कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि देशभर बनेका क्वारेन्टिन स्थलको भयावह अवस्थाले महामारी नियन्त्रणमा जानुको सट्टा क्रमशः विकराल बन्दै गएको छ । क्वारेन्टिन स्थलमा हुनुपर्ने आवश्यक पूर्वाधार नै नहुँदा र अपनाइनुपर्ने आवश्यक सावधानीको बेवास्ता गर्दा क्वारेन्टिन आफैँ रोग फैलाउने केन्द्र बन्दै छ । विशेषतः मध्य र सुदूरपश्चिमका जिल्लामा क्वारेन्टिनस्थल व्यवस्थापनमा सतर्कता नअपनाउँदा भारतबाट फर्केका नेपालीहरूबाट ती क्षेत्रमा महामारी व्यापक बन्दै छ । क्वारेन्टिन स्थल बनाउने नाममा गएगुज्रेका भवन, गोठ, फोहोर स्थान, जङ्गलमा बनाइएका छन् । त्यहाँ क्वारेन्टिनमा बस्दा पालना गर्नुपर्ने नियमहरूको पनि पालना भएको छैन । त्यसकारण कोरोना सङ्क्रमित व्यक्तिबाट निरोगी मानिसलाई रोग फैलिरहेको देखिँदै छ । त्यस्ता क्वारेन्टिन स्थलमा न स्वास्थ्यकर्मीको बन्दोबस्त छ, न स्वास्थ्य उपचारका आधारभूत सामग्री र पूर्वाधारकै बन्दोबस्त छ । त्यसकारण केही जिल्लाका क्वारेन्टिन स्थलमा क्वारेन्टिनमा बसेका मानिसको निधन भएको छ ।
स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्त गर्ने सङ्घीय सरकारको निर्देशन आफू जिम्मेवारीबाट पन्छिने दाउपेचमात्र बनेको छ । स्थानीय सरकारलाई जिम्मा दिएर सङ्घीय र प्रदेश सरकारले न त आवश्यक पूर्वाधारको बन्दोबस्त गर्न मद्दत गरेको छ, न अनुगमन नै भएको छ । नयाँ महामारी भएकोले स्थानीय तहमा जनप्रतिनिधिलाई पनि यसबारे सबै जानकारी नहुनु स्वाभाविक हो । क्वारेन्टिनस्थलको बन्दोबस्तबारे सबैलाई सबै कुरा थाहा नहुनु स्वाभाविक हो । त्यसको निम्ति सरकारले न त जान्ने स्वास्थ्यकर्मीको परिचालन गरेको छ, न पूर्वाधार निर्माणको निम्ति पहल नै गरेको छ ।
आरडीटी परीक्षण महामारी नियन्त्रणको लागि प्रभावकारी नभएको नेपालकै अनुभवले पनि देखाइसकेको छ । आरडीटी निगेटिभ आएका मानिसको पीसीआर पोजेटिभ आएको छ । पोजेटिभ आएका व्यक्तिको निगेटिभ पनि आएको छ । यसले स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा अन्योलको अवस्था बनेको छ । तथापि सरकार भने अझै पनि आरडीटी परीक्षण भन्दै जनतालाई झुक्याउने खेलमा लागेकै छ । पश्चिमका केही जिल्लामा आरडीटी निगेटिभ आएका बिरामीमा पछि पीसीआर पोजेटिभ आउँदा गाउँभरि सङ्क्रमण फैलिएको छ ।
वास्तवमा आज देशका विभिन्न दुर्गम क्षेत्र, विशेषतः कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा कोरोनाको महामारी व्यापक बन्दै जानुको मूल कारण भारतसँगको खुला सिमानामा सुरुबाटै भएको खेलाँची हो । भारतसँगको खुला सिमानाको उचित नियम गरी उताबाट नेपाल भित्रिएका सबै नेपालीलाई सीमावर्ती क्षेत्रमै क्वारेन्टिनको उचित बन्दोबस्त गरेर निरोगी भएको अवस्थामा मात्र घर पठाएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन । सरकारले गरेका गल्तीको सजाय आज सारा जनताले भोग्नुपरेको छ ।
सरकारले तत्काल विभिन्न जिल्लामा देखापरेका यस्ता समस्या समाधानको निम्ति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र निजामती कर्मचारीको परिचालन गर्नुपर्छ । सिंहदरबारमा कर्मचारी थुपारेर महामारी रोक्न सकिन्न । सङ्घ, प्रदेश र स्थानीय तहका सबै कर्मचारी र विज्ञहरूलाई परिचालन गरी जनतालाई महामारीको शिकार हुनबाट जोगाउन जरुरी छ । क्वारेन्टिन स्थलको बन्दोबस्त उचित तरिकाले गरी सङ्क्रमितको उपचारको निम्ति थप पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ । मानवीय कमजोरीको कारण नै रोग फैलिनु सरकारी निकायकै दोष हो । जनताले पनि महामारी नियन्त्रणको लागि आवश्यक सहयोग सम्बन्धित निकायलाई गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *