्यापोर्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *