अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
स्थानीय जनताको उत्साहपूर्ण सहभागितामा भक्तपुरको ऐतिहासिक धरोहर ङातापोल मन्दिरको जीर्णोद्धार कार्य भइरहेको छ । स्थानीय उपभोक्ता समितिमार्फत भक्तपुर नगरपालिकाले मन्दिरको जीर्णोद्धार गरिरहेको छ । २०७२ सालको भूकम्पले नेपालकै सबभन्दा अग्लो मन्दिरको सबभन्दा माथिल्लो तलामा क्षति पुर्याएपछि मन्दिर जीर्णोद्धार थालिएको हो । अहिले मन्दिरको सबभन्दा माथिल्लो तलाको पूर्ण जीर्णोद्धार गर्नुका साथै अन्य तलामा झिङ्गटी फेरिन लागेको हो ।
भक्तपुर नगरपालिकाले विकास निर्माणको काम उपभोक्ता समितिमार्फत गर्दै आएको छ । राज्यका तीन वटै तहले विकास निर्माणको काम ठेकेदारीमा गर्दै आएका छन् । तर, विकास निर्माणमा जनताको सहभागितालाई सर्वोपरि मानेर भक्तपुर नगरपालिकाले भने स्थानीय जनता सम्मिलित उपभोक्ता समिति गठन गरी त्यसैमार्फत यस्ता साना ठुला विकास निर्माणका गतिविधि गर्दै आएको छ । यसरी उपभोक्ता समितिमार्फत गरिएको विकास दिगो र जनसहभागितामूलक हुने गरेको छ । आफ्नो ठाउँको विकास निर्माणमा स्थानीय जनता स्वयम् जिम्मेवार भएर लाग्दा त्यस्तो विकास गुणस्तरीय र स्थानीय परिस्थिति सुहाउँदो हुने गरेको छ । समयान्तरमा कुनै समस्या आए स्थानीय जनताले आफ्नो मिहिनेत परेको कामको आफँैले जतन गर्ने हुँदा उपभोक्ता समितिको काम दिगो हुने गर्दछ । साथै स्थानीय जनता मिलेर बनाउने हुँदा भ्रष्टाचार कम हुने र कम लागतमा नै काम पूरा हुने गर्छ ।
उपभोक्ता समितिको पहलमा हुने काममा जनताको सहभागिता कति उत्साहप्रद हुने गरेको छ भन्ने कुरा बुझ्न यतिबेला ङातापोलको जीर्णोद्धार हेर्दा जोकोहीले अनुभव गर्नसक्छन् । लकडाउनको अवस्थामा पनि आज दैनिक सयौँ स्वयम्सेवकहरू मन्दिरको जीर्णोद्धारमा मद्दत गरिरहेका छन् । यसरी सहयोग गर्नेहरूमा महिलाको सङ्ख्या उल्लेख्य सङ्ख्यामा बढी छ । उनीहरू आपसमा कुराकानी गर्दै, गीत गाउँदै आपसमा हातेमालो गर्दै छन् । आफ्नो पहिचान र परिचय बनेको यो मन्दिरको जीर्णोद्धारमा सहयोग गर्नुलाई आफ्नो गौरव मानिरहेका छन् ।
आज देशमा विकासको अर्थ नै भ्रष्टाचार बनिरहेको छ । शासक दलका नेता–कार्यकर्ताहरू विकासको नाममा भ्रष्टाचार गरिरहेका छन् । नेपालको भ्रष्ट कर्मचारीतन्त्रले उनीहरूलाई भ्रष्टाचार गर्न मद्दत गरिरहेको छ । ठेकेदारलाई ठेक्का दिएर उनीहरू त्यसबाट कमिसन कुम्ल्याएरहेका छन् । अझ कति कर्मचारी र जनप्रतिनिधिहरू स्वयम् ठेकेदार बनेर अकुत कालो धन कमाइरहेका छन् । ठेकेदारसँग मिलेमत्तोमा भ्रष्टाचार गरेर बनाइएका भौतिक पूर्वाधार निर्माणमा जनताको न त स्वामित्व हुने गरेको छ, न सहभागिता नै हुने गरेको छ । आफ्नो आँगनमा हुने विकास निर्माणबारे स्थानीय जनता सूचनाविहीन भएर बस्न बाध्य छन् । यस्तो ढाँचाले कदापि पनि दिगो र जनताले अपेक्षा गरेजस्तो विकास हुनेछैन । विकासका पूर्वाधार छोटो समयमा नै बिग्रेभत्के पनि जनताको जतन र हेरविचार हुने गर्दैन । जनताबाट अलग विकास निर्माण कहिल्यै पनि दिगो हुने गर्दैन ।
भक्तपुर नगरपालिकाले विकासलाई जनतासँग जोडिरहेको छ । यस्तो विकास निर्माणले विकासप्रति जनताको उत्तरदायित्व बढाउनेछ । जनताको सहभागितामा हुने विकासले नै कुनै पनि देशको विकास चिरस्थायी हुनसक्छ । व्यक्तिगत स्वार्थ र पैसामुखी स्वार्थी भावनालाई जोड दिने शासक दलको प्रवृत्तिले आज देशमा विकासको नाममा भ्रष्टाचारलाई बढावा दिइरहेको छ । शासक दलहरूले विकासमा जनसहभागिता सम्बन्धमा भक्तपुर नगरपालिकाबाट सिक्न जरुरी छ ।
Leave a Reply