हाइड्रोक्लोरोकुइन औषधि कोभिड–१९ को उपचारको लागि प्रभावकारी भएको संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको अभिव्यक्तिले अमेरिकी स्वास्थ्य उपचार प्रणालीमा ठुलठुला औषधि कारखानाको प्रभावबारे बहस पुनः तताएको छ । उनले यो औषधिबारे यस्तो अभिव्यक्ति नदिएका भए विषम ज्वरो (मलेरिया) उपचारको लागि प्रयोग हुँदै आएको यो औषधि कोभिड–१९ को उपचारको लागि पनि प्रभावकारी भएको भन्ने गलत सूचना भनी मानिसहरूले सहजै नपत्याउन सक्थे । गत साता आयोजित पत्रकार भेटघाटमा उनले आफूले हाइड्रोक्लारोकुइन औषधि सेवन गरिरहेको हुनाले सार्वजनिक थलोमा मुखमा मास्क लगाउनु नपरेको भनी बोलेका थिए ।
राष्ट्रपतिले कोरोना भाइरसका बिरामीको नजिकको सम्पर्कमा आउने अग्रमोर्चाका स्वास्थ्यकर्मीहरूको छनोटमा हाइड्रोक्वोरोकुइन औषधि परेको भन्दै त्यसको प्रयोगको लागि सहज बनाइदिएका थिए ।
गत सोमबार ट्रम्पले आफूले हाइड्रोक्लोरोकुइनको तोकिएको मात्राको सेवन पूरा गरेको बताए । उनले औषधिबाट आफूलाई कुनै हानि नपु¥याएको पनि बोले । अझ अघि बढेर उनले आफू अहिलेसम्म स्वस्थ रहनुको कारण सो औषधिको सेवन हुनसक्ने दाबी गरे । उनका यस्ता अभिव्यक्तिले हाइड्रोक्लोरोकुइनबारे चालू बहसले नयाँ रूप लिएको छ ।
मार्च महिनासम्म संरा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कोभिड–१९ को उपचारको निम्ति हाइड्रोक्लोरोकुइन औषधि उपयोगी भएको भन्न छोडेको थिएन । तर, मेडिकल क्षेत्रका विज्ञहरूको चर्को विरोधपछि ट्रम्पको दबाबबीच पनि सीडीसीले सो मान्यताबाट पछि हट्यो । यो साताबाट फ्रान्स, इटाली, बेल्जियम, बेलायतलगायत विभिन्न युरोपेली देशका सरकारले कोरोना भाइरसको उपचारको लागि हाइड्रोक्लोरोकुइन औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अब प्रश्न उठेको छ–विश्व स्वास्थ्य स·ठन र अमेरिकाकै खाद्य तथा औषधि प्रशासनलगायत स्वास्थ्य र औषधिसम्बन्धी संसारकै अगुवा संस्था र स·ठनहरूले समेत प्रतिबन्ध लगाएको औषधि प्रयोग गर्न ट्रम्प किन जोडबल गरिरहेका छन् ?
दुई महिनाअघि ट्रम्पले कोरोना भाइरसको खोप किन्ने प्रयास गर्दा उनी र ठुला औषधि कम्पनीहरू विवादमा परेका थिए । संरा अमेरिकी सञ्चारमाध्यमले औषधि किन्ने यस्तो प्रयासलाई ‘नाफामुखी औषधि अनुसन्धान’ भन्दै आलोचना गरेका थिए । औषधि कम्पनीहरूले नाफालाई भन्दा सार्वजनिक हितलाई बढी प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
यो निकै जेलिएको अवस्था हो । तर, यसले एकातिर कोरोना भाइरसको कारण आइलागेको सामाजिक–आर्थिक र राजनीतिक मन्दीले निम्त्याएको निराशा र त्यसको उपचारको हतारो देखाएको छ । अर्कोतिर यसले अमेरिकीहरूको औषधि अत्याधिक सेवन गर्ने ‘नशा’तर्फ सङ्केत गरेको छ । यस परिस्थितिमा अमेरिकी स्वास्थ्य प्रणालीमा ठूला औषधि कम्पनीको भूमिका अझ उजागर गरिदिएको छ ।
अमेरिकी सीडीसीले हालै प्रकाशित गरेको लेख ‘अमेरिकामा औषधि अत्यधिक प्रयोग ः तथ्याङ्कदेखि कामसम्म’ ले अमेरिकी स्वास्थ्य प्रणालीभित्रको सङ्कटलाई राम्ररी उजागर गरेको छ । सीडीसीका अनुसार औषधिको अत्याधिक प्रयोग गर्ने अमेरिकी समस्याको निम्ति बिस्तृत, क्रमिक र तत्काल समाधानका तरिका थालनी गर्न जरुरी छ ।
गत वर्षको अक्टोबर महिनामा अमेरिकाको ओहायो राज्यका दुई काउन्टीले ओपिड नामको औषधिका उत्पादक र अन्य प्रमुख औषधि वितरकदेखि औषधि पसल, अस्पताल र क्लिनिकहरूविरुद्ध दुई वटा मुद्दा दायर गरे । उनीहरूले २६ करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेका छन् । ‘औषधिको अत्यधिक प्रयोग गर्ने महामारीले लाखौँ अमेरिकी मारिएको’ भन्दै उनीहरूले अमेरिकी ठुला औषधि कम्पनीको अनैतिकताविरुद्ध मुद्दा दायर गरेका थिए ।
ओपिडलाई हेरोइनजस्तै एउटा नशालु पदार्थसँग तुलना गरिन्छ । तर, स्वास्थ्य उपचारमा यो औषधि चिकित्सकले लगातार टाउको दुख्ने र माइग्रेनका बिरामीलाई दुःखाइ कम गर्न दिने गर्छन् ।
अमेरिकी औषधि कम्पनीहरूले कमाउने नाफाको तुलनामा उनीहरूसँग मागिएको क्षतिपूर्ति निकै न्यून हो । तथ्याङ्कअनुसार सन् २०१८ मा चिकित्सकले सिफारिस गरेका औषधिको लागि अमेरिकीहरूले ५ खर्ब ३५ अर्ब अमेरिकी डलर खर्च गरेका थिए । सन् २०१० को तुलनामा यो ५० प्रतिशतले बढी हो । सन् २०११ देखि २०१५ सम्ममा सबभन्दा बढी प्रयोग हुने औषधिमा ४० देखि ७० प्रतिशतसम्म मूल्यवृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
सन् २०१४ मा फोब्र्समा प्रकाशित लेखमा डा.रोबर्ट पल्र्सले संसारका अरू कुनै पनि देशको तुलनामा अमेरिकीहरूले औषधिको बढी मूल्य तिर्ने गरेको बताएका थिए ।
अमेरिकी जनताले औषधिको यसरी धेरै मूल्य तिर्नुपर्ने आजको अवस्थाको निम्ति अरू धेरै कुरा जिम्मेवार हुँदाहुँदै औषधिको लागि आफूले तोकेको मूल्य तिर्नुभन्दा बाहेक अमेरिकी जनतासँग अरू कुनै विकल्प नभएको अमेरिकी औषधि कम्पनीलाई थाहा छ । त्यही पनि बढी मूल्यको एउटा कारण बनेको छ । स्वास्थ्य बीमा नगराइएका अमेरिकी जनताको लागि अस्पतालमा भर्ना भएर उपचार गर्नु निकै महँगो पर्छ । त्यही डर देखाएर ठुला औषधि कम्पनीहरूले औषधिको बढी मूल्य तिर्न जनतालाई बाध्य पार्छन् ।
ओबामाकेयर भनी निकै चर्चित बिरामी सुरक्षा र सुलभ उपचार ऐन, २०१० को विपक्षीहरूले निकै खेदो खने, विवादमा ताने । तर, त्यो कार्यक्रमले निकै प्रतिकूलतामा बाँचेका अमेरिकीहरूलाई सुलभ स्वास्थ्य सेवा प्रभावकारीरूपमा प्रदान गरेको थियो ।
सन् २०१७ मा ट्रम्पले ओबामाकेयरलाई माथ खुवाउन अमेरिकी स्वास्थ्य सेवा ऐन अघि सारे । त्यो ऐनले सर्वसाधारण अमेरिकी जनतालाई औषधि कारखानाको सजिलो सिकार बनाउन मद्दत ग¥यो ।
ट्रम्प र हाइड्रोक्लोरोकुइन औषधि उत्पादकबीच के मिलेमत्तो छ, यतिबेला हामीले बुझ्न नसकौँला । तर, उनीहरूबीचको सम्बन्धको आधार भने नाफा नै हुनेमा थोरैमात्र शङ्का गर्ने ठाउँ छ ।
दीर्घकालीनरूपमा अमेरिकीहरूले सुरक्षित र स्वस्थ बन्न जीवनशैलीमा परिवर्तन गर्नुको विकल्प छैन । त्यो भने आजभोलिको दौडादौडमा तनाव कम गर्नुपर्छ । अत्यधिक खानपिनले निम्त्यिाउने रोग नियन्त्रणको निम्ति जीवनशैली र खानपिनमै परिवर्तन गर्न जरुरी छ । अमेरिकामा मानिसलाई पिरोल्ने यिनै मुख्य कारण बनेका छन् ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुमन

 स्टेफन डेगवा image
 स्टेफन डेगवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *