भर्खरै :

भूमाफियाको आँखा भङ्गेरी डाँडामा

भक्तपुर, २१ जेठ । नेपालमा एक युवा नेता भनिने आरसी न्यौपानेले अमेरिकी सैन्य गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौता पारित गरिए संसद्मा बम विस्फोट हुने चेतावनी दिए । तर, नेकपाकै केही नेता र सांसदहरू चाँगुनारायण नगरपालिकामा परेको बागेश्वरी भङ्गेरीडाँडास्थित वन विनास गरी खेल मैदान बनाउने जनविरोधी काम गर्दै छन् । उक्त वन स्थानीय जनताको खानेपानीको मुहान हो । बागेश्वरी खरिपाटीलगायतका जनता त्यही वनमुनिको खानेपानीको पानी खाएर बाँचिरहेका छन् ।
केही दिनअघि बाग्मती प्रदेशका सांसद प्रतिमा श्रेष्ठ र चाँगु नपाका प्रमुख सोम मिश्र उक्त क्षेत्रमा पुगेका थिए । केही भूमाफियाहरूले उक्त क्षेत्रमा सस्तोमा जग्गा खरिद गरिराखेको र राज्यकोषबाट खेल मैदान बनाइएपछि आफूले खरिद राखेको जग्गाको केही भाग महँगोमा बेच्ने र केही भागमा होटेल खोल्ने भूमाफियाको स्वार्थ रहेको स्थानीय जनताको मत छ । बागेश्वरी खानेपानी उपभोक्ता समितिले भङ्गेरी डाँडाको वनमा कुनै पूर्वाधार नबनाउन चाँगु नपालाई निवेदन दिएको छ ।
केही स्थानीय जनतालाई विकास आउने आश्वासन दिएर वन विनाश गरी खानेपानीको मुहान सुकाउने काम गरिएकोमा अधिकांश स्थानीय जनता आक्रोशित छन् । वन म्हासेर खेल मैदान बनाउन चाँगुनारायण नपाबाट रु. २२ लाख दिने र सङ्घ तथा प्रदेश सरकारबाट पनि लाखौँ बजेट दिने स्थानीय जनताबीच चर्चा छ । भूमाफियाको चङ्गुलमा कुन कुन नेता परेका छन्, स्थानीय जनता खोजी गर्दै छन् ।
बाहिरी चक्रपथको हल्ला हुनेबित्तिकै जग्गा खरिदमा सर्वसाधारण जनतालाई फसाएर द्रुतमार्गको निर्माण नहुँदै केही भूमाफियाहरू केही सचिव र काठमाडौँ उपत्यका प्राधिकरणका पदाधिकारी र अधिकारीसम्म जग्गा खरिदमा लागे । अहिले काठमाडौँ उपत्यकामा चार वटा उपसहर निर्माण गर्ने भनी भूमाफियाहरू जग्गा खरिदमा लागेका छन् । त्यस्तै भङ्गेरी डाँडाको जग्गा सस्तोमा कब्जा गर्ने भूमाफियाहरू चलमलाइरहेका छन् । स्थानीय जनता सचेत हुन आवश्यक छ । भूमाफियाले सरकारी जग्गा खाइसकेपछि पछुताएर हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *