भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – ८

टेक्सासको हस्टनमा एक्लै बस्दै आएकी ८० वर्षकी रोसाली कुकु कष्टकर अवस्थाबीच पनि सुखी जीवन बिताउँदै थिइन् । नेपाल र नेपालीको संस्कारको ठीकविपरीत युरोप र संरा अमेरिकाको परम्परागत सामाजिक रीतिरिवाजअनुसार जीवनको उत्तराद्र्धावस्थामा एक्लिएर जीउनु कुनै पनि वृद्धवृद्धाले भोग्नुपर्ने नमीठो विवशता हो । ‘बौद्धिक दासहरू’ को निर्यातमा रोक नलगाउने हो भने हाम्रो देशमा पनि वृद्धवृद्धा आमा–बुबा र तपाईँ हाम्रो पनि त्यस्तै कहालीलाग्दो दिन अब टाढा नहुन सक्छ । सन् २०२०, मे १६ का दिन किनमेल सकाएर आफ्नो गाडीभित्र पस्न लाग्दा ¥याण्डी लेविस नामका एकजना ३८ वर्षीय अश्वेत व्यक्तिले छात्तीमै छुरा हानी दिनदहाडै रोसाली कुकुको विभत्स हत्या ग¥यो । लुटमार, चोरीचकारी, गुण्डागर्दी र दङ्गाफसादजस्ता अनेकौँ गैरकानुनी काम कारबाहीका दोषी यो पटके अपराधीलाई प्रहरीले ६७ पटक खोरमा थुनिसकेको छ । समाजमा अशान्ति र डरत्रास फैलाइरहने लेविसजस्तो आपराधिक मनोवृत्तिले ग्रस्त व्यक्तिलाई न्याय प्रशासनले मानव अधिकारको नाउँमा निर्बाध घुमफिर गर्ने सुविधा प्रदान गर्नु संरा अमेरिकी आपराधिक न्याय प्रणालीको कानुनी र व्यवहारिक अपरिपक्वता हो भनी आलोचना हुँदै आएको छ ।

ती विवश वृद्ध महिलाको कार र उनका ल्यापटप, मोबाइलजस्ता विद्युतीय सामग्री चोर्नु नै लेविसको मूल उद्देश्य रहेको कुरा उसले साविति बयानमा दिइसकेको छ । अदालतमा दिएको उसको बयानअनुसार बन्दुक खरिद गर्ने अनुमति पाएको भए आपराधिक मनोवृत्तिका लेविसले सपिङ्ग सेन्टरमा व्यस्त धेरै मानिसलाई एकै चिहान बनाउने बलियो सम्भावना थियो ।
त्यसैले पनि पुँजीवादलाई सङ्गठनात्मक अपराध ठान्ने चेतनशील अमेरिकी नागरिकहरू बन्दुकको खुला कारोबारमा निषेध लगाउनुपर्छ भन्ने पक्षमा छन् । हुन त कुनै पनि समाज र समुदायमा कोही एकजनाको पनि हिंसा र हत्या हुनु निन्दनीय हो । संसारको जुनसुकै स्थानमा बसोबास गर्ने धनी होस् या गरिब, काला होस् या गोरा सबै नागरिकलाई विनाभयत्रास शान्तिपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकार हुनैपर्छ । खुलेआम हातहतियारको खरिद बिक्रीले भन्दा परिश्रम, काम, सीप र योग्यताअनुसार मेहनत, सही व्यक्ति, सही स्थान र शान्तिपूर्ण जीवनयापन गर्न पाउने व्यवस्थापन र पद्धतिको विकासले मात्रै मानव अधिकारको उचित संरक्षण गर्नसक्छ । म सास फेर्न नसक्ने भएँ, गा¥हो भो” भन्दै याचना गरेका मिनिसोटा राज्यका एक कृष्ण वर्णका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोडलाई क्रूरतापूर्वक घुँडाले घाँटी अठ्याउँदै सडकमै गत मे २५ मा हत्या गर्ने प्रहरी बलबाट मानव अधिकारको रक्षा सम्भव छैन ।

छुरा प्रहारले मृत्यु भएकी ८० वर्षकी रोस्ली कूक


स्वचालित वा अर्ध–स्वचालित हात हतियारको प्रयोगबाट हुने हिंसा र आतङ्कले संरा अमेरिकामा मृत्यु हुनेको ल्याकत राख्ने बन्दुक हत्या अभिलेख (Gun Violence Archive) नामको एउटा गैरसरकारी संस्थाद्वारा सङ्कलित तथ्याङ्कअनुसार आत्महत्यासमेत गरी सन् २०१९ मा मात्रै १५,२९२ नागरिकहरूको ज्यान गएको थियो । यो आँकडाले सन् २०१८ मा भन्दा २०१९ मा तुलनात्मक रूपमा ३ प्रतिशतले बढी भए पनि बन्दुक व्यवसाय फस्टाउने क्रम जारी नै छ ।
फ्लोरिडाको पार्कल्यान्डस्थित Marjory Stoneman Douglas High School मा भएको आम नरसंहारमा १४ विद्यार्थी र ३ जना शिक्षकहरू मारिएका थिए । यस हत्याकाण्डलाई पार्कल्यान्ड शुटिङ्ग (Parkland Shooting) पनि भनिन्छ । बाँच्न सफल केही विद्यार्थीहरू विभिन्नखाले मानसिक दीर्घरोगबाट पीडित भए । यस घटनाको भोलिपल्टै राष्ट्रपतिको सहानुभूति, समवेदना र प्रार्थना अनि मुलुकभरि शोक मनाउन संरा अमेरिकाको राष्ट्रिय झन्डा आधा झुकाई फरफराउने कार्यले पनि बाँच्न सफल सबैलाई शान्तिको प्रत्याभूति दिन सकेन । फलस्वरूप ती मध्येकी १९ वर्षीया पोलाक मिडो नाम गरेकी विद्यार्थीले एक वर्षपछि आत्महत्या गरिन् । उनको मिल्ने एकजना साथी पोल्लाक मिडो उक्त नरसंहारमा मारिएको कारणले उत्पन्न मानसिक तनाव कुनै पनि आधुनिक औषधोपचारले निको पार्न सकेन । उक्त भयावह दुर्घटनामा बाँच्न सफल A great young man नाम दिइएका अर्काे एक नवयवुक, जसले ज्यान दाउमा राखी बन्दुकधारीसँग बहादुरीपूर्वक सामना गरेका थिए, उनले पनि आफू स्वयम्ले आफैँलाई समाप्त पारे । अभिभावकको अनिच्छाको कारण र प्रहरी अनुसन्धानमा बाधा नआओस् भन्ने अभिप्रायले उनको वतन, नाम र वर्ष सार्वजनिक गरिएको थिएन । विद्यालय हाताभित्रको यस्तो दुःखद् घटनाले बाँचेकालाई समेत कहाँसम्मको मानसिक र मनोवैज्ञानिक आघात पु¥याउनसक्छ भन्ने अवस्थाको सहजै अन्दाज लगाउन सकिन्छ ।
संरा अमेरिकाको सान्टा फे टेक्ससमा अवस्थित Santa Fe High School सन् २०१८, मे १८ का दिन आठ विद्यार्थी र दुई जना शिक्षकहरूको ज्यान जाने गरी एउटा गोली काण्ड भएको थियो । उक्त घटनामा १३ जना सख्त घाइते भएका थिए । दिमित्रियोस् पागोजिज (Dimitrios Pagourtzis) नाम गरेका १७ वर्षका सोही विद्यालयको पुरानो विद्यार्थीलाई बन्दुकसहित प्रहरीले गिरफ्तार गरेको थियो ।
स्थानीय समयानुसार बिहानको ७ः४० बजेतिर झ्याल फोरेर चित्रकलालगायत अन्य कला विषयको कक्षा सञ्चालन भइरहेको चारवटा कोठामध्ये दुईवटा कोठालाई बन्दुकधारीले आफ्नो निसाना बनाएको थियो । उसले आफ्नो पिताले सबै कानुनी रीत पु¥याई खरिद गरेका दुईटा भिन्दाभिन्दै ब्रान्डका हतियार प्रयोग गरी विद्यालयभित्र हिंसा मच्चाएको पुष्टि भयो । विध्वंस हुने वातावरण प्रस्ट भएपछि विद्यालय भवनभित्र भागदौड मच्चिएको थियो । आर्ट कक्षाकोठाभित्रको एउटा साँगुरो कोठामा केही विद्यार्थीहरू ज्यान जोगाउन लुकेका थिए । तिनीहरूसँगै क्रिस स्टोन पनि त्यही लुकेका थिए । अरूभन्दा आफू शारीरिकरूपले बलियो भएर होला एक्लै ढोका बन्द गर्दै बाँकीलाई ढाडस दिइरहेका थिए क्रिस स्टोन । बाहिरको गोली प्रहारबाट आफ्ना साथीहरूलाई बचाउन सफल भए पनि शैक्षिक क्षेत्रमा राम्रो प्रगति गरी सफल जीवन बिताउने मीठो अभिलाषा त्यही साङ्गुरो ठाउँमा छोडी ढुकढुक गर्न नसक्ने मुटुसँग सदाको लागि आँखा चिम्लिन क्रिस स्टोन बाध्य भए ।

सान्टा फे हाइ स्कूलमा मारिएका विद्यार्थी तथा शिक्षिका


Kennedy-Lugar Youth Exchange and Study द्वारा प्रायोजित एकवर्षे छात्रवृत्ति कार्यक्रमअन्तर्गत सविका शेख नामकी १७ वर्षीया एकजना पाकिस्तानी चेली सान्टा फे हाईस्कूलमा अध्ययनरत थिइन् । मुस्लिमहरूको पवित्र चाड रमादानको अन्तिम हप्तातिर घर फर्कने दिन गन्दै गरेकी शेखको पनि सो बन्दुक आतङ्कमा दुःखद् निधन भयो । कराँचीको दक्षिण सहर निवासी सविका शेखको भावी जीवन सफल कूटनीतिज्ञ बनी तत्सम्बन्धी कार्यक्षेत्रमा व्यस्त रही आफ्नो मुलुकको सेवा गर्ने ठुलो इच्छा रहेको पारिवारिक सुत्रले बतायो । जनसङ्ख्याको हिसाबले मुस्लिमहरूको बाहुल्य भएको मुलुकका विद्यार्थीहरूलाई प्रदान गरिने यो छात्रवृत्तिको मूल उद्देश्य संरा अमेरिकासँग मुस्लिम देशहरूसँगको सम्बन्धलाई मित्रवत् बनाउने दिशातर्फ एक प्रयासको रूपमा लिइन्छ ।
दिमित्रियोस् पागोजिजबाट गोली प्रहार भइरहँदासम्म सशस्त्र प्रहरीले हिंसाका घटना भइरहेको भवनलाई घेरा हालिसकेका थिए । जसले बन्दुकधारीको लागि सबैतिरबाट उम्किने बाटो बन्द भयो । विद्यालयमा घरिघरि हेप्ने, थर्काउने, जिस्काउने र कुटपिट गर्नेलाई म बाँकी राख्दिनँ” भन्दै आत्मसमपर्णको लागि चेतावनीस्वरूप बारम्बारको आदेशलाई नकार्दै उसले उल्टै प्रहरीमाथि गोली प्रहार गरेको थियो । प्रहरीसँगको ४ मिनेटसम्म चलेको गोली हानाहानामा सख्त घाइते भइसकेपछि आफ्नो हतियार आफँैतिर सोझ्याई आत्महत्या गर्नसमेत नातागत भइसकेका दिमित्रियोस् पागोजिजले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शङ्कास्पद गतिविधि गरेको आधारमा ऊसँगै अरू दुईजना व्यक्ति पक्राउमा परे । प्रहरीले विद्यालय वरिपरिका बासिन्दाहरूलाई कुनै पनि नौलो वस्तु र व्यक्ति देखापर्न आए सावधान रहन भनियो ।
बन्दुकसम्बन्धी टेक्सास राज्यमा तय गरिएको कानुनी बन्दोबस्तअनुसार केटाकेटीको पहुँच नपुग्ने ठाउँमा सुरक्षित राख्न र अभिभावकको राम्रो निगरानीमा ती हतियारहरू सधैँ सुरक्षित हुनुपर्छ । यो कानुनी प्रावधानविपरीत ती हातहतियारका कारण कसैलाई गम्भीर चोटपटक लागेमा चार हजार डलरको जरिवानासहित एक वर्ष कैद हुने व्यवस्था छ । यसै कानुनी प्रावधानमा टेकेर पीडित पक्षले असामान्य हातहतियार सुरक्षित स्थानमा राख्न नसक्नु र आफ्ना छोरोलाई अनावश्यक विश्वास गर्नाले उसको पहुँचबाट ती डरलाग्दा सामानहरू टाढा राख्ने कार्यमा हेलचक्रायाइँ गर्नुको कारण विद्यालय हाताभित्रको यो हिंसात्मक परिणाम भएको दाबी गर्दै दिमित्रियोस् पागोजिजको पिता पनि यस हत्याकाण्डको दोषी हुन् भनी उनीविरुद्ध अदालतमा मुद्दा दायर भयो ।
ग्रीसबाट संरा अमेरिकामा बसाई सर्नु नै आफ्नो ठूलो गल्ति भएको महसुस गर्दै दिमित्रियोस्का पिताले फूटबल खेलमा पनि राम्रो प्रदर्शनका कारण Honour Roll बाट सम्मानित हुनेसम्मको क्षमता राख्ने शिष्ट र भद्र स्वभावका आफ्नो छोरालाई त्यस्तो बनाउनमा विद्यालय जिम्मेवार रहेको दाबी गरे किनभने विद्यालयमा अध्ययनरत अन्य खराब चरित्रका विद्यार्थीहरूले आफ्नो छोरालाई विभिन्न तरिकाले हैरानी गर्ने विषयलाई लिएर विद्यालय प्रशासनको ध्यान आकर्षितका लागि धेरै अनुरोध गरेको कुरा पनि उनले बताए । तर, यसतर्फ विद्यालय प्रशासनले बेवास्ता गरेको उनको गुनासो छ । दिमित्रियोसका पिताले आफ्नो सन्तानबाट यस्तो जघन्य अपराध भएकोमा लाचारपन व्यक्त गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुको साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
दिमित्रियोसबाट यस्तोसम्मको अप्रिय घटना हुनसक्छ भन्ने कुरा अकल्पनीय भएको ऊसँग धेरै नजिकका साथीहरू भन्छन् । साथीहरूसँग कहिल्यै नराम्रो व्यवहार नगर्ने सोझो व्यक्तिको यस्तो हिंसात्मक काम कारबाही साँच्चिकै हृदयविदारक भएको तिनीहरू बताउँछन् । शैक्षिक क्षेत्रको हाताभित्र हुने गुण्डागर्दीलगायत कमजोर र आप्रवासी विद्यार्थीहरूमाथि गरिने पक्षपातपूर्ण असमान व्यवहारलाई निरुत्साहित गर्नुपर्नेतर्फ सबै निकायको ध्यान जान आवश्यक भएको कुरामा उनीहरू जोड दिन्छन् ।
यसै नरसंहारको सिलसिलामा टेक्सस् राज्यका शिक्षा सचिव बेस्टी डेभोसले विद्यालयहरू पठन–पाठनको लागि सुरक्षित र स्याहारसुसारयुक्त वातावरणको स्थान हुनुपर्ने विचार व्यक्त गरे । डेमोक्रेटिक पार्टीका नेतृ तथा संरा अमेरिकी सरकारका तत्कालीन प्रवक्ता न्यान्सी पेलोसीले बन्दुक आतङ्कलाई रोक्न सम्बन्धित सबैलाई आह्वान गरिन् । सोही राज्यका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले Santa Fe High School को विद्यालय भवनहरूमा अनावश्यकरूपमा बाहिर र भित्र आउने जाने गर्ने धेरै ढोका भएका कारणले पनि आपराधिक मानसिकताका मानिसहरूका लागि विद्यालय प्रवेशमा सहज भएको विचार व्यक्त गर्दै बन्दुक उत्पादनका उद्योगपतिहरूको पक्षमा उभिंंदै भनेFबन्दुक होइन, यसको निम्ति हामी दोषी छौं ।” (It’ s not the gun, it’s about us) संरा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प आफँै पनि ठुला व्यापारी भएकाले अरू पदाधिकारीहरूले जस्तै बन्दुक उद्योगको निषेधबारे एक शब्द नबोली आफ्नो प्रशासनले विद्यार्थीहरूको सुरक्षाको लागि शक्ति र अधिकारले भ्याएसम्म कार्य गर्ने बताउँदै सबैखाले शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विभिन्न हातहतियारले सुसज्जित पार्ने विचार राख्छन् । उनी लाजै नमानी राष्ट्रिय झन्डा आधा झुकाइ देशभरि शोक मनाउन आदेश दिन्छन् । वास्तविकतासँग परिचित अमेरिकी नागरिकहरूले हात –हतियार उत्पादन गर्ने उद्योगहरूलाई झन् सुरक्षित तथा त्यसका सञ्चालकहरूलाई अझ बढी मालामाल बनाउने र विद्यालय आतङ्कलाई अप्रत्यक्षरूपमा बढावा दिने अव्यवहारिक र अवैज्ञानिक बेकारको विचार भनी आलोचना गर्छन् । धेरै अमेरिकी जनतालाई घरिघरि भइरहने बन्दुक आतङ्कमा बाँच्ने बानी परिसकेको छ । मानिसले एक दुईजना मृत्यु हुने बन्दुकी हिंसाका घटनालाई सानोतिनो भनेर लेखाजोखा राख्न छोडिसकेका छन्–संरा अमेरिकामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *