भर्खरै :

अनलाइन कक्षा, अलमल र अनुभव

योगेन्द्रमान बिजुक्छें
काल्पनिक संसारको सोच
विभिन्न काल र युगमा हुने राजनैतिक क्रान्ति, धार्मिक वा सामजिक सुधारका पहल र वैचारिक आन्दोलनले मानव समाजको हरेक पक्षलाई प्रभावित गर्दछ । समाजका अगुवा, चिन्तनशील नागरिक, दार्शनिक र चिन्तकहरू यस्तो घटना किन भयो र यसको प्रभाव आउने दिनमा के कस्तो हुनसक्छ भनी सोच्छन् र अवस्थाको विश्लेषण गरेर भविष्यको आकलन गर्छन् । समाज विज्ञानमा यस विधालाई भविष्य विज्ञान (futurology) भनिन्छ । हुन त १९ औँ शताब्दीको अन्ततिर बेलायती इतिहासकार र तत्कालीन प्रखर बौद्धिक व्यक्तित्व मानिने एस.जी. वेल्सले विश्वविख्यात पहिलो विज्ञान काल्पनिक कहानी (Science fiction) ‘द टाइम मसिन’लेख र साहित्यमार्फत भविष्यको दृश्यावलोकन गर्ने परम्पराको थालनी गरेको मानिन्छ ।
पश्चिमा समाजमा फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम तथा औद्योगिक क्रान्तिले समाजको आर्थिक, सांस्कृतिक, धार्मिक र अरू धेरै पक्षमा गहिरो प्रभाव पा¥यो । ती क्रान्तिले युगौँदेखिको सामन्ती संरचनाको जग हल्लाउदै नयाँ पुँजीवादी संस्कृतिलाई बिस्तारै स्थापित गर्दै लगे । पश्चिमी समाजमा आएका परिवर्तनलाई गहिरिएर अध्ययन गर्ने समाजशास्त्री वा चिन्तक र दार्शनिकहरूले ती परिवर्तनको आधारमा समाजको चरणलाई विभिन्न तहमा राखेर नामकरण र व्याख्या गरेका छन् । जस्तैः आधुनिक, औद्योगिक, उत्तरऔद्योगिक र उत्तरआधुनिक आदि । बिसौँ शताब्दीमा आएर भविष्यको समाजलाई दृष्टिगोचर गर्ने धेरै व्यक्तित्वहरूमध्ये फ्रान्सेली दार्शनिक जीन बाउड्रीलार्ड (Jean Baudrillard), हार्वड विश्वविद्यालयका समाजशास्त्री प्रोफेसर ड्यानियल बेल
(Daineal Bell) र फ्रान्सेली लेखक तथा समाजशास्त्री जीन फ्रान्कोइज ल्योटार्ड
(Jean Frencois Lyotard) पनि हुन् ।
ल्योटार्डका अनुसार उत्तरआधुनिक समाजमा उत्पादनका प्रमुख आधार अत्याधुनिक कम्प्युटरहरू हुनेछन् । हरेक ज्ञान र आर्थिक क्रियाकलापका आधार कम्प्युटर र सूचना प्रविधिसँग सशक्तरूपमा गाँसिने छन् । उत्तरआधुनिक समाजको मूल चरित्र भनेको ज्ञानको उत्पादन, प्रयोग र विनिमय हुनेछ र यसको बजारमा क्रय र बिक्रय हुनेछ । यसले नै नयाँ सामाजिक र आर्थिक सम्बन्धहरूको परिभाषित र निर्धारण गर्नेछ । यस्तै जीन वाउड्रीलार्डले सन् १९८३ मा आफ्नो पुस्तक Simulacra and Simulation (अनुरूपण) मा उत्तरआधुनिक समाज वास्तविक समाज नभई एउटा काल्पनिक समाजमा रूपान्तरण भएको विचार राखेका छन् । यस्तो समाजमा वास्तविक र स्थूल वस्तुको स्थान ‘चिह्न’ र ‘सङ्केतले’ लिएका हुन्छन् । करोडौँको कारोबार साँच्चिकै रूपैयाँ र पैसाले नभई सानो कागजको खोस्टा (चेक वा क्रेडिट कार्ड) ले गर्न सकिन्छ । ‘अब तपाईँ चेसको गोटी नउचाली र विनावास्तविक प्रतिद्वन्द्वी चेस खेलेको अनुभूति गर्नसक्नुहुन्छ । जोखिमपूर्ण वास्तविक हवाईजहाज नचढीकनै वास्तविक उडानको आनन्द तपाई लिन सक्नुहुन्छ कम्प्युटरका विभिन्न सप्mटवेयरमार्फत । यही हो उत्तरआधुनिक जीवनशैली र समाज–काल्पनिकको वास्तविकता (Virtual Reality)
कोरोना र काल्पनिक संसार
बाउड्रिलार्ड र लियो टार्डले भविष्यवाणी गरेको काल्पनिक संसारको आभाष कोरोना महाव्याधिपूर्व पनि हामीले नगरेको होइन । तर, कोरोना महाव्याधिले संसारलाई यतातिर अझ जोडले धकेल्यो । काल्पनिक वास्तविकताको यस संसारमा हामी अहिले विचरण गर्न विवश भयौँ । महाव्याधिले ल्याएको डर र त्रास त छँदै छ । विगतको ३ महिनाको बन्दाबन्दीको अवस्थाले हाम्रो वास्तविक जीवनका हरेक पक्षलाई ठप्प बनाइदिँदा भोलिका दिन कहिले र कसरी पुरानै लयमा फर्किने हो चिन्ताको विषय बन्न गएको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित शिक्षक, विद्यार्थी र अभिभावकलाई सबैभन्दा व्याकुल बनाएको छ । हुन त वर्षभरिको ३६५ दिनमा तीन वा चार पटकको परीक्षासमेत गरेर बढीमा २४० दिन विद्यालय सञ्चालन हुने परम्परामा रहिआएको तथ्यलाई आङ्कलन गर्दा अझै हामीसँग ३०० दिन त बाँकी नै छन् । तर, पनि चैत महिनाको अन्तिम हप्तातिर धेरै सरोकारवालाहरूले भविष्यका नानीहरूको पढाइ र अन्य आनीबानीमा नकारात्मक प्रभावपर्ने हो कि भन्ने चिन्तालाई सम्बोधन गर्न र बन्दाबन्दीको अवस्थामा समाज र समुदायमा उत्प्रेरक (catalyst) को रूपमा रहेका विद्यालयका शिक्षक, कलेज र विश्वविद्यालयका प्राध्यापकहरू बिदा मनाएर बस्नु हँुदैन । कुनै पनि वैैकल्पिक उपायलाई उपयोग गरेर पठनपाठनलाई चलायमान गर्नुपर्ने नयाँ बहसको सृङ्खला मिडिया र सामाजिक सञ्जालमा देखिएपछि अनलाइन कक्षा सञ्चालनको सम्भावनाको प्राविधिक र अन्य पक्षका बारेमा अर्को बहस सतहमा आयो । यसै मेसोमा भक्तपुर नगरपालिकाले भादगाउँ टेलिभिजनको प्राविधिक पक्ष र फेसबुसको प्रविधिलाई उपयोग गरेर अनुभवी शिक्षकहरूको सहयोगमा एसईई परीक्षाको लागि तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर नेपालमै सार्वजनिक संस्थाबाट पहिलो भर्चुअल कक्षाको सञ्चालन वैशाख ३ गते थालनी गर्यो । यतिबेलासम्म सङ्घीय सरकार र प्रादेशिक सरकारहरू, शिक्षा मन्त्रालय र विभागहरू किंकर्तव्यविमूढ भएर लाटाले केरा हेरेझँै हेरीमात्र रहेका थिए । न उनीहरूसँग केही योजना थिए न कार्यक्रम । तर, नगरपालिकाको यस पहलले अन्य विद्यालय र कलेजहरूलाई पनि अनलाइन कक्षा सञ्चालनको लागि प्रेरित गर्दै बाटो खोलिदियो ।
केही अलमल केही अन्योल
तर, बहसले नयाँ मोड लियो । के साँच्चिकै अनलाइन कक्षा प्रभावकारी हुन्छ ? के सबैसँग इन्टरनेट र कम्प्युटर, ल्यापटप र स्मार्ट मोबाइलको उपलब्धता हुन्छ ? कक्षा कोठामा गाली गरी गरी पठाउनुपर्ने नानीहरूले घरमा मोबाइल वा ल्यापटपको अगाडि बसी पढ्लान् र ? गृहकार्य कसरी पठाउने र जाँच्ने ? नयाँ प्रविधिसँग यी प्रश्नहरूमध्ये धेरैको उत्तर त थियो । अभिभावकहरूको फरक सामाजिक, सांस्कृतिक र पारिवारिक अवस्था र आर्थिक हैसियतको कारणले अनलाइन कक्षाको व्यापकतामा समस्या नदेखिने त पक्कै होइन । अर्कोतिर वर्षौैंदेखि बोर्ड र मार्कर
(चक डस्टर) को माध्यमले नानीहरूसँग मुखामुख गरेर जीवन्तरूपमा पठन पाठन गराउन अभ्यस्त शिक्षकहरूलाई नयाँ प्रविधिबाट मोबाइल वा कम्प्युटरको पर्दामा किबोर्डको सहयोगमा शिक्षण क्रियाकलाप गर्नुपर्दा असहज त छँदै थियो । त्यस्तै विद्यालयलाई यी सबको लागि नयाँ संरचना र प्राविधिक सामानको जोहो र आवश्यक आकस्मिक तालिमको व्यवस्थापन गर्न पनि त्यतिकै अप्ठेरो थियो । तर, समय परिस्थितिले सानो विद्यालयदेखि विश्वविद्यालयसम्मलाई धेरै अलमल र अन्योलको अवस्था भए पनि अनलाइन कक्षाको बाटोतिर बिस्तारै दोहो¥यायो । यसले घरभित्र रहेका लाखौँ साना बालबालिकाहरूले दिनको १÷२ घण्टा भए पनि केही कुरा सिक्ने अवसरको सृजना भयो ।
अनलाइन कक्षा थालनीको अनुभव
अनलाइन कक्षा सञ्चालन गर्ने शैक्षिक सङ्घ संस्थालाई सङ्घीय सरकार र मातहतका प्रशासकहरूले सुरुमा भाँजो हाल्न खोजे पनि पछि उनीहरू आफँै त्यतैतिर लाग्नुपर्ने बाध्यता आयो र असार महिनादेखि पठनपाठनको लागि सबै वैकल्पिक उपाय अपनाउने भनेर निर्देशिका नै जारी गर्यो ।
‘रोइरहनुभन्दा गाइरहनु जाती’ भन्ने उखानलाई मनन गर्दै र संस्थाको सामाजिक दायित्वबोध गर्दै हामीले पनि यसको लागि आन्तरिक मन्थन सुरु गर्यौँ । सामाजिक सञ्जालको माध्यमले लकडाउन एक महिनाको अवधिमा शिक्षकहरू विद्यार्थीहरूको सम्पर्कमा रहेको पनि जानकारी पायौँ । यसबीच सम्पर्कमा आएका अधिकांस अभिभावकबाट अनलाइन कक्षा सञ्चालन गरेमा केही समय भए पनि घरमै बसेर सिक्न सकिने भएकोले सुरु गर्न पाए राहत हुन्छ भन्ने राय सङ्कलन भएपछि त्यहीअनुसारको तयारीमा लाग्यौँ । नयाँ प्रविधिसँग अभ्यस्त युवा शिक्षकहरू (सर र मीसहरू दुवै) ६ देखि माथिल्लो कक्षाको लागि तथा तल्लो प्राथमिक र किण्डर कक्षाको लागि अभिभावकहरू अग्रपङ्क्तिमा बसेर कक्षागत मेसेन्जर ग्रुप बनाउने र विद्यार्थीहरूलाई जीमेल एकाउन्ट खोल्न लगाउने अभियानमा जुटे । यता विद्यालय प्रशासनले विद्यालयकै आइटी शिक्षक र बाह्य विज्ञसँगको प्राविधिक सल्लाहमा दुईवटा नयाँ स्मार्टबोर्डको व्यवस्था गरी विज्ञान र गणित कक्षाको लागि आवश्यक पूर्वाधार तयार गर्यो । प्रशासनतर्फका ४÷५ युवा कर्मचारीहरू स्मार्टबोर्ड सञ्चालनको लागि र कक्षा लिने शिक्षकहरूको लागि सहयोग गर्न तयार भए । अर्कोतिर केही शिक्षकहरूलाई नयाँ प्रविधिमा अझ अभ्यस्त बनाउन विद्यालयको एक पार्टनर संस्थाको सहयोगमा अनलाइन तालिम सञ्चालन गरियो । यसरी अनलाइन कक्षा सञ्चालनको लागि छलफल भएको पाँचौँ दिन अथवा वैशाख १९ गते एसईईका विद्यार्थीहरूलाई परीक्षण कक्षा (trial class) सञ्चालन गर्न विद्यालय सफल भयो । विस्तारै कक्षा १०, अनि ९ गर्दै २६ गतेभित्र कक्षा ६ सम्मलाई अनलाइन कक्षाको परीक्षण कक्षामा समावेश गर्न सफल भयो भने जेठ १ गतेदेखि लागू हुने गरी दुई÷दुई घण्टाको दुईवटा कक्षा गरी दिनमा चार घण्टाको कक्षा सञ्चालन गरियो । तल्लो कक्षाका बालबालिकाहरूलाई अभिभावकको सहयोग चाहिने भएर क्रमशः अन्तरक्रिया र कुराकानीबाट थालनी गरी जेठको १५ गतेदेखि व्यवस्थित रुटिनको तयार गरी चालीस मिनेटको एक÷एक सेसन गरी बिस्तारै जुम कक्षा सञ्चालन गर्दै लगियो ।
परिवार, घर र प्रविधि
सङ्घीय सरकारको नयाँ निर्देशिका जारी भएयता यस अनलाइन कक्षालाई क्रमशः सञ्चालन गर्दै लाने विद्यालयहरूमा सामुदायिक र संस्थागत दुवै छन् । लकडाउनको अवस्था बिस्तारै खुकुलो बन्दै गए पनि सानो ठाउँमा धेरै मानिसहरू एकै समय भेला हुने स्थान विद्यालयहरू नै भएकाले पुरानै तरिकाले कक्षाहरू सुरु गर्न अझ समय लाग्ने देखिएको छ । यस्तो अवस्थामा अनलाइन कक्षा हाम्रो लागि ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भन्ने कान्छा बाको अनुहार’ भएको छ । हजारौँ र लाखौँ वर्ष एउटा धर्रामा जीवन जिउन बाध्य मानव जातिलाई छोटो समयमा ठूलो फड्को मारी मानव जीवनलाई सहज र सरल तुल्याउने केही थियो भने त्यो प्रविधि नै थियो । तर, प्रविधिको दुरूपयोगले निम्त्याउने सङ्कटबाट पनि हामी अनभिज्ञ हुनुहँुदैन । साना साना नानीहरू र ज्ञान र सीपको साथै सामाजिकीकरण सिकाउनुपर्ने नानीहरूको हकमा अनलाइन कक्षाले भौतिक कक्षा र विद्यालयको प्रतिस्थापन कुनै पनि हालतमा गर्न नसकिने तथ्य घामजत्तिकै प्रस्ट छ । यति हँुदा हँुदै पनि अहिले सङ्कटको बेला परिवार, घर र प्रविधि नै हाम्रो लागि उपलब्ध विकल्प हो भन्ने कुरालाई स्वीकार्न हामी बाध्य छौँ ।
२३ जेठ २०७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *