भर्खरै :

“अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादको विरोध गरौँ”

            काठमाडौँ, २३ जेठ । संरा अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा गत मे २५ मा जोर्ज फ्लोड नामका एक जना अफ्रिकी–अमेरिकी नागरिकको स्थानीय प्रहरीबाट भएको निर्मम हत्यापछि उठेको अमेरिकी जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन शुक्रबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले अनलाइन ऐक्यबद्धता कार्यक्रम आयोजना गर्‍यो । 
            कार्यक्रममा अमेरिकी कामदार जनताको चालू आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अफ्रिकी–अमेरिकी, हिस्पानिक र अन्य देशका आप्रवासी जनताको रगत र पसिनाले संरा अमेरिकाको आजको विकास र समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले आफ्नो संस्कृति, भाषा र जातिप्रति गौरव गर्नु र आफ्नै भाषा, संस्कृति र जाति नै मात्र ठीक र अरू सबैले पनि त्यसैलाई पछ्याउनुपर्ने विचार ठीक नभएको बताउनुभयो ।
            उहाँले आफ्नै भाषा, जाति र संस्कृति नै ठीक भन्नु अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवाद भएको चर्चा गर्दै त्यस्ता दुवै प्रवृत्तिको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
            अध्यक्ष बिजुक्छेँले अरू देशका जनतालाई समस्या पर्दा नेपाली जनताले समर्थन र ऐक्यबद्धता जनाउँदा भविष्यमा नेपाली जनतालाई समस्या पर्दा पनि विदेशी मित्रहरूले समर्थन र सहयोग गर्ने भएकोले अन्तर्राष्ट्रवादी भावना राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
            उहाँले माक्र्सले भन्नुभएको ‘अरू देशलाई धम्क्याउने देश आफू पनि स्वतन्त्र हुन नसक्ने’ भनाइ आज अमेरिकामा पुष्टि भइरहेको छ भन्नुभयो ।
            “संरा अमेरिका संसारका जनतालाई धम्क्याएर दुःख दिन्थ्यो । आज ऊ आफैँ समस्यामा परेको छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
            उहाँले नेपाली युवा–विद्यार्थीहरू अन्तर्राष्ट्रवादी भई शोषित पीडित जनताको पक्षमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिंँदै संरा अमेरिकामा भइरहेको जातिवादविरोधी आन्दोलनमा मजदुर, किसान र कामदार जनताको बाहुल्यता रहेको स्पष्ट पार्नुभयो ।
            संरा अमेरिकामा ट्रम्पको सरकार आएपछि फासीवाद अझ आक्रामक भएको चर्चा गर्दै उहाँले भारतीय प्रधानमन्त्री मोदी पनि ट्रम्पको आशीर्वाद पाएर आफ्ना जनतामाथि फासीवादी दमन गरिरहेको बताउनुभयो ।
            कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले अमेरिकामा भएको जातीय दमनको विषयमा प्रस्तुति दिनुभएको थियो ।
            कार्यक्रममा नेक्रायुसङ्घका एचएस सुवाल, नेक्राविसङ्घका मिलन गणेजू र नेक्रायुसङ्घका मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *