भर्खरै :

जुम कक्षा सञ्चालन गर्दै विद्यालयहरू

भक्तपुर, १७ जेठ । लकडाउनको समयावधि लम्बिएसँगै लामो समयदेखि बन्द विद्यालयहरूले विद्यार्थीहरूलाई विभिन्न माध्यमबाट पठनपाठन र शैक्षिक गतिविधिमा संलग्न बनाउने प्रयास थालेका छन् । तत्कालै विद्यालय सुरु हुने सम्भावना कम भएपछि सामुदायिक तथा निजी विद्यालयहरूले आफ्नो क्षमता र अनुकूलतामा यस्तो प्रयासको थालनी गरेका हुन् ।
सूर्यविनायक नगरपालिका नङ्खेलको भुवनेश्वरी माध्यमिक विद्यालयले आगामी जेठ २१ बाट जुम एपमार्फत अनलाइन कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकीले कक्षा ८ देखि १० सम्म विज्ञान, गणित र अङ्ग्रेजी विषयका जुम कक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । कक्षा सञ्चालनको निम्ति विद्यालयमा शिक्षक–शिक्षिकाहरूलाई दुईदिने प्राविधिक प्रशिक्षण दिइएको छ । उहाँले कक्षामा कुल चालीस जना विद्यार्थीको सहभागिता हुने बताउनुभयो ।
“घरमै नेटको सुविधा भएका विद्यार्थीहरू घरबाटै कक्षामा सहभागी बन्नेछन् । घरमा त्यो सुविधा नभएकाहरूको लागि विद्यालयमै सामाजिक दुरी कायम राखी कक्षामा सहभागी बनाउने योजना बनाएका छौँ”, प्रधानाध्यापक छुस्याकीले भन्नुभयो ।
बाग्मती प्रदेशमै अब्बल विद्यालय गनिएको भक्तपुरको वागीश्वरी माविले पनि जेठ १४ गतेबाट कक्षा ८–१० सम्म जुम एपमार्फत अनलाइन कक्षा सञ्चालन थालेको छ । ६ वटा अनिवार्य विषयको कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई फोन सम्पर्क गरेर कक्षा सञ्चालनबारे जानकारी दिइएको र कक्षा शिक्षकले आ–आफ्नो कक्षाका विद्यार्थीको मेसेन्जर गु्रप बनाई त्यहीबाट कक्षाको लिङ्क पठाउने गरिएको बताउनुभयो ।
जुम कक्षामा सामेल हुन विद्यार्थीहरूले पालना गर्नुपर्ने निश्चित नियम बनाइएको छ । कक्षामा सामेल हुन विद्यार्थीले आफ्नो सही नाम राख्न अनिवार्य गरिएको छ । भिडियो बन्द गर्न पाइनेछैन । त्यस्तै अनावश्यक सेयर र केरमेट गर्ने विद्यार्थीलाई कक्षाबाट बाहिर निकाल्ने गरिएको छ । हरेक कक्षा ४०–५० मिनेटको हुने गरेको छ । वागीश्वरी माविले कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि समेत जुम कक्षा सञ्चालन गरिरहेको धन्छाले बताउनुभयो ।
भक्तपुर जिल्लाका १६ वटा सामुदायिक विद्यार्थीहरूको सामुदायिक संयुक्त परीक्षा समितिले पनि समितिमा आबद्ध सबै विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालनको लागि तयारी गरेको छ । समितिका अध्यक्ष अम्बिका न्याईच्याईले १६ वटै विद्यालयका दुई–दुई जना शिक्षकहरूलाई प्राविधिक तालिम दिइएको बताउनुभयो । तालिममा सहभागी शिक्षकहरूलाई पावरप्वाइन्ट बनाउने, जुम कक्षा सञ्चालन गर्नेजस्ता प्राविधिक विषयको तालिम दिइएको थियो ।
समितिको जेठ १८ गते बस्ने बैठकले यो विषयमा थप छलफल गर्ने उहाँले बताउनुभयो । 
भक्तपुरका केही निजी विद्यालयले पनि जुम अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । भक्तपुरको जेन्युइन माविले वैशाख १९ गतेदेखि किन्डरगार्टेनदेखि कक्षा १० सम्म जुम कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँले जानकारी दिनुभयो ।
“किन्डरगार्टेनदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूलाई आधा आधा घण्टाको एउटा कक्षा सञ्चालन गरिरहेका छौं । कक्षा ६ देखि १० सम्मका विद्यार्थीको लागि १ घण्टा २० मिनेटका दुई कक्षा सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले विद्यालयको सामाजिक दायित्वअन्तर्गत प्रतिकूल समयमा पनि अनलाइन कक्षा सञ्चालनमार्फत विद्यार्थीलाई शिक्षण गतिविधिमा सामेल बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले अनलाइन कक्षा सञ्चालन गरेबापत अभिभावकबाट थप शुल्क नलिइने बताउनुभयो ।
भक्तपुरकै बाल विकास ई. स्कूलले भने आफ्ना विद्यार्थीलाई फरक तरिकाबाट शिक्षण गतिविधिमा संलग्न गरिरहेको छ । विद्यालयका प्रशासक सीता प्रजापतिले सबै तहका विद्यार्थीलाई विद्यालयको वेभसाइटमा गृहकार्य र प्रोजेक्ट वर्क राखिदिने गरेको र विद्यालयका शिक्षिकाहरूले मेसेन्जर ग्रुपमार्फत विद्यार्थीका त्यस्ता गतिविधि जाँच्ने गरेको बताउनुभयो । “कक्षा २ सम्मका विद्यार्थीलाई दुई चरणको गृहकार्य दिइसकेका छौँ, कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई एक चरणको प्रोजेक्ट वर्क दिइसकेका छौँ”, प्रजापतिले भन्नुभयो ।
न्यून विद्यार्थी
जुम एपमार्फत अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरूले कक्षामा तुलनात्मकरूपमा कम सङ्ख्यामा मात्र विद्यार्थीको सहभागिता हुने गरेको अनुभव सुनाउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले ३०–३३ प्रतिशतमात्र विद्यार्थीहरू कक्षामा सहभागी हुने गरेको बताउनुभयो । त्यस्तै जेन्युइन माविका प्रिन्सिपल बिजुक्छेँले ५० प्रतिशतको हाराहारीमा विद्यार्थीहरू सहभागी भएको बताउनुभयो ।
“लकडाउनमा बसेका विद्यार्थीलाई शैक्षिक गतिविधिलाई संलग्न गराउने उद्देश्यले जुम कक्षा थालेका हौँ । अनुपस्थितिको लागि फेरि पनि नियमित कक्षामा दोहो¥याउनुपर्नेछ”, प्रअ धन्छाले भन्नुभयो ।
 

One response to “जुम कक्षा सञ्चालन गर्दै विद्यालयहरू”

  1. याम says:

    अनावश्यक केरमेट र शेर गरन नमिलने बनाउन सकिंछ जूम को सेट्टिंग मार्फ़त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *