भर्खरै :

जोर्ज फ्लोडको हत्याविरुद्धको आन्दोलन संसारभर फैलिंदै

वाशिङ्टन, ३ जुन । संरा अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा प्रहरीले निहत्था अफ्रिकी अमेरिकी नागरिक जोर्ज फ्लोइडको हत्याको विरोधमा अमेरिकाका विभिन्न राज्यमा फैलिएको आन्दोलनले अन्तर्राष्ट्रिय रूप लिएको छ । ४६ वर्षका फ्लोइडलाई एक जना श्वेत प्रहरी अधिकारीले झन्डै नौ मिनेटसम्म घाँटीमा घुँडाले थिचेर हत्या गरेका थिए ।
सार्वजनिक गरिएको श्रव्यदृश्यमा मृतक फ्लोइडले आफूलाई श्वास फेर्न गा¥हो भएको भन्दै अनुनय विनय गरेका थिए । घटना हुँदा अरू तीन जना प्रहरी अधिकारी घटनास्थलमा उभिएका थिए ।
सो घटनापछि जातीय विभेद र प्रहरी ज्यादतिविरुद्ध संरा अमेरिकाभरि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शन व्यापक बन्दै गएपछि संरा अमेरिकाका चालीसभन्दा बढी सहरमा स्थानीय नगरप्रमुख र गर्भनरहरूले कफ्र्यु आदेश जारी गरेका थिए । विभिन्न सहरबाट हजारौं मानिस पक्राउ गरिएको छ । मङ्गलबार शिकागो सहरमा भएको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा कम्तीमा दुई जना सर्वसाधारणको हत्या भएको छ ।
अमेरिका धेरै सहरमा प्रहरीले प्रदर्शनकारीमाथि निर्मम दमन गरेका श्रव्यदृश्य सामाजिक सञ्जालमा व्यापक बनेको छ । प्रदर्शनकारीहरूमाथिको चर्को दमनले त्यहाँको आन्दोलनप्रति संसारभरका जनताको चासो बढाएको छ । संसारभर अमेरिकी आन्दोलनकारीहरूमाथिको दमनको चर्को विरोध भइरहेको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले प्रदर्शनकारीहरूमाथि संयम अपनाउन अमेरिकी अधिकारीहरूलाई आग्रह गरेका छन् । गुटरेजका प्रवक्ता स्टेफान डुजारिकले फ्लोडको हत्याको विरोधमा संरा अमेरिकामा चालु विरोध प्रदर्शन शान्तिपूर्ण हुनेमा आशा व्यक्त गरेका छन् ।
संरा अमेरिकाको छिमेकी देश क्यानाडामा पनि अमेरिकी जातीय दमन र प्रहरी निर्ममताको विरोधमा विभिन्न सहरमा प्रदर्शनहरू भएका छन् ।
ग्रीसमा त्यहाँको कम्युनिस्ट पार्टी केकेईको युवा सङ्गठनले सोमबार ग्रीसको राजधानी एथेन्सस्थित संरा अमेरिकी दूतावासअघि र थिस्सालोनिकीस्थित संरा अमेरिकी महावाणिज्य दूतावासअघि विरोध प्रदर्शन गरेको छ ।
“मलाई श्वास फेर्न गा¥हो भयो लेखिएको ब्यानर बोकेर ग्रीसेलीहरूले अमेरिकी दूतावासअघि नाराबाजी गरेका थिए । उनीहरूले सङ्कट, युद्ध र जातिवादलाई जन्म दिने राजनीतिक व्यवस्था चाहिंदैन भनी नारा लगाएका थिए ।
“यो बर्बरताको विरोधमा संसारका जनताको आवाजमा हामी ग्रीसको आवाज पनि मिसाउन चाहन्छौँ । हामी अहिले आफ्नो श्वास फेर्न पाउने अधिकारको लागि लडिरहेका संरा अमेरिकी जनताको आवाजमा आवाज मिलाउन चाहन्छौँ”, केकेईका महासचिव डिमित्रिस कोटसामबासले भने ।
बेलायतका विभिन्न सहरमा पनि अमेरिकी जनताको ऐक्यबद्धतामा प्रदर्शन भएका छन् । फ्लोइडको हत्याको विरोध राजधानी लन्डन र मेन्चेस्टर सहरमा सरकारी आदेशको अवज्ञा गर्दै केही प्रदर्शनहरू भएका छन् । लन्डनको त्रफालगर चोकमा आयोजित प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूले ‘जहाँ न्याय हुँदैन, त्यहाँ शान्ति हुँदैन’ लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शन त्यहाँको कार्यपालिका भवन वेस्टमिनिस्टर हुँदै डाउनिङ सडकमा पुगेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा पनि विरोध प्रदर्शन भएको थियो । त्यस्तै इजरायलको तेल अभिभ सहर, नेडरल्यान्डको हेग र अस्टे«लियाको सिड्नी सहरमा पनि जातीय दमनविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *