कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
‘जनता र कार्यकर्ताहरू योग्य र इमानदार नभइ नेताहरू इमानदार हुँदैनन् ।’ यस भनाइको अर्थ हो – माटोको गुण फलमा हुन्छ ।
अर्को भनाइ छ – ‘क्रान्तिकारी नेता नभइकन कार्यकर्ता र जनता क्रान्तिकारी हुँदैनन् ।’
पहिलो भनाइलाई केलाउँदा नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, मधेसवादी दलका कार्यकर्ताहरू अयोग्य, बेइमान, भ्रष्टाचारी, स्वार्थी, जागीरमुखी र ठगहरू भएका हुनाले नेताहरू त्यस्तै भए भन्न सकिन्छ । त्यस्ता जनता, कार्यकर्ता र नेताहरूले के देशको विकास गर्लान् ? जनतालाई सुख देलान् ? समाजमा आमूल परिवर्तन वा क्रान्ति गर्लान् ?
दोस्रो भनाइलाई लिने हो भने नेताहरूले नै विदेशी पैसाबाट पालिएका ठेकेदार, कालोव्यापारी र तस्करहरूको रकमबाट पार्टी चलाएकाले कार्यकर्ता, समर्थक र जनताले त्यसको सिको गर्ने भए भन्न सकिन्छ । अनि देशको उन्नति कसरी हुनु ? देशको उन्नति र विकास नभएपछि जनताले सुख कसरी पाउने हो ? – प्रश्न तड्कारो छ ।
अहिलेसम्मका प्रधानमन्त्रीहरूमध्ये एक–दुई बाहेक सबैजसो पदलोलुप, स्वार्थी, कमाउधन्दामा लागेका र अयोग्य साबित भएका छन् । पदलोलुपको अर्थ प्रधानमन्त्री पदको निम्ति पार्टीमा झगडा गर्ने, जालझेल गर्ने र विदेशी वा राजाको चाकडी गरेका भन्ने शासक पार्टीहरूकै नेताहरूको भनाइ छ । मौकामा आफ्नो नातागोतालाई ठाउँमा भर्ती गर्ने वा मनोनीत गराउने, विदेशी मोटर वा अन्य सामानको एजेन्ट बनाउने गरेका छन् । यसरी आफ्ना छोरा–छोरी, नातागोता र कार्यकर्तालाई ‘कमाउधन्दा’ मा पठाएपछि राम्रो सन्तान वा कार्यकर्ता पाउने कहाँ ? कि घर हेर, कि पार्टी हेर, तेस्रो उपाय छैन ।
कतिपय पार्टीका कार्यकर्ता जागीर पाउने, छात्रवृत्ति पाउने वा कुनै पदमा मनोनीत हुने उद्देश्यले नै १०–२० वर्षसम्म पार्टी र नेताहरूको पछि लाग्छन् । आफ्नो नभए आफ्ना छोरा–छोरीको निम्ति नोकरी वा छात्रवृत्ति खोज्छन् । यस्ता कार्यकर्ता, समर्थक वा पछि लाग्नेले क्रान्ति, समाजवाद, देश र जनताको बृहत् उद्देश्यको निम्ति आफूलाई समर्पित गर्दैनन् ।
कलेज र विश्वविद्यालयका विद्यार्थी कार्यकर्ताहरू निर्वाचनमा आफ्नो विद्यार्थी समूहहरूलाई जिताउन कलेज र विश्वविद्यालयका ठेकेदार, पसले वा व्यापारीहरूसँग थर्काएर पैसा माग्छन् वा नेताहरूले मारवाडी, उद्योगपति र व्यापारीहरूसँग चन्दा लिएर विद्यार्थी सङ्गठनलाई दिन्छन् । तिनै विद्यार्थी नेताहरू जाँड–रक्सी, मासु–भात वा हुनेनहुने सबै छलछाम र मार–पिट–दङ्गा–फसाद गरेर चुनाव जित्न खोज्छन् वा यस्तै ‘नैतिकता’ सिकेकै कार्यकर्ता संसद् र पार्टीको केन्द्रीय समितिमा पुग्छन् । त्यस्ता नयाँ र युवा नेतृत्वले गर्ने के हो ? के नेताले खाने रक्सी कार्यकर्ताले खाँदा मात लाग्दैन ?
नयाँ बजेट कहाँ खर्च हुन्छ ? ‘राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै’ शीर्षकमा समाचार भन्छ – कोरोना महामारीविरूद्ध सङ्घर्ष गरिरहेको सरकारले भेन्टिलेटर पनि निक साइमन्स नामक एनजीओबाट अनुदान ल्याएको छ । तर, यही बेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी छ । तीन वर्ष अगाडिमात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका सांसद रामबहादुर गुरूङले ठेक्का पाएका छन् । (नयाँ पत्रिका, १९ जेठ, २०७७)
त्यही पत्रिकामा ‘विश्वका यी नेता, सरल जीवन, उच्च प्रतिष्ठा’ शीर्षकमा क्रोयसियाली तत्कालीन राष्ट्रपति कोलिन्डा ग्रावरको तस्वीर समेत दिएर सरलताको उदाहरण दिइएको छ । सन् १९१८ मा विश्वकप फूटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन उनी रसिया पुगेकी थिइन् । उनी इकोनोमिक क्लासको टिकटमा रूस पुगेकी थिइन् । … प्याराफिटमा पनि भीआईपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन्, मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन् ।
केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेकी थिइन् । राष्ट्रपति हुँदा पनि उनी आफ्नो घरको काम आफै गर्थिन् ।
त्यस्तै नेदरल्यान्डका प्रधानमन्त्री मार्क रूटी सडकमा निस्कँदा अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुँदैनन् । उनी आफै साइकल चढेरै कार्यालय आउजाउ गर्छन् । उनी अहिले पनि स्मार्टफोन होइन नोकियाको सामान्य बार फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् ।
आफूलाई ‘समाजवादी’ र ‘कम्युनिस्ट’ भन्ने हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीहरूले हो चि मिन्हको १३० औँ जन्मदिवसको अवसरमा १० जेठ २०७७ मा ‘मजदुर’ दैनिकमा प्रकाशित ‘सरल जीवन र क्रान्तिकारी विचार’ शीर्षकमा हो चि मिन्हको छोटो जीवनी पढे हुन्छ । त्यस्तै एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा पनि अनेक राष्ट्रपति र प्रधानमन्त्रीहरू देश र जनताको स्वतन्त्रता र मुक्तिको निम्ति त्याग र समर्पणको उदाहरण देखाएर बिते ।
Leave a Reply